रिलायन्स फाइनान्सको १६औं साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८१०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफलसहित पारित भयो । साथै बाह्य लेखापरीक्षकको नियुक्ति तथा विशेष प्रस्तावतर्फ वित्तीय संस्थाहरूबीच मर्जरसम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । सभामा प्रस्तुत विवरणअनुसार विगत वर्षहरूमा व्यवसाय तथा वित्तीय सूचकमा उतारचढाव भए तापनि चालु आर्थिक वर्षमा संस्थाको कार्यसम्पादन उल्लेखनीय रूपमा सुधारिएको छ । गत आर्थिक वर्षको तुलनामा संस्थाको निक्षेप १.०३ प्रतिशतले वृद्धि भई ८ अर्ब ६४ करोड पुगेको छ भने कर्जा ८.७० प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड पुगेको छ । त्यस्तै, संस्थाको मुनाफा ६१ प्रतिशतले वृद्धि भई ६ करोड ८६ लाख पुगेको छ । सभामा सेयरधनीहरू डा. बालकृष्ण चापागाईं र दीपक आचार्यले वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको प्रगति र भविष्यका योजनाप्रति शुभकामना व्यक्त गरे । साथै अन्य विभिन्न सेयरधनीहरूले लिखित सुझावसमेत प्रस्तुत गरेका थिए । सभाको अवसरमा संस्थामा १० वर्षभन्दा बढी समय सञ्चालकका रूपमा योगदान पुर्याएका पूर्व सञ्चालक विष्णुमान जोशीलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्य गर्ने तीनवटा शाखा कार्यालयलाई ‘बेस्ट ब्रान्च अवार्ड’ प्रदान गरिएको छ ।
नेपाल बैंकको ६६औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मालेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । सभाले बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलका सुझाव प्राप्त भएमा सोही अनुरूप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न, पुन : सञ्चालक बने गजेन्द्र विष्ट
काठमाडौं । प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार (आज) सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ । आजै सम्पन्न सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई बैंकको सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि पनि बैंकको सञ्चालकका रूपमा कार्यरत थिए ।