सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै, अधिकृत विक्रेतामा मोटर्स प्राइभेट नियुक्त

काठमाडौं । साँग्रिला मोटर्स प्रा.लि. ले सन् २०२१ मा सिट्रोन एसयूभी नेपाली बजारमा ल्याउँदै छ । सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरुमध्ये साँग्रिला मोटर्सले  सिट्रोन एसयूभी बजारमा ल्याउने भएकाे हाे । ग्रुप पीएसए, फ्रान्सले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धी सम्झौतामा साँग्रिला मोटर्स प्रा.लि. का निर्देशक हेमन्त गोल्छा र ग्रुप पीएसएको उपाध्यक्ष अर्नाउड डचेमिनले हस्ताक्षर गरेका हुन् । सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ । सिट्रोन ब्राण्ड अन्तरगर्त विभिन्न प्रकारका सवारी साधनहरुमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी-भ्यान र एसयू भी बहु चर्चित छन् ।

जापानले सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले गत अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ मुलुकको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गर्नु भएको थियो । प्रधानमन्त्री सुगाले आफ्नो नीति सार्वजनिक गरेलगत्तै ठूला कम्पनीहरुले कार्बन उत्सर्जनलाई नियन्त्रणमा ल्याउने योजनाको मस्यौदा निर्माण गर्न दबाब सिर्जना भएको थियो । जापानको उक्त कदमको वातावरण अभियन्ता र राष्ट्रसंघले स्वागत गरेका छन् । जापान अहिले पनि जैविक इन्धनमा ठूलो मात्रामा निर्भर रहेको छ । सरकारले भने जैविक इन्धनको विकल्पमा के कस्ता इन्धन प्रयोगमा ल्याइनेछ भन्ने विस्तृत कार्ययोजना सार्वजनिक गरिसकेको छैन । सरकारले सन् २०३० सम्ममा अति न्यून कार्बन उत्सर्जन गर्ने कार (विद्युतीय र हाइब्रिड) को बिक्रीलाई ५०-७० प्रतिशत पुर्याउने लक्ष राखेको छ । सन् २०१९ मा न्यून कार्बन उत्सर्जन गर्ने कारको बिक्री ४० प्रतिशतको हाराहारीमा पुगेको छ । गत सेप्टेम्बरमा अमेरिकी राज्य क्यालिफोर्नियाले सन् २०३० सम्ममा आफ्नो राज्यमा बिक्री गरिने कार शून्य-उत्सर्जनयुक्त हुनुपर्ने घोषणा गरेको थियो । यसैबीच बेलायतले अझ महत्वाकाँक्षी योजना अघि बढाएको छ । सन् २०३० सम्ममा बेलायतमा सबै प्रकारका पेट्रोल र डिजेल संचालित कारमाथि प्रतिबन्ध लगाउने बेलायत सरकारले घोषणा गरेको छ । रासस-एएफपी

अब लक्ष्मी हुण्डाईकाे गाडी अनलाइन मार्फत किन्न सकिने

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल कोभिड–१९ को बद्लीदों परिस्थितीलाई सहज बनाउनको लागि ‘किल्क टु बाइ’ सेवाकाे सुरुवात गरेकाे छ ।  यस माध्यम मार्फत ग्राहकहरुले सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडी खरिद गर्न सक्नेछन् । लक्ष्मी हुण्डाईले हाल कोभिड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेभसाईटबाट “किल्क टु बाइ” सेवाको सुरुवात गरेका जनाएकाे छ । यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् । ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै “किल्क टु बाइ” पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् । येसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइन मार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले  “किल्क टु बाइ” प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा कम्पनिले १ लाखसम्मको सर्भिस भौचर प्रदान गर्नेछ । ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस्रल्युबरीकेन्टस्को खरिदमा प्रयोग गर्न सक्नेछन् । ग्राहकहरुलाई यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितीबाट १ वर्षसम्म रहनेछ।