लक्ष्मी ग्रुपले बालबालिकालाई स्टेशनरी र अन्य सामाग्री वितरण गरेर मनायो ४९ औं वार्षिकोत्सव

काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । लक्ष्मी ग्रुपकाे ४९औं वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बालबालिकालाई सामग्री वितरण गरेको हाे । सेरेब्रल पल्सी सेन्टरको माग अनुसार कम्पनीले उक्त सामग्री वितरण गरेकाे हो । हुन्डाई नेपालले लामाे समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । कम्पनीले मस्तिस्क घात भएका व्यक्तिहरुलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ । साथै, सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, ट्रेडिंग लगायत अन्य उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको समूह बनेको छ ।  

टेम्पो चलाएर दैनिक ३५ सय आम्दानी गर्दै चालक

काठमाडौं । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौंमा टेम्पो चलाएर गुजारा चलाउँदै आएकी छिन् । उमेरले ४७ वर्ष पुगेकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्थिन् । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उनी टेम्पो चालक बनेकी थिइन् । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको र त्यसपछि घरखर्चका लागि समस्या कम हुँदै गएको उनले बताइन् । ‘काठमाडौंमा यत्तिका वर्ष टेम्पो चलाएर भएको आम्दानीले घरखर्चसँगै छोरीलाई ब्याचलर पढायौँ, अहिले छोरी पढ्न अष्ट्रेलिया पुगेकी छ’, उनले भनिन् । तर पछिल्लो समय आफू रोगले थलिन थालेपछि टेम्पो चलाउन पनि गाह्रो हुने अवस्था आएको उनको भनाइ छ । ‘सकेका बेला राति २ बजे उठेर पनि टेम्पो चलाइयो, त्यसैले होला अहिले औषधिले शरीर धान्ने अवस्था आएको छ’, उनले भनिन् । आफू बिरामी भएपछि श्रीमान वैदेशिक रोजगारीबाट फर्किएको उनले सुनाइन् । कक्षा छ सम्म पढेकी रोकाले कारोना महामारीमा भने आम्दानीका लागि वैकल्पिक पेसा अपनाइन् । ‘लकडाउनमा राति १/२ बजे नै पुगेर मकै ल्याउने र पोलेर बेच्न थाल्यौँ, तरकारी पनि बेच्यौ’, उनले भनिन्, ‘त्यसैले लकडाउनमा आर्थिक समस्या हुन पाएन ।’ हाल ऋणमा किनेको टेम्पो चलाउँदै आएकी रोकाले दिनभरको कमाइले घरखर्च टार्न र ऋणको किस्ता तिरिरहेको बताइन् । करिब डेढ दशकमा राजधानीका सडकमा टेम्पो गुडाउँदै आएकी उनीसँग महिला भएकै कारणले हिंसा र अपमान सहेका र ट्राफिक प्रहरीसँग झगडा परेका कैयन अनुभव छन् । उनी जस्तै राजधानीका सडकमा टेम्पो चलाउने पाल्पाका जनार्दन बराल पनि छन् । विगत आठ वर्षेदेखि टेम्पो चलाउँदै आएका उनी टेम्पो चलाएर दैनिक तीन हजार पाँच सय रुपैयाँ आम्दानी हुने बताउँछन् । कोरोना महामारीअघिको तुलनामा भने आम्दानी घटेको उनको भनाइ छ । ‘पहिले त दिनकै ४५ सयसम्म हुन्थ्यो’, उनले भने, ‘पहिलेको जस्तो अचेल यात्रु चढ्दैनन्, पठाओ जस्ता एपले टेम्पो चढ्ने यात्रु घटेका छन् ।’ अहिले भाडा बढेपनि यात्रु थोरै चढ्ने गरेकाले आम्दानी कम भएको उनको अनुभव छ । उनका अनुसार ३५ सयबाट टेम्पो चार्ज गरेको र मिस्त्री खर्च गरी दैनिक पाँच सय र किस्ता वापतको केही रकम घटाएपछि बाँकी पैसा उनको बचत हो । उनी  सुन्धारा-बाफल-छाउनी-सीतापाइला रुटमा दैनिक चार टिप टेम्पो चलाउँछन् ।

सिद्धार्थ बैंकले एसडब्ल्यूएम ब्राण्डका ८ वटा मोटरबाइक सहित घरजग्गा बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको शाखा कार्यालय हेटौंडाबाट कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता भुक्तान नगरे ऋणी एवम् धितो जमानतकर्ताले बैंकमा राखेको धितो बिक्री गर्ने जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने र बिक्री हुन नसकेमा बैंक आफैले धितोको सम्पत्ति गैर बैंकिङ्ग सम्पत्तिको रूपमा सकार गर्ने वा अन्य व्यवस्था गरी लेना असुल उपर गर्ने जनाएको छ । यदि धितो बिक्रीबाट असुल उपर हुन नसके वा आंशिक रकम मात्र असुल उपर भई कर्जा बाँकी रहन गएमा अन्य जमानतकर्ताको चल अचल सम्पत्ति समेत लिलाम बिक्री गरी रकम असुल गर्ने बैंकले जनाएको छ । संयुक्त ऋणी मुना कुमारी पाठक र रञ्जन कुमार कठायतले धितोमा राखेको हेटौडा मकवानपुर स्थित कित्ता नम्बर १७६६ को क्षेत्रफल ०-१-० (वि.क.धु) बवमोजिमको घरजग्गा एवम् सोमा जडित सम्पूर्ण सम्पत्ति बिक्री गर्नेछ । यस्तै, मकवानपुर शुसेन्टरले धितोमा राखेको हेटौडा स्थित कित्ता नम्बर ४२९१, ८७४४ र ८०४३ को क्षेत्रफल क्रमशः ०-०-८, ०-०-५ र ०-१-० (वि.क.धु.) जग्गा र मकवानपुर शुसेन्टरको स्वामित्वमा रहेका मालसामानहरु बिक्री गर्नेछ । यस्तै, हेटौडामा रहेको ज्ञान अर्थमुभर्स प्रालिले धितोमा राखेको साविक मनहरी गा.वि.स. ५ स्थित कित्ता नम्बर २५७ र २५८ को क्षेत्रफल क्रमशः ०-६-० र ०-२-०, हेटौंडा ६ स्थित कित्ता नम्बर १५६६२, १६४०७, ४२६२ र ८२०४ क्षेत्रफल क्रमशः ०-०-३.७५, ०-०-४.२५, ०-१-१८, र ०-०-११२५ (वि.क.धु) घरजग्गा बिक्री गर्नेछ । यस्तै, ज्ञान अर्थमुभर्सको स्वामित्वमा रहेको मालसामान र सिद्धार्थ बैंक धनी भई ऋणी ज्ञान अर्थमुभर्स कायम भएको बाग्मती यातायात कार्यालयमा दर्ता रहेका बा ९९ प ६२६५, बा ९९ प ६२६४, बा ९९ प ९९६५, बा ९९ प ९९६४, बा ९९ प ९९६३, बा ९९ प ९९६२, बा ९९ प ९९६१ र बा ९९ प ६२६६ नम्बर रहेका मोटरबाइक बिक्री गर्ने भएको हो ।