यस्तो छ जावा मोटरसाइकलको न्यू ईयर स्किम्स

काठमाडौं । क्लासिक लिजेन्ड्सद्वारा निर्मित जाव मोटरसाइकलले नयाँ वर्षका लागि स्किम्स ल्याएको छ । नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले फोर्टी-टु ,जावा र पेराक सबै मोडलमा लागू हुने गरी न्यू ईयर स्किम ल्याएको जनाएको छ । उक्त स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको र नेपालमा पनि रुचाईइएको जावा मोटरसाइकलले यस स्किममार्फत सबैसँग थप जोडिन पाउने विश्वास पनि लिएको जनाएको छ ।

मोटरहेडले सम्पन्न गर्याे एड्भेन्चर राइड

काठमाडौं । मोटरहेड बाइकको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शनिबार राइडरलाई सहभागी गराएर एड्भेन्चर साइड सम्पन्न गरेको छ । कम्पनीले पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा सम्पन्न गरेको हो । मोटरहे बिक्री प्रबन्धक सुरेन्द्र कार्की र जेनेसिस एडभेन्चर टुरका प्रबन्धक रूपक रोक्काले काठमाडौंको धोविघाटदेखि मेलम्चीको चिसापानीसम्मको यात्राको नेतृत्व गर्दै मोटरसाइकलमा रमणीय दृश्य हेर्दै घुमाउँदै उक्त सोरुमका चालक, पत्रकार र प्रभावशाली व्यक्तिहरूसँगै यात्रा गरेका थिए । जेनेसिस क्याफेले उक्त राइडको व्यवस्थापन गरेका मोटरहेड मोटरसाइकल बिक्री प्रबन्धक सुरेन्द्र कार्कीले जनाए । यो रोमाञ्चक मोटरसाइकल यात्रामा ८ जना राइडरले सो दिनमा ८६ किलोमिटर यात्रा गरेका छन् । यात्रामा राइडर सहित ११ जनाको उपस्थित थियो । प्रबन्धक कार्कीका अनुसार अफ रोड मोटरसाइकल किन्ने ग्राहकलाई रमाइलो गराउनको लागि उक्त यात्रा तय गरिएको हो । मोटरहेडले विगत पनि नियमित रूपमा राइड आउटको आयोजना गर्दै आएको छ । ‘यो अफरोड मोटरसाइकल हो, यसमा सोरुमका कर्मचारी, पत्रकार, ग्राहकहरूसँग बसेर यात्रा गर्ने योजना केही महिना अगाडि बनाएका थियौं, राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ उनले भने । उक्त मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थ्रिलको अनुभूति दिलाउँछ । चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीले विगत ५ वर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्री गर्दै आएको छ । फराकिलो र ठुलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरू माझ लोकप्रिय बन्दै गएको छ । हामीलाई आशा छ, यो यात्राले राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरूबिच पनि अद्वितीय भातृत्वको विकास गराउने प्रबन्धक कार्कीले जनाए । सडक र रमणीय स्थानहरूले निश्चित रूपमा मोटरहेड मोटरसाइकलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ । यस्तै, राइडर विकास के.सी भन्छन् आजको यात्रा अविस्मरणीय रह्यो, यस्तो यात्रा तय गर्नाले विभिन्न ठाउँको अवलोकन गर्न सकिनेछ, बेला बखतको यो रमाइलो यात्राले मन पनि हर्षित भएको छ । आफ्ना ग्राहकलाई कोरोनाकालमा दैनिक जीवनयापन, व्यावसायिक गतिशीलताका विषयमा अन्तक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धक र सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ शनिवार उक्त राइड कार्यक्रम आयोजना गरिएको जेनेसिस एडभेन्चर टुर प्रबन्धक रूपक रोक्काले बताए ।

सरकारी सुविधा थपिँदा विद्युतीय सवारी साधनको आयातमा छलाङ

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा बृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा बृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा आयातमा बृद्धि भएको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । गत साउनदेखि फागुनमसान्तसम्मको तथ्यांक अनुसार १ हजार ३५७ विद्युतीय गाडीहरु नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको आयातमा १३.१७ गुणले बढेको छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा जम्मा १०३ वटा विद्युतीय आयात भएका थिए । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट भित्रिएका छन् । चीबाट १ सय किलोवाटका १०१ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ७५७ वटा गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ४२४, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको ९९ तथा दक्षिण कोरियाबाटै १००देखि २०० किलोवाट क्षमताका ३३ वटा गाडीहरु नेपाल आएका छन् । यस्तै, जापानबाट १०० देखि २०० किलोवाट क्षमताका २८, बेलायतबाट १०० देखि १५० किलोवाट क्षमताका १३, बेलायतबाटै ३०० किलोवाट क्षमताको २ वटा र फ्रान्सबाट १०० किलोवाट क्षमताको एक वटा गाडी नेपाल भित्रिएकोे छ । चार अर्बका गाडी भित्रिए चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा करिब ४ अर्ब रुपैयाँ बराबरका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आठ महिनाको अवधिमा १ हजार ३५७ वटा विद्युतीय गाडी नेपाल भित्रदा ३ अर्ब ९६ करोड ९७ लाख ३८ हजार नेपाली रुपैयाँ विदेशिएको छ । यस्तैगरी, उक्त विद्युतीय गाडी आयातबाट सरकारले आठ महिनाको अवधिमा एक अर्ब ८ करोड ५६ लाख ३३ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको छ । गत वर्ष ८ महिनाको अवधिमा जम्मा १०३ वटा विद्युतीय आयात भएका थिए । जसमा ५० किलोवाटसम्मका ७६ र ५० देखि १०० किलोवाटसम्मका २४ वटा गाडी आयात भएका थिए । गत वर्षको सोही अवधिमा १७ करोड ८७ लाख रुपैयाँ बराबरको विद्युतीय गाडी आयात हुँदा सरकारले ११ करोड ७९ लाख ९८ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको थियो । राष्ट्र बैंकको कडाईपछि बढ्यो आयात नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै विभिन्न ४७ वस्तुको आयातमा कडाईपछि विद्युतीय सवारीको आयातमा बृद्धि भएको छ । राष्ट्र बैंकले सवारी साधन आयतका लागि एलसी खोल्दा ५० प्रतिशत मार्जिनदेखि पार्टका लागि शतप्रतिशत मार्जिनको व्यवस्था गरेपछि विद्युतीय सवारी साधन आयातमा बृद्धि भएको हो । विद्युतीय सवारी साधनको हकमा भने आयातमा मार्जिन थप गर्नुपर्ने व्यवस्था गरिएको छैन । गत माघमहिनासम्म न्यून मात्रामा आयात भएका सवारी साधन फागुन लागेसँगै बृद्धि हुन थालेको हो । फागुन महिनामा मात्रै १६६ वटा विद्युतीय गाडी आयात भएका छन् । माघ महिनामा ८८ वटा गाडी आयात भएका थिए । माघ महिनासम्म ११९१ वटा विद्युतीय सवारी साधानको आयात भएको थियो । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक तथा नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालकी सदस्य यमुना श्रेष्ठ पछिल्लो समय अधिकांश ग्राहकको रोजाइमा विद्युतीय सवारी साधन पर्ने गरेको बताउँछिन् । पछिल्लो समय सरकारले समेत विद्युतीय गाडीलाई प्राथमिकतामा राख्दा आयात बढेको उनको भनाई छ । ‘गत वर्षसम्म विद्युतीय सवारी साधन आयात गर्दा भन्सार शुल्कदेखि विभिन्न समस्या थियो, अहिले ती सबै समस्या समाधान भएका छन्, सबै मान्छेले कम्फरटेवल साधन मानेकाले आयातमा बृद्धि हुन थालेको हो’, उनले भनिन् । उनले विद्युतीय सवारी आयातमा सरकारले गुणस्तर निर्धारण गर्नेदेखि केही काम बाँकी रहेको बताउँछिन् । प्रवद्र्धनमा प्राधिकरण पनि सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क कम गरेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले पनि सस्तो व्याजदरमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने गरेका छन् । यस्तो सुविधा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधानले पाएका छैनन् । यस्तै, नेपाल विद्युत प्राधिकरण पनि विद्युीय सवारी साधनको प्रवद्र्धनमा लागेको छ । प्राधिकरणले आफ्ना १० हजार स्थायी कर्मचारीलाई विद्युतीय सवारी साधन खरिद गर्नको लागि सस्तो व्याजमा ३ लाख रुपैयाँका दरले कर्जा उपलब्ध गराएको छ । कर्मचारीहरुले प्राधिकरणले उपलब्ध गराएको सुविधा प्रयोग गरेमा नेपालमा तत्कालै थप १० हजार विद्युतीय सवारी साधनको माग हुनेछ । यस्तै, प्राधिकरणले २० वटा विद्युतीय गाडी र ५० वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर खरिद गर्ने तयारी गरेको प्राधिकरणका सहनिर्देशक कोमलनाथ आत्रेयले जानकारी दिए ।