कुमारी बैंकको ट्याक्सी सेवा प्रदायक सारथीसँग ब्रान्डिङ सहकार्य

काठमाडौँ । कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता-पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन् । उक्त सहकार्य पश्चात सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगो अंकित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडि युनिक क्यूआर कोड अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।

निसान माेटरले १० हजार कर्मचारी हटाउने, कम्पनीकाे नाफामा ९० प्रतिशत गिरावट

टोकियो । जापानी कार निर्माता निसानले १० हजारभन्दा बढी कामदार हटाउने निर्णय गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने निर्णय गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ । निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत शेयर लगानी छ । निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन् । रासस

नगरबस सञ्चालन गर्ने तयारीमा उपमहानगरपालिका, करिब साढे तीन करोडमा सात बस खरिद

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करिब रु साढे तीन करोडमा सात बस खरिद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन् । उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरिद गरेको हो । खरिद गरिएका बस एक महिनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिएका छन् । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको उनले बताए । यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गरे । अहिले नेपालगञ्जदेखि कोहलपुर, खजुरा, जानकी, डुडुवालगायतका स्थानीय तहमा सार्वजनिक बस सञ्चालन हुँदै आएका छन् । उपमहानगरपालिकाले पनि यही रुटमा बस सञ्चालनको तयारी गरेको छ । रासस