पढाई, अनुभव, नेतृत्व क्षमता र मेरो टिम नै चुनाव जित्ने आधार- करण चौधरी
काठमाडाैं । उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो नाम हो, करण चौधरी । लिगेसीलाई अझ माथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करण पुरै शक्ति खर्चिरहेका छन् । नाडा उपाध्यक्ष चौधरी आसन्न साधारणसभामार्फत् हुने नेतृत्व चयनमा अध्यक्ष पदको प्रत्यासी हुन् । युवा अवस्थामा नै नाडाको अध्यक्षको महत्वकांक्षा जागेको उनीमाथि टिप्पणी धैरेले गर्छन । चौधरीको तर्क छ–‘‘नेतृत्व उमेरले होइन, इच्छाशक्ति र क्षमता तय गर्छ । विदेशमा ३० वर्षका व्यक्ति प्रधानमन्त्री बनिरहँदा त्यति नै हाराहारी उमेरको मान्छे नाडाको अध्यक्ष बन्ने होडमा हुनु नौलो पक्कै होइन ।’ अनुभव र योगदानको आधारमा पनि नाडाको अध्यक्ष बन्न आफू योग्य भएको उनको भनाई छ । ‘मैले अटो व्यवसाया गरेकै १६ वर्ष भइसक्यो । म मेकानिक्सबाट अटो क्षेत्रमा प्रवेश गरेको हुँ । कुन नट बोल्ट कसरी खोल्ने ? कसरी फिट गर्ने ? इन्जिन एसेम्बल गर्दा पिस्टन कसरी फिट हुन्छ ? भन्ने विषयमा जो कोहीसँग जुहारी खेल्न सक्छु’ उनले भने–‘मैले नाडामा पनि धेरै वर्ष योगदान गरेको गरेको छु । विद्युतीय सवारीमा कर घटाउन होस्, कोभिडको खोप ल्याउन गरेको पहल होस्, राहत प्याकेजका लागि लबिङ गर्नुमा होस्, मैले इमान्दारिपूर्वक नाडामा नेतृत्वदाही भूमिका खेलेको छु ।’ त्यसो त उनी ठूला व्यवसायिक घरानामा जन्मिएकाले पनि अगाडि बढ्न उनलाई राम्रो अवसर मिलेको छ । आफ्नो कुशल नेतृत्वमार्फत् सुजुकीलाई मार्केट सेयरको हिसाबमा नेपालको नम्बर वान ब्रान्ड बनाउन सक्षम भएको उनको दावी छ । ‘मेरो पारिवारिक पृष्ठभूमिले पनि सहयोग गरेको छ । तर मैले विश्वविख्यात विश्वविद्यायहरुबाट आर्जन गरेको उच्च शिक्षा, निरन्तरको मिहेनत, दक्षता, परिपक्वता र व्यवस्थापकीय क्षमता सबैले देखेका छन् ।’ करणले हार्वार्ड युनिभर्सिटी, युनिभर्सिर्टी अफ पेन्सल्भेनिया, युनिभर्सिटी अफ इलिनोय र वाल्टन स्कुलबाट मास्र्टर्स अध्ययन गरेका बताए । उनले ५ वटा विषयमा मास्टर डिग्री गरेको बताए । मंसिर २२ र २३ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभामार्फत् नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका लागि व्यवसायीहरु २ समूहमा बाँडिएका छन् । जसमध्ये एउटा प्यानलको नेतृत्व करण चौधरीले गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । सीजी होल्डिङ्सको सीजी मोटोकर्प सुजुकी गाडीको नेपालका लागि आधिकारित वितरक हो । नेपाल ल्युब आयल (गल्फ ब्रान्ड) मा पनि सीजी होल्डिङ्सको सेयर छ । उनी आफू नाडाको अध्यक्ष बन्ने बलियो आधारहरु भएको बताउँछन् । ‘मेरो टिममा टायर उद्योग सञ्चालक, दुईपांग्रे चारपांग्रे सवारीको एसेम्बल प्लान्ट खोल्ने उद्योगी छन् । म आफैं लुब्रिकेन्ट उत्पादक पनि हुँ । मेरो टिममा ठूला साना सबै प्रकारका व्यवसायी छन्’ उनले भने, ‘मेरो टिममा टाटा, एक्साइड ब्याट्री लगायतको आधिकारिक वितरक सिप्रदी ट्रेडिङदेखि एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसम्मको साथ छ । टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ छ ।मेरो टिम उद्योगी मुखी टिम हो । नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र गर्ने तयारीमा रहेकाहरुको साथ छ । कम्पनीको नाम लिँदा सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होण्डा, बजाज, एक्साइड लगायतको साथ मसँग छ । टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानियाँ लगायत, हिरोका अभिक ज्योति, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणी पाठक, बरदान बस्नेतलगायत हुनुहुन्छ ।’ उनले भने–‘सबै हिसावले मैले चुनाव जित्दैछु ।’
नाडाका अधिकांश पूर्व अध्यक्षको साथ छ, हाम्रो प्यानलको जीत सुनिश्चित भयोः ध्रुव थापा
ध्रुवबहादुर थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । नाडा अटो मोबाइल्स एसोसिएसनको आगामी कार्यकालका लागि थापाले अध्यक्ष पदमा प्यानलसहित उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनलाई हुन्डाईको नेपाली आधिकारिक बिक्रेता लक्ष्मी गुप्रको साथ रहेको छ । लक्ष्मी गुप्रका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको टिममा उम्मेदवार छन् । नाडाका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छाले थापालाई सहयोग गरेका छन् । अटो मोवाइल क्षेत्रमा बलियो उपस्थिति जनाएका शंकर ग्रुप, दुगड ग्रुप, गोल्छा अर्गनाइजेसन, बैद्य अर्गनाइजेशन, सारडा ग्रुप तथा कन्टिनेन्टल ग्रुपले थापालाई साथ दिएका छन् । नाडाको आगामी कार्यकालको लागि नेतृत्वमा प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका थापासँग विकासन्युजका लागि समुन्द्र घिमिरेले कुराकानी गरेकी छन् । नाडाको नयाँ नेतृत्वका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ, तपाईका एजेन्डाहरु कस्ता छन् ? सामान्य व्यवसायीदेखि इम्पोर्टस व्यवसायीहरु नाडामा आवद्ध छन् । सानादेखि ठूला सबै व्यवसायीलाई समेटेर लैजाने नेतृत्वको खाँचो छ । सबै व्यवसायीलाई समेट्नको लागि नाडाको नेतृत्वमा जानु नै मेरो मुख्य एजेण्डा हो । प्रादेशिक संरचनामा नाडा गैसक्केको छ । प्रादेशिक संरचनालाई अधिकार सम्पन्न बनाउनु पर्नेछ । अर्काे, हामीले प्रत्येक वर्ष नाडा अटो शो कार्यक्रम गर्दै आएका छौं । त्यसलाई पहिचान दिनुछ । नाडा अटो शोलाई अन्तर्राष्टियस्तरको बनाउने, अहिलेसम्म प्याटेन्ट दर्ता छैन, कसैले मैले गरेको भनेर दाबी गर्यो भने हामीले छोड्नुपर्ने अवस्था आउनसक्छ । त्यसैले मुख्य काम नाडा अटो शोको प्याटेन्ट दर्ता गराउनु छ । यस्तै, धेरै नीति निर्माण हुन सकेको छैैन, बाँकी भएका नीति निर्माण गरेर व्यवसायीको हत हित केन्द्रीत नाडा बनाउनु नै मेरो मुख्य एजेण्डा हो । तपाई नाडाको २ कार्यकालसम्म उपाध्यक्ष भैसक्नु भएको छ, अध्यक्ष नै बन्नुपर्ने कारण ? नाडा अध्यक्ष प्रणालीमा रहेको छ । कार्यसमिति र अन्य पदाधिकारीमा भैरहदा अध्यक्षले ल्याएका एजेण्डाहरुलाई सहयोग गर्न बाहेक हाम्रो भूमिका खासै छैन । अध्यक्ष बाहेकका पदाधिकारीले आफ्नो तरिकाले नयाँ एजेन्डा ल्याउन पाइदैन । अध्यक्षमा जो हुनुहुन्छ, उहाँले ल्याएको एजेण्डालाई समर्थन गर्दा नै कार्यकाल सकियो । एजेण्डा ल्याउने हाम्रो हैसियत हुँदैन । नाडामा गर्नुपर्ने कामहरु धेरै छन् । उपाध्यक्ष हुँदा नै मैले नाडाकोे नेतृत्व लिएर धेरै काम गर्नुपर्छ भन्ने सोच बनाएको थिए, त्यही सोच अनुसार नाडाको व्यवस्था सुधार गर्नुछ । नाडा यर्थाथवादमा चलेको छ, त्यसलाई विस्तार गर्नुछ । निर्वाचन जित्ने आधारहरु के के छन् ? अहिले झन्डै नाडामा आबद्ध भएका ९५ प्रतिशत भन्दा बढी व्यवसायीहरु मझौला व्यवसायीहरु छन् । ६५ प्रतिशतभन्दा बढी काठमाडौं उपत्यका बाहिरका व्यवसायीहरु नाडामा आवद्ध छन् । म स्वयम् उपत्यकाभन्दा बाहिरको व्यवसायी हूँ । नाडाको इतिहासमा नै मोफसलबाट अध्यक्षमा पहिलो पटक मैले उम्मेद्वारी दर्ता गराएको छु । म सानो व्यवसायबाट आएको हू । मैले धेरै अनुभव प्राप्त गरिसकेको छु । मेरो नेतृत्वमा सानादेखि ठूला क्षेत्रका सबै व्यवसायीलाई समेटेर मैले प्यानल बनाएको छु । सानादेखि ठूला व्यवसायीलाई समेटेर हामी अगाडी बढेका छौं । मेरो चुनाव जित्ने मुख्य आधार नै सबै व्यवसायीलाई समेटेर हो । विगतमा सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने अभ्यास देखिन्छ । यसपाली प्यानलसहित निर्वाचन हुँदैछ । निर्वाचनपछि नाडा फुट्ने हो कि भन्ने चिन्ता पनि व्यवसायी माझ देखिन्छ । निर्वाचनको हारजितसँगै नाडा फूट्ने सम्भावना छ ? नाडा फुट्नुमा निर्वाचनसँग कुनै सम्बन्ध छैन । नाडामा आवद्ध भएका हामी जति व्यवसायीहरु छौं, हाम्रो व्यवसाय अटो मोबाइल्स नै हो । अहिलेको नाडा फुटाएर अर्काे एसोसिएसन बनाएर जान कसैलाई पनि फाइदा छैन । यो नितान्त व्यवसायिक संस्था हो । संस्थामा चुनाव हुन्छ, चुनाव हार्नेले नयाँ संस्था खोल्न थाल ेभने संस्थाकोे अस्तित्व नै हुँदैन । अहिले कार्यसमितिमा नसमेटिएका व्यवसायीहरु अर्काे पटक आउन सक्नुहुन्छ । त्यसैले निर्वाचन भएकै कारण नाडा फुट्ने कुनै सम्भावना छैन । निर्वाचनको नतिजालाई हामीले स्वीकार गर्नुपर्छ, स्वीकार गर्न हामी तयार छौं । निर्वाचनको तयारीकै बीचमा ठूलो संस्यामा सदस्यता विस्तार भएको छ । निर्वाचनको समयमा सदस्यता विस्तार गरेर ९ सयबाट किन ३२ सय बनाइयो ? हामीले गरेको अनुमान अनुसार अटो मोेबाइल्स क्षेत्रमा देशभर प्रत्यक्ष रुपमा झन्डै १० हजार व्यवसायी आवद्ध हुनुभएको छ । १० हजार बढी व्यवसायी अटो मोबाइल्स क्षेत्रमा रहँदा नाडामा जम्मा ३२ सय सदस्यहरु मात्र आवद्ध हुनुभएको छ । व्यवसायीसँगै प्रदेशगत रुपमा नाडाले प्रतिनिधित्व गर्दा सदस्य संख्या पनि विस्तार भएको हो । निर्वाचन नजिकिएसँगै केही नयाँ सदस्यहरु पनि थपिनु भएको छ । म थपिएनन् भन्न सक्दिनँ । तर, हामीले चुवावलाई लक्षित गरी नयाँ सदस्यता विस्तार गरेका छैनौं । नाडामा ठूला साना सबै व्यवसायी छन् । ठूला व्यवसायीले सानालाई महत्व दिएनन्, अवसर दिएनन् भन्ने गुनासो साना व्यवसायीको छ । यस्तो मतभेद कसरी हटाउने योजना बनाउनु भएको छ ? विगतमा नाडामा नेतृत्व गरेका व्यवसायीहरुले हामी जस्ता मोफसलमा बसेका तथा साना व्यवसायीहरुलाई बेवास्ता गर्ने प्रचलन थियो । ठूला व्यवसायीले गर्ने व्यवहारका कारण नै मोफसलबाट पनि नाडामा नेतृत्व लिनुपर्छ भनेर नै मैले पहिलो पटक अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको हूँ । नाडाको अध्यक्षमा मैले उम्मेद्वारी दर्ता गर्नुको मुख्य कारण नै नाडामा हुने गरेको मतभेद तथा भेदभाव हटाउनु हो । नाडामा सिमित व्यवसायीको माग मात्र सरकारसँग पुग्ने गर्यो । साना तथा मझौला व्यवसायीको माग सरकारसँग पुग्ने गरेको छैन । मैले सानाठूला सबै व्यवसायीलाई समेटेर सबैको माग सरकारसँग पुर्याउने पहल गर्नेछु । सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने भन्दै नेपालमा नै गाडी एसेम्बल गर्ने उद्योगलाई सहुलियत घोषणा गरिसकेको छ । सरकारी नीतिअनुसार गाडी एसेम्बलिङमा नाडाको भूमिका कस्तो रहला ? एसेम्बलिङ उद्योगमा नाडा सकरात्मक छ । विगतदेखि नै हामीले एसेम्बल उद्योगलका लागि छुट्टै नीति बनाउनुपर्छ भनेर लागिपरेका पनि हौं । नीति अझै बनेको छैन, हामी नीति छिटो बन्नुपर्छ भन्नेतर्फ लागिपरेका छौं । नीतिका लागि सरकारको ढोका ढक्ढकाउँदै आएका छौं । अहिले २ पांग्रे सवारी साधनको मात्र तयारी भएको अवस्थामा विस्तारै चार पांग्रेको पनि माग राख्दै आएका छौं । यसका लागि आवश्यक पर्ने नीति बनाउन हामी पनि सरकारलाई सहयोग गर्न तयार छौं । सवारी साधनमा सबैभन्दा बढी कर लगाउने देशको सूचिमा नेपाल पर्छ । भन्सार, अन्तःशुल्क, भ्याट, सडक दस्तुर, वातावरणीय प्रदुषण शुल्क लगायत सबै कर सवारीधनीले तिर्नुपर्छ । करको दर कम गर्न नाडाले किन हस्तक्षेपकारी भूमिका खेल्न सकेन ? यसमा नाडाले हस्तक्षेपकारी भूमिका खेल्न सक्दैन । कर घटाउने विषयमा नाडाले पटक पटक सरकारसँग माग राख्दै आएको छ, तर अहिलेसम्म कार्यान्वयन हुन भने सकेको छैन । सबैभन्दा बढी कर तिरेर सवारी साधन चढ्ने भनेको नै नेपालीले मात्र हो । हाल संरसारकै महङ्गो गाडीमा भारतीयले भन्दा ५ गुुणा, अमेरिकीले भन्दा ३ गुण बढी कर नेपाली तिर्नुपर्ने अवस्था छ । सरकारले जहिलेसम्म सवारी साधनलाई आधारभूत आवश्यकतामा राख्दैन्, तवसम्म कर घट्दैन । अहिले नेपालमा यति धेरै सवारी साधनहरु भएका छन् । आधारभूत आवश्यकता नै भैसकेको छ अहिले सवारी सधान । सवारीधनीले तिरेकोे करले नै देश चलेको छ । हामीले कर घटाउन हिजो पनि पहल गरेका थियौं, आज पनि गरिरहेका छौं र भोलि पनि हाम्रो पहल जारी रहनेछ । तपाईंले मोफसल क्षेत्रको प्रतिनिधित्व गरी नाडाको अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । निर्वाचनमा होमिदै गर्दा ठूला व्यवसायिक घरानाको साथ छैन भन्ने सुनिन्छ नि ? यो त बाहिर भन्ने कुरा नै भयो । सानादेखि ठूला सबै क्षेत्रका व्यवसायीहरुको साथ र समर्थन मलाई छ । मसँगै हुण्डाई, फोर्ड, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगर्डदेखि बाहिरबाट धेरै व्यवसायीले मलाई सपोर्ट गरिराख्नु भएको छ । नाडाको अधिकांश पूर्व अध्यक्षको साथ मलाई छ । पूर्वअध्यक्ष भन्नासाथ ठूला व्यवसायिक घरानाको साथ भन्ने बुझिन्छ । हामीलाई धेरै व्यवसायिक साथीहरुले साथ र सपोट छ । हामीले चुनाव जितिसकेका छौं, चुनावी लहरले यो स्वतःसिद्ध गरिसकेको छ कि, हाम्रो जित सुनिश्चित भैसकेको छ । तरपनि प्राविधिक कारणले चुनावको दिनसम्म कुर्नुपर्ने वाध्यता छ । हाम्रो प्यानलले चुनाव जितिसक्यो । तपाईले नाडाले नेतृत्व पाउनुभयोे भने, मोफसल र उपत्यकाका व्यवसायीलाई हेर्ने तपाईको नजर कस्तो हुन्छ ? मोफसलबाट आयो भनेर काठमाडौं उपत्यकाका व्यवसायीहरुलाई हेर्ने मेरो नजरमा केही फरक हुँदैन । उपत्यकामा पनि झन्डै एक तिहाई व्यवसायी हुनुहुन्छ, उहाँहरुले मलाई ठूलो साथ र सपोर्ट गर्नुभएको छ । ३२ सयमध्येमा झन्डै ११ सय सदस्य काठमाडौंमा मात्रै हुनुहुन्छ । मैले चुनाव जितेर अध्यक्षको नेतृत्व सम्हालिरहँदा सबै व्यवसायीलाई समान व्यवहार मैले गर्छु । सबै व्यवसायीलाई समेटेर उहाँहरुको माग सरकारसँग पुर्याउने मेरो मुख्य भूमिका रहन्छ । नाडा भनेको एउटा माध्यम हो, मैले त्यो माध्यमको पूर्ण रुपमा उपयोग गर्नेछु ।
हुन्डाइको ‘न्यु कोना इलेक्ट्रीक’ कार नेपालमा, एकपटक चार्ज गरेपछि ३०५ किलोमिटर गुड्ने
काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रीक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ । कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्नेछन् । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएर आएको छ । यसमा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर राखिएको छ । एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । साथै अब कोनो इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । न्यु कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनोको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ । कोनामा रहेको ८ इन्चको टचस्कृनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राभिङ एक्पिरीयन्सलाई उच्च स्तरीय बनाउँछ । नेपाली बजारमा कोनो इलेक्ट्रीक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट कलरमा उपलब्ध रहेको छ । इभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर विस्तार गर्दै आएको छ । हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ । कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्षभित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हुन्डाई विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोबाइल उत्पादक कम्पनी हो जसले वार्षिक लाखौंको संख्यामा उत्कृष्ट क्वालीटीका गाडीहरु उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।