जनही १ करोड धरौटी बुझाउन नसकेपछि कर फच्छौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल जेल चलान
काठमाडौं । अदालतले मागेको धरौटी बुझाउन नसकेपछि कर फर्छ्यौट आयोगका पुर्वअध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई हिरासतमा पठाइएको छ । विशेष अदालतले मंगलबार जनही १ करोड रुपैयाँ धरौटी माग गरेपछि बुझाउन नक्दा उनीहरुलाई हिरासतमै राखिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि फरार रहेका महत र ढकाल कात्तिक २९ गते अदालतमा उपस्थित भएका थिए। अख्तियारले गत साउनमा तीन पदाधिकारीविरुद्द १० अर्ब २ करोड बिगोदाबी गर्दे बिशेष अदालतमा मुद्दा दायर गरेको थियो। झण्डै २१ अर्ब रुपैयाँ कट छुट दिई राज्यलाई अर्बो रुपैयाँ नोक्सान पारेको भन्दै आन्तरिक राजश्व विभागमा महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेपछि दुबै जना फरार भएका थिए । कर फच्छौट आयोगले साढे ९ अर्ब रुपैयाँ कर निर्धारण गरी साढे २० अर्ब रुपैयाँ मिनाह गरेपछि महालेखा परीक्षकको कार्यलयले गम्भीर आपत्ति जनाएर वार्षिक प्रतिवेदनमा आर्थिक अनियमितता भएको ठहर गरेपछि अख्तियारले अनुसन्धान थालेको हो ।
बजार अनुगमन, डेन्टल अस्पताल शिलबन्दी
काठमाडौँ । काठमाडौँ काडाँघारीमा रहेको हेलेना विनायक डेन्टल हस्पिटल प्रालिमा शिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जन स्वास्थ्य कार्यालयको स्वीकृति बिना नै अस्पताल सञ्चालन गरेको पाएपछि सम्पूर्ण सामग्री सञ्चालन स्वयंको जिम्मामा रहने गरी शिलबन्दी गरिएको हो । अनुगमन संयोजक निरोज घिमिरेका अनुसार काँडाघारीमै रहेको सविना फर्मा र एनएण्डएस फार्मेसी प्रालिले व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाएकाले २४ घन्टाभित्र औषधि व्यवस्था विभागमा उपस्थिति हुन निर्देशन दिइएको छ । शिलबन्दी गरिएको औषधि पसललाई तीन दिनभित्र र अन्य दुई पसललाई २४ घण्टाभित्र विभागका उपस्थिति नभए विभागले थप कारबाही गर्ने पनि चेतावनीसमेत दिएको छ । विभागले काठमाडौँको गौशाला र भीमसेनगोलामा केही खाद्य पसलमा गरेको अनुगमनका क्रममा २५ बोतल पेय पदार्थ नष्ट गरेको छ । त्यस्तै वनस्थलीमा रहेको एएक्सएन ट्रेडिङ प्रालिले साइनबोर्ड नराखेको, दर्ता प्रमाणपत्र, गुणस्तर सम्बन्धी कागजात र मूल्य विश्लेषणको कागजात देखाउन नसकेकोले सात दिनभित्र साइनबोर्ड बनाएर राख्न र दर्ता प्रमाणपत्र, गुणस्तरसम्बन्धी कागजात र मूल्य विश्लेषणको कागजातसहित विभागमा आउन निर्देशन दिइएको छ ।
जेसीबीका ग्राहक बेलायतस्थित मुख्य प्लान्टको भ्रमणमा
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई बेलायतको रोसेस्टरस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । एक साता लामो भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्टको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए । भ्रमणका क्रममा जेसीबीका ग्राहकले स्टिलबाट कसरी मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गरेका थिए । साथै, उनीहरुले जेसीबी कम्पनीका संस्थापक जोसेफ सिरिल बमफार्डले आविष्कार गरेको संसारकै पहिलो ब्याकहो लोडर र जेसीबीले निर्माण गरेको संसारकै सबैभन्दा तीव्र गतिमा दौडने डिजेल कारको समेत निरीक्षण गरेका थिए । ‘निर्माण कार्यका क्रममा खराबभन्दा पनि खराब परिस्थितिको सामना गर्न जेसीबीलाई कसरी तयार पारिन्छ भन्ने हेर्यौं ।’ भ्रमणमा सहभागी गोल्डेन गुड्स शेर्पा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक गेल्जे लामाले भने, ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो । यो दुर्लभ मौका दिनुभएकोमा हामी एमएडब्लु अर्थमुभर्सप्रति आभारी छौं ।’ जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा विक्रीवितरण हुने गर्छ । हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ । नेपाली बजारमा जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कार्यक्षमताका कारण यी मेसिनहरु लोकप्रिय छन् । अझ पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।
सानिमाको पहिलो एक्सटेन्सन काउन्टर भक्तपुरमा, राजस्व संकलन गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोलेको छ । यस काउन्टरबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयको राजस्व संकलन गर्ने छ । उक्त काउन्टरको उद्घाटन भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत द्रोणा पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा गरेका हुन् । हाल यस बैंकको ४७ वटा शाखा संजाल तथा ५३ वटा एटिएम रहेका छन् ।
पञ्चकन्या माई हाइड्रोपावरले ११ करोडको आईपीओ निष्कासन गर्न पायो अनुमति
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले ११ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार पञ्चकन्या माईलाई जलविद्युत आयोजनाबाट प्रभावितका लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले इलाममा ९.९ मेगावाट क्षमताको अपरमाई खोला आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीको जारी पुँजी ९९ करोड रुपैयाँ रहेको छ । यसमध्ये १० प्रतिशत स्थानिय बासिन्दालाई निष्कासन गर्न लागेको हो । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।
सात दिनको तालिम, ४९ सय भत्ताः ५३ हजारलाई रोजगारी
काठमाडौं । जागिर नपाएर हैरान हुनु भएको छ ? त्यसो हो भने चिन्ता नगर्नुस, अब भत्तासहितको तामिल र तालिमपछि रोजगारीको अवसर प्राप्त हुँदैछ । राष्ट्रिय पुननिर्माण प्राधिकरले ७ दिनको तालिमसँगै रोजगारीको अवसर प्रदान गर्दैछ । प्राधिकरणका प्रवक्ता यमलाल भुषालका अनुसार प्राधिकरणले ५३ हजार युवालाई ७ दिनको तालिम दिएर पुननिर्माणको काममा खटाउँदैछ । प्राधिकरणले भूकम्प प्रभावित जिल्ला र त्यसका केहि केन्द्रहरु तोकेर तालिम दिनेछ । त्यसरी तालिम लिनका लागि सोही क्षेत्रमा निर्माण क्षेत्रमा काम गरिरहेका युवाहरुलाई वडा कार्यालयहरुको सिफारिसका आधारमा तालिममा समावेश गरिनेछ । ‘गाउँ गाउँमा डकर्मीलाई सात दिनको तालिम दिएर ५३ हजारलाई रोजगारी दिँदैछौं’, प्राधिकरणका प्रवक्ता भुषालले विकासन्युजसँग भने । मंसिर भित्र डकर्मी सिफारिस तथा छनौट सकेर पुस महिनादेखि तालिम आरम्भ गर्ने पनि उनले जानकारी दिए । हाल प्राधिकरणले तालिम उपलब्ध गराएका ४७ हजार डकर्मीहरु पुननिर्माणको काममा खटिएका छन् । उनीहरुले पाउने ज्याला भने स्थानीयस्तरमा आपसी समझदारीबाट तय हुनेछ । ‘रोजगारीका लागि भन्दै दैनिक हजारौं युवा विदेशिएका छन, प्राधिकरणले प्राबिधिक तालिम दिएर आफ्नै गाउँ ठाउँमा रोजगारीको अवसर प्रदान गर्दैछ’, भुषालले भने । यसरी तालिम प्राप्त जनशक्तिले भूकम्पपछिको पुननिर्माण सम्पन्न भएसँगै निर्माण क्षेत्रमा काम गरेर राम्रो आम्दानी गर्न सक्नेछन् । नेपालको निर्माण क्षेत्रमा स्वदेशी जनशक्तिको अभावमा ठुलो मात्रामा भारतीय कामदारले रोजगारी पाईरहेका छन् । नेपालको निर्माण क्षेत्रलाई राम्रो आम्दानी हुने रोजगारीको क्षेत्र मानिन्छ । पुननिर्माणको काम सम्पन्न भएपछि नेपालको निर्माण क्षेत्रमा ठुलो संख्यामा नेपालीहरुले नै रोजगारी पाउनेछन् । प्राधिकरणले पुननिर्माणको कामलाई भूकम्प प्रतिरोधी र छिटो गतिमा अघि बढाउनका लागि डकर्मीहरुलाई तालिम उपलब्ध गराएको भएपनि तालिम लिईसकेपछि विदेशिने क्रम बढेपछि भने पुननिर्माणमा असर गरेको छ ।
साढे ८ करोडको कारोबार गर्दै सकियो १५ औं हस्तकला व्यापार मेला, १ लाख ८ हजारले गरे अवलोकन
काठमाडौं । १५ औं हस्तकला व्यापार मेला सकिएको छ । मंगलबार सम्पन्न भएको मेलामा ८ करोड ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल हस्तकला व्यापार मेला समितिका संयोजक धर्मराज शाक्यले जानकारी दिए । यसअघि मेलामा १० करोड भन्दा बढी कारोबार हुने अनुमान गरिएको थियो । मेलामा लक्ष्यभन्दा १ करोड ५० करोड कम कारोबार भएको शाक्यले बताए । नेपाल हस्तकला महासंघको आयोजनामा गत मंसिर १ गतेदेखि मेला सुरु भएको थियो । मेलामा ३ करोड भन्दा बढीको सामान बुकिङ भएको छ भने १ लाख ८ हजार जनाले अवलोकन गरेका छन् । शाक्यले समापन कार्यमा मन्तव्य दिँदै हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा खेलेको बताए । सो क्रममा उनले महासंघको अभिलेख अनुसार गत आर्थिक वर्षमा हस्तकला निकासी करीब ५ अर्ब बराबरको रहेको बताए । उनका अनुसार चालू आवको प्रथम चौमासिकमा तथ्यांकले यस वर्ष हस्तकलाका वस्तुहरुको निर्यात वृद्धि हुने संकेत देखाएको छ । मेलामा उत्कृष्ट प्याभिलियन तर्फ फेयर ट्रेड ग्रुप नेपाललाई १ लाख रुपैयाँ बराबरको पूरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टलमा फिंगर प्रिन्ट आर्ट एण्ड क्राफ्ट्सलाई दिइएको थियो । परम्परामा आधारित समसामयिक वस्तु, होम डेकोर (टेक्सटाईल, सेरामिक, ऊनीजन्य वस्तु) र फेशन एसेसरिज र गरगहना तर्फ प्रथममा नेपाल बनकी श्रिभूषण मानन्धर, दोस्रोमा सबाह नेपाल र तेस्रोमा नेपलिज डि कलेक्सनकी मिनु बज्राचार्य सम्मानित भएका छन् । त्यस्तै परम्परागत विधातर्फ बीरेन्द्र चित्रकार, पुनम कुमारी दास र नरेन्द्र चौधरी पूरष्कृत भएका छन् । समकालिन विधामा ज्ञान कुमारी शाक्य, श्री कुमारी चौधरी र अम्बीका सिन्चुरी बिकेलाई सम्मान गरिएको छ । महासंघका अनुसार हस्तकला क्षेत्रमा करीब १२ लाख व्यक्ति प्रत्यक्ष तथा प्रत्यक्षरुपमा आबद्ध छन् ।
नेपाल बङ्गलादेश बैंकका नवनिर्वाचित अध्यक्ष जलाल अहमदद्धारा शपथ ग्रहण
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको नवनिर्वाचित अध्यक्ष जलाल अहमदले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न तेईसौं बार्षिक साधारणसभाले सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष चयन गरेको थियो । उक्त सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेलसञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।