जनता एग्रोले आईपीओ प्रक्रिया अघि बढायो, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ । कम्पनीले गत मंसिर २२ गते सम्पन्न साधारण सभाको निर्णयअनुसार जारी पुँजी संरचना कार्यान्वयन गर्दै आईपीओ निष्कासनको तयारी अघि बढाएको हो । कम्पनीको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । जसमध्ये २ अर्ब रुपैयाँ प्रवद्र्धक सेयरअन्तर्गत रहनेछ भने बाँकी ५० करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि आईपीओमार्फत जारी गरिने कम्पनीले जनाएको छ । आईपीओ प्रक्रिया अघि बढाउन सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले कृषि तथा वन पैदावारका माध्यमबाट खेतीदेखि विक्रेतासम्म गुणस्तरीय उत्पादन तथा आपूर्ति प्रणाली विकास गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ । प्राकृतिक स्रोत र मानवीय क्षमतालाई जोड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ अभियानमा योगदान पुर्याउने उद्देश्य कम्पनीको रहेको जनाएको छ । कम्पनीप्रति व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबाट प्राप्त विश्वास, सहभागिता र समर्थनले दीर्घकालीन संस्थागत विकास तथा बजार विश्वसनीयता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको कम्पनीले जनाएको छ । साथै, आगामी दिनमा अझ सुदृढ र उत्तरदायी ढंगले अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा दिव्या रायमाझी नै दोहोरिइन्
काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेस्डर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैंसेपाटीमा ब्रान्ड एम्बेस्डर सम्झौता नवीकरण सम्पन्न भएको हो । सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् । डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै आफ्नो ब्रान्ड यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ । कम्पनीका अनुसार, युवामाझ लोकप्रिय, आत्मविश्वासी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिइएको हो । यस अवसरमा डिशहोमले आगामी डिजिटल अभियानहरू, ग्राहक केन्द्रित सेवाहरू तथा विशेष मनोरञ्जनमूलक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य गर्दै जाने जनाएको छ । डिशहोमले हाल देशभर उच्च गतिको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै लाखौँ ग्राहकहरूमाझ आफ्नो सेवा विस्तार गरिरहेको छ । सम्झौता नवीकरणपछि अभिनेत्री दिव्या रायमाझीले डिशहोमसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउँदै नेपाली दर्शक तथा डिजिटल प्रयोगकर्तासँग अझ नजिक भएर जोडिन पाउने विश्वास व्यक्त गरिन्।
साब्रिना होटल अब 'ट्राइब काठमाडौं' बन्दै, आईपीओ पनि जारी गर्ने
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित गणेश चोकमा रहेको साब्रिना होटल अब विश्व प्रसिद्ध फ्रान्सेली होटल समूह एकोर अन्तर्गतको लाइफ स्टाइल ब्रान्ड ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुने भएको छ । साब्रिना होटल लिमिटेड र ट्राइब होटलबीच भारतको नयाँ दिल्लीमा सम्झौता भएसँगै अब ट्राइब काठमाडौं नाममा सञ्चालन हुनेछ । यो परियोजना दक्षिण एसियामै ट्राइब ब्रान्डको पहिलो परियोजना हुने कम्पनीको दाबी छ । यसअघि नै नेपालमा एकोर समूहकै मक्र्योर ब्रान्ड सञ्चालनमा रहेको छ । साब्रिना होटल लिमिटेडका अध्यक्ष निराजन थापाले एकोरसँगको सहकार्यमा ट्राइब ब्रान्ड नेपाल भित्र्याउन पाउँदा खुशी व्यक्त गरे । साथै यसलाई नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ । ट्राइब ब्रान्डको आगमनले आधुनिक डिजाइन, आरामदायी वातावरण र समुदायमुखी सेवाको बढ्दो मागलाई पूरा गर्ने उनले विश्वास व्यक्त गरे । ‘काठमाडौंमा आधुनिक यात्रुहरूको आवश्यकताअनुसार डिजाइन, सुविधा र सामाजिक स्पेसलाई जोड्ने सेवा आवश्यक छ, जसलाई ट्राइब ब्रान्डले पूरा गर्नेछ । यो परियोजनाले कम्पनीको लाइफस्टाइल होटल गन्तव्य बनाउने लक्ष्यलाई पनि अघि बढाउने छौं,’ उनले भने । ट्राइब ब्रान्ड विश्वभर आधुनिक डिजाइन, व्यावहारिक सुविधा, सामाजिक स्पेस र सुलभ मूल्यमा गुणस्तरीय सेवाका लागि परिचित छ । यो ब्रान्ड विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै स्मार्ट डिजाइन र जीवन्त वातावरण प्रदान गर्ने मानिन्छ । हाल विश्वका विभिन्न देशमा ट्राइब ब्रान्डका २७ होटल सञ्चालनमा छन् । दक्षिण एसियामा प्रवेशअघि नै नेपालमा यसको उपस्थिति सुरु भएको हो । यो ब्रान्ड थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशहरूमा पनि विस्तार भइसकेको छ । हाल उक्त होटल पाँचतारे स्तरमा स्तरोन्नति भइरहेको छ । स्तरोन्नतिपछि होटलमा ११० वटा कोठा रहनेछन् । साथै, तीनवटा रेस्टुरेन्ट सञ्चालनमा आउनेछन्, जसमा रुफटप रेस्टुरेन्ट काठमाडौंकै सबैभन्दा ठूला र आकर्षक रुफटप स्पेसमध्ये एक हुने थापाको भनाइ छ । प्रत्येक कोठाको औसत आकार करिब ३० वर्ग मिटर हुनेछ । होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा र जिमजस्ता सुविधा पनि रहनेछन् । यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १० किलोमिटर दूरीमा रहेको छ । साथै, पर्यटकीय क्षेत्र ठमेल र शिवपुरी राष्ट्रिय निकुञ्ज पनि नजिकै रहेका छन् । साब्रिना होटलले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँबाट बढाएर १ अर्ब २२ करोड रुपैयाँ पुर्याइएको छ । जसमध्ये ७४ करोड ९६ लाख रुपैयाँ संस्थापक समूहको रहनेछ भने ४७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गरिनेछ । अध्यक्ष थापाले पर्यटन तथा होटल क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिनुपर्ने, एयरलाइन्सको क्षमता विस्तार गर्नुपर्ने, पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले घरेलु उडानमा नेपाली र विदेशी यात्रुका लागि फरक भाडादर हटाएर एकरूपता ल्याउनुपर्ने बताए । साथै, होटल क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र स्पष्ट मापदण्ड आवश्यक रहेको उनको भनाइ छ ।
नेपाली फाइटर रवीन्द्र ढाँटको शानदार जित
काठमाडौं । नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विजयी हासिल गरेका छन् । चीनको मकाउमा भएको प्रतिस्पर्धामा उनले फिलिपिन्सका विपक्षी फाइटर किम्बर्ट अलिन्टोजोन दोस्रो राउन्डमै पराजित गरेका हुन् । ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा उनले विपक्षीलाई नकआउट गरेका हुन् । यससँगै ढाँटले सेमिफाइनल यात्रा तय गरे । पहिलो राउन्डमा फिलिपिनी फाइटर अलिन्टोजोन हावी भए पनि दोस्रो राउन्डमा ढाँट शक्तिशाली देखिए ।
हरित ऊर्जातर्फ सिंगापुरको नयाँ कदम
काठमाडौं । सिंगापुरले सन् २०२७ जुलाई १ देखि रेफ्रिजरेसन र एयर कन्डिसनिङ उपकरणबाट हुने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ । राष्ट्रिय वातावरण एजेन्सीले बिहीबार जारी गरेको विज्ञप्तिमा ठूलो व्यावसायिक शीतलन प्रणाली र सवारीसाधनको एयर कन्डिसनिङलाई समेत नयाँ नियमको दायरामा ल्याइने जनाएको हो । नयाँ व्यवस्था अन्तर्गत केन्द्रीय व्यावसायिक रेफ्रिजरेसन प्रणाली, यातायातमा प्रयोग हुने शीतलन प्रणाली तथा यात्रुवाहक सवारी र हल्का मालवाहक सवारीका एयर कन्डिसनिङ प्रणालीमा कडाइ गरिनेछ । यो कदम सिंगापुरको सन् २०३० सम्मको जलवायु लक्ष्य र सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यलाई सहयोग गर्न ल्याइएको बताइएको छ । यसअघि सन् २०२२ मा घरायसी एयर कन्डिसनर, फ्रिज तथा ठूला भवनमा प्रयोग हुने पानी–आधारित शीतलन प्रणालीका लागि ग्लोबल वार्मिङ क्षमता सीमा निर्धारण गरिएको थियो । ग्लोबल वार्मिङ क्षमता भनेको कुनै ग्यासले कार्बन डाइअक्साइडको तुलनामा कति ताप वृद्धि गराउँछ भन्ने मापन हो, जुन सामान्यतया १०० वर्षको अवधिमा मूल्याङ्कन गरिन्छ । नयाँ नियमअनुसार सुपरमार्केटमा प्रयोग हुने रेफ्रिजरेसन प्रणालीमा सन् २०२७ जुलाईदेखि १५० भन्दा बढी ग्लोबल वार्मिङ क्षमता भएका रेफ्रिजरेन्ट प्रयोग गर्न पाइने छैन । त्यसैगरी, सन् २०२८ जुलाईदेखि नयाँ दर्ता हुने यात्रुवाहक र हल्का मालवाहक सवारीका एयर कन्डिसनिङ प्रणालीले पनि यही सीमा पालना गर्नुपर्नेछ । एजेन्सीका अनुसार यी मापदण्ड युरोपेली संघ र जापानमा लागू गरिएका कम उत्सर्जन प्रविधिसँग मिल्दोजुल्दो छन् । रासस
गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने भएपछि कांग्रेसको असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई लिएर प्रश्न उठाएकी छन् । बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भए त्यसको कारण सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने माग गरिन् । उनले भनिन्, 'गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने विगतदेखिको अभ्यास हो । आउन नसक्ने भए उहाँले कारण बताइदिनुपर्छ । व्यस्तता, स्वास्थ्य अवस्था वा अन्य कुनै कारण भए पनि जानकारी गराएको भए राम्रो हुन्थ्यो ।' थापाले सत्तापक्षले बहुमतको आधारमा मात्र अघि बढ्न खोजेको आरोपसमेत लगाएकी छन् । बजेट निर्माण प्रक्रियामा विगतमा प्रतिपक्षका सुझाव पनि सुनिने गरेको उल्लेख गर्दै अहिले भने प्रतिपक्षले उठाएका प्रश्नको जवाफ नपाएको गुनासोसम्मेत प्रमुख सचेतक थापाले गरिन् । उनले भनिन्, 'विगतमा निर्णय सरकार पक्षकै हुन्थ्यो, तर प्रतिपक्षको कुरा पनि सुनिन्थ्यो । अहिले प्रधानमन्त्रीबाट प्रतिपक्षले खोजेको जवाफ पाइरहेको अवस्था छैन, जुन आम नागरिकले पनि पाउनुपर्ने हो ।' थापाले आगामी बजेटमा सरकारले भौतिक पूर्वाधारभन्दा स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने धारणा राखिन् । यसैबीच, उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताइन् । उनले अनुसन्धान र कारबाही प्रक्रिया कानुनसम्मत हुनुपर्नेमा जोड दिँदै भनिन्, 'पहिले समात्ने अनि पछि अनुसन्धान गर्ने शैलीभन्दा सत्यतथ्य छानबिन गरेर कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्छ । प्रतिवेदनमा उल्लेख भएका विषय सत्य भए कारबाही अगाडि बढाउनुपर्छ । त्यसमा कांग्रेसको पूर्ण समर्थन रहनेछ ।'
युनाइटेड डिस्ट्रीब्युटर्सको आम्दानी १५.२० अर्ब, लाभांश रोकेपछि कर्जा ५.८६ अर्बमा झर्यो
काठमाडौं । युनाइटेड डिस्ट्रीब्युटर्स (नेपाल) प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ७ अर्ब २२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीका अनुसार वार्षिकीकृत आम्दानी करिब ५ प्रतिशतले घटेको छ, जसको मुख्य कारण व्यक्तिगत हेरचाह (पर्सनल केयर) खण्डमा करिब २१ प्रतिशतको गिरावट हो । यद्यपि, नयाँ उत्पादनहरू थपिँदै गएकाले आगामी दिनमा व्यवसाय सुधार हुने अपेक्षा कम्पनीको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब २० करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २.८० प्रतिशत अर्थात् ४१ करोड ५० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले १४ अर्ब ७८ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आर्थिक मन्दीका बाबजुद पनि कम्पनीले कारोबारलाई स्थिर कायम राख्न सफल भएको छ । पछिल्ला वर्षहरूको तथ्यांकअनुसार कम्पनीको आम्दानी निरन्तर वृद्धि देखिएको छ । आव २०७९/८० मा १३ अर्ब ६१ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा १३ अर्ब ८१ करोड रुपैयाँ, आव २०७७/७८ मा १२ अर्ब ११ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ९ अर्ब ७० करोड ९० लाख रुपैयाँ र आव २०७५/७६ मा ९ अर्ब २६ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको बिक्री संरचनामा भने ग्राहकमा निर्भरता बढ्दै गएको देखिन्छ । गत वर्ष शीर्ष १० ग्राहकबाट करिब ४२ प्रतिशत आम्दानी आएको थियो, जुन अघिल्लो वर्ष करिब ३८ प्रतिशत थियो । यसले सीमित ग्राहकमा निर्भरता बढाएको र व्यापारिक जोखिम थपिएको कम्पनीको भनाइ छ । सन् २००३ मा स्थापना भएको युनाइटेड डिस्ट्रीब्युटर्स नेपालमा विभिन्न अन्तर्राष्ट्रिय उपभोक्ता सामग्री ब्रान्डहरूको प्रमुख आयातकर्ता तथा वितरक कम्पनी हो । कम्पनीले प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटानिया, अमुल, एससी जोन्सन लगायतका ब्रान्डका उत्पादनहरू नेपालभर वितरण गर्दै आएको छ । करिब ४५ हजारभन्दा बढी खुद्रा पसल तथा बिक्री केन्द्रमार्फत यसको वितरण सञ्जाल विस्तार भएको छ । कम्पनी विशाल ग्रुप अन्तर्गत सञ्चालनमा रहेको हो । अनुज अग्रवाल, विवेक अग्रवाल, निकुञ्ज अग्रवाल र विशाल अग्रवालको संयुक्त रूपमा ५० प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी १० जना लगानीकर्तासँग रहेको छ । कम्पनीले विगतमा सेयरधनीलाई उच्च लाभांश वितरण गर्दै आएको भए पनि गत वर्ष लाभांश वितरण नगर्ने नीति अपनाएको छ । यसले कर्जामा निर्भरता घटाउन र वित्तीय सूचकहरू सुधार गर्न सहयोग गरेको कम्पनीको भनाइ छ । चालु आवको ६ महिनासम्म कम्पनीसँग करिब ५३ प्रतिशत अप्रयुक्त कर्जा उपयोग क्षमता अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष करिब ८ प्रतिशत अर्थात् १७ करोड ९० लाख रुपैयाँ मात्र थियो । तर, गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा करिब ६० करोड रुपैयाँ बराबरको मौज्दात क्षति भएको र त्यससम्बन्धी बीमा दाबी तथा कर्जा समायोजन प्रक्रिया अझै टुंगिन बाँकी रहेको कम्पनीले जनाएको छ । युनाइटेड डिस्ट्रीब्युटर्सको खुद सम्पत्तिको ठूलो हिस्सा सेयर बजार तथा स्थिर सम्पत्तिमा लगानी भएकाले जोखिम कायम रहेको जनाएको छ । सन् २०२६ जनवरी मध्यसम्म कम्पनीको इक्विटी लगानी खुद सम्पत्तिको करिब २२ प्रतिशत रहेको छ भने सन् २०२५ जुलाईसम्म स्थिर सम्पत्ति करिब ४१ प्रतिशत पुगेको थियो । यीमध्ये केही लगानी प्रमोटर सम्बन्धित सेयरमा रहेको र तुलनात्मक रूपमा कम तरल भएकाले आवश्यक समयमा तत्काल नगद व्यवस्थापनमा चुनौती सिर्जना हुन सक्ने कम्पनीको मूल्यांकन छ । कम्पनीले सञ्चालन गर्ने दैनिक उपभोग्य वस्तु अर्थात् फास्ट-मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) व्यापार क्षेत्रमा भने कडा प्रतिस्पर्धा रहेको जनाएको छ । बजारमा स्थापित ब्रान्डहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेकाले बजार हिस्सा कायम राख्न चुनौती रहने देखिन्छ । साथै, सरकारी नीतिगत परिवर्तन नगद मार्जिन आवश्यकतामा वृद्धि, केही वस्तुहरूको आयात प्रतिबन्ध वा आयात महसुल (ड्युटी)मा वृद्धि जस्ता निर्णयले कम्पनीको बिक्री र नाफामा प्रत्यक्ष असर पार्न सक्ने जोखिम पनि कायम रहेको छ । आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा कार्यशील पुँजी तीव्रता करिब २९ प्रतिशत पुगेको छ । यसको प्रमुख कारण ग्राहकबाट उठ्न बाँकी रकम (डेब्टर डेज) बढ्नु हो, जसले नगद प्रवाहमा दबाब सिर्जना गरेको छ । साथै सन् २०२५ सेप्टेम्बरमा भएको प्रदर्शनका क्रममा करिब ६० करोड रुपैयाँ बराबरको मौज्दात क्षति भएपछि त्यसको पुनः भण्डारण गर्नुपरेको छ, जसले कार्यशील पुँजीमा थप दबाब पारेको छ । उक्त क्षतिको बीमा दाबी प्रक्रिया भने अझै बाँकी रहेको छ । यद्यपि अघिल्लो वर्ष सन् २०२४ सेप्टेम्बरमा बालकुमारी गोदाममा भएको बाढी क्षतिमा करिब ९० प्रतिशत बीमा दाबी सफलतापूर्वक प्राप्त भएको अनुभवका कारण कम्पनीप्रति केही भरोसा कायम रहेको कम्पनीको विश्वास छ । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ । जबकि गत वर्ष कम्पनीले ६ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
आगामी पाँच वर्ष विश्वका लागि थप तातो र थप जोखिमपूर्ण हुने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घअन्तर्गतको मौसम तथा जलवायु निकायले सन् २०२६ देखि २०३० सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको जनाएको हो । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का अनुसार सन् २०२६–२०३० को पाँच वर्षे औसत तापक्रम सन् १८५०–१९०० को पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको छ । यसले विश्व जलवायु सङ्कट अझ गहिरिँदै गएको सङ्केत गरेको सङ्गठनको निष्कर्ष छ । अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो ११ वर्ष सन् २०१५ यता मात्रै देखिएका छन् । डब्लुएमओले यो क्रम अझै जारी रहने अनुमान गर्दै सन् २०३१ अगाडि नै नयाँ ‘सबैभन्दा तातो वर्ष’ घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ । यो प्रतिवेदन सार्वजनिक भइरहँदा पश्चिमी युरोप पनि असामान्य गर्मीको चपेटामा परेको छ । बेलायत र फ्रान्समा मे महिनाकै तापक्रम रेकर्डहरू तोडिएका छन् भने पश्चिमी युरोपका विभिन्न क्षेत्र ‘तातो गुम्बज’ भनिने उच्च तापीय प्रणालीको प्रभावमा परेका छन् । डब्लुएमओले आगामी पाँच वर्ष विश्वव्यापी औसत तापक्रम निरन्तर रेकर्ड स्तरमा वा त्यसको आसपास रहने सम्भावना रहेको स्पष्ट पारेको छ । सङ्गठनका अनुसार सन् २०२६ र २०३० बीचको कम्तीमा एक वर्षले सन् २०२४ लाई उछिन्दै इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना ८६ प्रतिशत रहेको छ । यसबीच, जलवायु चक्रसँग जोडिएको ‘एल निनो’ प्रभावले तापक्रमलाई थप उकालो लाग्न सक्ने अनुमान गरिएको छ । डब्लुएमओको ‘ग्लोबल एन्युअल–टु–डिकेडल अपडेट’ का प्रमुख लेखक लियोन हर्मनसनले सन् २०२६ को अन्त्यतिर एल निनो विकास हुने पूर्वानुमान गरिएको बताए । उनका अनुसार त्यसको प्रभावले सन् २०२७ लाई अर्को कीर्तिमानी तातो वर्ष बनाउने सम्भावना अझ बढाउन सक्छ । यसअघिको एल निनो घटनाले सन् २०२३ लाई अभिलेखमा दोस्रो सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो भने सन् २०२४ को तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १.५५ डिग्री सेल्सियस माथि पुगेको थियो । एल निनो एउटा प्राकृतिक जलवायु प्रक्रिया हो, जसले मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम बढाउँछ । यसको प्रभावले विश्वभर हावाको गति, मौसमको अवस्था र वर्षाको ढाँचामा उल्लेखनीय परिवर्तन देखिन्छ । यो चक्र सामान्यतया प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखिने र करिब नौदेखि १२ महिनासम्म रहने गर्छ । सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्व तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा तल, सम्भव भएसम्म १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य तय गरेको थियो । यी लक्ष्यहरू मानव समाजले ठूलो मात्रामा कोइला, तेल र ग्यास जलाउन सुरु हुनुअघिको सन् १८५०–१९०० को औसत तापक्रमलाई आधार मानेर निर्धारण गरिएका हुन् । यिनै जीवाश्म इन्धनबाट निस्कने कार्बन डाइअक्साइडलाई जलवायु परिवर्तनको प्रमुख कारण मानिन्छ । डब्लुएमओको अद्यावधिक प्रतिवेदनले सन् २०२६–२०३० अवधिमा वार्षिक विश्वव्यापी सतह नजिकको औसत तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १.३ डिग्रीदेखि १.९ डिग्री सेल्सियससम्म माथि रहने अनुमान गरेको छ । सङ्गठनका अनुसार सन् २०२६ देखि २०३० बीचको कम्तीमा एक वर्षमा विश्वव्यापी औसत तापक्रम अस्थायी रूपमा १.५ डिग्री सेल्सियसभन्दा माथि जाने सम्भावना ९१ प्रतिशत पुगेको छ । साथै, पूरै पाँच वर्षको औसत नै १.५ डिग्रीको सीमाभन्दा माथि रहने सम्भावना ७५ प्रतिशत रहेको उल्लेख गरिएको छ । यद्यपि, आगामी पाँच वर्षभित्र कुनै एक वर्षको तापक्रम पूर्व–औद्योगिक आधाररेखाभन्दा २ डिग्री सेल्सियसभन्दा बढी पुग्ने सम्भावना अत्यन्त न्यून रहेको डब्लुएमओले जनाएको छ । सङ्गठनका अनुसार यस्तो अवस्था आउन सक्ने सम्भावना एक प्रतिशतभन्दा कम मात्रै छ । प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा धेरै तीव्र हुने चेतावनी पनि दिएको छ । आगामी पाँच उत्तरी गोलार्धीय जाडो मौसम (नोभेम्बरदेखि मार्चसम्म) मा आर्कटिकको तापक्रम सन् १९९१–२०२० को औसतभन्दा करिब २.८ डिग्री सेल्सियस बढी रहने अनुमान गरिएको छ । यो सोही अवधिको विश्वव्यापी औसत तापक्रम वृद्धिभन्दा तीन गुणाभन्दा बढी हो । डब्लुएमओले १.५ डिग्रीको सीमा आगामी वर्षहरूमा अझ धेरै पटक पार हुन सक्ने चेतावनी दिएको छ । तर, पेरिस सम्झौतामा उल्लेख गरिएको १.५ र २ डिग्रीको सीमा दीर्घकालीन, सामान्यतया २० वर्षभन्दा बढी अवधिको औसत तापक्रमसँग सम्बन्धित भएकाले अस्थायी रूपमा त्यो सीमा नाघिनुले दीर्घकालीन लक्ष्य पूर्णतः असम्भव भइसकेको अर्थ नलाग्ने सङ्गठनले स्पष्ट पारेको छ । गत वर्ष पनि अभिलेखमा रहेका तीन सबैभन्दा तातो वर्षमध्ये एक थियो । विश्वव्यापी सतह नजिकको औसत तापक्रम सन् १८५०–१९०० को आधाररेखाभन्दा करिब १.४३ डिग्री सेल्सियस माथि पुगेको अनुमान गरिएको थियो । बेलायतको मौसम कार्यालय राष्ट्रिय मौसम सेवा तथा डब्लुएमओको वार्षिकदेखि दशकीय जलवायु पूर्वानुमान केन्द्रले तयार पारेको यस प्रतिवेदनमा १३ विभिन्न संस्थाका पूर्वानुमानहरू समेटिएका छन् । प्रतिवेदनले सन् २०२६ देखि २०३० सम्म मेदेखि सेप्टेम्बरसम्मको वर्षा ढाँचामा पनि ठूलो क्षेत्रीय अन्तर देखिन सक्ने जनाएको छ । त्यसअनुसार साहेल क्षेत्र, उत्तरी युरोप, अलास्का र साइबेरियामा सामान्यभन्दा बढी वर्षा हुने सङ्केत देखिएको छ भने अमेजन क्षेत्रमा असामान्य सुक्खापन कायम रहने पूर्वानुमान गरिएको छ । रासस