सातै प्रदेशलाई लक्षित गर्दै एनएमबि बैंकको ‘प्रदेश बचत खाता’ सार्वजनिक
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् । डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा तथा अन्य धेरै थप सुविधाहरू प्राप्त गर्नेछन् । यस बचत खाताको सुरुवातमार्फत एनएमबि बैंकले देशका सबै भागमा सहज, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्याउने आफ्नो लक्ष्यलाई अझ अगाडि बढाएको जनाएको छ । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ७ प्रतिशत ब्याज पाइने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमासाउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र प्रयाप्त आवेदन नपरे साउन २८ गतेसम्म समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्रिय वाणिज्य बैंकको डीसीईओ बने पवन रेग्मी, डीईओमा श्रेष्ठ र घिमिरे
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा पवन रेग्मी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले तह ११ मा कार्यरत उप–कार्यकारी अधिकृत (डीईओ) पवन रेग्मीलाई तह १२ को डीसीईओ पदमा बढुवा गरिएको जनाएको छ । अर्थशास्त्रमा एमफिल तथा एमबिएस गरेका रेग्मी २०६२ देखि हालसम्म बैंकको विभागीय प्रमुख तथा शाखा कार्यालयहरु लगायत उच्च ब्यवस्थापकिय तहमा रहि कार्य गरेको अनुभव छ । यस्तै, सञ्चालक समितिको साउन ३० गते बसेको बैठकको निर्णयअनुसार तह १० मा कार्यरत मुख्य प्रबन्धक (लेखा) निम्बल श्रेष्ठ र मुख्य प्रबन्धक भीमप्रसाद घिमिरेलाई तह ११ को उप–कार्यकारी अधिकृत पदमा बढुवा गरिएको बैंकले जनाएको छ ।