आत्मनिर्भर बन्दै धरानका नर्सरी, वार्षिक तीन करोडको फूल बिक्री
धरान । केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरकारुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् । धरानवासीको फूल र बिरुवाप्रतिको लगावका कारण कसैले यसलाई बगैँचाको सहर पनि भन्ने गरेका छन् । धरानमा घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलनै छ । अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको छ । धरानका नगर प्रमुख हर्कराज राईले सञ्चालन गरेको श्रमदान अभियानमार्फत सर्दु खोलाको बगर र डाँडाकाँडामा हजारौँ बोटबिरुवा रोपिएका छन् । धरानमा त्यस्ता घर छैनन्, जहाँ कुनै फूल वा बिरुवा नहोस् । यहाँका सुकुम्बासी वस्तीदेखि लाहुरे बस्तीसम्म फूलैफूल भेटिन्छन् । फरक यति हो, आफ्नो क्षमताअनुसार कसैले दुई चारबोट रोपेका छन्, त कसैले बगैँचा नै बनाएका छन् । कतिपय त फूललाई सौखका रुपमा रोप्दारोप्दै व्यवसायी बनेर राम्रो आम्दानी पनि गरिरहेका छन् । सामाजिक अभियन्ताका रुपमा परिचित धरान उपमहानगरपालिका–११ की शिवमाया बान्तवाको घर फूल र बोट बिरुवाले ढाकिएको छ । कतै बगानबेली, कतै लालुपाते त कतै विभिन्न रङ्गीचङ्गी फूल रोप्नुभएकी शिवमायाले घरभित्र पनि उसैगरी इन्डोर प्लान्टले सजाएकी छिन् । सौखले फूल र बिरुवा रोप्न थालेकी उनी ती फूलहरुलाई आफ्नै सन्तान झैँ स्याहार्नु गछिन् । शिवमायाले फूल र बिरुवालाई यति धेरै माया गर्नुको बेग्लै कथा छ । १७ वर्ष काम गरेको गोरखा सहकारीको जागिर चटक्क छाड्दा उनमा के गरौँ, कसो गरौँ भयो । डिप्रेसनमा जाने अवस्था भएपछि उनी आफ्नै घरमा फूल र बिरुवासँग रमाउन थालिन् । ‘फूलहरुको स्याहार गर्दागर्दै तिनीहरुको माया लाग्न थाल्यो । बजार जाँदा होस् या साथीको घर जाँदा फूल र बिरुवामै आँखा पर्न थाले’, उनी भन्छिन्, ‘फूलकै कारण डिप्रेसन हुन पाएन, उनीहरु मेरा साथी जस्ता भए । अहिले यिनीहरुसँग छुट्नै नसक्ने भएकी छु ।’ सुरुमा सोखका रुपमा फूल रोपेकी शिवमायाले मन परेका फूल र बिरुवा जम्मा गर्दागर्दै घर भरियो । बिरुवा बनाएर छिमेकी र चिनेजानेका धेरैलाई बाँड्नु पनि भयो । तर आफूले सित्तैमा बाँडेका फूलको स्याहार नभएको देखेर उनको मन दुख्यो । उनी भन्छिन्, ‘मैले बाँडेका फूल हेर्न जाँदा त कोही मरिसकेको, कोही त्यतिकै फ्याँकेको देखेँ । मान्छेले पैसा परेको चिजलाई मात्र महत्व दिँदा रहेछन् भन्ने सोच आयो । त्यसपछि सित्तैंमा बाँड्न छाडेँ । फूल माग्नेसँग पैसा लिन थालेँ ।’ फूल बेचेको पैसालाई उनले फूल र बिरुवामै लगानी गर्दै गइन् । यसो गर्दागर्दै उनी फूलको सौखिनबाट व्यवसायी बनिन् । २०७२ सालबाट त उनले फूलसँगै ड्राइगन फ्रुटका बिरुवा बेच्न थालिन् । कोरोना महामारीपछिको बन्दाबन्दीका बेला मात्र आफूले १५ लाख रुपैयाँको बिरुवा बेचेको उनी बताउँछिन् । शिवमायाले पाँच वर्षयता त ‘फ्लावर जोन एन्ड पट हाउस’ नामको नर्सरी नै खोलेर फूलको व्यवसाय गरिरहेकी छिन् । उनी भन्छिन्, ‘पहिला सौखका रुपमा रोपेका फूलले अहिले राम्रो आम्दानी भएको छ । नर्सरीमा आएर मात्र होइन, फेसबुकलगायतका सामाजिक सञ्जालबाट पनि बिक्री गरिरहेकी छु । धेरै धरानेलीहरु म जस्तै फूलका सौखिन छन् ।’ धरानका युवा चित्रकार युमेनहाङ राई पनि पहिलादेखि नै फूलका सौखिन थिए । फूल सङ्कलन गर्दा गर्दै अहिले उनले पनि अहिले धरान–२० मा एभरेष्ट नर्सरी खोलेका छन् । कोरोना महामारीले धेरैको व्यापार व्यवसाय चौपट भएकाबेला उनले चाहिँ आफूले सङ्कलन गरेका फूलहरुलाई नर्सरीको रुप दिए । अहिले उनको नर्सरीमा सय रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म मूल्यका फूल तथा बिरुवा किन्न पाइन्छ । उनी भन्छन्, ‘धरानमा घरघरमै फूलको बगैँचा छभन्दा हुन्छ । यो बगैँचाको सहर हो ।’ धरानमा सौखले फूल रोप्ने त धेरै झन्, सौखबाटै व्यवसायी बन्नेहरुको सङ्ख्या पनि बढिरहेको छ । धरान–१९ का विश्व लिम्बू अफ्रिकी सजावटका फूल सङ्कलन गर्दागर्दै व्यवसायी बनेका छन् । छ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका उनी विदेशबाट पनि सजावटका बिरुवाहरु मगाउने र आफैँ पनि उत्पादन गरेर बिक्री गरिरहेको बताउँछन् । धरान–८ का गौरव लिम्बुले पनि भर्खरै वनेम नर्सरी खोलेर विक्री वितरण गरिरहेका छन् । धरान उपमहानगरपालिकाको लगानीमा भानुचोकदेखि छाताचोकसम्मको मुख्य सडकको दायाँबाँया फलामको रेलिङमा गमला राखेर फूल रोपिएका छन् । यसले पनि धरानको सुन्दरता बढाएको छ । धरानवासीको फूलसँगको सामिप्यताकै कारण धरानलाई फूलको सहर, बगैंचाको सहर भनेर समेत चिन्ने गरिन्छ । माथि विजयपुर डाँडाबाट हेर्दा धरान बगैंचाभित्र घरैघर भएको शहर जस्तो देखिन्छ । धरानबासीको फूलप्रतिको उत्साह देखेर धरान उपमहानगरपालिकाले एक दशकअघि नै धरानलाई फूलैफूलको शहर बनाउने अभियान चलाएको थियो । नागरिकलाई फूलप्रति आकर्षण मात्र होइन, व्यावसायिक पनि बनाउने उद्देश्यले उपमहानगरपालिकाको सहयोगमा छलफल, अन्तरक्रिया पनि चलाइएको थियो । उपमहानगरपालिकाका पूर्व सामाजिक विकास अधिकृत सुनिल नेपाल घरमा राम्रोसँग फुलको सजावट गर्नेलाई पुरस्कृत गर्ने गरिएपछि नागरिकले फूललाई अझ व्यवस्थित रुपमा रोप्न र व्यावसायिक बन्न थालेको उनको भनाइ छ । उनी भन्छन्, ‘फूलबाट औषधीहरु पनि बन्छन्, सबैतिर फाइदैफाइदा छ, त्यसैले धरानलाई फूलैफूलको शहरका रुपमा विकास गर्ने योजना ल्याइएको थियो ।’ धरानका नगरप्रमुख हर्कराज राईले पनि धरानलाई फूलैफूलको सहर बनाउने भन्दै वृक्षरोपण अभियानलाई निरन्तरता दिइरहेका छन् । उनी भन्छन्, ‘यसपटक हामीले सडकको छेउ र खोलाका किनारमा रोपेका फूल धमाधम फुलिरहेका छन् । यसले पर्यटक पनि आकर्षण गर्छ । फूल र बोटबिरुवा धरानको चिनारी बनाउने अभियान छ हाम्रो ।’ करोडौँको कारोबार धरानमा व्यावसायिकरुपमा फूल र बिरुवा बेच्ने नर्सरी दुई दर्जन हाराहारी छन् । त्यसबाहेक अनलाईनमार्फत फुल बेच्नेहरुको सङ्ख्या पनि ठूलो छ । नर्सरीहरुको कारोबार मात्र हिसाब गर्दा पनि वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको फूल बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ । बुढासुब्बा नर्सरीका सञ्चालक प्रेमप्रसाद पराजुली पूर्वमा सबैभन्दा बढी धरानमै फूल विक्री हुने बताउँछन् । उनी भन्छन्, ‘धरानका पाँच ६ वटा नर्सरीले दिनमा ३० हजार हाराहारीको फूल बेच्छन्, अरुलेपनि दिनमा कम्तिमा पाँचदेखि आठ हजार रुपैयाँको बेच्छन् । घरघरबाटै र अनलाइनबाट बेच्नेको हिसाबै छैन ।’ धरानका क्यामेलिया, एञ्जिला, पवित्रजस्ता पुराना नर्सरीले फूलको राम्रो कारोबार गरिरहेका छन् । पवित्र नर्सरीकी सञ्चालिका प्रमिला राई १६ वर्षदेखि नर्सरीबाटै परिवार धानिरहेको बताउँछिन् । धरानका नर्सरीहरु आफू मात्र आत्मनिर्भर छैनन, धेरैलाई रोजगारीसमेत दिएका छन् । कतिपयले आफ्नै परिवार मिलेर फूलको व्यवसाय सञ्चालन गरिरहेका छन् भने धेरैले पाँच सातदेखि २५ जनासम्मलाई रोजगारी पनि दिएका छन् । व्यवसायीको गुनासो फूल र बोटबिरुवा रोप्दा एकातिर वातावरणका लागि फाइदा छ भने अर्कातिर व्यावसायिकरुपमा पनि यो व्यवसाय राम्रो बनिरहेको छ । तर, यसमा लागेका व्यवसायीहरु बाहिरबाट फूल ल्याएर बिक्री गर्न झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताउँछन् । व्यवसायी युमेनहाङ राई नर्सरीहरुलाई व्यवसायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि समस्या भएको बताउँछन् । यसलाई कृषि उत्पादनका रुपमा सरकारले सहयोग गर्नुपर्ने उनको धारणा छ । फूल र बिरुवा उत्पादकहरुलाई सरकारी सहयोग पाउन पनि अप्ठ्यारो मापदण्डका कारण कठिनाइ भएको उनको भनाइ छ । फूल व्यवसायी शिवमाया बान्तवा पनि फूलको खेती र व्यवसाय गर्ने भन्दा राजनीतिक प्रभाव राख्नसक्नेले अनुदान पाउने गरेको तर वास्तविक फूल व्यवसायी मारमा परेको बताउनुहुन्छ । सरकारी निकायले वास्तविक फूल किसान र व्यवसायीलाई सहयोग गर्नु पर्ने उनको धारणा छ । अर्का व्यवसायी प्रेमप्रसाद पराजुली फूलबाट सबैलाई फाइदैफाइदा देख्नछन् । उनी भन्छन्, ‘फूलखेती र व्यवसायले सहर पनि सुन्दर देखिन्छ, व्यापार पनि राम्रो हुन्छ । यसलाई सरकारले प्रोत्साहन गर्ने हो भने पर्यटनको विकासमा पनि ठूलो योगदान पुग्न सक्छ ।’ रासस
पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक, वार्षिक १३ लाख बचत
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहानबेलुका गाईभैँसीका बाच्छाबाच्छी/पाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्ययापन कार्यमा बित्ने गरेको छ । बिहान मिर्मिर उज्यालोदेखि ८ बजेसम्म र बेलुका ५:३० देखि ८ बजेसम्म गाईभैँसीका बाच्छाबाच्छी र पाडापाडीको स्याहारसुसार गर्ने, दूध बिक्रीवितरणको व्यवस्था गर्नेलगायत काममा बित्ने गरेको छ । दिउँसोको समयमा भने शिक्षण पेसामा बित्ने गरेको उनले बताए । डाँगी छोटो समयमा व्यावसायिक रुपमा पशुपालन गरेर एक सफल उद्यमीको रुपमा आफूलाई चिनाउन सफल भएका छन् । उनी तुलसीपुर–१० मा रहेको एक निजी विद्यालयका शिक्षक हुन् । उनले १५ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराइरहेका छन् । साथै नौ वर्षदेखि पशुपालनमा लागेका डाँगी अहिले घरपरिवारका सदस्यसहित यो पेसालाई निरन्तरता दिँदै छन् । उनले स्थानीय पाँचजनालाई रोजगारीसमेत दिएका छन् । डाँगीका अनुसार दुईजनाले पूर्ण र तीनले आंशिक रुपमा रोजगारी गरिरहेका छन् । उनले भने, ‘वार्षिक करिब १२ देखि १३ लाख बचत गर्न सफल भएको छु । विसं २०७१ मा लक्ष्मी सेवा पशुपालन फर्म दर्ता गरी व्यावसायिक रुपमा भैँसीपालनको सुरुवात गरेको थिएँ ।’ डाँगीले सुरुमा चार लाखको लागतमा पाँचवटा उन्नत जातका मुर्रा भैँसी र एउटा होलेस्टन उन्नत जातको गाई खरिद गरी पशुपालन थालेको जानकारी दिए । उनका अनुसार अहिले फर्ममा गाई तथा बाच्छाबाच्छी २१ र भैँसी तथा पाडापाडी १२ गरी ३३ वटा पशुचौपाया रहेका छन् । तीमध्ये १० गाई तथा सातवटा भैँसी दुहुना छन् । भैँसीले दैनिक ९० देखि ९५ लिटरसम्म दूध दिने गरेको भन्दै उक्त दूधलाई तुलसीपुर बजारका डेरी उद्योगमा बिक्रीका लागि लग्ने गरिएको डाँगीले बताए । केहीले दूध फर्मबाटै खरिद गरी लैजाने गरेका छन् । कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भन्दै अहिले भने बजारमा कुनै समस्या नरहेको डाँगीले बताए । दाङमा अहिले दूधप्रतिलिटर ९० र दही एक सय रहेको छ । शनिबार डाँगीको फर्ममा दूध खरिद गर्न आएकी तुलसीपुर–६ गोलौरीकी ४३ वर्षीया सरस्वती चौधरीले आफ्नै घर आगनमा शुद्ध दूध खान पाइएको बताइन् । उनले भनिन्, ‘पहिले–पहिले एक लिटर दूध किन्न तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो । तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।’ डाँगीले फर्ममा अहिलेसम्म ६० लाखसम्म लगानी भइसकेको जानकारी दिए । उनका अनुसार दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २५ देखि २८ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गतवर्ष झण्डै १२ लाख आम्दानी भएको उनले बताए । शिक्षण पेसामा संलग्न भएका तपाईँ पशुपालनमा कसरी लाग्नुभयो भन्ने प्रश्नको जवाफमा डाँगीले भने, ‘धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेका समाचार दिनहुँ आउन थालेपछि स्वदेशमै स्वरोजगार सृजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि व्यवसाय सुरु गरेको थिएँ । पशुपालन व्यवसायबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसहित पाँच जना युवालाई रोजगारीसमेत दिन सक्षम भएको छु ।’ समयको व्यवस्थापना आफूले पढाउने विद्यालय घरदेखि नजिकै रहेकाले बिहान बेलुका र बिदाको समयमा पशुपालनमा रमाउने गरेको डाँगीले बताए । १० देखि ५ बजेसम्म विद्यालयमा हुने भन्दै बाँकी समय फर्मलाई दिने गरेको उनको भनाइ थियो । परिवारका सदस्यले समेत उनको यस कामलाई सघाइरहेका छन् । डाँगीले दुई बिघामा फर्म सञ्चालन गरेका छन् । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उनले बताए । ‘अहिलेसम्म सरकारी कुनै निकायबाट केही सहयोग पाएको छैन’, उनले भने, ‘अरु समयभन्दा जाडोको समयमा उत्पादित दूधजन्य वस्तुलाई बिक्रीमा केही समस्या हुने गरेको छ ।’ कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै डाँगीले अहिले फर्ममा विभिन्न ठाउँबाट गाईभैँसी अवलोकन गर्न, दूधजन्य वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउने गरेका बताए । पढेलेखेका पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन भन्दै स्थानीयस्तरमा स्वरोजगार सृजना गर्न सकिने उनको सुझाव छ । युवालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने डाँगीको अनुभव छ । रासस
दराजले ल्यायो ‘फ्रि डेलिभरी फेस्टिभल’
काठमाडौं । सपिङ प्लेटफर्म दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्यक्रम सार्वजनिक गरेको छ। दराजले पहिलो पटक ल्याएको यो कार्यक्रममा ग्राहकहरुले निःशूल्क डेलिभरी, ७० प्रतिशत सम्मको मेगा डिल्स, १ हजारसम्मको मेगा भाउचर, १ हजार सम्मको प्रिपेमेन्ट छुट साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । माघ ९ गते देखि सुरु हुने उत्त कार्यक्रममा फेसन, लाइफस्टाइल, व्यूटी जस्ता विभिन्न विधाका सामानहरु खरिद गर्न सकिन्छ । नेपालका व्यवसायहरुको ढुवानी शूल्क बढ्दा उपभोक्ताहरुलाई अनलाइन किनमेल महङ्गो हुन पुगेको कुरालाई मध्य नजर गर्दै दराजले यो कार्यक्रम ल्याएको जनाएको छ । फ्रि डेलिभरी फेस्टिभलले खरिदकर्ताहरुलाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिक्तम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यो कार्यक्रममा दराजले काठमाडौं र मूख्य शहरहरुमा मात्र नभएर ग्रामीण क्षेत्रहरुका सीमान्तकृत समुदायहरुमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदन गर्नेछ । विक्रेताहरुको आयमा ७५ प्रतिशतको विद्धि भएको देखिन्छ । दराजका प्रमुख परिचालन अधिकृत विमल अर्याल भन्छन्, ‘हाम्रो प्लेटफर्ममा उपलब्ध विविध विधाका लाखौं सामानहरु ग्राहकहरुलाई समयमै सुपथ मूल्यमा प्रदान गर्ने हाम्रो मूख्य उदेश्य हो । अहिलेको फ्रि डेलिभरी फेस्टिभल पनि यहि उदेश्यको एक अंश हो हामीसँग आवद्ध साझेदारहरु, दक्ष जनशक्ति, निविन्तम प्रविधि, र कमचारीहरुको कर्मनिष्ठाले गर्दा हामीलाई पूर्वमा काँकडभिट्टा देखि पश्चिममा महेन्द्रनगरसम्म वितरण संजाल विस्तार गर्ने हाम्रो यो उद्देश्य पूरा गर्न सजिलो हुन्छ । साथै हामी अहिलेको आवश्यक्ता अनुसार डेलिभरी सेवा पनि सुधार गर्दै आएका छौं र गर्नेछौं जसले गर्दा हाम्रा ग्राहकहरुले निकै राम्रो झन्झट रहित सेवा प्राप्त गर्दै आएका छन् ।’ २०२४ को पहिलो कार्यक्रम फ्रि डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । कम्पनीको अनुसार ग्राहकहरुले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत रु ७५० सम्म साथै क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत १,००० सम्मको छुट प्राप्त गर्ने छन् ।