सप्तकोशीको ढुकुटीको पैसा अपचलन, रिलायन्सलाई २ हजार ९२४ रुपैयाँ जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा देखिएका नियामकीय कमजोरी र निर्देशन उल्लंघनका आधारमा सम्बन्धित पदाधिकारी तथा संस्थामाथि कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सप्तकोशी डेभलपमेण्ट बैंकको २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकको भल्टमा रहेको नगदमा अपचलन भएको तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच भएको भेटिएको थियो । यसबाट संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको राष्ट्र बैंकले जनाएको छ । यस्ता घटना जानकारी भएपछि पनि विस्तृत छानबिन गरी दोषीमाथि कारबाही नगरेको, आन्तरिक नियन्त्रण तथा आन्तरिक जाँच प्रणालीका कमजोरी पहिचान गरी नीति तथा कार्यविधिमा आवश्यक सुधार गर्न नसकेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) बमोजिम सचेत गराइएको छ । सोही प्रकरणमा बैंकको सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई पनि आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन आवश्यक सुधार नगरेको ठहर गर्दै सचेत गराइएको छ । त्यसैगरी नारायणी डेभलपमेण्ट बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको शर्तअनुसार एउटै ग्राहक वा आपसी सम्बन्ध भएका ग्राहक समूहलाई प्राथमिक पुँजीको अधिकतम १० प्रतिशतसम्म मात्र कोषमा आधारित तथा गैरकोषमा आधारित सुविधा प्रदान गर्नुपर्ने व्यवस्था रहे पनि आर्थिक वर्ष २०८१÷८२ मा उक्त सीमा उल्लंघन गरी कर्जा प्रवाह गरिएको भेटिएपछि तत्कालीन सीईओ रेग्मीलाई सचेत गराइएको छ । साथै, रिलायन्स फाइनान्सले २०८२ फागुन १० गतेदेखि २०८३ वैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै राष्ट्र बैंकले विद्यमान व्यवस्थाअनुसार २ हजार ९२४ रुपैयाँ जरिवाना तिराएको छ ।
आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४० रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७० पैसा र बिक्रीदर १५ रुपैयाँ ७७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८९ पैसा बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९९ रुपैयाँ १३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
२ अर्बमा ९ मेगावाटको खिम्ती-घ्वाङ आयोजना बन्दै, एनएमबि बैंकको १.२४ अर्ब लगानी
काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैंकिङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका थिए । कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ भएर बहने खिम्ती-घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषदबाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँच मार्ग, गोदाम, आवास गृह निर्माणलगायत पूर्व तयारीको काम सम्पन्न भइसकेको छ । यस्तै, सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणबाट व्यवस्थापन गरिनेछ भने बाँकी ५६ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए । कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ ।