‘फ्रि सर्भिस क्याम्प’ गर्दै गिरी ब्रदर्स अटोपाटर्स, अन्य सेवामा पनि विशेष छुट

काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ । यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस दिन लागेको हो । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गते सम्म टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिंग हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिए । उक्त अवधिभर ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् ।  

नम्बरप्लेट स्पष्ट नदेखिए पनि कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ । दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले नम्बर प्लेटविरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ र खुइलिएका नम्बर प्लेट राखिएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलविरुद्ध विशेष जाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । यस्ता गाडी दुर्घटना हुँदा नम्बर टिप्न र प्रहरीलाई खबर गर्न समस्या हुने गरेको तथा त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउनसमेत समस्या हुने गरेको उनले बताए । कतिपय त्यस्ता मोटरसाइकल तीव्र गति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्दै हिँड्ने गरेको पाइन्छ भने हराउँदासमेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ । सम्पूर्ण सवारीधनीलाई सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्थासमेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाटलगायतका आपराधिक क्रियाकलाप रोक्न यस अभियानले सहयोग पुग्ने विश्वास गरिएको छ । त्यस्ता तोकिएको ढाँचाबमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५ सयदेखि एक हजार ५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो, अब चढ्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ जिल्ला छन् । काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडादर कायम गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो ।