रसुवागढी नाकाबाट ३०० चिनियाँ सवारी साधन भित्रिए, अधिकांश इलेक्ट्रिक

रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो । यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् । सवारी साधनको साथसाथै चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामग्री छ सय ३९, हाइड्रोका सामग्री तीन सय ६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा दुई, इलेक्ट्रिक पार्ट १७, टेलिफोनका सामग्री सात, नस्पाती ११ टिपका साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन् । ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय टिपभन्दा बढी रहेको बताइएको छ । कोभिड सङ्क्रमण सुरु भएसँगै नेपाल–चीन बीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि माल सामग्री भने चिनियाँ ठूला टिफरद्वारा चिनियाँ सवारी चालकबाटै नेपाल भित्र्याई सहयोग हुँदै आएको छ । प्रत्येक दिन बिहान र दिउँसो दुईपटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुल्ला गरी रोग रोकथामका लागि औषधी छ्याप्ने चलन बसालिएको छ । केरूङबाट चिनियाँ माल सामग्री रसुवागढीमा ल्याउँदा जति पटक माल सामग्री आउँछ उत्तिनै पटक रोग निर्मलीकरणसम्बन्धी औषधी छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मङ्सिर महिनासम्म चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट दुई अर्ब ९० करोड भन्सार शुल्क बापतको राजस्व राज्यकोषमा दाखिला भइसकेको छ । यसैगरी यही मङ्सिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट भने एक करोड ३१ लाख बराबरको माल सामग्री चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताउनुभयो । दस दिनको अन्तरालमा ११ ट्रक माल सामग्री चीनतर्फ निकासी भएको हो । निकासी सामग्रीहरूमा बस्नका लागि बाँसका मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत सामग्री रहेको बताइएको छ । कोभिड सङ्क्रमणको समस्यालाई गम्भीरतापूर्वक मनन गरी नेपाली भूभागको क्वरेन्टिनमा बसेका कामदारबाट आयात निर्यातका सामग्री एक आपसी पल्टी गर्ने व्यवस्था मिलाइएको छ । रसुवागढीबाट टिमुरेको भन्सार हातासम्म मालवाहक कन्टेनर डिब्बा ल्याउनका लागि १७ जना सवारी चालक र सामान पल्टीका लागि ३५ जना मजदुर क्वारेन्टिनमा रहँदै आएको सीमा सुरक्षाकर्मीले बताएका छन् । रोग निर्मलीकरणका लागि रसुवागढीमा औषधी छर्कन सुरु गरिएको जनाइएको छ । रसुवागढीदेखि भन्सार हाता टिमुरेसम्म दैनिक करिब तीन सयजना मजदुरले रोजगारी पाएका छन् । रासस

जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

काठमाडौं । जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस हुने भएकाे छ । सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हाे । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्ने भएकोले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ। सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जीत्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरुले ५० प्रतिशत छुट पाउनेछन् भने इन्जिन कुलिंग, एसी/हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउनेछन् । सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

मुआब्जा विवादका कारण रेल्वे स्टेसन निर्माण अलपत्र

जनकपुर । पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रेल्वे कम्पनीले नदिएको भन्दै अहिले बर्दिबासका बासिन्दा रेल्वे स्टेसन निर्माणमा अवरोध गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीय र रेल्वे कम्पनीबीच भएको सम्झौताका आधारमा मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ । पुरानो खोल्सी कुलोदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकट्ठा १५ लाखको दर भए पनि भुक्तानी प्रतिकट्ठा १० लाखको दरले मात्र दिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । सादा (खाली) कागजमा सही गराई सम्झौताभन्दा थोरै रकम दिएपछि मुआब्जा विवाद उत्पन्न भएको स्थानीय जग्गाधनी शंकर फुँयालले बताए । स्थानीय किसान निरज अधिकारीका अनुसार २०२२ सालको सर्वे नापीअनुसार खोल्सी निर्धारण गरी सोभन्दा पश्चिमको जग्गाको मुआब्जा १५ लाख प्रतिकट्ठाको दरले दिने सम्झौता भएको थियो । रेल्वे स्टेसनसमेतको निर्माणस्थलमा परेको जग्गा प्राप्तिको गर्ने प्रयोजनका लागि मुआब्जा पाउनुपर्ने जग्गाधनीहरूले मुआब्जा निर्धारण समितिले उल्लेख गरेको खोल्सी पैनी र बर्दिवास नगरपालिकाले उल्लेख गरेको खौल्सी पैनी भन्ने स्थान फरक परेको बताएका छन् । बर्दिवास नगरपालिकाले निर्धाण गरेको खोल्सी पैनी स्थानलाई आधार मानी बढी मूल्यमा मुआब्जा पाउनुपर्ने माग गरेको उनीहरूको माग छ । त्यसैगरी स्थानीय किसान भरतप्रसाद अधिकारी, पुरुषोत्तम मल्ल, विनोद दाहाल, गौरी हमाल, दुर्गा मल्ललगायत दर्जन बढी किसानहरूका अनुसार बर्दीवासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न रेल्वे कम्पनीले स्थानीय जग्गाधनीसँग प्रतिकट्ठा आठ लाखदेखि ८१ लाखसम्मको मूल्यांकन राखी ५४ बिघा जग्गा अधिग्रहण गरेको थियो । जसमा रेल्वे कम्पनीले एक अर्ब छ करोड मुआब्जा वितरण गर्नुपर्छ । अधिग्रहण गरिएका जग्गाका धनीहरूले मालमोतमा सहीछाप गरिसकेको र जग्गा रेल्वे कम्पनीका नाममा कित्ताकाटसमेत भइसकेको छ । जग्गाधनीहरूले सम्झौताअनुसारको मुआब्जा पाइएला भनेर खुरुखुरु औँठा छाप लगाए पनि अहिले बैंकबाट पैसा झिक्न जाँदा प्रतिकट्ठा १५ लाख हुनुपर्नेमा १० लाखमात्र आएको बताएका छन् । यस सन्दर्भमा रेल्वे विभागका प्राविधिक प्रमुख विनोद ओझाले बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघामध्ये पाँच/सात बिघा जग्गाको मात्र मुआब्जा विवाद रहेको बताए । उनले बाँकी जग्गाधनीहरूले सम्झौताअनुसार नै मुआब्जा पाएको दाबी गरे । जनकपुर–जयनगर रेल सेवा विस्तार तथा स्तरोन्नति योजनाका क्रममा भंगाहादेखि बर्दिवाससम्मको १७ किलोमिटर रेल लिक विस्तार तथा रेल्वे स्टेसन निर्माणका लागि नेपाल रेल्वे कम्पनीले एक सय १४ बिघा सर्वसाधारणको जग्गा अधिग्रहण गरेको छ । रासस