जिडब्लुएमले ह्याभल जोलियन मोडलमा टप भेरिएन्ट नेपाल भित्र्याउँदै
काठमाडौं । जिडब्लुएम नेपालले आकर्षक फिचरहरुसहितको टप भेरिएन्टमा ह्याभल जोलियन नेपाल भित्र्याउने भएको छ । ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्याभल विगत ११ वर्ष देखि चीनमा एसयुभि बिक्री गर्ने नम्बर १ ब्राण्ड हो । यस गाडीले यात्रालाई अझ सान्दार बनाउने कम्पनीको दाबी छ । कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जाेलियन १८ इन्चको अल्मिनियम अलाई विहल्स, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स-वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिटसम्म राखेर बनाइएकाे छ । यसको प्यानोरामिक सनरुफ र डुयल जोन अटो एसीले आरामदायी यात्रालाई सान्दार थप्न मद्दत गर्दछ । १.५ लिटरकाे पेट्रोल टुर्बो इन्जिन, सिक्स ओम्नी डिरेक्सनल एयरब्यागसको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मोनिटरिङ्ग र हिल होल्ड कन्ट्रोल एण्ड हिल डिसेन्ट कन्ट्रोल भएको यस जोलियन ग्राहककाे सुरक्षालाई ध्यानमा राखेर बनाइएकाे कम्पनीले जानकारी दिएकाे छ । यसको आकर्षक हेड्स अप डिस्प्ले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउँदछ । यसकाे कारप्ले र एन्ड्रोइड अटोसहितको १२.३ इन्च स्मार्ट टच स्क्रिनले यात्रा अझ राम्राे बनाउने कम्पनीकाे दावी छ । बजारमा ह्याभल जोलियनको स्टारटिङ्ग भेरियन्ट र हाइ भेरियन्ट पहिले नै उपलब्ध छन् र यसले सकारात्मक समिक्षा पाइरहेको छ ।
नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुन्छ: नाडा
काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्मक रहेकाे धारणा राखेकाे छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्मक रहेकाे उल्लेख गरेकाे हाे । अर्थमन्त्री जनार्दन शर्माले आफनो प्रतिस्थापन बजेट मार्फत एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था सकारात्मक रहेकाे नाडाकाे धारणा छ । नाडाले झण्डै एक दशकअघि देखि नै सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएको थियाे । तर त्यस्ता सवारीसाधनहरु उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्याेगहरुलाई कुनै असर पर्न नहुने धारणा विज्ञप्तिमा उल्लेख छ । ‘आजको यस्तो कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरु प्राय प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता नीजि सवारी साधनहरुले नै विरामी लगायत आवश्यक उपभोग्य बस्तुहरु समेतको ओसार पसार गर्नु पर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्याधिक बृद्धि भएको छ र सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने देखिन्छ,’ विज्ञप्तिमा लेखिएकाे छ । यस्तै नाडाले वर्तमान बजेटले मोटरसाइकलको सेगमेन्टमा सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा गरेकाे वृद्धिले प्रयोगकर्तालाई थप आर्थिक भारका साथै अलमलमा समेत पार्ने भएकोले गतवर्ष कायम गरिएकाे व्यवस्थालाई नै निरन्तरता दिन सरकारसँग अनुराेध गरेकेा छ ।
अर्थमन्त्रीले हतार गर्दा कामकाजी मध्यमवर्ग समस्यामा, बाइक ४० हजारसम्म महंगिने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट संशोधन मार्फत गरेको एक नीतिगत व्यवस्थाले कामकाजी मध्यमवर्गलाई समस्या पर्ने देखिएको छ । बजेटमा इन्जिन क्षमताका आधारमा मोटरसाईकलको आयातमा अन्तःशुल्क बढाइदा बढी प्रयोगकर्ता रहेको मध्यमवर्ग समस्यामा पर्ने देखिएको हो । अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार प्रतिनिधिसभामा पेश गरेको संशोधन बजेटमा १२५ सीसीदेखि १५५ सीसीसम्मका र २०० देखि २५० सीसीसम्मका मोटरसाईकलको अन्तःशुल्क १०/१० प्रतिशतका दरले बढाइएको छ । सरकारले बजेट मार्फत १२५ सीसीसम्मका मोटरसाइकलको अन्तःशुल्क ४० प्रतिशतबाट बढाएर ५० प्रतिशत बनाएको छ । यस्तै, २०० देखि २५० सीसीसम्म इन्जिन क्षमताका मोटरसाईकलको अन्तःशुल्क साविकको ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत बनाइएको छ । सरकारले अन्तःशुल्क बढाएपछि यी मोटरसाईको उपभोक्ता मूल्य १५ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म बढ्ने विक्रेताहरुले बताएका छन् । कोभिड १९ को जोखिमका कारण सर्वसाधारणले सार्वजनिक यातायातभन्दा पनि निजी सवारीको प्रयोगलाई प्राथमिकता दिइरहेका छन् । तर, चारपांग्रे सवारीमा पहुँच नहुने तथा खासगरी सहरिया कामकाजी मध्यमवर्गले मोटरसाईकललाई अत्यावश्यक सवारीको रुपमा प्रयोग गर्दै आएका थिए । विक्रेताहरुका अनुसार नेपालको भौगोलिक अवस्थाका कारण नेपालमा १२५ देखि २५० सीसीसम्मका मोटरसाइकलको माग उच्च छ । नेपालमा सबैभन्दा बढी विक्री हुने मोटरसाईकल पनि यही सेगमेन्टका भएको विक्रेताहरु बताउँछन् । सरकारको यो निर्णयले यी सेग्मेन्टका मोटरसाइकलहरुको मूल्य बढ्नेछ जसको प्रत्यक्ष प्रभाव सर्वसाधारण उपभोक्तालाई पर्ने छ । यसको सबैभन्दा बढी प्रभाव १५० सीसीका मोटरसाइकलमा पर्ने विक्रेताहरु बताउँछन् । ‘नयाँ व्यवस्था अनुसार १५० सीसीको मोटरसाइकलको मूल्य १५ देखि १८ हजार रुपैयाँसम्म बढ्ने देखिन्छ,’ एक विक्रेताले भने । सरकारले अटोमोबाइलमा विगतदेखि लगाउँदै आएको कर विश्वमै सबैभन्दा बढीमध्ये परेको र यसलाई घटाउनुपर्ने आवाज उठिरहेको थियो । तर, सरकारले यही बेला मूल्य वृद्धि हुने गरी अन्त शुल्क बढाएको छ । सरकारले सवारी साधनको नेपालमै एसेम्बल गर्ने लक्ष्यका साथ अन्तःशुल्क बढाइएको दाबी गरेको छ । तर, कामकाजी मानिसको लागि दैनिक अत्यावश्यक वस्तु जस्तै बनेको मोटरसाईकलमै सरकारले मूल्य बढाइएको छ । आयात घटाएर गरी व्यापार घाटा कम गर्ने योजनाको साथ सरकारले अन्तःशुल्क बढाएको भएपनि त्यसको लागि निश्चित समय दिनुपर्ने विक्रेताहरु बताउँछन् । ‘नेपालमै एसेम्बल प्लाण्ट राख्नुपर्छ भन्ने सरकारको भनाई ठीक छ तर, त्यसको लागि पनि समय लाग्छ, एसेम्बल प्लाण्ट राख्नको लागि प्रोत्साहन कार्यक्रम ल्याउने र आयात गरिने मोटरसाइकलमा लाग्ने अन्तःशुल्क बढाउने समय दिएको भए यो नीतिले उपभोक्तालाई पनि फाइदा हुन्थ्यो,’ एक विक्रेताले भने । सरकारले नेपालमै एसेम्बल प्लाण्ट स्थापना गरी मोटरसाइकल उत्पादनको लागि चाहिने समय नै नदिई उपभोक्तालाई बढी मूल्य तिर्न वाध्य बनाएको विक्रेताहरुको भनाई छ ।