टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड
काठमाडौं । टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड पाएको छ । टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको उत्पादन ‘टिभिएस एनटर्क रेस एक्सपी’ले २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड पाएको हाे । एक सय २५ सिसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकाले यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको जनाइएको छ । स्कुटर उद्योगमै पहिलोपटक भोइस असिस्ट फिचर ल्याएर टिभिएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको दाबी गरिएको छ । भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डुनट डिस्टर्बजस्ता फिचरहरू उपलब्ध रहेको उल्लेख छ । योे भोइस असिस्ट फिचरलाई टिभिएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटीले सपोर्ट गरेको जनाइएको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फ्युलइन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपिएमका साथ १०.२ पिएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ । तीन बल्ब सिभिटिआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवालले टिभिएस एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो रहेको बताए । ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई आत्मसात् गरेकाले नै अवार्ड प्राप्त गर्न सफल भएको उनको भनाइ थियो ।
गाडी निर्माता र बैंकर्सको चेपुवामा अटो व्यवसायी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा नयाँ गाडीहरु ल्याउन नसकिएको व्यवसायीहरुले बताएका छन् । चार पाँग्रे गाडी आयात खुला भएतापनि बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको उनीहरुले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्र कुमार उप्रेती बैंक तथा वित्तीय संस्थाले सहज रुपमा कर्जा नदिँदा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको बताए । ‘आयात खुल्यो तर व्यवसायीले गाडी ल्याउन सकेका छैनन्, राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा कडाइ गरेका छन्, नगद तिरेर गाडी खरिद गर्ने मानिस नहुँदा भएका गाडी समेत बिक्री भएन’, उनले भने । उनले अटो लोनमा गरिएको कडाई तथा जोमिख भारलाई नहटाईएसम्म अटो व्यवसाय सामान्य अवस्थामा फर्कन नसक्ने बताए । ‘अटो लोनमा कडाई गर्दा नयाँ गाडी खरिद गर्नेहरुलाई समस्या भयो, बैंक तथा वित्तीय लोन दिएनन, नगद पैसा तिरेर गाडी किन्नेहरु न्यून छन्’, उनले भने, भएका गाडी बिक्री भएका छैनन्, गाडी आयात रोकिनुभन्दा खुल्दा झन समस्या भयो ।’ उनले गाडी निर्माता कम्पनीहरुले व्यवसायीहरुलाई नयाँ गाडी लैजान प्रेसर गर्न थालेको बताए । ‘पहिला गाडी आयातमा प्रतिबन्ध लाग्दा हामी व्यवसायीलाई सजिलो थियो, अहिले आयात खुलेको छ, गाडी किन्ने मानिस नहुँदा तथा बैंकले फाइनान्समा कडाई गर्दा गाडी ल्याउन सक्ने अवस्था छैन’, उनले भने, ‘आयात खुला भयो, गाडी लैजाउँ भन्दै कम्पनीले फोर्स गर्न थालेको छ, पहिला एकलौटी काम भएको थियो, अहिले एलसी खेल्न र नयाँ गाडीहरु ल्याउन कम्पनीले दबाब दिन थाल्यो ।’ कर्जा नदिँदा ३२ सय गाडी रोकिए नाडाले बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा ७ महिनादेखि विभिन्न भन्सार नाकामा गाडीहरु रोकिएको जनाएको छ । नाडाले व्यवसायीहरुले ल्याएका कमर्सियल तथा निजी प्रयोजनका भेकल भन्सारमै राखिएको जनाएकोे छ । नाडा अध्यक्ष धुब्र थापा ७ महिनाादेखि ३ हजार २ सयभन्दा बढी गाडिहरु नाकामै राखिएको बताउँछन् । उनले बैंक तथा वित्तीय संस्थाले अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नुपर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गर्नुपर्ने लगायतका कुरा सम्बोधन नहुँदासम्म व्यवसायीहरु समस्यामा पर्ने बताए । यस्तै, नाडाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यवाहारिक बुँदाहरुको संशाेधनका लागि आग्रह गर्दै आएको छ । देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध लगाएको साढे ८ महिनापछि सरकारले गत पुस १ गतेदेखि आयातमा लगाईएको प्रतिबन्ध फुकुवा गरेको थियो । नाडाले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै सरकार र राष्ट्र बैंक विरुद्ध आन्दोलन नै गरेका थिए ।
सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अंक ल्याए पास
काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएकोे हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अङ्कभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अङ्कभार घट्नेछ तर, पनि ट्रायल भने फेल भइँदैन । यस्तै दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ । यसैगरी साँघुरो फलेकको अङ्कभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अङ्कभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अङ्क घटाइनेछ । त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक सङ्केतका लागि १५ अङ्कभार तोकिएको छ । ट्राफिक सङ्केत पालना नगरेको खण्डमा १५ अङ्क घटाइनेछ । निर्देशिकामा उबडखाबडको अङ्कभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अङ्कभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालोको अङ्कभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अङ्कभार तोकिएको छ । यस्तै कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अङ्कभार एक सय तोकिएको छ । यसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट)को अङ्कभार २० तोकिएको छ । दुईपटकसम्म अङ्कित रेखा छोए प्रत्येक पटक पाँच अङ्कका दरले १० अङ्कभार घट्नेछ तर ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायर अङ¬्कित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक सङ्केतको अङ्कभार १५ तोकिएको छ । पालना नगरे १५ अङ्क घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यु–टर्नको अङ्कभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अङ्कभार घटाइनेछ । अङ्कित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपाङ्ग्रे सवारी चालकलाई उकालोका लागि अङ्कभार १५ तोकिएको छ । तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर छ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ‘ग्यारेज पार्किङ’को अङ्कभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अङ्कभार तोकिएको छ । रासस