आतंकवादले भन्दा साइबर क्राइमले ठूलो जोखिम निम्त्याउन सक्छ-विजयबहादुर शाह
विजयबहादुर शाह, अध्यक्ष–एआईआरडीसीगत साता राजधानीमा आयोजित एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज (एआईआरडीसी)को २१ औं सम्मेलनले एआईआरडीसीको अध्यक्षमा विजय बहादुर शाहलाई चयन गरेको छ । नेपाल विमक संघको निवर्तमान अध्यक्ष शाह यसअघि सो संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो । एआईआरडीसीको सम्मेलनबाट नेपालले के सिक्यो र सो संस्थाको अध्यक्षको काँधमा के–के जिम्मेवारी आएको छ भन्ने विषयमा केन्द्रीत भई नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका शाहसँग गरिएको विकास वहस यस अंकमा । एआईआरडीसी के हो ? यसलाई कसरी बुझ्ने ? एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज नामको संस्था ४० वर्षअघि स्थापना भएको थियो । यसको हेर्डक्वार्टर फिलिपिन्सको मनिलामा रहेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका नियामक र बीमा कम्पनीहरु यसका सदस्य छन् । यसले बीमाको ज्ञान अभिवृद्धि, व्यवसायिक भाइचारा, बीमाका क्षेत्रमा आईपर्न सक्ने चुनौती व्यवस्थापनका लागि बहस चलाउने र पूर्व तयारी गर्ने गर्छ । यस संस्थाको अध्यक्ष बन्नुभएको छ । तपाईको काँधमा के के जिम्मेवारी आएको छ ? यो संस्थाको भर्खरै सम्पन्न साधारण सभाले मलाई अध्यक्ष चुनेको छ । यो मेरो लागि मात्रै नभएर नेपाली बीमा क्षेत्रका लागि नै खुसीको कुरा हो भन्ने लाग्छ । मेरो काँधमा एआईआरडीसीको उदेश्य पुरा गराउने जिम्मेवारी आएको छ । यसको मञ्चलाई उपयोग गरेर बीमा क्षेत्रलाई व्यवसायिक र अब्बल बनाउन भूमिका खेल्नु मेरो जिम्मेवारी हो । बीमा क्षेत्रमा नयाँ प्रडक्ट भित्र्याउने, प्रबिधि भित्र्याउने काम गर्नुपर्नेछ । एआईआरडीसीको २१ औं सम्मेलनबाट बीमा क्षेत्रले के सिक्यो ? हरेक सम्मेलनको एउटा नारा हुन्छ । यसपालिको नारा डिजास्टर रिस्क फाइनान्सिङ थियो । हामीले जल वायु परिवर्तनबाट भविष्यमा आउन सक्ने जोखिमबारे व्यापक छलफल गरेका छौं । जल वायु परिवर्तनले प्रलय ल्याउँछ । प्रलयले ठूलो आकारमा नोक्सानी गर्छ जसलाई व्यक्ति वा कम्पनीले जोखिम वहन गर्न सक्दैन । यस्ता ठूला प्रलयहरुले देश विकासमै अवरोध पनि ल्याउँछ । यस प्रकारका प्रलयहरुबाट हुने नोक्सानीको जोखिम वहन र फाइनान्सिङका लागि यो सम्मेलन फलदायी भएको छ । त्यस्ता प्रलयहरुको नोक्सानी व्यवस्थापन र फाइनान्सका केहि तरिका छन् । त्यो कुरा बीमा कम्पनी वा नियामक निकायले मात्रै होइन, देशले नै सिक्नुपर्ने देखिएको छ । विभिन्न फाइनान्सिङ प्रडक्टहरुका माध्यमबाट समयमै सम्बोधन गर्न सक्यौं भने भोलिका दिनमा प्रलयहरु आउँदा कसैको मुख ताक्नु पर्दैन । कसैको आस गरेर बस्नुपर्ने अवस्था रहँदैन । हामी आफैं पुननिर्माण गर्न सक्छौं भन्ने कुरा यो सम्मेलनबाट सिकेका छौं । यो नै सबै भन्दा ठूलो सिकाई हो भन्ने मलाई लाग्छ । नेपालमा कस्ता खालका प्रलयहरु भोग्नुपर्ने पूर्वानुमान गरियो र त्यसको जोखिम हस्तान्तरण कसरी गर्न सकिने देखियो ? यो सम्मेलनको उद्घाटनमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि भन्नु भएको थियो कि अब प्राकृतिक र मानव सिर्जित साइबर रिस्क ठूला मुद्दा हुनेछन् । त्यससँगै आतंकवाद पनि अर्काे चुनौती हो तर त्यसलाई साइबर जोखिमले उछिनेको अवस्था छ । आतंकबादले भन्दा साइबर क्राइमले ठूलो जोखिम निम्त्याउन सक्छ । जल वायु परिवर्तनले भूकम्प, बाढी, पहिलो, अतिवृष्टि, अनावृष्टि, हिमताल बिस्फोटन लगाएका समस्या आउनसक्छ । जसले एकै पटक ठूलो मात्रामा नागरिकहरुलाई नोक्सानी पुर्याउन सक्छ । यो देशको समृद्धिका लागि जल विद्युतको सदुयोग गर्नुपर्ने भनिएको छ । ठूला हिमताल फुट्यो भने तटिय क्षेत्रका जलविद्युत आयोजना सहित अन्य पूर्वाधारमा क्षति पुर्याउन सक्छ । यो सम्मेलनमा जलवायु परिवर्तनको जोखिमले के के गर्न सक्छ र त्यसको जोखिम न्युनिकरणका लागि वित्तीय औजार के के हुन भन्नेबारे छलफल भयो । हिजोका दिनसम्म खासै महत्व नपाएको हनुमन्ते खोलाले यसपाली भक्तपुरमा डुबान समस्या ल्यायो जसले ठूलो क्षति गरेको थियो । जलवायु परिवर्तनले व्यापक जोखिम ल्याउँछ र त्यसको समयमै जोखिम हस्तान्तरण गर्नुपर्छ भन्ने हो । आज प्रविधिले टाइफुन आँधीले कति प्रभाव पार्छ ? कति समयमा अर्काे देशमा असर गर्छ भन्ने अनुमान गर्न सकिएको छ । भूकम्प बाहेकका अन्य प्राकृतिक जोखिमहरुको पूर्वानुमान गर्न सकिन्छ । अहिले त्यस्तो पूर्वानुमानहरुको प्रविधिमा पनि बीमा कम्पनीहरुले ध्यान दिनुपर्ने देखियो । त्यस्तो पूर्वानुमानको जानकारी दिन सकियो भने ठूलो धनजनको क्षति रोक्न सकिने सम्भावना उजागर भयो । सम्मेलनमा १६ देशका बीमा कम्पनीका प्रतिनिधि सहभागी भए । उनीहरुसँग त्यहाँका शिप र प्रविधिबारे जान्ने अवसर पायौं । सम्बन्ध सञ्जाल विस्तारको अवसर पाइयो । अब त्यसलाई सदुपयोग गर्ने सन्दर्भ आएको छ । त्यहाँ देखिएका अवसरहरुलाई यहाँ पनि अवसरका रुपमा उपयोग गर्ने कुुरा आउँछ । विदेशी विज्ञहरुले नेपालका बीमा कम्पनी अवस्था कसरी उजागर गरिदिए ? नेपालका प्रत्येक बीमा कम्पनीले आ–आफ्नो बीमाको जोखिम व्यवस्थापनको योजना बनाएका हुन्छन् । बीमा उद्योगमा कसैले पनि सम्पूर्ण जोखिम लिँदैन । जोखिम बहन गर्न सक्ने अवस्था नै रहेपनि सबै जोखिम आफैं लिँदैनन् । जति धेरै सम्पत्ति भएपनि सबै जोखिम आफैंले लिदाँ वा सम्पत्ति आफैंसँग राख्दा भोलि भवितव्य पर्दा कम्पनी जोखिममा पर्छ । त्यसैले पुनर्बीमा गरिएको हुन्छ । हामीले नियामक निकायले तोकेको मापदण्ड भित्र परेका पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गरेका हुन्छौं । बीमा कम्पनीलाई देशभित्रको जोखिम मात्रै हुन्छ । पुनर्बीमा कम्पनीलाई त अन्तराष्ट्रिय परिस्थितिको पनि जोखिम हुन्छ । पुनर्बीमा कम्पनीले विश्वभर व्यवसाय गरिरहेका हुन्छन् । आ–आफ्नो व्यवसाय अनुसार आफ्नो कम्पनी र लगानीको सुरक्षाका उपाय अवलम्बन गरिएको हुन्छ । हाम्रो देशकै रेटिङ नभएकाले हाम्रा कम्पनीहरुको पनि अन्तराष्ट्रिय रेटिङ गरिएको छैन । विदेशीहरुले हाम्रा कम्पनीहरुको अवस्था जान्न वित्तीय विवरण र कुन कम्पनीमा पुनर्बीमा गरिएको छ भनेर हेर्छन् । त्यसकै आधारमा नेपाली कम्पनीहरु छान्ने गरेका छन् र यसबाट नै हामीप्रति उनीहरुको दृष्टिकोण बन्ने गरेको छ । एसियाली क्षेत्रका बीमा कम्पनीहरु बढी जोखिम रहेकाे विषय आयो नि ? सबै भन्दा पहिले देशको रेटिङ के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । देशको सार्वभौम रेटिङले अर्थ राख्छ । कुनै देशको रेटिङ ए आयो भने त्यो देशको सरकारले लिएका विदेशी ऋणको सावाँ र ब्याज समयमै तिर्छ । जमानी बसेको छ भने समयमै तिर्न सकेन भने कुनै उपकरण उपयोग गरेर भए पनि तिरिदिन्छ भन्ने हो । तर हाम्रो देशको रेटिङ नै भएको छैन । तर पनि देशकै रेटिङ नभएको अवस्थामा कारोबार नै नहुने भन्ने चाँही हुन्न । अब कम्पनीका सवालमा कस्तो कम्पनीमा पुनर्बीमा गरिएको हो त्यसले महत्व राख्छ । त्यसकारण नेपाली बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनीहरु खोज्ने गरेका छन् । बीमा कम्पनीमा एक रुपैंयाँ प्रिमियम उठाउँदा एक सय रुपैंयाँको जोखिम वहन गरेका हुन्छौं । किनकी एकै पटक एक सय रुपैंया नोक्सान हुन्न भन्ने अनुमान गरिएको हुन्छ । तर प्रलय भयो भने कम्पनीले तिर्न सक्दैन र कम्पनीको जायजेथा बेचेर पनि तिर्न सक्दैन् । त्यसकारण नियामक निकायले महाप्रलय लगायतका अवस्थाका लागि छुट्टै पुनर्बीमा सन्धि गर्नु भनेको छ । आफ्नो जायजेथाले नभ्याउने भएपछि महाप्रलयको पुनर्बीमा गर्नुपर्छ भन्ने कुरा सम्मेलनले सिकाएको छ । बीमा क्षेत्रमा प्रविधिको सवाल पनि उठेको थियो, त्यसमा केहि ठोस निष्कर्ष निस्कियो ? ३ सेकेण्डमा दावी भुक्तानी गरिएको सवाल पनि सम्मेलनमा आएको थियो । त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिएको थियो । नेपालमा ३ सेकेन्डमा नभए ३० सेकेण्ड होला । ३ मिनेटमै भएपनि ठूलो उपलब्धि हुनेछ । त्यति पनि नभए ३ दिनमै भुक्तानी गर्न सकिएछ भने पनि सफलता नै हुनेछ । प्रविधिको प्रयोग बिना बीमा सेवालाई छिटो छरिटो बनाउन अब असम्भव छ । किनभने मानिसको अपेक्षा बढिरहेको छ । क्षतिको भुक्तानी दिन ३ महिना लगाउने कम्पनीकोमा ग्राहक फर्केर जाँदैनन् । क्षति भएपछि ठाउँको ठाउँमै भुक्तानी दिने वा केहि घण्टामै भुक्तानी दिने प्रक्रिया अघि बढाउनुपर्छ । बीमालाई प्रविधिमैत्री बनाउने प्रक्रिया संसारभर सुरु भैसकेको छ । ठाउँको ठाउँमै वा केहि घण्टामै दावी भुक्तानी दिन हामीले पनि निकै प्रयास गरिरहेका छौं । १० वर्ष भन्दा अघिको बीमा क्षेत्र र आजको बीमा क्षेत्रले उपयोग गरिरहेका प्रविधिमा धेरै परिवर्तन आएको छ । तर यथोचित भएको चाँही पक्कै पनि छैन् । हामी अथाह बीमा बजार भएका देशहरुको बीचमा छौं । यद्यपी हामी बीमा सेवा निर्यात गर्न त सक्दैनौं तर त्यहाँको प्रविधि भित्र्याएर सस्तो र चाँडो सेवा प्रदान गर्न सक्छौं । बीमा कम्पनीहरुले त्यतातिर सोचिरहेका छन् । ३ सेकेण्डमा दावी भुक्तानी गरिएको सवाल पनि सम्मेलनमा आएको थियो । त्यसमा मानविय जनशक्तिको उपयोगले सम्भव थिएन् । त्यसमा अटोमेशन प्रयोग गरिएको थियो । त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिएको थियो । नेपालमा ३ सेकेन्डमा नभए ३० सेकेण्ड होला । ३ मिनेटमै भएपनि ठूलो उपलब्धि हुनेछ । त्यति पनि नभए ३ दिनमै भुक्तानी गर्न सकिएछ भने पनि सफलता नै हुनेछ । अब प्रविधिको उपयोग नगरि बीमा कम्पनीहरु टिक्नै सक्ने अवस्था छैन् । अबका उपभोक्ता प्रविधिमैत्री र तुरुन्तै सर्भिस चाहने खालका छन् । अब प्रणालीले काम गरेन, कर्मचारी बिदामा छ त्यसैले ढिलो भुक्तानी हुने भयो भनेर अब पार पाइन्न । बीमा कम्पनीलाई यो व्यवसायमा रहनु छ भने प्रबिधीमा लगानी गर्नुपर्छ । हिजोसम्म बीमा कम्पनीको पूँजी थोरै थियो । कति लगानी प्रविधिमा गर्ने भन्ने कुरा अन्यौलमै थियो । अब त बीमा कम्पनीको पूँजी एक अर्ब अनिवार्य भैसकेको छ । अब प्रविधिमा व्यापक लगानी गर्नुपर्छ । बैंक र बीमा कम्पनीका लागि अब प्रविधि नै ठूलो कुरा हो । हामीले चाहे पनि नचाहे पनि प्रविधि त अनिवार्य भैसक्यो । नेपालको अर्थतन्त्रका लागि ३९ वटा कम्पनी संख्यालाई सम्मेलनमा सहभागीहरुले कसरी हेरेको देखियो ? न्युजील्याण्डमा ८० वटा कम्पनी छन् तर त्यो सानो देश हो भन्ने कुरा चाँही उठेको थियो । संख्या महत्वपूर्ण कुरा होइन् । कुनै बेला बैंकहरुको संख्या धेरै थियो । आज घटिरहेको छ । भोलिका दिनमा बीमा क्षेत्रमा पनि त्यसको आवश्यकता महसुश गरियो भने मर्जर हुन सक्छ । बीमाको पहुँच बढाउन यो सन्दर्भ महत्वपूर्ण हुन आउँछ । खुला बजार अर्थतन्त्रमा राम्रो सेवा दिने कम्पनी रहने हो बाँकी आफैं पछि पर्दै जानेछन् । मैले छलफल गरेका विदेशी साथीहरुले यो विषयमा खासै कुरा केहि गरेनन् । यो विषय हामीले नै धेरै बुझ्ने सवाल भयो । न्युजील्याण्डमा ८० वटा कम्पनी छन् तर त्यो सानो देश हो भन्ने कुरा चाँही उठेको थियो । संख्या महत्वपूर्ण कुरा होइन् । कुनै बेला बैंकहरुको संख्या धेरै थियो । आज घटिरहेको छ । भोलिका दिनमा बीमा क्षेत्रमा पनि त्यसको आवश्यकता महसुश गरियो भने मर्जर हुन सक्छ । अझ माइक्रो इन्स्योरेन्स थपिन पनि सक्छन् । यो बजारले निर्धारण गर्ने कुरा हो, समयले आफैं कोर्षमा ल्याउँछ भन्ने मेरो निष्कर्ष हो । एआईआरडीसीमा नियामक, रि इन्स्योरेन्स, इन्स्योरेन्स कम्पनीहरु एकै ठाउँमा कसरी अटाए ? बीमा उद्योगसँग सरोकार राख्ने सबै संस्था एकै ठाउँमा आए भने समस्या समाधान र विकासका लागि सहकार्य गर्न सहज हुन्छ । छुट्टा छुट्टै बसियो भने एउटाको कुरा अर्काेले नबुझ्ने अवस्था आउँछ । यहाँबाट अघि सारिएका निष्कर्षहरुको कार्यान्वयन सहज हुन्छ । यो संस्थाको जुन संरचना छ, त्यसले बीमा क्षेत्रको विकासमै सहजता आउँछ । डिजिटाईजेशनका लागि पेपरलेस बनाउनु पर्छ । तर अहिलेसम्म नेपालको बीमामा कागज अनिवार्य गरिएको छ । भोली यसलाई हटाउन र डिजिटाइजेशनका लागि रेगुलेटरको अनुमति चाहिन्छ । डिजिटल पेपर स्वीकार गर्नका लागि कानुन नै सच्याउनु पर्छ । त्यसपछि प्रिमियम तिर्नेदेखि दावी भुक्तानी पनि पेपरलेस गर्न सक्छौं । ठूलो जनशक्तिको आवश्यकता नै पर्दैन् । ग्राहकले बीमा गर्ने हो, बीमा कम्पनीले क्षतिपुर्ति दिने हो । त्यसको बीचमा पेपरको रोकावटलाई फुकाउन यस्ता मञ्चहरुले नियामक र कम्पनीलाई छलफल गरेर निष्कर्षमा पुग्न सहजता प्रदान गरेको छ । एउटै मञ्चबाट साझा ज्ञान लिँदा सिंगो उद्योगलाई नै फाइदा पुगेको छ ।
नेपाली कफीको बजार विस्तार हुदै गएकाे छ : मानबहादुर श्रेष्ठ
व्यवसायी मानबहादुर श्रेष्ठले २ दशकदेखि कफीको तितो झोलमा मिठास भर्ने काम गरिरहेका छन् । २०५५ सालमा विराटनगरबाट काठमाडौं छिरेका श्रेष्ठले हिमालयन जाभाबाट आफ्नो करियर सुरु गरेका हुन् । उनले कफी बनाउने (बारिस्टा ट्रेनिङ) दिन थालेको १३ बर्ष भयो । श्रेष्ठ नेपालको पहिलो बरिस्टा प्रशिक्षक हुन् । उनले एसप्रेसो अग्र्यानिक कफी हाउस सञ्चालन गरिरहेका छ । ३५ लाख रुपैयाँ लगानीमा उनले कफी हाउस खोलेका हुन् । नेपालमा कफी व्यवसायका विषयमा केन्द्रीत रहेर श्रेष्ठसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी । नेपालमा कफी खेती कहिलेदेखि सुरु भएको हो ? करिब चार दशकअघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट नेपालमा व्यवसायिक रूपमा कफी उत्पादन सुरु गरिएको बताइन्छ । अहिलेसम्म नेपालमा वार्षिक ५०० टनको हाराहारीमा मात्र कफी उत्पादन हुने गरेको छ । विश्वमा कफीलाई चियापछिको दोश्रो पेय पदार्थको रूपमा लिइन्छ । कफीमा स्फूर्ति ल्याउने क्याफिन हुन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । यसमा कार्बोहाइड्रेट, प्रोटीन, अम्ल (क्लोरोजेनिक एसिड), बास्ना (भोलाटाइल कम्पाउण्ड) र अन्य रसायन (कार्बो्क्सिलिक एसिड) पाइन्छ । नेपालमा कफी खेतीको सम्भावना कतिको छ ? विश्वमा १०० भन्दा बढी मुलुकमा कफी उत्पादन हुने गरेको छ । नेपालमा उच्च गुणस्तरको कफी उत्पादन गर्ने शीतल र मन्द हावा चल्ने जलवायु छ । यहाँ पानी नजम्ने भिरालो परेको हराभरा पहाडी भू–भाग प्रशस्त छ । सिंचाई र प्रशोधनको निम्ति आवश्यक पर्ने पानीको स्रोत पनि यही छ । नेपालमा कफी खेतीको प्रचुर सम्भावना छ । नेपालमा पाइने सबै कफी १ हजारदेखि १ हजार ६०० मिटरसम्मको उचाइमा अराविका वर्णको टिपिका र बर्बन जातका हुन् । प्राय सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ । अन्य कफी उत्पादक मुलुकहरूको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र बास्ना रहेको पारखीहरू बताउँछन् । नेपालका प्राय सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादित भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा स्पेसियालिटीको रूपमा हेर्ने गरिन्छ । नेपाली कफी खासगरी जापान, अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात हुने गर्छ । जहाँ पनि कफी मसिन बेच्ने, जो पनि बरिस्टा ट्रेनिङ गराउने, जसले पनि कफी पसल खोल्दिने जस्ता कारणले यसमा धेरै नै प्रतिस्पर्धा छ । यही कारणले गर्दा पनि कफी क्षेत्र उत्पादन बढी देखिन्छ । व्यवसायिक रुपमा हेर्दा आम्दानी कम देखिन्छ । जुन स्तरको आम्दानी पहिला देखिन्थ्यो त्यो अहिले छैन । तपाइलाई कफी व्यवसायमा कसरी लाग्नु भयोे ? कफीमा लाग्न उत्प्रेरित गर्नेमा कलाकार शिव श्रेष्ठ दाई हुनुहुन्छ । उहाँले नै मलाई सुरुमा हिमालयन जाभामा आवद्द गराउनुभएको हो । मेरो कफी करियर त्यहीँबाट सुरु भएको हो । सुरुवाती दिनहरुमा धेरै गाह्रो भएको थियो । त्यतिखेर अहिलेको जस्तो धेरै मान्छे हुँदैन थिए । कफी बनाउने, रोष्ट गर्ने र ग्राहकलाई सर्भ गर्ने सबै काम आफैले गर्नु पथ्र्याे । कफी बनाउने मेसिन पनि आजको जस्तो सजिलो कहाँ थियो र । बरिस्ता भनेको के हो थाह थिएन । तर बिस्तारै बुझ्दै जाँदा सजिलो हुँदै गयो र यस प्रति झनझनै रुची बढ्दै गयो । मैले जाभामा ६ बर्ष बिताए । त्यसपछी मैले कफीमा धेरै अनुसन्धान र अध्ययन गरे । कफी प्लान्टेसनमा गएर बिभिन्न कफी सम्बन्धित संघ संस्थासँग आवद्द भएर काम गरें । म अहिले कफी बनाउने मात्र नभएर उत्पादान,प्रोसेसिङ, रोस्टिङ, कपिङमा पनि काम गर्छु । जुन समयमा तपाईंले कफिको क्षेत्रमा काम सुरु गर्नुभयो त्यो समयमा मानिसहरुलाई कफिको बारेमा कत्तिको ज्ञान थियो? मैले सुरुवात गर्ने समयमा नेपालमा कफी पिउने कल्चर थिएन । एकदमै कम मानिसलाई मात्र यस सम्बन्धी ज्ञान थियो । कफी भन्ने बित्तिकै मानिसहरुले नेसक्याफे भन्थे । देशको राजधानी काठमाडौंमा पनि मानिसहरू ‘इन्स्ट्यान्ट कफी’ लाई नै कफी मान्दथे, जसमा दूध हालेर मज्जाले फिट्दै फिज निकालेर पिउन सकियोस् । शहरमा कमै थिए, जसलाई ‘अमेरिकानो’ र ‘क्यापुचिनो’ बीचको फरक थाहा होस् । क्यापाचिनो, एस्प्रेसो भन्न मलाई १ महिना लाग्यो । त्यसबेला मेसिनहरु चलाउन पनि सार्है गार्हो थियो । त्यस समयमा हिमालयन जाभा र एक दुई वटा ५ तारे होटलमा मात्र मसिन राखिएको थियो तर कफी मेकिङ हुँदैन थियो । हामी बरिस्ता भन्नले वरिष्ठ मान्छे भनेर बुझेका थियौं । बिस्तारै यो शब्द पत्ता लाग्दै गईसकेपछि मात्र हामीले बल्ल यस शब्दको अर्थ बुझ्यौ । त्यो समयमा कफिको लागि जाभा बाहेक अरुमा काम गर्ने अवसर पनि थिएन । कित जाभा नत्र बिदेश जानुपर्ने थियो । कफी व्यवसायले तपाईंको दैनिक जीवनमा कस्तो असर पारेको छ ? कफी मेरो शरीरको रगत जस्तो हो । मेरो दिनको सुरुवात कफीको चुस्की सँगै सुरु हुन्छ । अहिलेसम्मको मेरो करियर, गुड्विल कफी नै हो । असफल हुन्छु कि भन्ने नसोची म अगाडि बढिरहे । परिवर्तनको कुरा गर्नुपर्दा सोचेजस्तो पैसा कमाईएन होला त्यो एक ठाउँमा छ तर अनुभव,गुणस्तरिय, दक्ष मान्छे मलाई कफीले बनाएको छ । कफी कति प्रकारका छन् ? कफी धेरै प्रकारका हुन्छन्। नेपालमा मुख्य दुई प्रकारको कफीको प्रयोग हुन्छ। एक अरबिका कफी जुन उच्च हिमाली क्षेत्रमा फल्छ र अर्को रोबस्ता जुन तराई क्षेत्रमा फल्दछ। त्यस्तै कफी बेभरेज ५ प्रकारका छन् । एक्सप्रेसो राम्रोसँग धुलो पारिएको कफी बिन्समा केही मात्रामा प्रेसराइज्ड तातोपानी हालेर बनाइन्छ । यो सामान्यतया २० देखि २५ एमएल मात्र हुन्छ । अमेरिकानो एक्सप्रेसोमा केही मात्रामा तातोपानी मिसाएर बनाइन्छ । यसमा भने पानीको मात्रा ४०० एमएलभन्दा माथि हुन्छ । लात्ते यसमा भने एक्सप्रेसोपछि दूध मिसाइन्छ । एक्सप्रेसो एक भाग र दुध तीन भाग हुन्छ । माथिबाट केही चित्र पनि कोरिएको हुन्छ । मोका यसमा पनि एक्सप्रेसो एक भाग हुन्छ भने अर्को तीन भाग स्मिड दूध हुन्छ । थोरै चक्लेट पनि यसमा हालिएको हुन्छ । क्यापेचिनो यसमा भने एक्सप्रेसो, तातो दूध, स्मिड दूधको फोम मिसाएर बनाइन्छ। यसमा लात्तेभन्दा कम स्टिम दूध हालिन्छ । नेपाली कफी कुन देशमा बढी निकासी भएको छ ? जापान, अमेरिका, बेल्जियम, जर्मनमा नेपाली कफीहरु निर्यात हुन्छ । बढी आर्ग्निक कफी मात्र निर्यात हुन्छ । अहिले नेपालले पनि ईन्टरनेसनल कफी सोमा आफ्नो उपस्थिती देखाउन थालेकाले भबिष्यमा नेपाली कफीको बजार राम्रो हुने देखिन्छ । तपाईले सञ्चालन गर्नुभएको एसप्रेसो अग्र्यानिक कफी हाउसले कस्तो व्यवसाय गरिरहेको छ ? मैले धेरै ठाउँमा बरिस्ता ट्रेनिङहरु दिए र धेरैलाई दक्ष बरिस्ताको रुपमा स्थापना पनि गरे । म आफ्नै क्याफे संञ्चालन गर्न चाहान्थे । आफै मालिक बन्न चाहान्थे । आफ्नै क्याफेमा आफैले आफैलाई कफी बनाउन निर्देशन दिने रहर थियो मेरो । यही चाहनबाट ४ बर्ष अगाडि स्थापना भयो एस्प्रेसो अग्र्यानिक कफी हाउस । २ बर्ष भयो यो थापागाउँ बानेश्वरमा सरेको । यस अगाडि यो नक्सालमा थियो । मलाई मेरो व्यवसायमा अभिनेत्री तथा संञ्चारकर्मी कृति भट्टराईले साथ दिएकी छिन् । मेरा दुई छोरा पनि यही व्यवसायमा आवद्द छन् । मेरो कफीसँगको यात्रामा मेरो श्रीमती लीला श्रेष्ठ र छोराहरुको साथ बिना म असफल हुने थिए । कफी व्यवसायीको बन्ने चाहना भएका युवाहरुलाई तपाईं के सल्लाह दिनुहुन्छ ? कसैको लहैलहैमा लागेर कफी व्यवसायमा लाग्छु भनेर नसोच्न आग्रह गर्न चाहन्छु । कफी मात्र नभएर हरेक व्यवसायमा सबैभन्दा पहिला त्यस बारेमा पुरा ज्ञान हाँसिल गरेर मात्र अघि बढ्नु पर्छ । कफी व्यवसायमा आफुलाई स्थापना गर्न चाहने युवाहरुले सबैभन्दा पहिले कफीको बारेमा राम्रो अध्ययन गर्न जरुरी छ । त्यसपछी कफीसँग सम्बन्धित ट्रेनिङहरु लिनुपर्छ । व्यवसायमा कहिले नाफा कहिले घाटा हुनसक्छ, यसका लागि सधैं तयार भएर बस्न जरुरी छ । आफ्नो व्यवसायको कमजोर पक्षलाई नियालेर सुधारिदै निरन्तरता दिने हो भने पक्कै एक सफल व्यवसायी बन्न सकिन्छ। एउटा सामान्य कफी शप खोल्न कति लगानी चाहिन्छ ? एउटा सामान्य कफी शप खोल्नलाई कम्तीमा पनि १५ लाख रुपैयाँ चाहिन्छ । ठाउँ अनुसार कस्तो ईन्टेरियर डिजाईन गर्ने, कस्तो खालको मेसिन राख्ने यो सबै रिसर्च भईसकेपछि मात्र बजेटको कुरा आउँछ । एक किलो रोस्टेड गरेको बिन्सले कति ग्लास कफी बन्छ ? यो बिभिन्न बारीस्टामा भरपर्छ तर नेपाली कफी धेरै ओभरडोज हुनेगर्छ । त्यसैले १ किलोले ९० कपसम्म कफी बनाउन सकिन्छ । कफीलाई अझ व्यवसायिक रुपमा अघि बढाउन के गर्नुपर्ला ? कफी व्यवसायलाई अझै राम्रो बनाउन सबै भन्दा पहिले कफीको लागि खेती योग्य जमिन खोज्न जरुरी छ । त्यस क्षेत्रको तापक्रम पनि बुझ्न जरुरी छ । किनभने कफी जहाँपायो त्यही ठाउँमा फल्दैन । यो ठाउँ, वातावरण, तापक्रम अनुसार भिन्न भिन्न ठाउँमा फल्दछ । सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा कफी खेतीका प्रशस्त सम्भावना छ । सरकारले कफी किसानलाई राम्रो सहयोग गर्ने हो भने उत्पादन अझै बढाउन सकिन्छ। तपाईंका भावि योजना के छन ? कफी बाहेक मेरो कुनै योजना छैन र मैले के गर्ने भन्ने सोचेको छैन । मेरो अब आउने दिनमा कफी शपको लागि उपयुक्त ठाउँ रिसर्च गरेर नयाँ ठाउँमा कफी शप बिस्तार गर्ने योजना छ । नयाँ व्यवसायीलाई चाहिने सहयोग, सामाग्री र कामदार उपलब्ध गराउने योजना छ ।
२५ लाखकाे बीमा गर्नेले १ कराेड रूपैयाँ पाउँछ-मनोजकुमार भट्टराई
मनोजकुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गतवर्ष पुराना जीवन बीमा कम्पनीहरुका लागि निकै चुनौतिपूर्ण रह्यो । ९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा थपिएर १८ वटा भए । बीमा कम्पनीबीच कर्मचारी र अभिकर्ता जस्ता जनशक्ति खोसाखोस भयो । यसबीचमा प्राइम लाइफले मात्रै ३२ प्रतिशत कर्मचारी गुमायो । तर कम्पनीले यहि वर्ष छलाङ मार्यो । २२ प्रतिशतले बीमा व्यवसाय वृद्धि गर्यो । ४ वर्षदेखि हुन नसकेको साधारणसभा सोही वर्ष गर्यो । त्यति मात्र होइन, ‘प्राइम जीवन उपहार’ नामक नयाँ बीमा पोलिसी पनि ल्यायो । यो पोलिसी कार्यान्वनमा आएको पहिलो महिनामा नम्बर वान बन्यो । यी सबै कसरी संभव भए ? प्रस्तुत छ, बीमा र बैकिङ क्षेत्रमा लामो समय काम गरेर उत्कृष्ठ नेतृत्व गर्दै आउनु भएका प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईसँगको विकास वहस । तपार्इले पछिल्लाे समय ल्याउनु भएकाे प्राइम लाईफ जीवन उपहार पाेलिसी कस्तो भर्इरहेकाे छ ? हामीले प्राइम जीवन उपहार भन्ने नयाँ योजना ल्याएका छौं । आवश्यकता नै आविस्कारको जननी हो भन्ने मान्यताका आधारमा यो योजनाको तयार पारिएको हो । हामीले विवाहित महिला लागि मात्रै भनेर प्राइम नारी जीवन प्रडक्ट ल्याएका थियौं । यस्तो प्रडक्ट प्राइमसँग मात्रै छ । यो प्रडक्टमा प्रत्येक वर्ष २.५ प्रतिशतका दरले १६ वर्षसम्म फिर्ता गर्ने भन्ने थियो । यसले १६ वर्षमा बीमांकको ४० प्रतिशत फिर्ता हुने थियो । बाँकी ६० प्रतिशत बीमा अवधी सकिएपछि फिर्ता गर्ने भन्ने थियो । बीचमै मृत्यु भएमा पूरै जोखिम बहन गर्ने प्रडक्ट थियो । यस प्रडक्टको कार्यान्वयन तहमा हामीले विभिन्न अनुभव समाल्यौं । खासगरी हरेक वर्ष २.५ प्रतिशत रकम फिर्ता गर्न केही कठिनाइ भए । थोरै रकम भएकोले बीमितहरु पनि कम संख्यामा लिन आउने एउटा समस्या थियो भने बनेका चेक ठिक समयमा बीमितले कलेक्सन गर्न नसक्दा त्यसको मिति गुज्राने समस्या देखियो । शाखा कार्यलयहरुमा झनै समस्या भयो । हामीले केन्द्रबाट चेक बनाएर शाखामा पठाउने, शाखामा बीमित ठिक समयमा चेक लिन नआउने र म्याद सकिएपछि फेरी चेक केन्द्रीय कार्यालयमा फिर्ता आउने गरेको थियो । एकातिर चेक काट्नेलाई भ्याई नभ्याई, अर्कोतिर बीमितले पैसा फिर्ता पनि नपाउने अवस्था आयो । पैसा फिर्ता गर्ने संयन्त्र राम्रो नहुँदा बीमितले पनि समयमा पैसा नपाएको गुनासो गरिरहे । यस्तो अवस्थालाई हेरेर हामीले नारी जीवन बीमा गर्दा बैंक खाता अनिवार्य गर्यौं । बीमितलाई सर्भाइबल बेनिफिट दिन थालिएपछि जीवन उपहारको योजना आएको हो । नारीमा २.५ प्रतिशत थियो, यसमा प्रत्येक वर्र्ष ५ प्रतिशत फिर्ता दिने व्यवस्था छ । यस पोलिसी अन्तरगर्त १६ वर्षको बीमा हुन्छ । प्रत्येक वर्ष ५ प्रतिशत फिर्ता पाउँछन । पहिलो वर्षको प्रिमियमको ५ प्रतिशतले दोस्रो वर्षको प्रिमियम तिर्न पुग्छ । खासमा ७ प्रतिशत जति प्रिमियम आवश्यक पर्ने थियो । तर दोस्रो वर्षमा अभिकर्ता कमिसन समेत दिनु नपर्ने, प्रशासनिक खर्च पनि गर्नु परेन्, रसिद काट्नु पनि परेन, यसले करिब १.५ प्रतिशत लागत पनि घट्ने रहेछ । पहिलो वर्षको बीमा शुल्कको बार्षिक रिटर्नसँगै दोश्रो वर्षको प्रिमियम पुग्छ । पहिलो पोलिसी १६ वर्षको हुन्छ । सानोमा १६ वर्ष पुगेकाले यो पोलिसी लिन पाउँछ, बढीमा ५४ वर्षको उमेरसम्मकाले खरिद गर्न पाउँछ र ७० वर्षको उमेरमा बीमा परिपक्क हुन्छ । पहिलो पटक १६ वर्षको थियो, दोस्रो १५ वर्षको बीमा हुन्छ । पहिलो बीमा योजना लिएको १६ वर्ष पुगेको दिन दुबै बीमालेख परिपक्क हुन्छ । सोही दिन (दोस्रो) पछिल्लो बीमा लेखको शतप्रतिशत र पहिलो बीमालेखको २५ प्रतिशत रिटर्न आउँछ । र, यसमा थप बोनस पनि आउँछ । यसमा १२५ प्रतिशत बीमाङ्क फिर्ता गरेर बोनस पनि थप दिन्छौं । एउटा बीमालेख लिँदा १६ वर्षसम्म डबल जोखिम बहन हुन्छ । २०० प्रतिशत जोखिम बहन, डबल बोनस यसमा सुनिश्चित गरेका छौं । यो पोलिसीका बारेमा बजारको प्रतिक्रिया कस्तो छ ? यो पोलिसी २०७५ असार १० गते सार्वजनिक गरेका हौं । साउन १ गतेदेखि बेच्न थालेका थियौं । साउन दोश्रो हप्ता बिजनेश कन्फेरेन्स गरेर शाखाहरुलाई जानकारी दियौं । साउनको १७ गतेदेखि भदौं १६ गतेसम्म मार्केटिङको टोलीलाई भेला गरेर अभिकर्तालाई तालिम दिन भनेको थिएँ । नारायणी पूर्व र पश्चिम गरि दुई केन्द्र बनाएर तालिम दिएको थिएँ । दुई जना मार्केटिङ हेड खटाएर आन्तरिक प्रचार प्रसार गरियो । कम्पनीको ३३ वटै शाखामा तालिम दिईयो । भदौको रिपोर्ट हेर्दा १६ प्रकारका बीमा योजनामध्ये सबै भन्दा बढी यहि योजना बिक्री भएको छ । कुल बिजनेशको २६ प्रतिशत हिस्सा देखिएको छ । कुन उमेर समुहले धेरै रुचाएको देखियो ? ठ्याक्कै कुन उमेर समुहले धेरै रुचाए भनेर हेर्न भ्याएकाे छैन । तर ३४/३५ वर्ष उमेर समूहका लागि प्रति हजार ९२/९३ रुपैंयाँ प्रिमियम पर्छ । मनी ब्याक भन्दा यो १० प्रतिशतले मात्रै बढी प्रिमियम तिरेपछि डबल जोखिम भएको पोलिसी पाइन्छ । २५ लाखको यो बीमा गर्दा उसले पुगनपुग १ करोड रुपैंयाँ पाउँछ । अहिले नै बोनस एकिन गर्न त सकिन्न । बैंकको ब्याजदर, कर्मचारी खर्च, मुद्रास्फीतिका आधारमा बोनस थप घट हुन्छ । तर अहिलेकै बोनसको मात्रा कायम भयो भने २५ लाख रुपैयाँको बीमा गर्दा एक करोड रुपैयाँ पाइन्छ । अहिले हाम्रो औषत बोनस प्रतिहजार ३५ देखि ७५ रुपैयाँ छ । यो खालेको प्रडक्टको प्रति हजार ४४ रुपैंयाँ छ । २०७५ सालमा यो प्रडक्टमा ५० रुपैंयाँ पुग्छ । दुई वटा बीमा पोलिसीमा ५०/५० गर्दा १०० रुपैयाँ पुग्छ । यो पोलिसी न्युनतम ५ लाखको छ । एभरेजमा ८ लाख रुपैयाँको पोलिसी धेरै रुचाईएको छ । पछिल्लो समय ठूला बीमा पोलिसी धेरै बिक्ने गरेका छन्, तपाईलाई चाँही के लाग्छ ? म नेपाल लाइफको सीईओ हुँदाको कुरा सम्झँदा अहिलेका पोलिसी भयंकर ठूला हुन् । त्यतिबेला ३ हजार ५०० देखि ४ हजार रुपैयाँ प्रिमियम हुन्थ्यो । ५० हजारको बीमा हुन्थ्यो । आजका दिनमा हामीले ३१÷३२ हजार रुपैंयाँ एभरेज प्रिमियम छ । यो भनेको ५ लाख रुपैयाँको बीमांक हो । अहिले १८ हजार भन्दा कमको एभरेज कसैको पनि छैन । १८ हजारदेखि २२ हजारमा धेरै कम्पनी छन् । २९ देखि ३४ हजारको बीमांकमा केहि कम्पनी छन् । केही कम्पनीमा एभरेज प्रिमियम ४१ हजार रुपैयाँसम्म पनि देखियो । उनीहरुले सिंगल प्रिमियम पोलिसी बढी बेचेका छन् । नयाँ र पुराना कम्पनीले नै पनि बीमांकको ९३ प्रतिशतसम्म प्रिमियम एकै पटक संकलन गर्छन् । सिंगल प्रिमियमलाई हटाउने भने हो २७/२८ हजार रुपैयाँ नै हुनुपर्छ भन्ने लाग्छ । प्राइमलाइफले बेच्दै आएका १६ वटा पोलिसीमध्ये गत असार मसान्तसम्म पहिलो पोजिसनमा कुन पोलिसी छ ? गत बर्षसम्मको तथ्यांक हेर्ने भने प्राइम स्वर्णिम हो, यो केटाकेटीहरुको बीमा पोलिसी हो । यो १० लाख रुपैयाँसम्मको पोलिसी हो । एक्चुरीहरु बालबालिकाहरु केन्द्रित पोलिसी बनाउनै मान्दैनन् । बीमा भनेको त जो व्यक्तिमा परिवार आश्रित छ त्यसको मात्रै बीमा गर्ने हो भन्छन एक्चुरीहरु । भारतीय एक्चुरीहरुले बच्चाको बीमा गराउनेले बीमाबाट पैसा लिनैको लागि बीमा गरेको बच्चा गुमाउने र फेरि अर्काे बच्चा पाउने जोखिम हुन्छ भन्छन् । नेपालमा त्यस्तो छैन । बच्चा नै परिवारको भविष्य हो भन्ने गरेका छौं । हामीले बालबालिकाको आज बीमा गर्दा भोलि फाइदा हुन्छ भनिरहेका छौं । स्वर्णिम जीवन बीमाको प्रिमियममै २५ प्रतिशत हिस्सा छ । दोश्रो नम्बरमा जीवन सुरक्षा पोलिसी पर्छ । पोलिसी परिपक्क भएपछि पैसा पाइने, त्यसपछि प्रिमियम नतिरी जोखिम कभर हुने, जहिलेसुकै मृत्यु भएपनि परिवारले बीमांक पाउने पोलिसी हो यो । त्यसपछि प्राइम सरल, धन सागर, सुलभ लगायतका पोलिसी पर्छन् । भदौपछि चाँही जीवन उपहार पहिलो, स्वर्णिम दोश्रो, जीवन सुरक्षा तीन र पेन्सन चाँही चार नम्बरमा पुगेको छ । ८ वर्षअघि ल्याएको पेन्सन पोलिसी खासै बिकेको रहेनछ । अब हामीले अभिकर्तालाई पेन्सन पोलिसी राम्रोसँग बुझाउने प्रयास गरेका छौं । कसैले २५ वर्ष अवधिको पेन्सन पोलिसी लिन्छ भने पाँच लाखलाई आधार मान्दा मासिक १ हजार ७३० रुपैंयाँ मासिक तिर्दा उसले २५ वर्षपछि मासिक ४ हजार ५०० रुपैैंयाँ पेन्सन पाउँछ । यो छोटो समयका लागि नभएर लामो समयका लागि गरिने बीमा हो । आज ३० वर्षको मान्छेले ३० वर्षका लागि १ हजार ६०० तिर्दा ५ हजार रुपैयाँ पेन्सन पाउन सक्छ । यसमा विकल्प पनि छन् । पेन्सन लिन्न, एक मुष्ठ देउ भन्न पनि मिल्छ । आधा पैसा र आधा पेन्सन पनि लिन सकिन्छ । अहिले यति रकम लिन्छु बाँकी पेन्सन देउ भन्न पनि मिल्छ । ८ वर्ष अघि बनाएको यस्तो राम्रो प्रडक्ट अहिले बल्ल महशुस भयो अब बजारिकरण गर्दैछौं । जीवन बीमाको क्षेत्रमा कस्ता मोरल हजार्डको समस्या देखिएका छन ? गलत किसिमले बीमाको लाभ लिनुलाई मोरल हजार्ड भनिन्छ । सवारी साधनका सवालमा गाडी बनाउनु पर्ने भयो भने दुई गाडीलाई मिलेर ठोक्काउने अनि मिलेरै इन्स्योरेन्स कम्पनीबाट पैसा लिएर मर्मत गर्ने काम गर्छन् । जीवन बीमाका सवालमा रोग लागेको थाहा पाएपछि बीमा गराएर दावी भुक्तानी लिन्छन् । हामीले मेडिकल गराउन जाँदैनौं । १ लाख रुपैंयाँको प्रिमियम तिरेर १५ लाख रुपैयाँ दावी भुक्तानी लिन्छन् । वास्तवमा यो कम्पनीलाई ठगेको नभएर अन्य वीमितलाई ठगेको देखिन्छ । भारतमा श्रीमतीको बीमा गराएर कुनै बहानामा मारेर बीमा दावी लिने र फेरि अर्काे बिहे गरेर दाइजो समेत लिने गर्छन् । भारतीय कम्पनीहरुले श्रीमतीको मात्रै बीमा गराउँदैनन्, श्रीमानको पनि बीमासँगै गर्नुपर्छ । महिलाको बीमा गर्दा १ लाख रुपैयाँको भन्दा बढीको बीमा पनि गराउँदैनन् । बालबालिकाको बीमा गराउने हो भने बाबुआमाको पनि बीमा गराउनुपर्छ भन्ने एक्चुरीहरुको सुझाव छ । नयाँ जीवन बीमा कम्पनीहरुको आगमनले प्रतिस्पर्धा कति बढेको छ ? हामीले भोगेको ठूलो जोखिम भनेको उच्च तहका कर्मचारी कम्पनी छाडेर गए । २/३ तह प्रमोशन लिएर कर्मचारीहरु गए । हाम्रो कम्पनीबाट ३५६ जना कर्मचारीमध्ये ९० जनाले जागिर छाडेर गए । ३२ प्रतिशत कर्मचारीले छाडेर गएपछि केहि अप्ठेरो महसुश गरेको थियौं । तर, त्यसले तल्लो तहमा बसेर काम गरेका कर्मचारीहरुले प्रमोशन भएर काम गर्ने अवसर पाए । एक लेभलका कर्मचारीले बढुवा पाए र आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर पाए । हाम्रा मेसेन्जरहरुलाई मेनेजर बनाएर पनि अरु कम्पनीले लगेको देखियो । यसरी कर्मचारीले छोड्दा फाइदा चाँही कहाँ कहाँ भयो प्राइम लाइफलाई ? कम्पनीमा फ्रेस ब्लड आयो । पुराना कर्मचारीले प्रमोशनको अवसर पाए । ६० हजार तिरेर गराएको काम अहिले २० हजार तलब खानेहरुबाट गराउन सकिने अवस्था बनेको छ । काममा प्रभावकारीता पनि देखिएको छ । कर्मचारी व्यवस्थापनमा धेरै तनाब लिनु परेन । २ महिना चाँही मान्छे छान्नै समस्या भएको थियो तर त्यसपछि सबै काम चुस्त दुरुस्तै भयो । ९ महिनामा अघिल्लो वर्षको भन्दा २२ प्रतिशत बिजनेश बढाउन सकियो । यो अवधीमा मैले आफ्नो नेतृत्वको पनि मूल्यांकन गर्ने अवसर पाएँ । पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ? अहिले १ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी छ । यो सालको नाफा समेत बाँडेर पुँजी पुर्याउन सकिने सुबिधा बीमा समितिले दिएको छ । २०७४ असारसम्मको नाफाबाटै २६ करोड रुपैयाँ वितरण योग्य नाफा छ । असार मसान्तसम्मको अपरेशन प्रोफिट २२ करोड रुपैयाँ छ । लाइफ फण्ड भ्यालुएसनपछि ८ करोड रुपैयाँ थपिएर नाफा ३० करोड रुपैयाँ पुग्छ । नयाँ र पुरानो गरी ५६ करोड रुपैयाँ हुन्छ । हकप्रद सेयर नबिकेर लिलाम गर्दा आएको प्रिमियम रकम १७ करोड रुपैंयाँ पनि छ । सबै मिलाउँदा ७३ करोड रुपैयाँ पुग्छ, हामीले थप्नुपर्ने जम्मा २२ करोड रुपैयाँ मात्रै हो । पुँजी पुर्याएर पनि ५० करोड रुपैंयाँ बाँकी रहन्छ । पुस मसान्तभित्रै साधारण सभा गर्न सकिन्छ ? हामीले गतवर्ष २ पटक साधारणसभा गरेका थियौं । ४ वर्षसम्म साधारण सभा गर्न नसकेको कम्पनीले सबै भन्दा पहिले साधारण सभा गरेर रेकर्र्ड कायम गरेको थियो । यसपाली पनि त्यस्तै हुन्छ । अडिट सकियो, बीमा समितिबाट सैद्धान्तिक स्वीकृत पनि आईसकको छ । भ्यालुएसन अन्तिम चरणमा पुगेको छ । अर्काे हप्ताभित्र एक्चुरियल भ्यालुएसन सकेर बीमा समितिमा पठाउँछौं । बीमा समितिले पास गरेको भोलिपल्टै बोर्ड बैठकबाट पास गरेर वित्तिय विवरण समितिमै पठाउन सक्छौं । अहिलेसम्मको कार्यप्रगति अनुसार मंसिर मसान्तभित्रै साधारण सभा गरिसक्छौं । सेयर मूल्यको विद्यमान अवस्थालाई कस्तो मान्नुहुन्छ ? कम्पनीको सेयर मूल्य ५४० रुपैयाँका हाराहारीमा छ । यो मूल्यलाई मैले चाँही एक दमै ठिक मानेको छु । लगानीकर्ताका लागि यो उपयुक्त मूल्य हो । हाम्रो प्रति सेयर आम्दानी १२.३० रुपैंयाँको हाराहारीमा छ । यसमा पिई रेसियो ३५/३६ हुन आउँछ । हामीले अध्ययन गर्दा १५/२५ पिई रेसियो हुनुपर्छ भन्ने मान्थ्यौं । यस हिसाबले प्राइम लाइफको सेयर मूल्य ठिकै हो । दोश्रो बजारमा अनावश्यक रुपमा लाभ लिने गरि हुने चलखेलको कुरा वैग्लै हो । ५० करोड रुपैयाँ वितरणयोग्य रकम कोषमा छ, जुन २५ प्रतिशत लाभांश दिने क्षमता राख्छ । आगामी चार पाँच वर्षसम्म राम्रो प्रतिफल दिन सक्ने अवस्थामा कम्पनी स्थापित भैसकेको छ । त्यस हिसाबले चैँ हेर्दा सेयर मूल्य केहि कम हो कि जस्तो देखिन्छ । अन्यथा राम्रो छ ।