१५० सीसीको बेनेली मोटरसाइकल २ लाख ३० हजारमै, यस्ता छन् विशेषता

जम्मा दुई लाख ३० हजार रुपैयाँमा १५० सीसीको मोटरसाइकल, त्यो पनि ‘बेनेली’ को, विश्वास गर्नुहुन्छ ? एउटा इटालियन ब्राण्डको मोटरसाइकलको मूल्य त्यति मात्र पर्नु वास्तवमै आश्चर्य लाग्दो कुरा हो । आज हामी चर्चा गर्दैछौं ‘टिएनटि १५’ को । बेनेलीको नेपालका लागि आधिकारिक विक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि.ले टिएनटि १५ लाई केहि महिना अघि नेपाली बजारमा सार्वजनिक गरेको थियो । टिएनटि १५ को डिजाइनको कुरा गर्नु पर्दा यो स्लिम लुकिङ्ग मोटरसाइकलको डिजाइन अरु ठूला बेनेली बाट प्रभावित भएको हो । झट्ट हेर्दा टिएनटि ३०० को जस्तो देखिने यसको हेडलाइट हामीले निकै आकर्षक रहेको पायौं । त्यसैगरी यस मोटरसाइकलको ट्याङ्क एक्स्टेन्सन प्यानल्स, सेम कलरमा रहेको वेली प्यान, स्प्लीट सिट्स र तल्लो साइडमा जडित बल्कि एग्जस्टले यस मोटरसाइकललाई थप एग्रेशिभ एवं स्पोर्टि बनाएको छ, जसले हरकोहिलाई मोटरसाइकल कुदाउँदा गर्वको महशुस गराउने छ । आम नेपालीले हिजोका दिनसम्म मोटरसाइकल किन्ने योजना बनाउँदा उसको प्राथमिकतामा कुनै इण्डियन अथवा जापनिज ब्राण्ड पर्ने गथ्र्यो । अन्य इन्टरनेशनल ब्राण्डको मोटरसाइकल त कसले पो किन्न सकोस् र । तर इटालियन ब्राण्ड बेनेलीले टिएनटि १५ बजारमा ल्याएदेखि भने उक्त कुरा एकादेशको कथा भइसकेको छ । बेनेली टिएनटि १५ मा जडान गरिएको इञ्जिन १४८ सीसीको सिङ्गल-सिलिण्डर एयर-कुल्ड इञ्जिन हो जसले १२.०६ बीएचपीको पावर र त्यसैगरी ११ एनएमको टर्क प्रदान गर्दछ । ५-स्पिड गियरबक्सले ट्रान्समिशन ड्यूटीको काम गर्ने यस मोटरसाइकलमा फ्युल-सप्लायरको काम भने कार्बुरेटरले गर्दछ । यस मोटरसाइकलमा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश गरिएको छ जसमा स्पीडोमिटर, ओडोमिटर, ट्रिपमिटर, क्लक, फ्युल-गज, गियर-इन्डिकेटर लगायतका कुराहरु सजिलै हेर्न सकिन्छ । १७ इञ्चको अलोए व्हिल्स लगाइएको यस मोटरसाइकलका दुवै टायरहरु ट्युवलेस छन् भने अगाडिको चक्कामा डिस्क ब्रेक र त्यसैगरी पछाडिको चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । यो ब्रेकिङ्ग १५० सीसीको मोटरसाइकलमा नराम्रो मानिँदैन । बजारमा हाल यो मोटरसाइकल ब्ल्याक, व्हाइट र रेड गरी ३ कलर अप्सनहरुमा उपलब्ध रहेको छ । कम्पनीले यो मोटरसाइकल ११० केएमपीएच प्लसको स्पिडसम्म कुद्न सक्छ र त्यसैगरी ५० प्लसको माइलेज दिन्छ भनी दावी गरेको छ । १६ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको यस मोटरसाइकलको लम्वाइ २०४० मिलिमिटर, चौडाइ ७८० मिलिमिटर र त्यसैगरी उचाइ भने १०७० मिलिमिटर छ । त्यसैगरी, यस मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर छ भने व्हिलबेस चाहिँ १२६० मिलिमिटर छ । बेनेली टिएनटि १५ अन्य ब्राण्डका १५० सीसीको मोटरसाइकलहरु भन्दा अत्यन्त कम मूल्यमा बजारमा आएको हुनाले कम्पनीले सो मोटरसाइकलले राम्रो पकड जमाउनेछ भनि विश्वास लिएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा महिन्द्राको थ्रीएस सुविधाको नयाँ शोरुम

काठमाडौं । अग्नि ग्रुपले प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । नव स्थापित महिन्द्रा अटोमोबाइल्सका विभिन्न श्रृङ्खलाका सवारी साधन र ट्रयाक्टरहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले मंसिर २७ गते शुक्रबार उद्घाटन गरेका छन् ।  रौतहट र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र कम्पनीका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने उद्देश्यसहित उक्त शोरुम स्थापना गरिएको कम्पनीले जनाएको छ । उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । अग्नि ग्रुपका स्थानीय बिक्रेता स्नेहा मोटो कर्प प्रालि चन्द्रनिगाहपुर, रौतहटका प्रबन्ध निर्देशक मुकेशकुमार शाहका अनुसार शोरुमा महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभी, पिकअप र ट्रयाक्टरहरू कम्पनीका प्रमुख उत्पादनका रूपमा रहने छन् । साथै, शोरुमले सर्भिसिङका अलवा महिन्द्राका सवारी साधनहरू र ट्रयाक्टरहरुका लागि सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने छ ।

एबीएस सहितको ‘एनएस १६०’ नेपाली बजारमा, नन-एबीएस भन्दा ३ हजार मात्र महँगो

काठमाडाैं । बजाज टू-व्हिलर्सको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले एबीएस सहितको एनएस १६० लाई केहि दिन अघि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले उक्त बाइकको मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ तोकेको छ । एनएस १६० एबीएसको आगमन भएसँगै नेपालमा यसको नन-एबीएस भेरियन्टलाई चाहिँ डिस्कन्टिन्यू गरिएको छ । बजाजलाई आफ्नो प्रोडक्टहरुको मूल्य सवैलाई सुहाउँदो हुनेगरी राख्ने ब्राण्डको रुपमा चिनिन्छ । यस अघि एनएस १६० को नन-एबीएस भेरियन्ट दुई लाख ८६ हजार नौ सय रुपैयाँमा विक्रीवितरण भइरहेको थियो । एनएस १६० एबीएसको मूल्यमा भने केवल तीन हजार रुपैयाँ मात्र थप गर्नुलाई बजाज नेपालको राम्रो कदमका रुपमा लिन सकिन्छ । उक्त नयाँ मोडेलमा सिङ्गल-च्यानल एबीएस बाहेक अरु नयाँ परिमार्जन केहिपनि नरहेको कम्पनीले जनाएको छ । एबीएसको प्रयोगले यस बाइकको ब्रेकिङ्गलाई थप सुरक्षित समेत बनाएको छ । एनएस १६० मा १६०.३ सीसी ओयल कुल्ड इञ्जिन समावेश गरिएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी ५ गियरहरु रहेको यस बाइकले ४५ केएमपीएल हाराहारीको माइलेज प्रदान गर्दछ भनी कम्पनीले दावी गरेको छ । यस बाइकको अगाडि तर्फ टेलिस्कपिक फर्क जडान गरिएको छ भने पछाडि मोनोशक जडान गरिएको छ । ब्रेकिङ्ग तर्फ दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । १२ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको एनएस १६० को तौल १४८ केजी, सिट हाइट ८०५ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७७ मिलिमिटरको रहेको छ ।