दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेको रास्वपाको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् । उनका अनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका डिआइजी भई सेवानिवृत्त भएका दुर्गा भट्टराई, सशस्त्र प्रहरी बलमै रहेर सेवा निवृत्त भएका विश्वेश्वर थापा रास्वपामा प्रवेश गरेको उनले बताए। त्यस्तै शोभा जोशी, मिन्तिरा लामा र नेपाली सेनामा कर्नेल भइ काम गरिसकेका डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेको प्रवक्ता झाले जानकारी दिए । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ग्लोबल आइएमईमा गैरकोषमा आधारित बैंकिङ सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने समझदारी भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरु ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका १०९ वटा शाखा तथा ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न बैंकर्स संघ र भिसाले सहकार्य गर्ने
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले डिजिटल भुक्तानीको विश्व अग्रणी संस्था भिसासँग सहकार्य सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत नेपालका वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र गतिविधिहरू सञ्चालन गरिनेछ । नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनमा लामो समयदेखि साझेदार रहेका नेपाल बैंकर्स एसोसिएसन र भिसाले यसपटक रणनीतिक रूपमा साइबर सुरक्षामा विशेष ध्यान दिँदै आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् । यस संयुक्त पहल अन्तर्गत प्रादेशिक गतिविधिहरूसँगै सरोकारवाला निकायहरूसँगको केन्द्रित अन्तरक्रिया सत्रहरू पनि समावेश हुनेछन् । मुख्य रूपमा, साझेदारी अन्तर्गत नेपालका सबै प्रदेशहरूमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । प्रादेशिक कार्यक्रमहरूलाई सहयोग गर्नका लागि, विभिन्न निकाय र नियामक संस्थाका अधिकारीहरू सहितका सरोकारवाला सहभागी हुने व्यापक कार्यक्रम पनि आयोजना गरिनेछ । यी गतिविधिहरूका साथै, भिसाका अधिकारीहरू र विभिन्न बैंकका अधिकारीहरू बीच विशेष अन्तरक्रियात्मक सत्र पनि गरिनेछ । नेपाल बैंकर्स एसोसिएसन र भिसादुवैले यो रणनीतिक साझेदारीले नेपालमा भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउन, साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्न, साथै अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
पाँचपोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा निर्माण हुने
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो । गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए । धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठूला ढुंगामा बनाइएको उनले बताए । ८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अध्यक्ष लामाले दिए । अध्यक्ष लामाका अनुसार एशियाकै अग्लो ढुंगामा कुँदिएको एकै टुक्राको बुद्ध प्रतिमा बन्ने लक्ष्यका साथ काम भइरहेको छ। परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । पाँचपोखरी गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा बनाउने काम भइरहेको छ । 'विश्वका धेरै ठूला बुद्धका प्रतिमा टुक्रा–टुक्रा ढुंगा जोडेर बनाइएका छन् । हामी भने एउटै ढुंगा प्रयोग गरेर इतिहासमै पहिलो पटक यस्तो काम गर्दैछौं,' उनले भने । उनले धार्मिक पर्यटन प्रवर्द्धन गर्न, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्याउन र पाँचपोखरी थाङ्पाललाई अध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारेको बताए । 'बुद्ध जन्मेको देशमा, बुद्धकै सन्देश फैलाउने हाम्रो अभियान हो,' अध्यक्ष लामाले भन्छन,'यो काम युगौ युगसम्म इतिहासमा कायम रहने छ ।' अध्यक्ष लामाले देश तथा विदेशमा रहेका नेपाली तथा श्रद्धालुहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरे । उनले सहयोगीहरूको नाम शिलालेखमा राखिने उल्लेख गरे । विश्वभरका बौद्ध अनुयायीहरूलाई यस प्रतिमाले आकर्षण गर्ने उनले विश्वास व्यक्त गरे । गाउँपालिकाले प्रतिमा निर्माणपछि यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष लामाले दाबी गरे ।
एमबीबीएस बिडीएस कलेजको सिट संख्या बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० जना भर्ना हुन पाउने
काठमाडौं । सरकारले एमबीबीएस बिडीएसको सिट संख्या बढाउने भएको छ । बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल कलेजको पूर्वाधार हेरेर सिट संख्या बढाउने निर्णय गरेको हो । अब अहिले एक सय सिट संख्या रहेको कलेजले एक सय ३० र ५० सिट रहेको बीडीएसमा ६० जना विद्यार्थी भर्ना गर्न पाउने भएका छन् । विराट मेडिकल कलेज , चितवन मेडिकल कलज, नोबेल, नेपालगञ्ज, युनिभर्सल, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल १ सय ३० बढको छ भने मणिपाल, जीएमसी ले १२० सिट पाउने जनाइएको छ । यस्तै, देवदह मेडिकल कलेज ९० जनालाई पढाउन पाउने भएको छ । अन्य सरकारी तथा प्रतिष्ठान को स्रोत सुनिश्चित भएपछि मात्रै बढ्ने बताइएको छ । सरकारले यसअघि नै निजी मेडिकल कलेजसँग सिट बढाउने सहमती गरेको थियो । निजी मेडिकल कलेजमा कार्यरत पीजि चिकित्सकहरूले सुरक्षाभत्ता बढाउनुपर्ने माग गर्दा निजी मेडिकल कलेजले सिट संख्या बढाउनुपर्ने अडान राखेको थियो ।
रुसले आफ्नो सेवा रोक्ने प्रयास गरिरहेको ह्याट्सएपको दाबी
काठमाडौं । ह्याट्सएप रुसले आफ्ना सेवाहरू रोक्ने प्रयास गरिरहेको जनाएको छ । उसले आफ्ना प्रयोगकर्ताहरूलाई सुरक्षित सञ्चारको सुविधा प्रदान गरेको भन्दै सेवा रोक्ने प्रयास गरेको जनाएको हो । कम्पनीले रुससहित संसारभरका प्रयोगकर्ताहरूका लागि इन्क्रिप्टेड सेवाहरू उपलब्ध गराउने हरसम्भव प्रयास जारी राख्ने जनाएको छ । कम्पनीका अनुसार युक्रेनमाथि आक्रमणपछि रुसले कडा कानुन लागू गरेको छ, जसअन्तर्गत युद्धको आलोचना गर्ने मानिसलाई जेल हालिन सक्छ । यस्तो अवस्थामा ह्वाट्सएप एउटा महत्त्वपूर्ण सञ्चारमाध्यम बनेको छ । बुधबार रुसी अधिकारीहरूले ह्वाट्सएप र टेलिग्राममा भ्वाइस कल रोक लगाउने घोषणा गरेका छन् । रुसी अधिकारीहरूको भनाइमा यी सेवाहरूको प्रयोग ठगी, जबरजस्ती रकम असुल्न र रुसी नागरिकहरूलाई हिंसात्मक गतिविधिमा संलग्न गराउन भइरहेको छ ।
मममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो । काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् । 'बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० ९१० ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,' न्यौपानेले भने । महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।
ग्रामीण विद्युतीकरण र ऊर्जा सन्तुलनका लागि ९० मेगावाटको सौर्य परियोजना अघि बढ्दै
काठमाडौं । वैकल्पिक ऊर्जा स्रोतको उपयोग र दीगो ऊर्जा विकासलाई प्राथमिकता दिँदै नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड र डोल्मा इम्प्याक्ट फण्डले ९० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा संयुक्त लगानी गर्ने घोषणा गरेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड का प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व प्राप्त गर्दै यो रणनीतिक लगानी अघि बढाएको हो । सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक हो, जसले तनहुँको बेलचौतारास्थित ५ मेगावाटको सौर्य प्लान्ट सञ्चालन गरिरहेको छ । यस कम्पनीले लुम्बिनी (५० मेगावाट) र बुद्धभूमि (४० मेगावाट) सौर्य परियोजना विकासका लागि बोलपत्र जितेको छ, जसको कुल क्षमता ९० मेगावाट हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको यो लगानीले ग्लोबल इक्विटी फण्डलाई सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनाएको छ । यसअघि पनि उक्त फण्डले २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी ‘घाम पावर’ लगायतका परियोजनामा लगानी गरिसकेको छ । फण्डका अध्यक्ष डा. मनिष थापाले भने, 'यो लगानी नेपालमा दिगो पूर्वाधार विकास प्रवर्द्धन गर्ने हाम्रो कोषको उद्देश्यसँग मेल खान्छ । सौर्य ऊर्जाले जलविद्युतलाई पूरकका रूपमा काम गर्दै ऊर्जा सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसले आयातित बिजुलीमाथिको निर्भरता घटाउने र ग्रामीण विद्युतीकरणलाई गति दिनेछ ।'