जेबिल्स फाइनान्सले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, पूँजी ८० करोड नाघ्ने
काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन पश्चात कायम हुने पूँजीमा सो मात्राको सेयर निष्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णय जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउन सो निर्णय गरेको हो । कम्पनीको सातौँ वार्षिक साधारणसभाले पारित गरे बमोजिम चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । सभाले पारित गरेको कम्पनीको उक्त निर्णय हाल नेपाल धितोपत्र बोर्डमा प्रकृयामा रहेको छ । उक्त १०० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सोही पूँजीमा पुनः ४० प्रतिशतका दरले हुन आउने २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । त्यस पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ९० लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै, उक्त ४० प्रतिशत हकप्रद सेयर आगामी विशेष साधारणसभाबाट पारित गरी स्वीकृत लिनु पर्ने निकायहरुबाट स्वीकृत पश्चात मात्र निष्काशन गरिने कम्पनीको संचालक समितिको बैठकले निर्णय गरेको छ ।
के एल दूगड समूहको ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु नेपाली बजारमा
काठमाडौं । लोकप्रिय ब्राण्ड ज्ञान चक्की आटाका उत्पादक के एल दुगड ग्रुपले मेज आटा (मकैको आटा ), मेज ग्रिट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा उपलब्ध भएको छ । यी उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा ५ केजी र २ केजी प्याकमा उपलब्ध छन् । ज्ञान मेज आटा ज्ञान मेज आटा उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको पहेँलो र सेतो मकैको दानाबाट बन्दछ जसलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिन्छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठाहराएका छन् । ज्ञान मेज आटा फाइबर तथा प्रोटिनले भरिपुर्ण रहेको हुन्छ । यसमा न्यून फ्याट तथा सोडियम छ भने यो सलुटोन रहित हुन्छ । यसमा भएका पोषकतत्वहरु मुटुको लागि लाभदायक हुन्छ । चामल र गहुँको पिठोपछि सबैभन्दा धेरै उपभोग गरिने मेज आटा तेस्रो नम्बरको खाद्यान्न हो । ज्ञान मेज ग्रिट (मकैको च्याख्ला) ज्ञान मेज ग्रिट एउटा स्वस्थ्य उत्पादन हो, जून उत्कृष्ट मकैबाट निकै स्वस्थ्य वातावरणमा उच्च स्तरीय उत्पादन यूनिटमा तयार गरिन्छ । यो उत्पादनमा मकैको निकै नै उत्कृष्ट स्वाद हुन्छ । यो फ्याट, सोडियम, सलुटोन रहित हुन्छ भने यसमा पाच्य फाइबर पनि रहेको हुन्छ । ज्ञान मेज ग्रिट स्वादिलो खाजाको रुपमा प्रयोग गर्न सकिन्छ वा यसलाई तरकारीहरुका साथमा मुख्य खानाको रुपमा प्रयोग गर्न सकिनुका साथै यसलाई अन्य डिसहरु बनाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । ज्ञान प्रिमियम लिटो ज्ञान प्रिमियम लिटो ठोस सुदृढ पदार्थको रुपमा पहिले नै पकाईएको गहुँ, चामल, भटमासको समिश्रणबाट उत्पादन गरिएको हुन्छ, जसमा धुलो दुध, चिनी, मकैको तेल र १६ प्रकारका भिटामीनका साथै सुक्ष्म पोषकतत्वहरु सहितको ठोस पदार्थ मिसाईएको हुन्छ । यो स्वस्थ्य, पोषक र स्वादिष्ट उत्पादन ६ महिना भन्दा माथिका केटाकेटीहरुलाई घोलेर खुवाउन सकिन्छ । यो कुपोषण भएका र माइक्रोन्यूट्रिसनको अभावबाट प्रभावित भएका मानिसहरुलाई पनि खुवाउन सकिन्छ ।
‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट १८ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत उपत्यकामा तीन हजार ७२४ सवारी साधनका चालकलाई कारबाही गरिएको जानकारी दिए। “उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्,” उनले भने । हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उनले दाबी गरेका छन् । हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ । हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व सङ्कलन गर्दै आएको छ । रासस
डिजिटल मार्गमा नेपाल राष्ट्र बैंकः रेमिटेन्स कम्पनी, मनि चेञ्जर र ट्राभल एजेन्सीको रिपोर्टिङ अनलाइनबाटै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना सेवाहरुलाई डिजिटल बनाउने अभियानलाई तिब्रता दिएको छ । केन्द्रिय बैंकले प्रबिधी मैत्री, सुरक्षित र छिटो छरिटो सेवा प्रवाहलाई बढावा दिँदै अनलाईन रिपोर्टिङ आरम्भ गरेको हो । केन्द्रिय बैंकले रेमिटेन्स कम्पनी, मनि चेञ्जर र ट्राभल एजेन्सीको रिपोर्टिङ अनलाइनबाटै लिन सुरु गरेको छ । अब यी कम्पनीहरुले मासिक रुपमा बुझाउने रिपोर्ट अनलाईनबाटै पठाउन सक्ने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले बताए । अनलाईन रिपोर्टिङ आरम्भ गरेसँगै ५ हजार २ सय वटा कम्पनीले प्रत्येक महिना फाइल बोकेर राष्ट्र बैंक जानुपर्ने झण्झटबाट मुक्त हुनेछन् । हाल बाणिज्य बैंकका ७०० वटा शाखा र विदेशी मुद्राको कारोबार गर्ने ४५०० वटा कम्पनीले मासिक रुपमा केन्द्रिय बैंकमा विवरण बुझाउने गरेका छन् । ‘५ हजार २ सय वटा कम्पनीले प्रत्येक महिना हाम्रो विभागमा फाइल बुझाउन आउनु परेको थियो, अब सबैले घर वा अफिसबाटै रिपोर्टिङ गर्न सक्छन’, विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख ढुंगानाले भने । यस्ता कम्पनीका सञ्चालकहरुले पहिलो पटक राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागमा उपस्थित भएर फारम भर्नुपर्नेछ । सोही अवधीमा राष्ट्र बैंकका कर्मचारीले अनलाईन रिपोर्टिङको नियम र तरिकाबारे आवश्यक प्रशिक्षण दिनेछन् । त्यस्ता कम्पनीहरुले बैशाखको विवरण अब अनलाइनबाटै बुझाउनु पर्नेछ । ‘बैशाखको विवरण जेठभित्रै अनलाईनमा बुझाउनुपर्छ । हामीले सिस्टम बनाईदिएका छौं, युजर नेम र पासवर्ड दिन्छौं, घर वा अफिसबाटै विवरण पठाउन सकिन्छ’, ढुंगानाले भने । हालसम्म राष्ट्र बैंकको नियमन विभागले बाणिज्य बैंकहरुको व्यालेन्स सिट अनलाईनबाट लिने काम गरिरहेको थियो ।
मतगणना छिटो गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मतगणनामा ढिलाइ भएको जनगुनासो आएपछि त्यसलाई सम्बोधन गरी शीघ्र।मतगणना सम्पन्न गर्न सम्पूर्ण स्थानीय तहका निर्वाचन अधिकृतलाई आजै निर्देशन दिइएको आयोगका सचिव गोपिनाथ मैनालीले जानकारी दिए । सोमबारको तुलनामा मङ्गलबारदेखि मतगणनाको गति बढेको जानकारी दिँदै उनले भने, “ढिलाइ भएका तहमा सुरुमा एकै स्थानमा गणना भएकोमा आजदेखि तीन/चार स्थानबाट गणना हुन थालेको छ ।” आयोगले महानगरपलिकाको मतगणना यही साताभित्र सम्पन्न हुने गरी काम अघि बढाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको निर्देशनपछि आजदेखि महानगरपालिकाहरुमा दुई÷तीन वडाका मतपत्र एकैसाथ गणना हुन थालेको छ । मतगणनामा भएको ढिलाइका कारण २८१ स्थनीय तहमा आइतबार भएको निर्वाचनमध्ये हालसम्म १० स्थानीय तहको निर्वाचन मत परिणाम मात्र प्राप्त भएको छ । प्राप्त परिणामअनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम प्राप्त भएको हो । मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको आयोगले जनाएको छ । रासस
ललितपुरको महांकालबाट एमालेको उपत्यका विजय यात्रा
काठमाडौं । नेकपा(एमाले)ले ललितपुरको महांकाल गाउँपालिकाबाट उपत्यकामा विजय यात्रा आरम्भ गरेको छ । २०८० मत ल्याएर महांकाल गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका छन् । उपप्रमुखमा एमालेकै कमला तामाङले २२६३ मत प्राप्त गरि विजयी भएकी छिन् ।
मंगलबारकाे सेयर बजार दोहोरो अंकले ओरालो, ५० करोड माथिको सेयर कारोबार
काठमाडौं । मंगलबार सेयर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ९ दशमलब ९९ अंकले ओरालो लागेर १६४९ दशमलब २४ अंकमा झरेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा ५० करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको २८ लाख २१ करोड कित्ता सेयर किनबेच भएको छ । मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४६ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसूचक भने ३० अंकले उकालो लागेको हो ।
अब छिट्टै नयाँ दुई क्रेडिट रेटिङ कम्पनी आउने, वित्तीय क्षेत्र व्यवस्थित र मर्यादित बन्ने
काठमाडौं । अब नयाँ कम्पनीहरूको क्रेडिट रेटिङ गर्नको लागि दुई नयाँ कम्पनी आउने भएको छ । ‘केयर रेटिङ नेपाल प्र्रािल’ सञ्चालनका लागि गत वैशाख २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ भने अर्को कम्पनी ‘नेपाल रेटिङ एजेन्सी दर्ता हुने क्रममा रहेको छ । कम्पनी तथा व्यावसायिक संघ संस्थाको साख मूल्यांकन गर्ने मुख्य उद्देश्य सहित नयाँ कम्पनीको बजारमा प्रवेश हुन लागेको हो । कम्पनीहरूको रेटिङ र ग्रेडिङ गर्नुका साथै अनुसन्धान, तालिम तथा सूचना प्रवाहको काम गर्ने उद्देश्य लिएको छ । कम्पनीहरूको वित्तीय अवस्था, जोखीमको स्थितिका साथै प्रतिफल दिन सक्ने क्षमता लगायतका विस्तृत मूल्यांकन गर्नु नै क्रेडिट रेटिङ हो । सेबोनका अनुसार ३ करोड रुपैयाँभन्दा बढीको प्राथमिक शेयर निष्कासन गर्ने कुनै पनि संगठित संस्थाले अनिवार्य क्रेडिट रेटिङ गराउनु पर्ने हुन्छ । तर, नेपालमा यो व्यवस्था त्यति प्रभावकारी रुपमा लागू हुन सकिरहेको छैन । नेपाल धितोपत्र बोर्डको सहमतिमा भारतको मुम्बईस्थित क्रेडिट एनालिसिस एण्ड रिसर्च लिमिटेड (केयर)सँग सहकार्य गरी केयर रेटिङ नेपाल स्थापना भएको हो । यसका साथै दशैंसम्म अर्को नयाँ ‘नेपाल रेटिङ एजेन्सी पनि स्थापना हुने भएको छ । एजेन्सीले अहिले सेवोनबाट स्वीकृत लिनका लागि आवश्यक डकु्मेन्ट तयार पारिरहेको सञ्चालक मध्ये एक अनुलराज पौडेलले बताए । ‘दशैसम्म उक्त कम्पनीले काम शुरु गरिसक्ने उनले बताए । हाल नेपालमा इक्रा नेपालले मात्र कम्पनी तथा व्यावसायिक संघसंस्थाको रेटिङ तथा ग्रेडिङको काम गर्दै आएको छ । वि. सं २०६९ मा उक्त संस्था स्थापना भएपछि हालसम्म कुनै पनि यस्ता संस्था आउन सकेको थिएन । तर,अबको केही समयमै अर्को नयाँ कम्पनी पनि स्थापना हुने हालै स्थापना भएको केयर नेपाल पनि छिटै काम थाल्ने भउपनि नेपाल स्थित कम्पनीहरूको अवस्थामा वारेमा मूल्यांकन गर्न सजिलो हुने छ । केयर नेपालले अहिले धितोपत्र, ऋणपत्र लगायतको रेटिङबाट काम थाल्ने छ । अन्तरराष्ट्रिय अभ्यासको तुलनामा नेपाल यो क्षेत्रमा धेरै पछाडि परेको छ । भारतमा सन् १९८७ बाट क्रेडिट रेटिङ शुरू भए पनि नेपालमा धेरै ढिला रेटिङ कार्य शुरु भएको पाइन्छ । कम्पनीहरूको रेटिङ हुन थालेपछि खासगरी विदेशी लगानी आकर्षित हुने विज्ञ बताउँछन् । ‘रेटिङले कम्पनीको वास्तविक अवस्था देखाउने भएकोले विदेशी लगानीलाई आकर्षित गर्न तथा अन्तर्राष्ट्रिय स्तरमासँगसँगै अगाडि बढ्न यस्तो कम्पनी अत्यावश्यक भएको पौडेलले बताए । केयर नेपालल स्थापनको लागि गत मङ्सिरमा नै साझेदारसँग सहमति भए पनि सेबोनको अनुमति र भारतीय शेयरबजार नियामक सेबी तथा केन्द्रीय बैंकको समेत अनुमति लिनुपर्ने भएकाले समय लागेको थियो । नेपालमा रेटिङ कम्पनी सञ्चालन हुन विदेशी साझेदारको न्यूनतम ५१ प्रतिशत शेयर स्वामित्व हुनुपर्ने प्रावधान छ । यसै प्रावधानअनुसार केयर नेपालमा केयर इण्डियाको ५१ प्रतिशत लगानी छ भने बाँकी इमर्जिङ नेपाल, विशाल ग्रुपलगायत सातओटा कम्पनीको लगानी छ । क्रेडिट रेटिङ नियमावली २०६८ बमोजिम उक्र संस्थाले अनुमति पाएको हो । यसले क्रेडिट रेटिङ व्यवसाय थप प्रतिस्पर्धी हुने र सेवा गुणस्तरीय तथा सहज हुने बोर्डको विश्वास रहेको छ ।