६० हजारसम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको यथावत

काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले चार मोडलका मोटरसाइकलको मूल्य बढाएकाे छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार दुई मोडलमा ६० हजार र अर्को दुई मोडलमा क्रमशः ५८ हजार र ४० हजार रुपैयाँको दरले मूल्य बढेकाे छ । नयाँ मूल्य सूची अनुसार मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख १५ हजारबाट ४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी स्पोर्ट्स २५० रोड भर्सनको मूल्य ३ लाख ७५ हजारबाट ४ लाख ३५ हजार तथा स्पोर्ट्स २५० अफरोड भर्सनको मूल्य ३ लाख ७२ हजार बाट ४ लाख ३० हजार रुपैयाँ पुगेको छ । स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार बाट ४ लाख ९५ हजार रुपैयाँ पुगेको छ । सरकारले बजेटमार्फत २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको कर बढाए पश्चात मोटरहेडले पनि यी मोटरसाइकलको मूल्य बढाएको जनाएकाे छ । त्यसैगरी ढुवानी खर्च र डलरको बढेको भाउले समेत असर पारेको कम्पनीको भनाइ छ । बढेको मूल्य मंगलबारदेखि नै लागू हुने बताइएको छ । यद्यपि मोटरहेडका अन्य मोडलको मूल्य भने यथावत रहेको छ । नेपाली बजारमा उपलब्ध एमएच १५० को मूल्य ३ लाख १० हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, एक्सटर्क २५० को मूल्य ३ लाख ९० हजार र टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

आकर्षक इन्टेरियरसहितको ‘चेरी टिग्गो ७ प्रो’ भित्रियो नेपाल, मूल्य ७८ लाख रुपैयाँ

काठमाडौं । चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपालमा चेरी टिग्गो ७ प्रो लन्च गरेको छ । कम्पनीले असार १९ गते औपचारिक रुपमा उक्त गाडि लञ्च गरेको हो । कम्पनीका अनुसार प्रो सिरिजको अति नै आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । यसमा भएको इन्जिनले १४७ पीएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ९ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ । यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ । चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो ७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित रहेको कम्पनीको दावी छ । यसको इन्टेरियर निकै नै आकर्षक छ । लेदर सिट सहितको ब्ल्याक-बेज थिममा आधारित क्याबिन छ । फ्रन्टमा सिक्स-वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट चाहिं फोर-वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ । यसमा थप फिचरको रुपमा प्यानोरामिक सनरुफ छ । यसमा ७ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिन सहितको ड्यासबोर्ड छ, जुन सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउछ । यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल जस्ता विभिन्न अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् । यसमा फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङसन स्टेयरिङ ह्विल छ भने वायरलेस चाार्जर समेत उपलब्ध छ । यसमा भएको ३६० डिग्री क्यामेराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिन्छ भने ब्याकअप क्यामेराका कारण पार्किङ सहज हुन्छ । सुरक्षाको मामिलामा पनि यो गाडीमा कुनै सम्झौता गरिएको छैन । यसमा भएको ६ एयरब्याग, ईबीडी र बीए सहितको एबीएस, ईएसपी, टीसीएस, एचएसी, एचडीसी आदिले ड्राइभिङ अनुभवलाई अझै सुरक्षित बनाउने कम्पनीको भनाई छ । नेपाली बजारमा टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ । टिग्गो ७ प्रो ३ ड्युअल टोन र ७ मोनोटोन अप्सनमा उपलब्ध छ । ड्युअल टोनमा ब्ल्याक एन्ड रेड, ह्वाइट एन्ड ब्लु र ब्ल्याक एन्ड ह्वाइट अप्सन उपलब्ध छ भने मोनोटोनमा ब्लु, जेड ब्लु, ज्वेल रेड, सिल्भर, ग्रे, ब्ल्याक र ह्वाइट कलर अप्सन उपलब्ध छ ।

नेपाली राइडर दीपक साह बने याली अफ चाम्बा विजेता

काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘¥याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । गत जुन १६ देखि १९ सम्म आयोजित सो प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर ¥यालीमा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो स्थान हासिल गरेका हुन् । सो ¥याली अन्तर्गत पहिलो दिन चाम्बाको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भएको थियो । प्रतियोगितामा टु ह्विलरका साथै फोर ह्विलर गाडी समेत सहभागी थिए । दोस्रो दिन चाम्बाबाट लेग १ प्रारम्भ भयो । यो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दुरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । सबै गरी ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दुरी राइडरहरुले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दुरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दुरी १६७ किलोमिटर थियो । ग्रुप डी अन्तर्गत पनि उनी २५० सीसी भन्दा माथिको क्याटागोरीमा सहभागी भएका थिए । यस अनुसार उनी ग्रुप डी क्लास ११ अन्तर्गत सहभागी भएका थिए । यो समूहमा रोयल इन्फिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । सो रुटमा ग्राभेल, डर्ट, स्लस जस्ता हार्ड अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ । पहिलो स्थान हासिल गरेर उनले ट्रफी जितेका छन् । हिमाचल प्रदेशका मुख्यमन्त्री र विधायक लगायतले पुरस्कार वितरण गर्दा साहले ढाका टोपी र नेपाली झन्डा भएको टिसर्ट लगाएका थिए । उनी नेपालबाट सहभागी भएको सुन्दा खुसी व्यक्त गर्दै उनीहरुले थप हौसला दिदै आगामी दिनमा समेत सहभागी हुन आग्रह गरे । दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमालयमा भाग लिएका थिए । यो विश्वकै सबैभन्दा उच्च स्थानमा हुने मोटर स्पोर्ट्स इभेन्ट हो । पहिलो पटक भाग लिने क्रममै उनको खुट्टा भाचिएको थियो । उनले केही समय आराम गर्नुपरेको थियो । अर्को वर्ष २०१८ मा उनले रोयल इन्फिल्ड क्याटागोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इन्फिल्ड बिधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै आफूलाई पहिलो नम्बरमा दर्ज गर्न सफल भएका थिए । त्यो वर्ष उनले स्टेजमा नेपालको झन्डा फहराएर पुरस्कार ग्रहण गरेका थिए । अहिले पनि रोयल इन्फिल्डमै सहभागी भएर उनले अर्को सफलता हासिल गरेका छन् । बीचमा कोभिडका कारण कुनै पनि प्रतियोगिता आयोजना भएको थिएन । भारतको हिमाचल प्रदेशस्थित ब्राउन बियर मोटर स्पोर्ट्सले सो प्रतियोगिताको आयोजना गरको हो । सो प्रतियोगिताको रुटमा करिव ४ हजार ५ सय मिटर उचाईमा अवस्थित साचपास समेत रहेको छ । भारतको हिमाचल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त यो एक मात्र महत्वपूर्ण प्रतियोगिता हो । त्यसैगरी फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) बाट स्वीकृत प्राप्त प्रतियोगिता हो । यसबाट पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको भनाइ छ । पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएर नेपालको नाम राखिसकेका हुनाले दीपकलाई सो इभेन्टका लागि आयोजकले नै निमन्त्रणा गरेका थिए । नेपालबाट सहभागी हुने भएकाले उनलाई विशेष सम्मान सहित प्रतियोगितामा लाग्ने रजिष्ट्रेशन शुल्का उनलाई केही छुटको समेत व्यवस्था समेत गरिएको थियो । यद्यपि अन्य सबै खर्च भने दीपकले व्यक्तिगत रुपमा नै व्यहोरेका हुन ।