विकासन्युज

एउटा नाकाबाट ल्याउन एलसी खोलिएको सामान अर्कै नाकाबाट भित्र्याउन पाइने

काठमाडौं, ६ भदौ । अबदेखि सामान आयात गर्दा जुन भन्सारवाट पनि ल्याउन पाइने भएको छ । यसअघि एलसी खोल्दा तोकिएको भन्सार नाकाबाट मात्रै सामान भित्र्याउन पाउने ब्यवस्थामा पुनरावलोकन गर्दै यस्तो ब्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै एउटा भन्सार नाकाबाट सामान भित्र्याउने भनिए पनि सामान आइपुग्दासम्म अर्कै नाकाबाट भित्र्याउनु पर्ने अवस्था आए त्यसो गर्न सकिने ब्यवस्था गरिएको जानकारी दिएको छ । गत वर्ष तराई मधेस केन्द्रित केही राजनीतिक दलले वीरगन्ज भन्सार नाकामा अवरोध गरेपछि नाका परिवर्तन (रिरुट) गरेर सामान नेपाल भित्र्याइएको थियो । यसरी भन्सार नाका परिवर्तन गर्न प्रक्रियागत झन्झट भएको कारण यस्तो ब्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि भन्सार नाका परिवर्तन गरेर सामान भित्र्याउन वाणिज्य मन्त्रालय, नेपाल राष्ट्र बैंक र भन्सार कार्यालयमार्फत अर्थ मन्त्रालयको पनि स्वीकृति चाहिन्थ्यो । अब भने एलसी खोल्ने बैंकले कागजात हेरेर औचित्यको आधारमा जुन भन्सार नाकाबाट पनि भित्र्याउन पाइने गरी ब्यवस्था मिलाउन सक्ने भएको छ । यस्तो ब्यवस्थाले बाणिज्य विभागको अनावश्यक झन्झट हटेको छ । ‘प्रत्येक भन्सार बिन्दुबाट सामान आयात गर्दा हुने मालवस्तुको परिमाण र रकम प्रतीतपत्र (एलसी)मा स्पष्ट खुल्ने अवस्थामा सम्बन्धित बैंकहरूबाट मालवस्तुको आयात भए/नभएको अनुगमन गर्ने गरी आयात गरिएका मालवस्तु एकभन्दा बढी भन्सार बिन्दुबाट पैठारी गर्न सकिनेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । नयाँ व्यवस्थाअनुसार कुनै भन्सार कार्यालयबाट मालवस्तु पैठारी गर्ने गरी एलसी खोलेको, तर कारणवश सो भन्सार कार्यालयको सट्टा अन्य भन्सार कार्यालयबाट पैठारी गर्नुपर्ने अवस्था परे सम्बन्धित आयातकर्ताबाट भन्सार परिवर्तन गर्नुपर्ने औचित्य पुष्टि हुने कागजात लिई एलसी खोलेको बैंकले पैठारी हुने भन्सार नाका संशोधन गरेको प्रमाण पैठारी हुने भन्सार कार्यालयमा पेस गर्नुपर्नेछ । यसरी, पैठारी हुने भन्सार बिन्दु परिवर्तनका लागि अन्य निकायको अनुमति वा सिफारिस आवश्यक पर्नेछैन । यस प्रयोजनका लागि एकपटक फाराम जारी भइसकेपछि सोको सक्कल प्रति प्राप्त नभई अर्काे फारम जारी गर्न भने पाइनेछैन । अबदेखि पनि पैठारी हुने मालवस्तुका लागि एलसी खोल्दाकै अवस्थामा भन्सार बिन्दु भने उल्लेख गर्नुपर्नेछ । यसअघि पनि यस्तै व्यवस्था थियो । एलसी खोलेर भारतबाट मालसामान आयात गर्दा समेत यस्तो व्यवस्था लागू हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने

काठमाडौं, ६ भदौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति र आगामी साधारण सभाबाट पारित भएसँगै बैंकका लगानी कर्ताले सो मात्रामा बोनस सेयर र नगद लाभांश प्राप्त गर्नेछन् ।

पूर्व अर्थमन्त्री र अर्थमन्त्रीका सल्लाहकार नै कानुन उल्लघनकर्ता, जनही ५/५ हजार जरिवाना

काठमाडौं, ६ भदौ । पूर्व अर्थमन्त्री डा. रामशरण महत र पूर्वअर्थमन्त्री विष्णु पौडेलका प्रमुख आर्थिक सल्लाहकार डा. गोविन्द नेपालले भ्रष्टाचार निवारण ऐनको बर्खिलाप गरेका छन् । डा. महतले अर्थमन्त्री बनेको समयमा कानुन उल्लघन गरेका हुन भने डा. नेपालले राष्ट्रिय योजना आयोगको सदस्य भएको बेलामा कानुन उल्लघन गरेका हुन् । पूर्वअर्थमन्त्री डा. महत तत्कालिन अर्थमन्त्री महतले आर्थिक बर्ष २०७१/७२ मा सम्पत्ति विवरण नबुझाएर कानुनको उल्लघन गरेका राष्ट्रिय सतर्कता केन्द्रले जानकारी दिएको छ । विवरण नबुझाएकोमा दुबै ब्यक्तिलाई कारवाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताए । ‘समयमै विवरण नबुझाउने सार्वजनिक पदाधिकारीको विवरण अख्तियार पठाएका छौं, अख्तियारले ५ हजार रुपैयाँ जरिवाना तिराएर पुन विवरण भर्न लगाउने हो, यसरी कारवाही भइरहेको जानकारी हामीलाई प्राप्त भएको छ,’ प्रवक्ता लामिछानेले भने । अर्थमन्त्रालयका पूर्व आर्थिक सल्लाहकार डा. नेपाल सो आर्थिक बर्षमा विवरण बुझाउनु पर्ने सार्वजनिक पदाधिकारीमध्ये २२ हजार ८ सयले विवरण बुझाएका छैनन् । तत्कालिन उर्जा मन्त्री राधा ज्ञवालीले पनि समय गुज्रेपछि विवरण बुझाइकी छिन् । समयमै विवरण नबुझाउनेहरुमा तत्कालिन अर्थमन्त्री डा. महत र योजना आयोगका तत्कालिन सदस्य तथा अर्थमन्त्रालयका पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. नेपाल पनि रहेका छन् । यस्तै कर्णाली विकास आयोग र सुदुरपश्चिम विकास आयोगका पदाधिकारीले विवरण बुझाएका छैनन् । नेपाल राष्ट्र बैंकका ५ जना कर्मचारी, राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकका ३०/३० जना, उच्च माध्यामिक शिक्षा परिषदका ३० जना, नेपाल वायुसेवा निगमका ३ सय जना र जिल्ला विकास समिति तथा नगरपालिकाका कर्मचारीमध्ये १४५० जनाले विवरण बुझाएका छैनन् । यस्तै नेपाल टेलिकमका ४० जना, त्रिभुवन विश्वविद्यालयका २५ जना, कृषि अनुसन्धान परिषदका ७० जना र ७० ओटा सरकारी अस्पतालका कुनै पनि पदाधिकारी र कर्मचारीले विवरण बुझाएका छैनन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले रियो ओलम्पिकमा

काठमाडौं, ६ भदौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भएका छन् । ओलम्पिकमा सहभागी भएर घलेले नेपाली खेलाडीको हौसला बढाएका हुन् । अगष्ट २० तारिखमा नेपाल सहभागी तेक्वाण्डो खेलमा उपस्थीत भएका अध्यक्ष घलेले नेपाली खेलाडीलाई शुभकामना समेत दिएका थिए । साथै उनले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतका पदाधिकारीसँग भेटेर नेपालको सहभागीता र उपलब्धीबारे छलफल पनि गरेका थिए । अध्यक्ष घलेले ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय खेलमा गैरआवासीय नेपाली प्रतिभाहरुलाई नेपालका तर्फबाट सहभागी बनाउनुपर्ने सुझाव दिए । गैरआवासीय नेपाली किशोरी गौरिकाको प्रस्तुतीको स्मरण गर्दै उनले बिदेशको नेपाली समुदायमा गौरिका जस्ता धेरै प्रतिभा रहेको दावी समेत गरेका थिए । यसैबिच, घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिलको बिशेष साधारणसभालाई सम्बोधन पनि गरेका थिए ।

कृषिमा करिब आठ अर्बको क्षति, खडेरीका कारण मुलुकभरका कृषि उपजमा विनाश

काठमाडौं, ६ भदौ । प्राकृतिक प्रकोपको मारमा कृषि क्षेत्र परेको छ । प्राकृतिक प्रकोपका कारण बर्सेनि कृषि क्षेत्र प्रभावित हुने गरेको छ । गत वर्षमात्र खडेरीका कारण कृषिमा मात्रै करिब आठ अर्व रुपैयाँको क्षति भउको छ । खडेरीले कृषिबाली नष्ट गरेको र बालिनाली नै हुन नसकेका कारण ७ अर्ब ७५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि विकास मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्यांक छ । खडेरीका कारण मुलुकभर ३ लाख २५ हजार ८५७ हेक्टरको अन्नबाली, तरकारी, फलफूललगायत कृषि उपजमा क्षति पुगेको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ। गत वर्ष खडेरीले खेती गर्ने क्षेत्रसमेत घटेको थियो भने गरिएको खेती खडेरीका कारण सुकेपछि कृषक मारमा परेका थिए। कर्णालीमा ४० वर्षयताकै ठूलो खडेरीका कारण वर्षे र हिउँदे दुवै बाली प्रभावित बनेपछि कर्णालीवासी विस्थापनमा परेका थिए । खडेरीका कारण कर्णालीवासीले अझै खाद्य संकट भोगिरहेका छन् । कुनै वर्ष खडेरी र कुनै वर्ष डुबानका कारण सबैभन्दा बढी धानखेतमा क्षति हुने गरेको छ भने बाढी र पहिरोका कारण विभिन्न बालीमा कुनै न कुनै मात्रामा क्षति भइरहेको पाइन्छ । यो वर्ष भने बाढीका कारण साउनसम्ममा मात्र ७२ हजार २२५ हेक्टर क्षेत्रमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको कृषि विभागले जनाएको छ । कुनै वर्ष खडेरी र कुनै वर्ष बाढीपहिरोका कारण कृषिमा क्षति हुँदै आएको विभागका महानिर्देशक युवकध्वज जीसीले बताए । जिल्ला–जिल्लामा भएको क्षतिको विवरण संकलन गरेर हरेक वर्ष मन्त्रालयमा पठाउँदै आएका पनि उनको भनाइ छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक एशिया प्रमुख नेपालमा, अर्थपूर्ण औपचारिक भ्रमण

काठमाडौं, ६ भदौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वल दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका छन् । यो उनको पहिलो औपचारिक नेपाल भ्रमण हो । उनले नेपाल भ्रमणको अवधिमा विभिन्न सरकारी निकायका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने योजना रहेको स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी सन् २०१५को अक्टोबर १ देखि यो पदमा कार्यरत छन् । यसअघि उनी उत्तरपुर्वी एशियाली मुलुकका क्षेत्रीय प्रमुख कार्यकारी थिए । उनले कन्जुमर बैंकिङको क्षेत्रीय प्रमुख, विभिन्न मुलुकमा स्ट्राटेजिक डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट प्रमुख भएर पनि काम गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ७५ प्रतिशत सेयर लगानी स्ट्याण्डर्ड चार्टर्ड ग्रुपका रहेकोले उनले नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमणलाई औपचारिक भनिएको छ र उनले नेपाल भ्रमणको समयमा विभिन्न सरकारी निकायका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने योजना रहेको स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकका अधिकारीहरुसँगको भेटमा पुँजी वृद्धि लगायत राष्ट्र बैंकले लिएका नीति र नेपालको बैकिङ बजारबारे महत्वपूर्ण छलफल हुने अनुमान गरिएको छ ।

सोमबारै मन्त्रिपरिषद् विस्तार हुन सक्ने, कांग्रेसले नाम दिनासाथ मन्त्रिपरिषद् विस्तार

काठमाडौं, ६ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरिरहेकोले कांग्रेबाट नयाँ मन्त्रीको नाम आउँनासाथ मन्त्रीपरिषद् विस्तार हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने संकेत देखिएको छ । काँगेसले १२ देखि १३ वटा मन्त्रालय पाउँने भएपनि काँग्रेसभित्रै देउवा र पौडेलपक्षबीच सहमति हुन नसक्दा सबै मन्त्रालयका लाागि मन्त्रीका नामावली भने पठाउन तत्काल नसकिने उल्लेख छ । कांग्रेसले चारपाँच जनाको नाम सोमबार नै प्रधानमन्त्री दाहाललाई दिने र मन्त्रीपरिषद् विस्तार हुनसक्न कांग्रेसकै एक नेताले बताएको समाचार सोमबारको कान्तिपुर दैनिकले छापेको छ । ‘हाम्रो तर्फबाट केही नामसोमबारनै प्रधानमन्त्रीकहाँ जाँदैछ, भदौ ८ गते देउवा उपचार फ्लो अपका लागि सिंगापुर उड्ने भएकाले त्यसअघि नै पार्टीका तर्फबाट सरकारमा जाने अरु नेताको नामसमेत टुंगो छ ’, कांग्रेसका एक नेताको भने । सोमबार क्याबिनेटमा जाने नाम पठाउन आवश्यक तयारी भइरहेको छ । कांग्रेसले सोमबार पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीको चर्चा छ । अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा पर्ने छैनन् । कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ । अरु मन्त्रीबारे मोटामोटी टुंगो लागे पनि महिला, मधेसीलगायत समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने शर्तले गर्दा पौडेल पक्षसँग समन्वय गरेपछि मात्रै सार्वजनिक गर्ने देउवाको तयारी छ। ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी आएकाले छलफल बाकी रहेको खुलाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सम्भव भए सोमबार, नत्र मंगलबारभित्र आफ्नो दलबाट थप मन्त्री आउने पुष्टि गरे । ‘मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भइरहेको छ, त्यसलाई अन्तिम रुप दिनुअघि केही छलफल गर्नुपर्ने भएकाले ढिलाई भएको हो,’ उनले भने । को–को नेता कुन मन्त्रालयमा जाने भन्नेबारे लेखकले खुलाएनन् । पौडेल निकट मानिने अर्का नेता महेश आचार्यले मन्त्रिपरिषदमा को–को जाने भन्नेबारे पार्टीभित्र सरसल्लाह भइनसकेको बताए। आन्तरिक परामर्श र छलफलबाटै नामावली टुंगो लाग्नेमा उनले विश्वास व्यक्त गरे । अर्का एक नेताले मन्त्री हुन पार्टीभित्र डेढ सय नेता आकांक्षी रहेको जानकारी दिए ।

आपूर्ती मन्त्रालयकोअनुगमन टोलीमाथि व्यवसायीको अवरोध, केहि स्टोरमा सिलबन्दी

काठमाडौं ६ भदौ। अाइतवार अनुगमन गर्न पुगेको आपूर्ति मन्त्रालयको टोलीलाई नयाँबजारका एक व्यवसायीले धम्क्याएका छन्। सोमबार अर्गानिक किचेन मार्टमा अनुगमन टोलीले किरा लागेका तथा म्याद नाघेका सामानहरु बिक्री गरिरहेकै अवस्थामा फेला पार्‍यो । अनुगमन टोलीमा मन्त्रालयका उपसचिव तथा टोली संयोजक कपिल प्रसाद रेग्मी सहित उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मी थिए । श्रेष्ठले संयोजकमाथि नै अभद्र व्यवहार गरेपछि अनुगमन टोली र व्यवसायीबीच एक घण्टा चर्काचर्की भएको थियो । टोलीले अनुगमनका क्रममा अर्गानिक किचेन मार्टमा अधिकांश सामान म्याद नाघेका, लेबल नखुलाइएका तथा किरा लागेका भेटिएपछि सिलबन्दी गर्ने निर्णय गरेको थियो। सोमबार आपूर्ति मन्त्रालयको संयोजकत्वमा गएको अनुगमन टोलीले चार वटा स्थानमा अनुमन गरेको थियो। जस मध्ये दुईवटा स्टोरहरुमा सिलबन्दी गरेको छ। राजधानीको कलंकीमा रहेको सिजी मार्टमा लेबल नलगाइएका तथा म्यादा नाघेका सामानहरु फेला परेका थिए। टोलीले उक्त मार्टबाट सामान जफत गरि सुधारका लागि निर्देशन दियो।