कामना सेवा विकास बैंकको नाफा साढे ८९ करोड रुपैयाँ, लाभांश क्षमता १५.१६ प्रतिशत
काठमाडौं । कामना सेवा विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ३३.५० प्रतिशत बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष चौथो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशत बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको सञ्चालन नाफा ३२.८७ प्रतिशत बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । गत वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत रहेको छ । चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २१ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३४ प्रतिशत छ । समीक्षा वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.७५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षमा बैंकको ईपीएस १९.०८ रुपैयाँ थियो । बैंकको मूल्य आम्दानी अनुपात २०.८४ गुणा र प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ । बैंकको कुल खराब कर्जा ३.७७ प्रतिशत र खुद खराब कर्जा ०.५५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष बैंकको कुल खराब कर्जा ३.४९ प्रतिशत र खुद खराब कर्जा ०.२८ प्रतिशत रहेको थियो ।
एनआईसी एशिया क्यापिटलको डिम्याट खातामा अब अनलाइनबाटै राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न सकिने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्ना डिम्याट खातावालाहरूका लागि अनलाइनमार्फत नै राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक (अपडेट) गर्न सकिने नयाँ व्यवस्था मिलाएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको निर्देशनबमोजिम नयाँ डिम्याट खाता खोल्दा वा पुराना खाताको केवाइसी विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि क्यापिटलले यो सहज डिजिटल सुविधा ल्याएको हो । ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने मूल मन्त्रसहित आफ्ना सेवाहरूलाई डिजिटल बनाउँदै आएको क्यापिटलको यो व्यवस्थाबाट एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका शाखाहरूबाट डिम्याट खाता खोलेका ग्राहकहरू लाभान्वित हुनेछन् । डिम्याट खातामा अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नका लागि ग्राहकहरूले क्यापिटलको वेबसाइटमा रहेको निश्चित लिङ्क https://dematonline.nicasiacapital.com/ मा गएर आफ्नो डिम्याट खाता नम्बर र जन्ममिति प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि खातामा दर्ता भएको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने ओटिपी प्रमाणीकरण गरी राष्ट्रिय परिचयपत्र नम्बर र परिचयपत्रको अगाडिको भागको प्रष्ट फोटो वा एनआईडी कन्फर्मेसन पत्र अपलोड गर्नुपर्ने क्यापिटलले जनाएको छ । यसरी विवरण पठाएपछि उक्त नम्बर डिम्याट खातामा अद्यावधिक भए/नभएको स्थिति (स्टेटस) समेत वेबसाइटको ‘चेक रिजल्ट’ मा क्लिक गरी अनलाइनबाटै ट्र्याक गर्न सकिनेछ । यसका साथै, डिम्याट खातामा एनआईसी एशिया बैंकको खाता उल्लेख भएका ग्राहकहरूको बैंक खातामै राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक रहेको खण्डमा सोही आधारमा डिम्याट खातामा पनि सोझै एनआईडी अद्यावधिक हुने व्यवस्था मिलाइने क्यापिटलले विज्ञप्तिमा उल्लेख गरेको छ ।
डिजिटल बैंकिङ विस्तार गर्दै गरिमा विकास बैंक, एकैसाथ तीन नयाँ सेवा सार्वजनिक
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै एकैसाथ तीन नवीन प्रविधिमा आधारित डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ । ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले ‘गरिमा प्रिपेड डलर कार्ड’, ‘गरिमा पोस टर्मिनल’ र ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवाको औपचारिक शुभारम्भ गरेको हो । नयाँ सार्वजनिक गरिएका सेवाहरू अन्तर्गत ‘गरिमा प्रिपेड डलर कार्ड’ मार्फत ग्राहकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई-कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, व्यवसायी तथा व्यापारीहरूलाई नगदरहित कारोबारमा प्रोत्साहन गर्न ल्याइएको ‘गरिमा पोस (पीओएस) टर्मिनल’ मार्फत डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाट सुरक्षित र छिटो भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको छ । यसैगरी, ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहजै नगद प्राप्त गर्न सक्नेछन् । ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त यस बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब ९ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।