विकासन्युज

मुग्लिन सडकमा जनताले पाएको सास्तीप्रति प्रधानमन्त्री चिन्तित

रत्ननगर (चितवन) । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन्। साे सडकखण्डको आज स्थलगत निरीक्षण गर्दै उनले पहिरोले जनतालाई सधैँ पीडित बनाइ रहेको हुँदा यसलाई सदाका लागि अन्त्य हुनेगरी काम गर्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले कुनै पनिबेला पहिरो खस्ला भन्ने डरलाग्दो अवस्था आएको उल्लेख गर्दै ‘बाटोमा कुनै बेला पनि पहिरो आइदेला भन्ने जस्तो डरलाग्दो स्थिति छ, सालसालै पहिरो आउला भन्ने खतरा भयो, अब यो बाटोमा पूरा अध्ययन गरेर पहिरो आउने खतरा सदाका लागि बन्द गर्नुपर्छ, कसरी हुन्छ, यो चौबिसै घण्टा खुला हुने बनाउनुपर्यो,” भने। चितवनको आँपटारीदेखि करिब २० किलोमिटर क्षेत्र सेती दोभानसम्म स्थलमार्गबाट अनुगमन गरेका प्रधानमन्त्री देउवा सेती दोभान पुग्दा केही समय अघि मात्रै पहिरो खसेको थियो । त्यसको केही परसमेत पहिरो खसेको जानकारी आएपछि प्रधानमन्त्री देउवालाई सेती दोभानबाट अघि जान सुरक्षा निकायले दिएन । सुरक्षा निकायले रोक्दारोक्दै पनि प्रधानमन्त्री देउवाले खै-खै पहिरोसम्म जाउ भन्दै अघि बढेका थिए । त्यसपछि उनले अध्ययन गरेरै पहिरो सदाकालागि अन्त्य गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए । अनुगमनमा प्रधानमन्त्री देउवासँगै भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायर तथा मन्त्रायलका सचिव देवेन्द्र कार्की, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, सडक डिभिजन कार्यालय तथा नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुखसहित अधिकारीहरुको सहभागिता थियो । सो अवसरमा मन्त्री बलायरले सडक निर्माण समयमै सक्न कडा निर्देशन दिएको बताउँदै सडकको समस्या सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘जहिले पनि यो बाटो अवरुद्ध हुँदैआएको छ, यो सदाका लागि अन्त्य हुनुपर्छ’, उहाँले भने, “ यसप्रति मन्त्रालय सजक छ, स्थायी रुपमा समस्या समाधान गर्न मन्त्रालय सदा चिन्तित छ, यो समस्या जनताले भोग्नु नपरोस् भन्नेतिर नै ध्यान गइरहेको छ ।” हेलिकप्टरबाट चितवनको भरतपुरस्थित आँपटारीमा आएका प्रधानमन्त्री देउवासहितको टोली सेतीदोभान पुग्नुअघि करिब १३ किलोमिटर मुग्लिनतर्फ दासढुंगामा आयोजित सार्वजनिक कार्यक्रममा पनि सरिक भए । नारायणगढ मुग्लिक सडक आयोजना तथा ठेकेदार पक्षले सडकको वर्तमान अवस्था तथा प्रगतिको बारेमा जानकारी गराएपछि प्रधानमन्त्री देउवाले सडकमा जनताले दुख पाएकोमा भन्दै काम छिटोसक्न निर्देशन दिए। छलफलमा भौतिक योजना तथा पूर्वाधारमन्त्री बलायरले मुग्लिन सडक अहिले मन्त्रालयलाई सबैभन्दा ठूलो चुनौतीको रुपमा खडा भएकाले अप्ठ्यारो ठाउँलाई देखाएर नबस्न निर्माण कम्पनीलाई आग्रह गरे। सो अवसरमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले पुल र सडकको निर्माणको काम सँगसँगै नगरेकोमा चिन्ता व्यक्त गर्दै शर्तअनुसार काम नभए कारबाही र जरिवाना तथा राम्रो काम गर्नेले पुरस्कार पाएको सुन्न नपाएको भन्दै दुखेसो गरेका थिए । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले प्रगतिविवरण प्रस्तुत गर्दै अहिलेसम्म ५३ प्रतिशत मात्रै काम सम्पन्न भएको जानकारी गराए । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले कुल १० महिना भन्दा बढी म्याद नथपिने जानकारी दिँदै त्यसपछि थप्नुपरे जरिवाना लाग्ने चेतावनी दिए । उनले आगामी चैतसम्ममा कामसक्ने विश्वास व्यक्त गर्नुहुँदै पहिरो रोकथामका लागि नेपालकै विज्ञसमूह परिचालन गरिएको जानकारी गराएका थिए । ठेकेदारका पक्षबाट लामा कन्ट्रक्सनका पिताम्बर बडूले कावु भन्दा बाहिरको परिस्थितिले गर्दा काममा अवरोध आएको भन्दै दिनमा चार घण्टा पनि राम्ररी काम गर्न नपाएको गुनासो गरेका थिए।

गोर्खाज फाइनान्सको व्यवस्थापन स्तरीय तालिम तथा कार्यक्रम सम्पन्न

काठमाडौं । गोर्खाज फाइनान्सले आर्थिक बर्ष २०७३/७४ को प्रगति समिक्षा तथा चालु आ.व.२०७४/७५ को बजेट प्रक्षेपन सम्बन्धी भेला सम्पन्न गरेको छ । उक्त भेलामा १६ शाखाका प्रमुख,बिभागीय प्रमुख तथा संचालक समितिका सदस्य गरी जम्मा ३७ जनाको उपस्थिती थियो । उक्त कार्यक्रममा विभिन्न शाखा तथा विभागीय प्रमुखहरुले आ-आफ्ना शाखाका योजना बारेमा प्रस्तुतीकरण गरेका थिए भने समग्र बजेटको बारेमा सहायक महाप्रबन्धक प्रेम सागर नापितले प्रस्तुतिकरण गरेका थिए । फाइनान्सको वर्तमान अवस्था तथा भावी रणनीतिको बारेमा प्रमुख कार्यकारी अधिकृत राजकुमार राईले प्रकाश पारेका थिए भने संचालक समितीका अध्यक्ष महेन्द्रलाल राईले ग्राहकहरुलाई केन्द्रमा राखेर अन्तराष्ट्रीय स्तरको सेवा दिन तयार रहन निर्देशन दिएका थिए । साथै,उक्त कार्यक्रममा बि.आई.एम.का प्रमुख बि.एन. घर्ती, पूर्व बैंकर कपिल शर्मा र प्रेरक वक्ता अजय रेग्मीले व्यवसाय विस्तार, नेतृत्व विकाश तथा वास्तविक सफलता जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए । फाइनान्सको आर्थिक बर्ष २०७३/७४मा ४ अर्ब ६ करोड रुपैयाँनिक्षेप संकलन गरी ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने चुक्ताँ पुँजी ७६ करोड २५ लाख रुपैयाँ रहेको छ । फाइनान्सको केन्द्रीय कार्यालय काठमाण्डौको चारखाल डिल्लिबजारमा रहेको छ भने देशका विभिन्न भागमा रहेका १६ शाखा तथा ४ एटीएम मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गररिरहेको छ ।  

मेलम्चीको सुरुङ खन्न ढिलाइ, चैत यता पानी नआउने

काठमाडौं । सुरुङ खन्नमा ढिलाईले मेलम्ची खोलाबाट आउदो चैतमा मात्र राजधानीमा पानी आउने भएको छ । ढिलाईले आयोजनाको काम पुनः निर्धारित समय भन्दा ६ महिना धकेलिएको छ । आउदो असोजसम्म मेलम्चीबाट राजधानीमा पानी आपूर्ति गर्ने योजना थियो । मंगलबारसम्म मेलम्चीको सुरुङ खन्न अझै २ हजार २६१ मिटर बाँकी छ । मेलम्चीको रिवर्मादेखि राजधानीको सुन्दरीजलसम्म साढे २७ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म झण्डै साढे २५ किलोमिटर खनिएको छ । अझै २ किलोमिटर बढी सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । इटालियन ठेकेदार सीएमसीले दैनिक १७ मिटर सुरुङ खन्ने गरेकोमा मंगलबार साढे १० मिटर मात्र खनेको छ । असोजमा पुरा नभएपछि आयोजनाको सुरुङ खन्ने काम पुसको दोस्रो साता अर्थात डिसेम्बरसम्म सम्पन्न हुने गरी अर्को कार्ययोजना तयार गरिएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । डिसेम्बरमा सुरुङको काम सम्पन्न भएपनि आरसीसी लाइनिङलगायत अन्य काम गर्न झण्डै ३ महिना लाग्ने भएकाले चैतसम्म पानी आपूर्ति हुने उनले जानकारी दिए । हाल आरसीसी लाइनिङको काम भइरहको छ । देवकोटकाअनुसार सुरुङ खन्न अब ९ प्रतिशत बाँकी छ । ठेकेदार सीएमसीले ४ फेसबाट काम गरिरहेको छ । सुन्दरीजलमा साढे ८ करोड लिटर पानीप्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । परीक्षणको काम सुरु हुने देवकोटले जानकारी दिए । यस्तै अर्को साढे ८ करोड लिटर पानीप्रशोधनगर्ने केन्द्रको निर्माण सुरु भइसकेको छ । सरकारले चालु आर्थिक वर्ष ०७४/०७५ मा मेलम्चीकालागि ६ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । असोजसम्ममा डिसिन्टिङ वेसिननिर्माण सम्पन्न नभएपनि डीआई पाइपको वाइपास निर्माण गरी पानीपथान्तरणको वैकल्पिक उपाय कार्यान्वयन गरी असोज भित्र उपत्यकामा पानि वितरण गर्ने तयारी मेलम्चीको भएपनि त्यो पुरा नहुने भएको हो । अझै पनि ठेकेदारले सुस्त गतिमा काम गरिरहेको छ । आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको छ । आयोजनाको कुल लागत २४ अर्ब रुपैयाँ छ ।

गुडविल फाइनान्सको १२औं शाखा बुटवलमा

काठमाडौं । गुडविल फाइनान्सले बुटवलमा आफ्नो १२ औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले आफ्नो कार्यक्षेत्र विस्तार गरी देशभरका ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्न सो स्थानमा नयाँ शाखा विस्तार गरेको हो । फाइनान्सले आगामी दिनमा पनि विभिन्न स्थानमा शाखा विस्तार गर्ने जनाएको छ ।

सेयर बजारमा एक अर्ब माथिको कारोबार

काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । सो दिन १५७ कम्पनीको २१ लाख ६४ हजार कित्ता सेयर एक अर्ब ३ करोड ९० लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०४६ रुपैयाँ रहेको छ । बजारमा चार समूह उकालो लागेका छन् भने बाँकी चार समूहको परिसूचक ओरालो लागेको छ । फाइनान्स, होटल, डेभलपमेन्ट बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ३१, १४, १२ र १.५६ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा, उत्पादनमूलक, हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः ४९, ३, २ र ०.५८ अंकले ओरालो लागेको छ । बुधबार कमाउने उत्कृष्ट १० कम्पनी समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक २ दशलमब ४९ अंकले बढेर १६६२ दशमलब ७४ अंकमा पुगेको छ । बुधबार सबैभन्दा बढी यूनाईटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् । त्यस्तै, एनबी इन्स्योरेन्सको सेयर मूल्य ४.४७ प्रतिशतले घटेको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२८० रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकद्धारा भूकम्प पिडितलाई नगद वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ जिल्लमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हिल्फको सहकार्यमा धादिङको गुम्दी, सल्यानकोट र मार्पाक गाविसमा गत साउन ६ गतेदेखि १३ गतेसम्म आठ दिने नगद वितरण कार्यक्रम सम्पन्न गरेको हो । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण कार्यक्रममा बैंकद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पूर्वक संचालन गरेको बैंकले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरू

पोखरा १८ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माणका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा बुधबार आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो जानकारी गराएका हुन् । ६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिँदै शाखा कार्यालय, अस्थायी शिविर आदिको निर्माण कार्य थालिसकिएको बताए । निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको बताए । पर्यटनको विकासका लागि हवाईका साथै सडक सञ्जाल पनि व्यवस्थित हुनुपर्ने बताउँदै देवले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँगै हवाई मार्गका सम्बन्धमा पनि मन्त्रालयले काम अघि बढाउने उल्लेख गरे ।विमानस्थल तयार भइसकेपछि तत्काल उपयोगमा आउने किसिमले हवाई मार्ग तयलगायतका विषय पनि सँगसँगै अघि बढ्नुपर्नेमा उनकाे जोड थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा बढी समयदेखिको सपना भएको बताउँदै निर्माण कार्यको शुरुवात सम्पूर्ण पोखरेलीको गर्वको विषय भएको बताउनुभयो । स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत विषयलाई समेत सम्बोधन गर्दै अघि बढिने बताउँदै उनले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन सबैको सकारात्मक सहयोग अपरिहार्य हुने बताए ।

चौधरी ग्रुप एसियाको बेस्ट इम्प्लोयर ब्राण्ड अवार्डबाट सम्मानित

काठमाडौं । चौधरी ग्रुप एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’बाट सम्मानित भएको छ । सिंगापुरको ले-मेरिडियनमा वल्र्ड एच.आर.डी. कंग्रेस एण्ड इम्प्लोयर ब्रान्डिङ इन्सटिच्युटद्धारा आयोजित कार्यक्रममा ग्रुपलाई उक्त अवार्ड प्रदान गरिएको हो । वल्र्ड एच.आर.डी.ले प्रतिभा व्यवस्थापन, व्यवसाय सञ्चालनमा मानव संशाधन रणनीति तथा युवा पुस्ताका लोकप्रिय ब्राण्डहरू उत्पादनमा उत्कृष्ट योगदानका लागि चौधरी ग्रुपलाई उक्त अवार्डबाट सम्मानित गरिएको जनाएको छ । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालको उत्कृष्ट जनशक्तिलाई ग्रुपमा स्वागत गरिएको बताउँदै मानव संसाधन व्यवस्थापनमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको बिषय भएको बताए । उनले आफ्नो ग्रुपलाई एसियाकै उत्कृष्ट कार्यस्थलका रुपमा स्थापित गर्न सकिएकोमा खुसी ब्यक्त गरेका छन् । आगामी दिनमा मानव संसाधन व्यवस्थापनमा थप सुधार गर्दै लगिने उनले जनाए । यसअघि माइक्रोसफ्ट, सिमन्स, पानासोनिक, टी.सी.एल, हुआवे, हचिसन टेलिकम्युनिकेसन्स, फक्सस्वागन, मलेसियन एयरलाइन्स, होलिडे इन, नोकिया, एच.टी.सी., थाई एयरवेज, युनिलिभर एसिया, क्वान्टस, म्याकडोनाल्डस, पेट्रोनास, फिजर, यू.पी.एस., मरिना बे स्यान्ड्स्, मास्टरकार्ड, रोल्स रोयस, केलोग्स, पेप्सी लगायतले उक्त अवार्ड प्राप्त गरेका छन् ।