७० हजार ८ सय ८५ परिवार भूकम्प पीडित नयाँ घरमा, १ लाख २६ घर धमाधम बन्दै
काठमाडौं । ७० हजार ८ सय ८५ परिवार भूकम्प पीडित नयाँ घरमा सरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार मंसिर ३ गतेसम्ममा ९.२३ प्रतिशत भूकम्प पीडितले नयाँ घर निर्माण सम्पन्न गरेका हुन् । प्राधिकरणका अनुसार १ लाख ६५ हजार ८ सय ९९ वटा घर हाल धमाधम निर्माण भैरहेका छन् । प्राधिकरणले ७ लाख ६७ हजार ७ सय ५ परिवारलाई लाभग्राही सूचिमा राखेको थियो । प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा गरेको पुर्नजाँच तथा पुनःसर्वेक्षणबाट थप १ लाख २६ हजार ३ सय २६ घरधनीहरुको तथ्याङ्क काठमाडौंमा आईपुगेको छ । ‘गत साउनमा ३ सय ३२ जना इन्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने १ लाख ३० हजार धरधनी घरहरुको तथ्याङ्क संकलन गर्न खटाएका थियौं, अहिलेसम्म २ सय ५० इन्जिनियरले रिपोर्ट तयार पारिसकेका छन्, बाँकी रिपोर्ट आउँदा १ लाख ४० हजार परिवार पुग्छन’, प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने । प्राधिकरणका प्रवक्ता यमलाल भुषालका अनुसार त्यसरी आएका तथ्यांकहरुलाई प्राधिकरणले अध्ययन गरेर लाभग्राहीको पहिचान गर्नेछ । ‘स्थानीय तहको सिफारिसमा इञ्जिनियरहरुले तयार पारेको रिपोर्ट आउने क्रम जारी छ, ती रिपोर्टहरुका आधारमा लाभग्राहीको पहिचान गर्छाै’, प्रवक्ता भुषालले भने । लाभग्राही सूचिमा समावेश भएपछि अनुदान सम्झौता गरि तीन लाख अनुदान दिइनेछ भने आंशिक क्षति पुगेका घरधनीलाई प्रवलीकरणको सूचिमा राखेर एक लाख उपलब्ध गराइनेछ । यस अघि प्राधिकरणले गुनासो दर्ता गराएका २५ हजार भूकम्प पीडितलाई लाभग्राही सूचिमा समावेश गरेर घर निर्माणका लागि ३ लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । ‘पहिले गुनासो लिएर पुरानै रिपोर्ट अध्ययन गरेका थियौं, अहिले चाँही इञ्जिनियरलाई फिल्डमै पठाएर पुनः जाँच गराएका हौं’, भुषालले भने । जोखिम पुर्ण भूगोलमा रहेका भूकम्प पीडितहरुलाई पहिलो चरणमा घडेरी खरिदका लागि २ लाख नगद दिने कार्यक्रम अघि बढेको पनि उनले जानकारी दिए । त्यसका लागि आवश्यक रकम जिल्ला जिल्लामा पठाईसकिएको र जिल्लाबाट त्यस्तो रकम वितरण हुने प्रवक्ता भुषालले बताए ।
आइएमईका व्यवसायीक साझेदार रारा भ्रमणमा
काठमाडौं । आफ्ना दशजना उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिम स्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखि व्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो । मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तव्य निर्धारण गरि भ्रमण गराइएको हो । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृत इश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए । कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशबाट पठाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २०७४को असार मसान्तको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । गत मसान्तमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । उक्त पुँजीमा कम्पनीले १५ प्रतिशतका दरले ५ करोड ७७ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ । उक्त निर्णय मंसिर ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी २४औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
सरकारले एडीबीको १५ अर्ब ऋण स्वीकार गर्ने
काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट १५ अर्ब रुपैयाँ ऋण स्वीकार गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले विभिन्न परियोजना निर्माणका लागि १५ करोड अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
हिमालयन डिस्टिलरीले प्रतिसेयर २१ रुपैयाँ नगद लाभांश दिने
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले सेयरधनीलाई प्रतिसेयर २१ रुपैयाँ नगद लाभांश दिने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव स्वीकृत गर्न कम्पनीले मंसिर २९ गते साधारणसभा बोलाएको छ । कम्पनी, जावलाखेल ग्रुप अफ कम्पनिज, फुड एन्ड बेभरेज टेक्नोलोजिज र जेजीआई डिस्ट्रव्यसनबीच भएको सम्झौतालाई सभाले अनुमोदन गर्ने छ ।
नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई रोजगारी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई जागिर खुलेको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदहरुमा १४१ जनाका लागि दरखास्त आव्हान गरेको हो । प्रशासन, लेखा, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ लगायतका पदमा खुल्ला तथा आरक्षित कोटामा दरखास्त आव्हान गरिएको हो । प्राधिकरणले निर्देशक देखि सहायकस्तरसम्मका लागि आगामी ३० दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।
सिभिल बैंकको २ अर्ब ७ करोडको हकप्रद सेयर आयो, नयाँ सेयरले पनि १० प्रतिशत बोनस सेयर पाउने
काठमाडौं । सिभिल बैंकले २ अर्ब ७ करोड ४० लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । विद्यमान सेयरधनीले १० कित्ता बराबर ४ कित्ता सेयर लिन पाउने गरी बैंकले हकप्रद सेयर निष्काशन गरेको हो । मंसिर ५ गतेभन्दा अघिल्लो दिनसम्म सेयर लिएका सेयरधनीले हकप्रद सेयरका लागि आवेदन गर्न पाउने बैंकले जनाएको छ । हकप्रद सेयरका लागि मंसिर २२ गतेदेखि पुस २७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । हकप्रद सेयरको लागि बुक क्लाज भएपछि यस बैंकको सेयर प्रतिकित्ता १८९ रुपैयाँमा कारोबार भएको छ । हाल यस बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ छ । ४० प्रतिशत हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ हुन्छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने अझै ७५ करोड रुपैयाँ कम भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बताए । अहिले निष्काशन गरेको हकप्रद सेयरले पनि गत वर्षको नाफाबाट करिब १० प्रतिशत बोनस सेयर पाउने उनले बताए । गत अार्थिक वर्षकाे नाफा ३५ कराेड र संचित काेषमा रहेकाे ५६ कराेड रूपैयाँ बाेनस सेयरकाे रूपमा वितरण गरिने उनले जानकारी दिए ।
किसान माइक्रोफाइनान्सको साधारण हकप्रद सेयर लिलामी हुदै, मंसिर १९ गते अन्तिम दिन
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण समूहको हकप्रद सेयर लिलाम हुने भएको छ । संस्थाको साधारण समूहको १ हजार ३५१ कित्ता सेयर खरिद गर्न मंसिर १९ गतेसम्म बोलपत्र पेश गर्न भनिएको छ । संस्थाको असोज ६ देखि कात्तिक ७ गतेसम्म हकप्रद सेयर निष्कासनका गर्दा आवेदन नपरेको सेयर संस्थाले लिलामी गर्न लागेको हो । किसानले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।