नेपाल बैंकद्वारा विद्यालयलाई सहयोग
काठमाडौं । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ । वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्तरण गरेका छन् । बैंक सञ्चालक सदस्य सिंहले यस बैंकको इतिहासमा यति धेरै रकम सहयोगस्वरुप प्रदान गरेको पहिलोपटक भएको उल्लेख गर्दै सो रकम सदुपयोग गरी यस विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न आग्रह गरे। इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वंशलाल तामाङले १९६० सालमा स्थापित सिन्धुपाल्चोककै सबैभन्दा पुरानो यस ऐतिहासिक विद्यालयलाई गरिएको सहयोग एक सुखद संयोग रहेको चर्चा गर्दै सबै नाफामुलक कम्पनीद्वारा यस्तै उदार मनले सहयोग भए देशको आर्थिक सामाजिक परिवर्तनले गति पाउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापालगायतका पदाधिकारीले प्राप्त रकमको पूर्ण सदुपयोग गरिने प्रतिबद्धता प्रकट गरे । यस विद्यालयका सबै भवन २०७२ को विनाशकारी भूकम्पबाट पूर्ण क्षतिग्रस्त भएपछि २५० विद्यार्थी अस्थायी टहरामा अध्ययन गर्दै आएका थिए । बैंकको सहयोगबाट यस स्थानमा करिब तीन हजार वर्गफिटको दुईतले आठकोठे पक्की भवन निर्माण हुनेभएको छ ।
सदन चल्न नदिने एमालेको अडान, बजेट प्रस्तुतिमा ढिलाई
काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ बजेट मध्यान्त ४ बजे प्रस्तुत गर्ने भनिए पनि ढिलाई भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा दर्ता भएको प्रधानन्यायधिश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रस्ताव फिर्ता लिन दवाव दिदै आएको छ । महाअभियोग फिर्ता नभएसम्म सदन चल्ने नदिने एमालेले निर्णय गरेको एमाले नेता गोकर्ण विष्ठले बताएका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ दलका कार्यकर्ताले मत च्यातेको, उनीहरुले नै पुन मतदानको माग गरेकोले सहमतिको बातावरण विग्रेको उनले बताए । बजेट आजै (जेठ १५ गते) संसदमा पेश गर्नु पर्ने संबैधानिक व्यवस्था छ । महाअभियोग प्रस्ताव फिर्ता गरेपछि मात्र संसद् चल्न दिने एमालेको अडानका कारण सदन चल्न नदिने अडान लिएको छ । एमालेले संसदमा अवरोध गरेपछि केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि जनताको नाममा संम्बोधन गरी राजीनामा दिएका थिए । आजै बसेको मन्त्रिपरिषद्को बैठकले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट पारित गरेको छ । बजेटको सुटकेस लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महारा व्यवस्थापिका संसद्मा प्रवेश गरेका छन् ।
आव २०७४/७५ को लागि १२ खर्व ७८ अर्बको बजेट पारित
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । दिउँसो बसेको मन्त्रीपरिषद बैठकले १२ खर्व ७८ अर्बको बजेट पारित गरेको थियो । जसमध्ये स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए । “बजेटका लागि के के कार्यक्रम राख्ने भनी आयोगको पूर्ण बैठकले पारित गरेको छ, १४औँ योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ, संविधानमा स्थानीय तहलाई सङ्घीय संरचनाअनुसार दिएको कामलाई बजेटले सरल बनाइदिएको छ”–उनले भने । आयोगले पारित गरेको बजेट मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी आज अपराह्न ४ बजे बस्ने व्यस्थापिका-संसद्को बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्ने कार्यक्रम छ । रासस
निर्वाचनको मिति सार्ने सरकारको निर्णय, असार ९ गते दोश्रो चरणको चुनाव
काठमाडौं । सरकारले स्थानिय तहको दोश्रो निर्वाचन असार ९ गतेलाई सार्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असार ९ गतेका लागि स्थानिय तहको दोश्रो चरणको निर्वाचन सार्ने निर्णय गरेको हो । मधेश केन्द्रित राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै मन्त्रिपरिषदले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो ।
सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव दुई प्रतिशत
काठमाडौं। नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव २ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले आइतबार जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८दशमलव दुई प्रतिशत रहेको छ । पहाडी तथा सहरी क्षेत्रका ८१ दशमलव एक प्रतिशत र तराईका सहरी क्षेत्रको ३२ दशमलव नौ प्रतिशत घरधुरीमा मात्र धाराबाट पानी आउँछ । कुल जनसङ्ख्यामध्ये ५६ दशमलव एक प्रतिशत व्यक्तिको मात्र सरसफाइ प्रणालीमा पहुँच छ । काठमाडौं उपत्यकामा फागुन मसान्तसम्म ३२० किमी सडक विस्तार भएको छ । भूकम्प, बाढीपहिरो, आगलागीलगायत विपद्मा आश्रयका लागि उपत्यकामा पहिचान भएका २०० खुला स्थानमध्ये हाल १८ ठाउँमा उद्यान निर्माण भइरहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ४७ लाख ६७ हजार आवासीय संरचनामा ५४ लाख २७ हजार परिवार बसोबास गर्छन् । आवासीय घरमध्ये ३३ प्रतिशत अस्थायी प्रकृतिको रहेको सर्वेक्षणमा उल्लेख छ । ८५ दशमलव २६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बस्छन् । घर भाडामा बस्ने १२ दशमलव ८१ प्रतिशत पुगेका छन् । १५ वर्षअघि घरभाडामा बस्ने दुई प्रतिशत मात्र थिए । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दलित, विपन्न, मुस्लिम, चेपाङ, राउटे, गन्धर्व, वादी, वनकरिया, सुरेल, थामीलगायत लोपोन्मुख समुदायका २० हजार परिवारका लागि आवास निर्माण गर्ने कार्यक्रमअन्तर्गत ६१० आवास एकाई निर्माण भएको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा १८ जिल्लाका १९४ सरकारी कार्यालय मर्मत गर्ने कार्यक्रम रहेकामा विगत आठ महिनासम्म २३ वटा कार्यालय मात्र मर्मत भएको छ । रासस
रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार, योजना सिमित अवधिसम्मको लागि
काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले रमजान पर्वको अवसरमा कतार स्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना यही मे २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।
हुन्डाई एक्स्चेञ्जको दोश्रो चरण सम्पन्न, भाग्यशाली ग्राहकलाई कुलप्याडको स्मार्ट फोन
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि अन्तर्गत बिर्तामोड, इटहरी र पोखरा स्थित हुन्डाई शोरुमहरूमा हुन्डाई एक्स्चेञ्ज कार्यक्रम सम्पन्न भएको छ । गत जेठ १२ गते शुक्रबारदेखि जेठ १४ गते आइतबारसम्म संचालन गरिएको उक्त एक्स्चेञ्ज कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहेको थियो । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्स्चेञ्ज क्याम्प संचालन गरिएको थियो । सो एक्स्चेञ्ज कार्यक्रम सँगै, हुन्डाईले आफ्ना ग्राहक सामु नगद छुट, स्पट एक्स्चेञ्ज एण्ड भ्यालुएसन र एक्स्चेञ्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गरेको थियो । साथै उक्त कार्यक्रममा टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मेलित थिए । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेष्ट ड्राइभ गरेका मध्ये लक्की ड्र मार्फत एक/एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुल १ स्मार्ट फोन प्रदान गरिने छ । ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजनाहरु आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले सो हुन्डाई एक्स्चेञ्ज योजना मार्फत आफ्नो यस प्रवृत्तिलाई निरन्तरता दिएको छ ।
गणतन्त्र दिवसमा ६ जना उद्योगी व्यवसायीलाई पदक, खेतान, गोयल र मोरसँगै बैंकर पाण्डे बिभुषित
काठमाडौं । १० औं गणतन्त्र दिवसका अवसरमा सरकारले ६ जना उद्योगी व्यवसायीलाई विभिन्न मान पदवी तथा विभुषणले सम्मान गरेको छ । सरकारले उद्योगपति राजेन्द्र खेतानदेखि सतिश कुमार मोर र कैलाशचन्द्र गोयलसहित ६ जना उद्योगी व्यवसायीलाई बिभुषित गरेको हो । उद्योगपति राजेन्द्र खेतान, सतिस कुमार मोर र धनुषाका व्यवसायी विश्वनाथ साहाले जनसेवा श्री पदक प्राप्त गरेका छन् ।त्यस्तै, उद्योगपति कैलाश चन्द्र गोयल र पर्यटन व्यवसायी भविश कुमार श्रेष्ठले प्रबल जनसेवाश्री पदक पाएका छन । अर्का व्यवसायी आनन्दराज बतासले भने समाजसेवा रत्न पदक हात पारेका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुंगाना र सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि प्रबल जनसेवाश्री पदक प्राप्त गरेका छन् । बैंकर ज्योति प्रकाश पाण्डे भने किर्तिमय राष्ट्रिय दिप पदकबाट बिभुषित भएका हुन् ।