सेजनले अस्वीकार गर्यो सरकारको एक करोडको निःशर्त अनुदान
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रस्ताव गरिएको एक करोड रुपैयाँ बराबरको अनुदान अस्वीकार गरेको छ । सेजनले सोमबार विज्ञप्ति जारी गर्दै उक्त अनुदान नलिने निर्णय जनाएको हो । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत सेजन, नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र महिला आर्थिक पत्रकार संघ (फेजा) लाई सरकारद्वारा एक-एक करोड रुपैयाँ सञ्चालन अनुदान विनियोजन गरिएको थियो । सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको विज्ञप्तिमा उल्लेख गरेको छ । यसैगरी, सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको जनाएको छ । विज्ञप्तिमा सेजनका सदस्यहरू सरकार र सरोकारवाला निकायहरूमाथि बजेट अनुशासन र स्रोतको प्रभावकारी उपयोगबारे निरन्तर खबरदारी गर्दै आएको स्मरण गराउँदै यस अवस्थाको विरोधस्वरूप अनुदान अस्वीकार गरिएको जनाइएको छ । सेजनले हाल देशमा नागरिकको जीवन रक्षा र आधारभूत आवश्यकतामा सरकारको लगानी बढाउनु पर्ने आवश्यकता औंल्याउँदै यस्ता रकम त्यहीँ केन्द्रित हुनुपर्ने धारणा राखेको छ ।
एमजी विन्डसर ईभी बुधबार सार्वजनिक हुँदै
काठमाडौं । नेपाली बजारमा एमजीको नयाँ विद्युतीय सवारीसाधन ‘एमजी विन्डसर ईभी’ बुधबार सार्वजनिक हुने भएको छ । एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विन्डसर ईभी सार्वजनिक गर्न लागेको हो । एमजी विन्डसर ईभी भारतमा निर्मित जेएसडब्लू एमजीको दोस्रो विद्युतीय मोडल हो । यसअघि भारतमै निर्मित कोमेट मिनी ईभी नेपाली बजारमा बिक्री भइसकेको छ । भारतीय बजारमा राम्रो बिक्री प्राप्त गरिरहेको विन्डसर ईभीले नेपाली बजारमा बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । एमजी विन्डसर ईभी दुई फरक भेरियन्टमा उपलब्ध हुनेछ । एक्सक्लूसिभ र इसेन्स । अघिल्लो मूल्य खुलासाका आधारमा एक्सक्लूसिभको मूल्य ३९ लाख ४९ हजार रुपैयाँ र इसेन्सको ४२ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो । तर, औपचारिक बिक्री सुरू हुँदा यी मूल्यहरू केही घट्न सक्ने अपेक्षा गरिएको छ । एमजी विन्डसर एक कम्प्याक्ट युटिलिटी भेहिकल (सीयूभी) हो, जुन लक्जरी र आधुनिक प्रविधिले भरिएको छ । यसमा वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रिकली, एड्जस्टेबल फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल तथा ३६० डिग्री क्यामेरा उपलब्ध छ । विन्डसर ईभीमा ३८ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा ३३१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । भारतको सहरी परीक्षणमा यसले ३२७ किलोमिटर रेन्ज दिएको उल्लेख गरिएको छ । यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २०० एनएम टर्क उत्पादन गर्न सक्ने कम्पनीको भनाइ छ । विन्डसर ईभीको डिजाइन आकर्षक र आधुनिक छ । यसमा फ्लश डोर ह्याण्डल, एलईडी लाइटहरू, १८ इन्चको अलोय ह्वील, पानारोमिक ग्लास रुफ, १३५ डिग्रीसम्म डिलाइन गर्न मिल्ने पछिल्लो सिट, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन सेन्टर कन्ट्रोल सिस्टम जडान गरिएको छ ।
एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने
काठमाडौं । एनसेलले आम उपभोक्ताहरूको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरु वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको हो । यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान)को नियम अनुरुप जारी भएको हो । दूरसञ्चार सेवाहरु बाहेक विभिन्न महत्वपूर्ण कामहरु जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ । एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेटरअपडेट गर्न अनुरोध गरेको छ ।
सेनाका कमाण्डरलाई ‘काका’ भनेपछि थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित
काठमाडौं । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । क्याम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोन वार्ता लिक भएपछि शिनावात्रामाथि राजीनामा दिनुपर्ने दबाव बढेको थियो । उक्त टेलिफोन लिकमा पेटोङटार्न शिनावात्राले थाई सेनाका कमाण्डरलाई हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन् । यस घटनापछि थाई राजनीतिक वृत्तमा ठूलो विवाद उत्पन्न भयो । सरकारविरुद्ध अदालतमा निवेदन दर्ता गरियो, जसको आधारमा थाई संवैधानिक अदालतले शिनावात्रालाई अस्थायी रूपमा निलम्बन गर्यो । यता दुई साताअघि नै उनका सहयोगीहरूले समर्थन फिर्ता लिएपछि सत्तारूढ गठबन्धन पहिलेदेखि नै अल्पमतमा परिसकेको छ । पेटोङटार्न शिनावात्रा देशका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन् । उनी फ्यु थाई पार्टीको तर्फबाट प्रधानमन्त्री पदमा पुगेकी थिइन् जुन पार्टी थाक्सिन शिनावात्राले स्थापित गरेका थिए । यो पार्टी परम्परागत रूपमा जनतामा लोकप्रिय भए तापनि थाई सैन्य तथा शाही सत्ताका लागि सधैं शंकाको दृष्टिले हेरिने गरेको छ । यो निलम्बनले थाई राजनीतिलाई फेरि अनिश्चिततातर्फ धकेलेको छ, जसमा सैन्य, शाही सत्ता र जननिर्वाचित सरकारबीचको शक्ति संघर्ष झनै चर्कने देखिएको छ ।
२८ अंकले बढ्यो सेयर बजार, ७ अर्बको कारोबार
काठमाडौं । मंगलबार पनि सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ अंकले बढेर २६६० बिन्दुमा पुगेको छ । आज २१७ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३०९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ४५ करोड, बुटवल पावरको २५ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड र युनियन हाइड्रोको २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार सेक्टर बाहेक अरु सेक्टरमा हरियाली छाएको छ । उपसमूहमा बैकिङ १.०९ प्रतिशत, विकास बैंक १.२१ प्रतिशत, फाइनान्स ०.५५ प्रतिशत, होटल तथा पर्यटन ०.५७ प्रतिशत, हाइड्रोपावर १.३८ प्रतिशत, इन्भेष्टमेन्ट २.३८ प्रतिशत, लाइफ इन्स्योरेन्स १.१२ प्रतिशत, माइक्रोफाइनान्स २.२२ प्रतिशत, म्युचल फण्ड ०.३३ प्रतिशत, नन लाइफ इन्स्योरेन्स १.०५ प्रतिशत र अन्य ०.४८ प्रतिशतले बढेको छ ।
डोटी, सुर्खेत र धनकुटामा मुक्तिनाथ बैंकको सहयोग, विद्यार्थी लाभान्वित
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशका विभिन्न प्रदेशहरूमा शिक्षादेखि स्वास्थ्यसम्मका क्षेत्रमा सहयोग कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित श्री नव प्रभाव आधारभूत विद्यालयका ८७ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरी पठन–पाठनप्रति सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ । स्वास्थ्य क्षेत्रमा समेत सक्रिय रहँदै, बैंकले कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतलाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ भने कोशी प्रदेशको जिल्ला अस्पताल धनकुटामा बिरामी तथा कुरुवा बस्नका लागि ७ थान तीन सिटर कुर्सी उपलब्ध गराएको छ । बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्वीडेन र डेनमार्कमा टेस्लाको बिक्री ६० प्रतिशतभन्दा बढी घट्यो
काठमाडौं । टेस्लाको बिक्री स्वीडेन र डेनमार्कमा लगातार छैटौं महिना घटेको छ । विद्युतीय गाडी उत्पादक कम्पनी टेस्लाका प्रतिस्पर्धीहरूले बजार हिस्सा बढाउँदै लग्नु र सीईओ एलन मस्कको घट्दो लोकप्रियताका कारण बिक्री घटेको हो । स्वीडेनमा टेस्लाका दर्ता जुन बिक्रीको मापनको आधार मानिन्छ गत वर्षको जूनको तुलनामा ६४.४ प्रतिशतले घट्यो । डेनमार्कमा पनि टेस्लाको बिक्री ६१.६ प्रतिशतले घट्यो । त्यहाँ अमेरिकी विद्युतीय गाडी उत्पादक कम्पनीको परिमार्जित मोडेल वाईको बिक्री गत वर्षको तुलनामा ३१.२ प्रतिशतले घटेर १ हजार १५५ गाडीमा झर्यो । टेस्लाको मासिक गाडी दर्ता विवरण सार्वजनिक हुने क्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीचको कर छुट तथा खर्च सम्बन्धी व्यापक विधेयकको विषयमा पुनः विवाद चर्किएको समयमा परेको हो ।
सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी खरिदका लागि सुलभ कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार सिप्रदीमार्फत टाटा ब्रान्डका विद्युतीय ट्याक्सी किन्न चाहने ग्राहकहरूले सिद्धार्थ बैंकबाट सहज ब्याजदरमा ५ वर्ष अवधिसम्मको कर्जा सुविधा पाउनेछन् । बैंकले दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको जनाएको छ । यस सम्बन्धमा थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।