नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशतमा सवारी कर्जा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) एक्स्पो २०२६ लाई लक्षित गर्दै बैंकले उक्त विशेष कर्जा योजना ल्याएको हो । बैंकका अनुसार योजनाअन्तर्गत हाल कायम सवारी कर्जाको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । यो विशेष ब्याजदर भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाइएको छ । बैंकका अनुसार ग्राहकले कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा गरेको अवस्थामा २४ घण्टाभित्र सवारी कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारीसाधन खरिद गर्न सहज र छिटो कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ । उक्त सवारी कर्जा सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत उपलब्ध हुने जनाइएको छ । नाइमा एक्स्पो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले यो विशेष योजनाबाट लाभ लिन सक्नेछन् । मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजारअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई थप सुविधा र अवसर प्रदान गर्ने उद्देश्यले विशेष सवारी कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।
कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि बैंकले उक्त सहयोग गरेको हो । सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा र उपकरण व्यवस्थापनमा प्रयोग गरिने छ । नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ । यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचार सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार सहयोगले बालबालिकाको उपचार गुणस्तर अभिवृद्धि गर्नुका साथै जीवनरक्षा दर बढाउन र स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्नेछ । ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनासहित बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
एनएमबि बैंकले ईभी कर्जामा आधार दरमा ०.५ प्रतिशत मात्रै थप ब्याज लिने
काठमाडौं । एनएमबि बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिदका लागि आधार दरमा ०.५ प्रतिशत मात्रै थप हुने गरी विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले किफायती विद्युतीय सवारी कर्जा योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार सीमित अवधिका लागि उपलब्ध हुने यो कर्जा सुविधा नयाँ विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरिएको छ । सरल र छिटो प्रक्रियाबाट कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । इच्छुक ग्राहकले नाइमा अटो एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ५ वा देशभर रहेका एनएमबि बैंकका शाखामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन् । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटिएम तथा ९ वटा विस्तार काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।