विकासन्युज

रुसले आफ्नो सेवा रोक्ने प्रयास गरिरहेको ह्याट्सएपको दाबी

काठमाडौं । ह्याट्सएप रुसले आफ्ना सेवाहरू रोक्ने प्रयास गरिरहेको जनाएको छ । उसले आफ्ना प्रयोगकर्ताहरूलाई सुरक्षित सञ्चारको सुविधा प्रदान गरेको भन्दै सेवा रोक्ने प्रयास गरेको जनाएको हो । कम्पनीले रुससहित संसारभरका प्रयोगकर्ताहरूका लागि इन्क्रिप्टेड सेवाहरू उपलब्ध गराउने हरसम्भव प्रयास जारी राख्ने जनाएको छ । कम्पनीका अनुसार युक्रेनमाथि आक्रमणपछि रुसले कडा कानुन लागू गरेको छ, जसअन्तर्गत युद्धको आलोचना गर्ने मानिसलाई जेल हालिन सक्छ । यस्तो अवस्थामा ह्वाट्सएप एउटा महत्त्वपूर्ण सञ्चारमाध्यम बनेको छ । बुधबार रुसी अधिकारीहरूले ह्वाट्सएप र टेलिग्राममा भ्वाइस कल रोक लगाउने घोषणा गरेका छन् । रुसी अधिकारीहरूको भनाइमा यी सेवाहरूको प्रयोग ठगी, जबरजस्ती रकम असुल्न र रुसी नागरिकहरूलाई हिंसात्मक गतिविधिमा संलग्न गराउन भइरहेको छ ।

मममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो । काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् । 'बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० ९१० ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,' न्यौपानेले भने । महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई  निर्देशन दिइएको छ ।  

ग्रामीण विद्युतीकरण र ऊर्जा सन्तुलनका लागि ९० मेगावाटको सौर्य परियोजना अघि बढ्दै

काठमाडौं । वैकल्पिक ऊर्जा स्रोतको उपयोग र दीगो ऊर्जा विकासलाई प्राथमिकता दिँदै नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड र डोल्मा इम्प्याक्ट फण्डले ९० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा संयुक्त लगानी गर्ने घोषणा गरेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड का प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व प्राप्त गर्दै यो रणनीतिक लगानी अघि बढाएको हो । सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक हो, जसले तनहुँको बेलचौतारास्थित ५ मेगावाटको सौर्य प्लान्ट सञ्चालन गरिरहेको छ । यस कम्पनीले लुम्बिनी (५० मेगावाट) र बुद्धभूमि (४० मेगावाट) सौर्य परियोजना विकासका लागि बोलपत्र जितेको छ, जसको कुल क्षमता ९० मेगावाट हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको यो लगानीले ग्लोबल इक्विटी फण्डलाई सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनाएको छ । यसअघि पनि उक्त फण्डले २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी ‘घाम पावर’ लगायतका परियोजनामा लगानी गरिसकेको छ । फण्डका अध्यक्ष डा. मनिष थापाले भने, 'यो लगानी नेपालमा दिगो पूर्वाधार विकास प्रवर्द्धन गर्ने हाम्रो कोषको उद्देश्यसँग मेल खान्छ । सौर्य ऊर्जाले जलविद्युतलाई पूरकका रूपमा काम गर्दै ऊर्जा सन्तुलनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ, जसले आयातित बिजुलीमाथिको निर्भरता घटाउने र ग्रामीण विद्युतीकरणलाई गति दिनेछ ।'

लिवर्टी माइक्रोको खुद नाफा ५१.१८ प्रतिशतले वृद्धि

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीले ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा ५१.१८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले २७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा वर्षमा कम्पनीको जीवन बीमाकोषको आकार ११०२.६७ प्रतिशतले बढेर १९ करोड २६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषको आकार ८० लाख रुपैयाँ थियो । गत वर्षमा कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा १९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ८ लाख २० हजार रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर आम्दानी २.१९ रुपैयाँ छ । 

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर, भारी उपकरणमा काठमाडौं आउन ६०० रुपैयाँ

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकलेउपभोग दस्तुर स्वीकृत गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले  कार र भ्यानको काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ तोकिएको जानकारी दिए। यसैगरी, मिनी बस र ट्रकको काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ, बस र ट्रकको काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ । त्यस्तै, भारी उपकरणको काठमाडौं आउँदा ६०० र जाँदा २ हजार ५०० शुल्क तोकिएको छ । ‘एआई नीति, २०८२’ स्वीकृत हुने, यी हुन् मन्त्रिपरिषदका निर्णय  

पूर्वाधार निर्माण कम्पनी गठनको सरकारी निर्णयमा निर्माण व्यवसायी महासंघको कडा आपत्ति

काठमाडौं ।  नेपाल सरकारले हालै केही नेपाल ऐन मार्फत सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्दै सरकारको पूर्ण स्वामित्वमा रहने गरी नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड गठन गर्ने निर्णयप्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड गठन कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको  भन्दै त्यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।  ‘विगतमा सरकारकै पूर्ण स्वामित्वमा रहेको नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल (एनसीसीएन) कालान्तरमा राजनीतिक भर्ती केन्द्रमा रुपान्तरित भई पूर्ण असफल भएको सन्दर्भमा सरकारले पुनः त्यस्तै कम्पनी ब्यूँताउन खोज्नु सार्वजनिक खरिद ऐनको प्रस्तावनामा उल्लेखित स्वच्छ प्रतिस्पर्धाको संरचना र मर्म विपरित भई निजी क्षेत्रलाई नै हतोत्साही बनाउने कदम हो’ महासंघको विज्ञप्तिमा भनिएको छ । महासंघका अनुसार उक्त ऐनमा उल्लेख भए अनुसार नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको मुख्य उद्देश्य नै विविध कारणले अन्य निर्माण व्यवसायीहरूको तोडिएका ठेक्काहरूलाई विना प्रतिस्पर्धा सम्पन्न गराउनु रहेको देखिन्छ ।  विभिन्न कारणले निर्माण हुन नसकी तोडिएका ठेक्काहरूको हकमा प्राकृतिक न्यायको सिद्धान्त विपरित सार्वजनिक खरिद ऐनको दफा ५९(८) प्रयोग गरी नियोक्ताले सरकारी बाँकी सरह रकम असुल उपर गरिरहेको कार्य सार्वजनिक खरिदको अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्त विपरित  रहेको महासंघको भनाइ छ । उक्त दफा ५९(८) राखिएको प्रावधानले कुनै निर्माण व्यवसायीको ठेक्का तोडिएमा पुन : ठेक्का लगाउँदा लाग्ने थप लागत समेत रकम सम्बन्धित (पुरानो) निर्माण कम्पनीबाटै असुल उपर गरिनेछ भन्ने व्यवस्था गरी सरकारी संयन्त्रले सोही कानून कार्यान्वयन गराउन फेरि अर्को निर्माण कम्पनी गठन गर्नु मुलुकको समग्र निर्माण उद्योगलाई ध्वस्त बनाउने प्रपञ्च भएको महासंघको निचोड छ ।   ‘भौतिक पूर्वाधारको क्षेत्रमा अभूतपूर्व विकास गरेका छिमेकी मुलुकहरू भारत र चीनमा जस्तै सरकारले पनि कर्पोरट निर्माण कम्पनीहरू स्थापना गरी निजी कम्पनीहरूसँग प्रतिस्पर्धाको बाटो खुल्ला राख्नु पर्नेमा त्यसो नगरी आफ्ना कार्यकर्ताहरू मात्र भर्ती गर्ने उद्देश्यले पूर्वाधार निर्माण कम्पनी लिमिटेड गठन गर्नु जायज देखिँदैन’ विज्ञप्तिमा उल्लेख छ ।   सार्वजनिक खरिद ऐनमा समय सापेक्ष संशोधन नहुँदा पूर्वाधार क्षेत्रमा एकपछि अर्को गरी समस्याका चाङहरू थपिदै गएको अहिलेको विषम परिस्थितिमा क्ुनै प्राथमिकतामा नपर्ने विषयलाई ऐन नै संशोधन गरी अघि बढाइनुले निर्माण उद्योग सरकारको महत्वमा नपरेको प्रष्ट भएको महासंघले जनाएको छ । महासंघले निर्माण उद्योगसँग प्रत्यक्ष सम्बन्धित ऐन तथा नियमावली संशोधन जस्तो अत्यन्त महत्वपूर्ण विषयहरूका सन्दर्भमा लहडबाजी तथा दबाबका भरमा हठात् कुनै निर्णय नगरी ती विषयमा सरोकारवाला निकायसँग अनिवार्य परामर्श गर्न समेत नेपाल सरकार समक्ष विज्ञप्ति मार्फत अपील गरेको छ ।   

‘एआई नीति, २०८२’ स्वीकृत हुने, यी हुन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको उक्त निर्णयलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत ‘एआई नीति, २०८२’ स्वीकृत गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।  राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धक पदमा पाँचथरका सन्दिप राईलाई नियुक्त गर्ने सरकारको निर्णय रहेको उनले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने सरकारले निर्णय गरेको छ । ‘जसमा ९काररभ्यानको काठमाडौं आउँदा रु ६५ र जाँदा रु ६०, मिनी बसरट्रकको काठमाडौं आउँदा रु ११५ र जाँदा रु ८०, बसरट्रकको काठमाडौँ आउँदा रु २६० र जाँदा रु २००, भारी उपकरणको काठमाडौँ आउँदा रु ६०० र जाँदा रु २५०० शुल्क तोकिएको छ,’ उनले भने । सञ्चारमन्त्री गुरुङले ‘अ स्टडी टुर अन इन्टर–गर्भरमेन्टल कोअपरेसन एण्ड कम्पिटिसन इन द स्वीस फेडरल सिस्टम’ विषयक कार्यक्रममा सहभागी हुन आगामी भदौ १५ देखि २१ गतेसम्म मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको स्वीट्जरल्याण्ड भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको बताए । आगामी असोज ६ गतेदेखि १० गतेसम्म फिलिपिन्समा आयोजना हुने ‘एसिया अर्गनाइजेसन अफ सुप्रिम अडिट इन्सच्युसन्स (एएसओएसएआइ) ब्रेकिङ अप्सकल्ड एसएआइ सर्पोट (वियुएसएस) वर्कसपमा सहभागी हुन उपमहालेखा परीक्षक बिन्दु विष्टलाई स्वीकृति दिने, दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिब रु एक अर्ब २५ करोड नेपाली रुपैयाँ) अनुदान सहायता स्वीकृत गर्ने, चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल तीन हाजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले जानकारी दिए ।  आगामी भदौ ३१ देखि असोज २ गतेसम्म गणतन्त्र कोरियाको सिओल सहरमा आयोजना हुने ‘ग्लोबल इन्फास्टक्चर कोअपरेसन कन्फ्रेन्स २०२५’ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई सहभागिताका लागि स्वीकृति दिने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा रमेशप्रसाद चौलागाइँ (भक्तपुर)लाई नियुक्त गर्ने, नेपाल सरकारको नाममा दर्ता कायम रहेको बाजुरा जिल्ला साविक बाँध गाविस–४ को सात हजार ४८५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा प्रशासकीय भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने सरकारको निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको तेह्थुम जिल्ला साविक सहकारी तथा गरिबी म्याङलुङ गाविस–९ को ०–१४–०–२ जग्गा राष्ट्रिय अनुसन्धान निवारण मन्त्रालय जिल्ला कार्यालय तेह्थुमको कार्यालय भवन निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने, बाजुरा जिल्ला साविक बाँध गाविस वडा नं ४ को २३०५५ वर्गमिटर जग्गा धुलाचौर स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ । आगामी भदौ २४ देखि २६ गतेसम्म फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिनिस्ट्रियल राउण्ड टेबल, सेसन डुइरिङ द एसिया–प्यासिफिक रिजनल रोड सेफ्टी कन्फ्रेन्स’मा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई स्वीकृति प्रदान गर्ने,  नेपाली सेनाका एकजना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने र एक जना सहायक रथीको पदावधि थप गर्ने, ‘स्कुल मिल्स् कोअलिसन’को आयोजनामा ब्राजिलको फोर्टालेजामा आगामी असोज २ देखि ३ गतेसम्म आयोजना हुने ‘सेकेण्ड ग्लोबल समिट अफ स्कुल मिल्स्’मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको उहाँले उल्लेख गर्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (भैँसेपाटी), व्यावसायिक प्रशिक्षण केन्द्र (बुटवल) र व्यावसायिक प्रशिक्षण केन्द्र (इटहरी)का लागि आव २०८२र८३ मा आवश्यक पर्ने अधिकृतस्तरका सात सय २५ अस्थायी दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषद्का निर्णय रहेका प्रवक्ता गुरुङले जानकारी दिए । आगामी असोज ७ देखि १७ गतेसम्म क्यानडाको मन्ट्रियलमा आयोजना हुने ‘इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन (आइसिएओ) को फोर्टी सेकेण्ड सेसन अफ द एसेम्बली’मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति दिने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र ‘सेवा प्रदायकमार्फत सार्वजनिक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्नेसम्बन्धी निर्देशिका–२०८२’ स्वीकृत गर्ने सरकारले निर्णय गरेको उनले बताए ।

सेयर बजारमा ७ अर्बको कारोबार, नेपाल रिपब्लिकमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २७८८ बिन्दुमा पुगेको छ । आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४१ करोड, वलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २२ करोड र साहस उर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।