राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको  छ ।       ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ । काउन्टरपार्टीले ऋणपत्र बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।  राष्ट्र बैंकले न्यूनतम पाँच करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।   

कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच दिगो बैंकिङ प्रवर्द्धनका लागि रणनीतिक साझेदारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जर्मनीको वित्तीय संस्था डोइचे स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक साझेदारी गरेको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डोइचे स्पार्कासेनस्टिफ्टुङको एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन् । यो सहकार्य जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत भएको बैंकले जनाएको छ । सम्झौताअनुसार बैंकमा दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त, न्यून कार्बन उत्सर्जन तथा दिगो उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन् । यसका लागि संस्थाले ईएसजी रिस्क राडार र सस्टेनेबल फाइनान्स कम्पास लगायतका प्राविधिक प्रणाली उपलब्ध गराउनेछ । त्यस्तै, ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यम (एसएमई) को क्षमता अभिवृद्धिका लागि डिस्क बिजनेस गेम समेत सञ्चालन गरिने बैंकले जनाएको छ । कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो सम्झौताले बैंकलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार आफ्ना बैंकिङ प्रणालीलाई अझ परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार साझेदारीमार्फत हरित वित्त र दिगो आर्थिक विकासलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । हाल कुमारी बैंकले देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाइ तथा १,१०० भन्दा बढी पीओएस टर्मिनलमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले यो सहकार्यले नेपालमा दिगो वित्तीय प्रणालीको विकास र हरित अर्थतन्त्र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा धनगढीका ५ हजार विद्यार्थीको दिवा भोजन कार्यक्रमलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत धनगढीमा सञ्चालित ‘मिड–डे मील (दिवा भोजन)’ कार्यक्रमका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले ‘फुड फर लाइफ नेपाल’मार्फत सञ्चालन भइरहेको उक्त कार्यक्रमलाई सहयोग गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत केन्द्रीकृत भान्सा (सेन्ट्रलाइज्ड किचेन) प्रणालीमार्फत धनगढीका सरकारी विद्यालयमा अध्ययनरत करिब ५ हजार विद्यार्थीलाई दैनिक स्वच्छ, पौष्टिक र सन्तुलित दिवा भोजन उपलब्ध गराइँदै आएको छ । बैंकका अनुसार आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीको पोषण सुधार, विद्यालयमा नियमित उपस्थितिमा वृद्धि तथा शिक्षामा निरन्तरता कायम गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्‍याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।