बीवाइडीको विद्युतीय कार किन्नेलाई नबिल बैंकले सजिलै कर्जा दिने 

काठमाडौं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि कम्पनीले उक्त सम्झौता गरेको जनाएको छ । दुई संस्थाबीच भएको सम्झौता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउने छन् । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । सम्झौता अनुसार बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् । यस्तै, बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्ने छ । साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा बिक्री गर्दै आएको छ ।

बाइक/स्कुटरलाई पेट्रोल र विद्युतीय दुवैबाट चलाउन सकिने, सस्तो शुल्कमा कसरी बनाउने ?

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीप्रति मानिसको क्रेज बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्न थालेको छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई बिक्री गरी विद्युतीय सवारी साधन खरिद गर्ने परिपाटी पनि बढेको छ । अहिले बजारमा प्रशस्त मात्रामा सानादेखि ठूलासम्म विद्युतीय सवारी साधनहरू उपलब्ध छन् । अहिले विद्युतीय सवारी साधनको माग पनि बढ्दै गएको व्यपारीहरु बताउँछन् । सडकमा पनि विद्युतीय सवारी साधनको संख्या बढ्दै गएको देखिन्छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिहरेको छ । त्यसैले पनि बिक्रेता र खरिदकर्ता दुवैको ध्यान अहिले विद्युतीय सवारीमा गएको छ । विद्युतीय सवारी साधनको आवश्यकतालाई मध्येनजर गरेर प्याङ्कबाइक कम्पनीले आजभन्दा १५ वर्ष अगाडि देखि नै सामान्य साइकललाई विद्युतीय साइकलको रूपमा परिणत गर्न थालेको थियो । उक्त कम्पनीले लिड एसिड ब्याट्रीको प्रयोग गरेर सामान्य मोटरसाइकललाई विद्युतीय साइकल बनाउन सुरु गरेपनि कम्पनीले बिचमै बन्द गरेको कम्पनीका प्रबन्धक निर्देशक टिरेक मानन्धर बताउँछन् । ‘त्यो बेला साइकललाई विद्युतीयको रूपमा परिणत गर्यौं, किटहरू र ब्याट्री दुवै महँगो थियो, अहिले ५० हजार पर्ने ब्याट्री पहिले डेढ लाख रुपैयाँ पथ्र्योे, अपेक्षाअनुसारको बिक्री भएन अनि बनाउन छाड्यौं, अहिले पुनः सुरु गरेका छौं,’ उनले भने । अहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय सवारी साधन चर्चा बढेको छ । चर्चा बढेसँगै प्याङ्कबाइक कम्पनीले बाइक÷स्कुटरलाई पेट्रोल र बिजुली दुवैबाट चल्ने र नर्मल साइकलको पनि इभी ‘हाइब्रिड’ बनाउन सुरु गरेको छ । लामो प्रयासपछि कम्पनीले जस्तासुकै मोटरसाइकल तथा स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत् चल्ने बनाउँदै आएको छ । ‘विद्युतीय सवारी साधन मात्रै भयो भने प्रयोगकर्ताले त्यो सवारी सहरी क्षेत्रमा मात्र चलाउँछन्, लामो दुरीको यात्रा तय गर्न चाहँदैनन्, किनकी ब्याट्री छिटो सकिन्छ, लामो दुरीको पनि उक्त सवारीलाई चलाउने हो भने ५०/६० एम्पियर ब्याट्री जडान गर्नुपर्छ, राम्रो ब्राण्डको ब्याट्री छ भने ४/५ लाख रुपैयाँसम्म मूल्य पर्छ, ४/५ वर्षमा नै ब्याट्री बिग्रियो भने त्यो मूल्य पेट्रोलको भन्दापनि महँगो पर्छ, त्यसैल ेपेट्रोल र बिजुली दुबैले चल्ने हाइब्रिड नै अहिलेको लागि उपर्युक्त ठानेर यो कामको सुरु गरेका हौं,’ उनले भने । कति लाग्छ खर्च ? प्याङ्कबाइक कम्पनीले अहिले धमाधम मोटरसाइकल तथा स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत् चल्ने बनाउँदै आएको छ । मानन्धरका अनुसार पछिल्लो समय सवारी परिवर्तन गर्न कम्पनीलाई भ्याइनभ्याई हुन थालेको छ । ‘पुराना काम नै नगर्ने सवारी साधनलाई समेत हामीले ईभीमा परिवर्तन गछौँ, सस्तो र सुपथ मूल्यमा परिवर्तन गर्न मिल्ने भएपछि अहिले हाम्रा प्राविधिकलाई भ्याइनभ्याई छ’, उनले भने । पेट्रोलियम पदार्थका सवारीलाई हाइब्रिड बनाउँदा किट र ब्याट्रीको मूल्य अनुसार खर्च लाग्ने गर्छ । उनका अनुसार किटको मूल्य ८५ हजार रुपैयाँ पर्छ । कम्पनीले ३ प्रकारका ब्याट्री जडान गरी पेट्रोलियम पदार्थका सवारीलाई हाइब्रिड बनाउँदै आएको छ । जसको मूल्य फरक–फरक छ । लेडरसिपको ३० हजार, ग्राफिनको ५० हजार र लिथियम आयन ब्याट्रीको ९० हजार रुपैयाँ पर्ने गरेको कम्पनी भनाइ छ । ‘कस्तो ब्याट्री जडान गरेर बनाउने हो, त्यो ग्राहकमा भर पर्छ, सामान्य ब्याट्री प्रयोग गर्ने हो भने एक लाख १५ हजार र अधिकतम एक लाख ७५ हजार रुपैयाँसम्ममा हाइब्रिड स्कुटर बनाउन सकिन्छ,’ उनले भने । यस्तै, पेट्रोलियम पदार्थ चल्ने बाइकलाई ईभीको रुपमा परिर्वतन गर्दा स्कुटरको भन्दा अलि बढी खर्च लाग्ने गर्छ । मानन्धरका अनुसार स्कुटरको भन्दा २० हजार रुपैयाँ बढी बाइकलाई इभी बनाउँदा खर्च लाग्ने गरेको छ । पेट्रोलबाट चल्ने बाइकलाई ईभीमा रुपान्तरण गर्दा किट र ब्याट्री राख्दा सामान्य एक लाख ३० हजारदेखि एक लाख ९० हजार रुपैयाँसम्म शुल्क लाग्ने उनको भनाइ छ । ब्याट्री र मोटरको वारेन्टी तीन वर्ष हुने कम्पनीले बताएको छ । कुनै समस्या आयो भने कम्पनीले घरमै पुगेर समेत सेवा दिने गरेको छ । ४५ हजारमा इभी साइकल प्याङ्कबाइक कम्पनी साइकलको खरिद बिक्रीको लागि लोकप्रिय छ । उक्त कम्पनीले इभी साइकल बेच्नुका साथै सामान्य साइकललाई इभीको रूपमा पनि परिवर्तन गर्दै आएको छ । सामान्य एउटा साइकल किनेर इभीमा रुपान्तरण गर्न सकिन्छ । ‘साइकल पनि विभिन्न लेबलका हुन्छन्, सामान्य साइकल ८ देखि १५ हजार रुपैयाँ सम्को आउँछ, त्यसलाई इभीको रूपमा परिणत गर्न ४० देखि ४५ हजार रुपैयाँसम्म बनाउन सकिन्छ,’ उनले भने । माउन्टेन बाइकलाई इभीको रूपमा परिणत गर्नुपर्याे भने अनुमानित ६५ हजार रुपैयाँ खर्च हुने पनि मानन्धरले बताए । प्याङ्कबाइक कम्पनीमा ४५ हजार देखि ५ लाख रुपैयाँसम्मका इभीका साइकलहरु उपलब्ध छन् । यस्तै, उक्त कम्पनीले बच्दै आएको सेफवे ब्राण्डको साइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ पर्छ । यसको मोटर ३ सय ५० वाटको छ भने ब्याट्री १३.५ एम्पीयरको छ ।

इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा, वुलिङ्गको विद्युतीय कार बिक्री गर्ने

काठमाडौं । नक्शालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन गरी संचालनमा ल्याएको छ । दुई पाङग्रे विद्युतीय सवारी बेचिरहेको यस कम्पनीले अब यस शोरुममार्फत चार पाङग्रे सवारी बिक्री गर्ने जनाएको छ । कम्पनीले यस मार्फत ईन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको अमेरिकन जि मोटर्सको पनि लगानी रहेको उलिङ एयर इभी कार पनि लन्च गरेको छ । यो इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । २००/३०० किलाेमिटर माइलेज रहेको यस गाडीमा ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको कम्पनीले बताएकाे छ । नक्शालमा रहेको उक्त शोरुम बिहान ९:३० बजेदेखि बेलुका ६:३० बजेसम्म खुल्ला रहने बताइएकाे छ ।