परीक्षणका लागि नेपालमा विद्युतीय बस आउँदै

काठमाडौं । निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले जनाएको छ । ती बस काठमाडौँमा ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छ/छैन हेरिने संस्थाका सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए । उनले भने, ‘तीन बस यहाँको सडकका लागि ठीक भएमा थप त्यसको चार महिनामा ४० बस आउनेछ ।’ संस्थामार्फत नै तीन सय बस खरिद गर्न लागिएकामा पहिलो चरणमा ४० बस आउनेछ । पहिलो चरणको बस अबको आठ महिनामा ल्याउने योजना बनाइएको भए पनि त्यसबाहेकका अरु बस कहिलेसम्म ल्याउने भनी यकीन नभएको सञ्चालक समिति सदस्य तुलाधरले बताए । उनले भने, ‘पहिलो चरणमा सबै ठीक भएपछि बिस्तारै अरु बस ल्याएर सञ्चालन हुनेछ ।’ संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ । संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए । विद्युतीय बस आउँदै गर्दा संस्थाले यीभन्दा ठूला विद्युतीय बस पनि सञ्चालन गर्न आवश्यक अनुसन्धान सुरु भएको जनाएको छ । संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनःबस खरिद गर्दामार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनःसाझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो । देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढुवा दिने सरकारले योजना बनाएको छ । विद्युतीय बसलाई लक्षित गरेर प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । सङ्घले मात्रै होइन प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए । रासस

चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’ नेपाली बजारमा

काठमाडाैं । नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’ आएको छ । सारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’ भित्र्याएको हो । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रमका बीच कम्पनीले ‘टिग्गो फोरप्रो’ सार्वजनिक गरेकाे छ । कम्पनीकाे अनुसार बजारमा यो गाडी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । टिग्गो सिरिजको गुणस्तरीय सानो एसयूभीको रुपमा टिग्गो फोरप्रो परिचित छ । कम्फर्टेबल बिग स्पेस, कम्फर्टेबल ड्राइभिङ एक्सपेरियन्स र कम्फर्टेबल क्वालिटी इन्भाइरोमेन्टका लागि यो एसयूभी परिचित छ । नेपालमा उपलब्ध टिग्गो फोरप्रो म्यानुअल ट्रान्समिसनको मूल्य ४६ लाख २० हजार, सीभीटी ट्रान्समिसनको मूल्य ५२ लाख ५० हजार र १.५ टर्बो सीभीटी ट्रान्समिसनको मूल्य ५८ लाख ४० हजार रुपैयाँ पर्ने बताइएको छ । चेरी चीनको लोकप्रिय ब्रान्ड हो । विश्व प्रसिद्ध ब्रान्ड ज्यागुअर ल्यान्डरोभरसँगको सहकार्यमा चेरीले विभिन्न मोडलका गाडीहरु उत्पादन गर्ने गरेको छ । सन् १९९७ मा स्थापना भए यता चेरीले विश्वका ८० भन्दा बढी देशमा ९० लाख भन्दा बढी गाडी बिक्री–वितरण गरिसकेको छ । चेरी अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बढी गाडी निर्यात गर्ने चाइनिज कम्पनीको रुपमा परिचित छ ।

कस्ताे छ मोटरहेडकाे बजारले रुचाएकाे टेक्कन आर २५० र एमएच १५० माेटरसाइकल ?

काठमाडौं । नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० र अपग्रेडेड एमएच १५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । मोटरहेडका अन्य धेरै मोडल नेपाली बजारमा उपलब्ध भए पनि पछिल्लो समयमा भित्रिएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण गरेको र धेरै बिक्री भइरहेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले जनाएको छ । केही समयका लागि मात्र मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख ५ हजार रुपैयाँ कायम गरिएको र छिट्टै नै यसको मूल्य बढ्ने बताइएको छ । २२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ । मोटरहेड एमएचको मूल्य ३ लाख ५ हजार रुपैयाँ रहेकाे छ । यो बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत रहेको छ । मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ । फाइनान्समा खरिद गर्दा पनि विभिन्न बैंक तथा फाइनान्स कम्पनीबाट सहज तरिकाले फाइनान्स सुविधा उपलब्ध हुने र १८ महिना सम्म बाँकी रकम किस्ता तिर्न सकिने व्यवस्था भएको कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार यसका लागि शुरुमा मोटरसाइकलको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाउन सकिनेछ ।