एचआईडीसीएल ५ बर्षमा १५ प्रतिशत लाभांश दिने हैसियतमा पुग्नेछ- छविराज पोखरेल
इन्जिनियर छविराज पोखरलले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को कमाण्ड सम्हालेको डेढ वर्ष पुरा भएको छ । उनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर आएपछि कम्पनीको सुधारका लागि धेरै काम गरेका छन् । उनले ५ वर्षे व्यवसायिक योजनाका अतिरिक्त ३ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने र यसका लागि ७ खर्ब रुपैयाँ लगानी जुटाउने योजना बनाएका छन् । यस्तै ठुला जलविद्युत आयोजनामा लगानी जुटाउने अवसर एचआईडीसीएलले पाएको छ । हाल ५ प्रतिशत हाराहारीमा लगानीकर्तालाई लाभांश दिइरहेकोमा आगामी ५ वर्षमा ३ गुणा बढाएर १५ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएका छन् । प्रस्तुत छ, एचआईडीसीएलको भावी योजनाका विषयमा केन्द्रीत रहेर पोखरेलसंग विकास न्युजले गरेको विकास वहस । छविराज पोखरल, प्रमुख कार्यकारी अधिकृत- एचआईडीसीएल तपाई एआइडीसीएलको सीईओ हुनु भएको डेढ वर्ष पुरा भएको छ । यसबीचमा संस्थालाई नयाँ उचाइमा पुर्याउन यहाँले के नयाँ काम गर्नुभयो ? जलविद्युत क्षेत्रमा डेढ वर्ष धेरै ठुलो समय हैन । म ३ वटा काममा केन्द्रीत भएको छु । कम्पनीको आगामी दिन कता जाने भन्ने मार्गचित्र तयार पारी ५ वर्षको व्यवसायीक योजना लागु गरेका छु । आउँदो ५ वर्षभित्र ३ हजार ५०० मेगावाट क्षमताका ३१ जलविद्युत आयोजनामा लगानी गर्ने छौं । दोस्रो योजना अन्तर्गत यसको चुक्तापुँजी १० अर्ब रुपैयाँ मात्र थियो । यसको ऋण लगानीको अवस्था निराशाजनक थियो । यसबीचमा साढे २ अर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी गरिसकेका छौं । कुनै पनि विदेशी बैंक तथा वित्तीय संस्थाले ऋण दिने की नदिने भन्ने कुरा लगानीलाई मापन गरिएको हुन्छ । २ करोड डलर अर्थात २ अर्ब रुपैयाँ ऋण लगानी नभएसम्म हामी विश्व बैंकबाट ऋण लिनका लागि योग्य अवस्थामा थिएनौ । अब ऋण लिन पाउने अवस्थामा पुगेका छौँ । अझ लगानी विस्तारलाई हामीले गति दिएका छौँ । र, तेस्रो उपलब्धी भनेको आउँदो ५ वर्षमा ७०० अर्ब रुपैयाँ जलविद्युतमा लगानी गर्ने योजना बनाएका छौं । यसमा सानो अंश स्वदेशी वित्तीय संस्था र ठुलो अंश विदेशी वित्तीय संस्थाबाट ऋण लिने योजना बनाएका छौं । सरकारको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्नेमा यो ठुलो कोशेढुङा भएको छ । यसमा हामी लागिरहेका छौं । थप ऋण ल्याउन कम्पनीले आफ्नो पुँजी पनि वृद्धि गर्नुपर्यो । त्यसका लागि १० अर्ब रुपैयाँबाट बढाएर पुँजी २० अर्ब रुपैयाँ पुगेको छ । यी आवश्यक गर्नुपर्ने महत्वपुर्ण काम डेढ वर्षमै पुरा भएका छन् । यस्तै साइडमा गर्नुपर्ने अन्य काम पनि भएका छन् । पहिला लगानी गर्दा प्रवद्र्धकको अनुहार हेरेर मात्र निर्णय गर्ने वाध्यकारी अवस्थामा कम्पनी थियो । तर म आएपछि प्रवद्र्धकको अनुहार हैन आयोजनाको अवस्था र वित्तीय स्वास्थ्य कस्तो छ भनेर हेर्न गरिएको छ । लगानीको अवस्था के छ ? विकासको प्यारामिटर के छ ? प्रतिफल कस्तो आउने छ र लगानीकर्ता कस्ता छन् भन्ने सबैकुरा अहिले हेरिने गरिएको छ । यसैका आधारमा लगानी गर्ने इन्भेष्टमेन्ट एप्राइजल टेम्पलेट प्रणाली बनाएर लागु गरिसकेका छौं । जसले आयोजनाको लगानीकर्ता को हो हेर्दैन । आयोजनाको वित्तीय र प्राविधिक संभाव्यता हेरेर मात्र लगानी गर्छौ । रिकभरी, कर्पोेरेट गभर्नेन्स, फाइनान्सियल लिभरेज पोलिसी, लोन डिस्ट्रियवेसन नीति थिएन । यी पनि तयार भएका छन् । कम्पनीको पुँजी २० अर्ब रुपैयाँ पुगेको छ । सरकारले आफ्नो तर्फबाट ५ अर्ब रुपैयाँ दिइसकेको छ । अन्य संस्थाबाट कहिले प्राप्त हुनेछ ? पुँजी वृद्धिको प्रक्रियामा गइसकेको छ । सरकारले ५ अर्ब रुपैयाँ थप लगानी गरिसकेको छ । कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट ३ अर्ब रुपैयाँ आउन बाँकी छ । यस्तै बाँकी २ अर्ब रुपैयाँ बराबरको १०० प्रतिशत सर्वसाधारणलाई हकप्रद सेयर निष्कासन गर्ने छौँ। वार्षिक साधारणसभाबाट हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेपछि संचय कोष, लगानी कोष र बीमा संस्थानबाट पुँजी थप लगानी हुने छ । त्यसपछि सर्वसाधारणलाई हकप्रद सेयर निष्कासनको बाटो पनि खुल्ने छ । हकप्रद सेयर कहिले निष्कासन गर्नुहुन्छ ? चालु आर्थिक वर्षभित्र सर्वसाधारणलाई २ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गरेर पुँजी २० अर्ब रुपैयाँ पुर्याउने छौं । कम्पनीको बैंकको ब्याजबाट मात्र नाफा गर्ने दिन कहिले अन्त्य हुन्छ ? म पेशाले इन्जिनियर हो । पत्रकार साथिहरुलाई मेरो सकरात्मक गुनासो छ । सार्वजनिक खरिद विनियमावलीमा कुनै पनि आयोजना लगानीको सुनिश्चितता गरेर मात्र अघि बढाउनुपर्छ भन्ने उल्लेख छ । जस्तै पुँजीको सुनिश्चितता गरेर मात्र लगानी गर्नेछौं । सम्झौता भएको ऋण एकैपटक आयोजनामा जादैन । भौतिक प्रगति र आवश्यकताका आधारमा मात्र लगानी गर्दै जाने हो । यदी प्रवद्र्धकले पैसा माग्दा नदिएर बैंकमा राखेको हो भने तपाईहरुले आरोप लगाउन सक्नु हुन्छ । यसमा हाम्रो दोष हुन्छ । प्रवद्र्धकले कार्यतालिका भेट्टाउन नसकेको अवस्था छ । हामीले छिटो गर भनेर दवाव दिँदै आएका छौं । बेलाबेलामा फिल्डभिजिट गरेर, प्राविधिक टिम गठन गरेर हुन्छ छिटोभन्दा छिटो कर्जा निकासी गर्ने अवस्थामा पुर्याउने तयारीमा छौं । तालिकाअनुसार विकासकर्तालाई भुक्तानी गर्छौ । बाँकी रहेको पैसा बैंकमा राख्ने गरेका छौं । यो सार्वजनिक संस्था हो । निजी कम्पनी भए मैले सबै पैसा लैजाँदा हुन्थ्यो । बैंकमा राखेर ब्याज आम्दानी गरेको पैसा ३ करोड नेपाली कै हो । यो पैसामा सबैको बराबर हक लाग्छ । सेयर लगानी गर्नेले अलिकति बढी लाभांश पाउछन् त्यति हो । यो राज्यको कम्पनी भएपछि सबैको हक अधिकार लाग्छ । भएको स्रोतको सदुपयोग गरेर बढीभन्दा बढी प्रतिफल दिने काममा हामी लागेका छौं । यो कम्पनीले नाफा त गर्नुपर्छ, यद्यपी ब्याजबाट नाफा गरेकोमा हामीमा गर्व छैन । जलविद्युत आयोजनाका प्रवद्र्धकहरु कम्पनीबाट स्वीकृत भएको कर्जा लिन आलटाल गरिरहेका छन् ? प्रक्रियाको आधार कर्जा निकासा हुन्छ । आज एउटा आयोजनामा ४ अर्ब रुपैयाँ कर्जा स्वीकृति गर्दा त्यो सबै रकम एकैपटक चाहिदैन । ४ अर्ब खर्च गर्न ५ वर्ष लाग्छ । आयोजना सुरु भएको पहिलो र दोस्रो वर्षमा ऋण निकासा अत्यन्त कम हुन्छ । किनभने लगानीकर्ताले आफनो स्वपुँजी (इक्विटी) लगानी गरिरहेको हुन्छ । त्यसपछि मात्र कर्जा माग हुन्छ । लगानी गरेको क्रसबोर्डर ट्रान्समिसन कम्पनी लिमिटेडबाट हामीले प्रतिफल पाउन थालिसकेका छौं । २ वटा जलविद्युत आयोजना यो आर्थिक वर्षमा सम्पन्न हुदैछन् । २१ मेगावाटको हेवाखोला र ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाबाट पनि आम्दानी हुन थाल्नेछ । यस्तै आँखु र कावेली ए बाट पनि अर्को वर्षदेखि आम्दानी हुने संभावना छ । अब हामी बैंकको ब्याजबाट हैन वास्तविक व्यसायबाट आम्दानी गर्न सक्ने अवस्थामा पुग्दै छौ । क्रसब्रोडरमा २५ करोड रुपैयाँ इक्विटी लगानी गरेका थियौं । हालसम्म सो भन्दा बढी रकम फिर्ता भइसकेको छ । यो वर्ष लगानीकर्तालाई कति प्रतिफल दिन सक्ने अवस्थामा पुग्नु भएको छ ? गत वर्ष हामीले ८० करोड रुपैयाँ नाफा कमाउने लक्ष्य राखेकोमा त्यो पुरा गरेका छौं । गत आर्थिक वर्षमा ८३ करोड रुपैयाँ खुदनाफा गरेका छौ । नेपाली सेयर बजारमा जनताले बुझेर लगानी गरेको हुदैनन् । राम्रो जानकारी नपाएर लगानी गर्दा सेयर बजार पनि यस्तो अवस्था आएको हो । एचआईडीसीएल लगानीकर्ताले आज सेयर किनेर भोली बेचर नाफा कमाउन स्थापना गरिएको हैन। सयौं वर्षसम्म सञ्चालन हुने भएकाले भविष्यका लागि यो सुनौलो कम्पनी हो । जसले आज सेयर किनेर भोली बेच्छ, उसका लागि जलविद्युत लगानी कम्पनीबाट निराश हुनसक्छ । हामीले झुटो बोलेका छैनौ । २०७५ सम्म ४.८ प्रतिशत लगानीकर्तालाई प्रतिफल दिने योजना सार्वजनिक गरिसकेका छौं । निष्कासन गर्दा आब्हनपत्रमा स्पष्ट उल्लेख गरेका थियौँ। लगानीकर्ताले सो डकुमेन्ट हेरेर लगानी गर्नुभयो होला भन्ने हाम्रो बुझाइ रहेको छ । म आउनुभन्दा अघि ४ थियो । अघिल्लो वर्ष ५ प्रतिशत लाभांश दिएका थियौं । यो वर्ष ५ प्रतिशत भन्दा बढी नै लाभांश दिने छौं । कम्पनीले अहिलेसम्म कतिवटा आयोजनामा लगानी गरेको छ ? हालसम्म १ हजार १४२ मेगावाट क्षमताका १९ आयोजनामा लगानी गरेका छौं । हामी एक्लैले लगानी गरेको हैन । बैंकसंगको सहवित्तीयकरणमा लगानी गरेका छौं । एचआईडीसीएलले निजी क्षेत्रसंगको सहकार्यमा राम्रो काम गरिरहेको छ । आउँदो ५ वर्षमा ३ हजार ५०० मेगावाट बनाउन ७ खर्ब रुपैयाँ लगानी गर्ने योजना ल्याउनु भएको छ । यहाँले वित्तीय स्रोत कहाँबाट जुटाउँदै हुनुहुन्छ ? यसमा दुइटा लक्ष्य छन् । पहिलो नेपाली बैंक तथा वित्तीय संस्थासंग सहकार्य गर्नेछौं । १० देखि १५ प्रतिशत हिस्सा स्वदेशी बैंक तथा वित्तीय संस्थाको हुनेछ । बाँकी विदेशी बैंक तथा वित्तीय संस्थाबाट ल्याउने सोच बनाएका छौं । अहिले एसियाली विकास बैंक (एडीबी) संग ५ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएका छौं । संभवत यो आर्थिक वर्षमा आउँछ होला । विश्व बैंकसंग पनि छलफलमा छौं । विश्व बैंकले एउटा आयोजनामा ४ अर्ब रुपैयाँ लगानी गरेको छ । थप सहयोग माग्ने छौं । चिनियाँ, भारत र युरोपियन बैंक तथा वित्तीय संस्थासंग छलफल अघि बढाउने भएका छौं । यो एकैपटक हुने कुरा हैन । जलविद्युत आयोजना बनाएका बहुराष्ट्रिय कम्पनीहरुसंग सहकार्य गर्न खोजेका छौं । समझदारीपत्रमा हस्ताक्षर गर्ने काम सुरु गर्ने छौं । सरकारका ठुला आयोजनामा संयुक्त रुपमा लगानी गर्ने तयारीमा छौं । यो आर्थिक वर्षदेखि सुन्दर परिणाम देख्न सक्नेछौं । हालसालै ७६२ मेगावाटको तल्लो अरुण आयोजनाका लागि लगानी जुटाउने जिम्मा एचआईडीसीएलले पाएको छ । यो आयोजना बनाउनका लागि लगानी जुटाउन तयारी थालिसकेका छौं । यस्तै सरकारबाट अध्ययन सम्पन्न भएका आयोजना बनाउनका लागि लगानी जुटाउन अनुमति पाएका छौं । राष्ट्रिय विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट अघि बढेका सबै ठुला आयोजनामा लगानी जुटाउने जिम्मा एचआइडीसीएलले पाएको छ । यस्तै राष्ट्रिय प्रसारण कम्पनीमार्फत बन्ने प्रसारणलाइनका लागि लगानी जुटाउने जिम्मा एचआईडीसीएलले पाएको छ । जलविद्युत आयोजना र प्रसारणलाइन बनाउने काम उहाँहरुले गर्नुहुने छ भने वित्तीय व्यवस्थापनको काम हामीले गर्नेछौं । यस विषयमा ३ कम्पनीबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । तल्लो अरुणको क्षमता बढाउने काम भइरहेको छ । सुरुमा ४०० मेगावाट थियो । अहिले क्षमता बढाएर ७६५ मेगावाट भन्ने कुरा आएको छ । यसलाई अन्तिम रुप दिइएको छैन । ६ महिनाभित्र प्रतिवेदन अन्तिम प्रतिवेदन आउने छ । आयोजना बनाउन २ खर्ब २८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ६८ अर्ब रुपैयाँ इक्विटी लगानी हुनेछ । ऊर्जा मन्त्रालयले सहयोग गरेको छ । ऊर्जाले अर्थमा शिफारिश पठाएको छ र अर्थले पनि वित्तीय स्रोत खोजीका लागि पहल सुरु गरेको छ । आउँदो ५ वर्षपछि कम्पनी कुन अवस्थामा पुग्ने छ ? ५ वर्षपछि याे कम्पनीले कमसेकम साना आयोजनामा लगानी गर्दैन । ठुला परियोजना जस्तै बहुउद्धेशीय आयोजनामा आफनो लगानी केन्द्रीत गर्नेछ । लगानीकर्ताले ५ वर्षमा कति प्रतिफल पाउने छन् ? लगानीकर्ताले १२ देखि १५ प्रतिशतसम्म प्रतिफल दिन सक्ने अवस्थामा पुग्ने प्रक्षेपण गरेका छौं । हामीले लगानी गरेका आयोजनाले प्रतिवद्धता गरेअनुसार काम गरे भने यो प्रतिफल लक्ष्य प्राप्त हुने छ । एचआईडीसीएलले रेमिट्यान्स रकमलाई जलविद्युत विकासमा लगाउन वेग्लै कम्पनी स्थापना गरेको छ । रेमिट हाइड्रोले अहिले के गरिरहेको छ ? ३ वर्ष पहिला लाइसेन्स पाएको आयोजनाको पंहुचमार्ग नै २४ किलोमिटर तल थियो । त्यो आयोजना लिनु उपयुत्त हो की हैन । सरकारले त्यस्तो आयोजना किन दिएको हो ? ५० किलोमिटर लामो सडक बनाउनु पर्ने छ । पहिला आकर्षक थिएन । अहिले आकर्षक भयो । आयोजनाको विषयमा अर्थ मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालसंग राम्रो छलफल भयो । सचिव धनबहादुर तामाङ र शान्तराज सुवेदीलाई धन्यवाद दिन चाहान्छु । उहाँहरु सकरात्मक भएर सडक बन्ने भएको छ । सो करिडोरमा ७०० मेगावाट बिजुली उत्पादन हुन्छ । यति धेरै आयोजना भएकाले सडक बनाउनु पर्यो भन्दा उहाँहरुले बहुवर्षिय ठेक्का प्रणालीअनुसार बजेट विनियोजन गरिदिनु भएको छ । अर्थले ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो सडक घुन्सा र सिम्बुवालाई मात्र हैन अन्य आयोजनालाई पनि हो । यो वर्ष २ वटा आयोजनाको अध्ययन सम्पन्न गरेर अर्को वर्षदेखि निर्माण सुरु गर्ने तयारीमा छौं । एउटा घुन्सा ७१.५ र सिम्बुवा ८० मेगावाट गरी दुई आयोजनाको जडित क्षमता १५० मेगावाट छ । दुई आयोजनालाई लगानी कहाँबाट जुटाउँदै हुनुहुन्छ ? लगानीको व्यवस्था गरेका छौं । ४९ प्रतिशत विदेशमा बस्ने नेपाली दाजुभाई र दिदबैनीको लगानी हुनेछ । बाँकी ५१ प्रतिशत हाम्रो लगानी हुनेछ । एक जापनिज कम्पनी टेप्को इनर्जी लगानी गर्न चासो देखाएको छ । उसले बिजुली खरिदबिक्री नेपाली रुपैयाँमा भए हुन्छ भनेको छ । २६ प्रतिशत स्वामित्व दिएर २५ प्रतिशत आफुले राखे पनि राम्रो हुन्छ । दुबै आयोजना ३ वर्षभित्रमा सक्छौं । प्रतिमेगाावट १६ करोड रुपैयाँ देखिएको छ । लागत घटाउने प्रयास गरिरहेका छौं । परामर्शदाताले काम गरिरहेका छन् । रेमिट्यान्सको रकम कसरी ल्याउने तयारी भएको छ ? सबै पैसा एकैपटक आउदैन । महिना, ३ महिना र वर्षमा दिने योजना हुनेछ । उनीहरुको घर पनि चल्नु पर्यो । सफटवेयर सिस्टम बनाएर जहाँबाट पनि पैसा हाल्न सक्ने व्यवस्था गरिदिने छौं । सेयरमा लगानी नहुन्जेल पार्किङ लटमा सो रकम बस्ने छ । सेयरमा परिणत नहुन्जेल उहाँहरुले ब्याज पाउनु हुनेछ ।
तपाईसँग पुँजी छैन भने आयोजना ल्याउनुस्, हामी लगानी गरिदिन्छौँ- डा. विनोद आत्रेय
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका डा. विनोद आत्रेयले २ वर्षदेखि इमर्जिङ नेपाल लिमिटेड सञ्चालन गरिरहेका छन् । पुर्वाधार र उद्योगमा स्वपूँजी (इक्विटी) लगानी गर्ने उद्धेश्यका साथ स्थापना भएको इमर्जिङले होटल, बैंक र रेटिङमा लगानी गरिसकेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि तालिम केन्द्र स्थापना गर्न लागेको छ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी केन्द्रीत गरेको इमर्जिङकाे भावि योजनाका विषयमा सीईओ आत्रेयसँग विकास न्युजले गरेको विकास वहसः डा. विनोद आत्रेय, सीईओ, इमर्जिङ नेपाल लिमिटेड इमर्जिङ नेपाल सञ्चालनमा आएको २ वर्ष भइसकेको छ । अहिले संस्थाले के गरिरहेको छ ? इमर्जिङ नेपाल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अन्तर्गत स्थापना भएको कम्पनी हो । यसमा सरकारको पनि सेयर लगानी छ । यसको मुख्य उद्देश्य भनेको पुर्वाधारमा स्वपुँजी (इक्विटी) लगानी गर्ने हो । तर इमर्जिङ बैंक जस्तो कर्जा लगानी गर्ने संस्था भने हैन । इक्विटीमा लगानी गर्ने भएकाले हाम्रो र बैंकको कार्यक्षेत्र फरक छ । इमर्जिङले हुम्लामा रहेको होटल एलाइस दी वण्डर इनमा सुरुवाती लगानी गरेको छ । होटलमा ८ करोड रुपैयाँ लगानी भएको छ । होटल निर्माण भई आंशिक रुपमा सञ्चालनमा आईसकेको छ । स्थानीय साझेदारीमा इक्विटी लगानी गरेको हो । दोस्रो आयोजनाअन्र्तगत भारतको केयर इण्डिया लिमिटेडसँगको साझेदारीमा सञ्चालनमा आएको केयर रेटिङ एजेन्सीमा इमर्जिङले १० प्रतिशत इक्विटी लगानी गरेको छ । इमर्जिङको तेस्रो परियोजना भनेको नेपाल पुर्वाधार बैंक हो । यसमा २५ करोड इक्विटी लगानी भइसकेको छ । चौथो परियोजना अन्र्तगत बैंक तथा वित्तीय संस्थालाई तालिम दिनका लागि ट्रेनिङ इन्टिच्युट ल्याउने तयारी गरिरहेका छौँ । इन्ष्टिच्युट दर्ताको क्रममा छौँ । दुई वर्षका बीचमा इमर्जिङले गरेका लगानी यी नै हुन् । यदि कसैसँग आर्थिक रुपमा आकर्षक आयोजना छ । तर, थप पुँजीको अभाव छ भने आउनुस् हामी लगानी गर्छौ भनेर सार्वजनिक रुपमा आब्हान गरेका छौं । पहिला हामी परियोजनाको संभाव्यता हेर्छौ, यदि राम्रो देखियो भने इक्विटीको रुपमा साझेदारी बन्ने छौँ । आयोजना तपाइले लिएर आउने हो । त्यो तपाईहरुकै आयोजना हो । त्यो आयोजना सञ्चालन गर्ने जिम्मेबारी तपाईहरुको हुने छ । इमर्जिङले पहिलो आयोजनाका रुपमा हुम्लाको होटल रोज्नुभयो, के देखेर जानुभयो त्यहाँ ? यो हाम्रो पहिलो आयोजना हो । मानसरोवरमा जाने तिर्थालुलाई लक्षित गरेर होटलमा लगानी गरिएको हो । अर्कोकुरा सुदुरपश्चिम विकासको दृष्टिकोणले पछि परेकाले त्यहाँ हामीले प्राथमिकता दिनुपर्छ भन्ने सोचअनुसार हुम्लामा होटल स्थापना गर्नका लागि ८ करोड रुपैयाँ इक्विटी लगानी गरेको हो । १/२ वर्षमा हुम्ला सडक सञ्जालमा जोडिने अवस्था छ । यदी सडक सञ्चालनमा जोडिएपछि आन्तरिक पर्यटक पनि त्यहाँ पुग्ने छन् । हामी धर्ममा विश्वास गर्ने भएकाले मानसरोबरमा जाने स्वदेशी पर्यटक धेरै हुने अनुमान गरेर त्यहाँ होटलमा लगानी गरेका हौं । योजना भएका तर पैसा नभएका उद्यमीहरुलाई ८० प्रतिशतसम्म इक्वीटीमा लगानी गरिदिने भन्ने थियो, कति लगानी गर्नुभयो ? औपचारिक रुपमा प्रस्ताव आएको छैन । फोन सम्पर्कबाट बुझ्ने काम भइरहेका छन् । हामीले परियोजना पेश गर्नुस आर्कषक देखिए लगानी गर्छौं भनेर आश्वस्त पार्ने काम गरिरहेका छौ । नयाँ संस्था स्थापना गरेर सञ्चालनमा ल्याउन समय लाग्दो रहेछ । यसको प्रक्रिया पुर्याउने, सञ्चालन पुर्वाधार तयार, लगानी र त्यसको प्रतिफल प्राप्त गर्न सहज छैन । हामीले २ वर्षमा ४ वटा परियोजनामा लगानी गरेका छौं । यसमध्ये २ वटा सञ्चालनमा ल्याइसकेका छौं । हामी तालिम केन्द्रको स्थापना गर्दैँ छौं । राम्रो आयोजना छ, लगानी गर्नु पर्यो भन्ने प्रस्ताव आएमा हामी जुनबेला पनि तयार छौं । यहाँले लगानी गर्छु भन्नु भयो, कसरी जुटाउनु हुन्छ ? इमर्जिङको आफ्नो पुँजी भनेको ५० करोड रुपैयाँ मात्र हो । हामीले होटल, पुर्वाधार बैंक, केयर रेटिङमा लगानी गरिसकेका छौँ । अब तालिम केन्द्रमा लगानी गर्दै छौं । हामीसँग इक्विटीको केही रकम पनि छ । इमर्जिङले लगानी जुटाउन ऋणपत्र र डिवेन्चर जस्ता वित्तीय औजार जारी गर्न सक्छ । यदी राम्रो आयोजना छ भने जनताबाट पैसा उठाएर लगानी गर्न सक्छौ । इमर्जिङमा ९० प्रतिशत संस्थापक र १० प्रतिशत मात्र सर्वसाधारणको लगानी छ । थप पुँजी जुटाउनका लागि सर्वसाधारणलाई १० प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छौँ । ठुलो परियोजनामा लगानी गर्ने अवस्था आयो भने जनताबाट पैसा उठाउने छौँ । इमर्जिङको आईपीओ कहिले आउछ ? बोर्डले स्वीकृति दिएपछि तुरुन्त आईपीओ ल्याउने काम हुनेछ । साढे ४ करोडको आईपीओ निष्कासन गर्ने छौ । यसका लागि हामी तयार छौँ । इमर्जिङले धेरै क्षेत्रमा लगानीको योजना सार्वजनिक गरेको छ । लगानीको विविधिकरण कसरी गर्दै हुनुहुन्छ ? हाम्रो लगानी विविधिकरण गर्ने सोच हो । वित्तीय र पर्यटनमा हामी गइसकेका छौ । यस्तै क्षमता अभिवृद्धिमा जाने तयारीमा छौं । अब हाम्रो प्राथमिकता भनेको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र हो । राम्रो परियोजना पाए अन्य क्षेत्रमा लगानी गर्छौ । हामीले ४ क्षेत्रमा लगानी गर्नका लागि परियोजना खोजी गरिहेका छौं । परियोजना ल्याउनेले केही रकम लगानी गरेमा हामी थप्ने काम गर्छौंै । यस्तै आयोजना सञ्चालन गर्न क्षमता पनि हुनुपर्यो । आयोजना आर्कषक पनि हुनुपर्छ । नोक्सान हुने परियोजनामा इक्विटी लगानी गर्दैनौ । व्यक्तिगत रुपमा भेटेर पनि पुँजीको अभाव छ भने हामीले लगानी गर्ने भनेका छौँ । आउँदो ५ वर्षमा इमर्जिङ कुन अवस्थामा पुग्ने छ ? हरेक वर्ष २ वटा नयाँ परियोजनामा इक्विटी लगानी गर्ने मेरो लक्ष्य छ । वर्षमा २ वटा नयाँ कम्पनी स्थापना गर्दै लैजाने लक्ष्य हो । तालिम केन्द्र स्थापना गर्दै छौँ । त्यसपछि अर्को परियोजनामा लगानी गर्नेछौँ । हामीले नयाँ अवधारणा खोजिरहेका छौं । आउँदो ५ वर्षमा १० वटा कम्पनी खडा गर्न सकियो भने ठुलो उपलब्धी हुनेछ । इमर्जिङले रेटिङ एजेन्सीमा पनि लगानी गरेको छ । नेपालमा रेटिङको अवस्था के छ ? सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्ब रुपैयाँ पुँजी भएका कम्पनी सर्वसाधारणमा जानुपर्ने भनेको छ । लिमिटेड कम्पनी हुने बित्तिकै आईपीओ निष्कासन गर्नुपर्छ । आईपीओ निष्कासन गर्नका लागि रेटिङ गर्नुपर्ने हुन्छ । यता मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बढी कर्जा लिने ऋणीको क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै २८ वटै वाणिज्य बैंकको पनि नयाँ रेटिङ गर्नुपर्ने मौद्रिक नीतिमा भनिएको छ । नयाँ कर्जा लिँदा, कर्जा नविकरण गर्दा ऋणीको पनि रेटिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले गर्दा अब रेटिङको बजार ठुलो देखियो । यस्तै अर्को मौद्रिक नीतिमा विकास बैंक र वित्त कम्पनीको रेटिङ गर्नुपर्ने व्यवस्था आउन सक्ला । संस्थागत रेटिङको कुरा आएको छ । आज बैंकको भयो, भोली बीमा कम्पनीको होला । त्यसैले नेपालमा रेटिङ व्यवसायको सम्भावना झनै बढेको छ । सरकार र राष्ट्र बैंकलाई रेटिङ् गराउन सुझाव तपाइले दिनु भएको हो ? हामीले बेलाबेलामा भन्दै आएका थियौँ । ३ वर्षअघिको मौद्रिक नीतिमा ऋणीको रेटिङको कुरा आएको थियो । पहिला इक्रा मात्र थियो । अहिले केयरसहित दुइवटा भइसकेको छ । यस्तै अर्को आउने तयारीमा छ । सरकारले पनि रेटिङ् गर्ने भन्ने कुरा उठाएको छ । मुलकको रेटिङ नेपाली कम्पनीले गर्न नसके पनि अन्तर्राष्ट्रिय लगानी ल्याउन भुमिका निर्वाह गर्न सक्छन् । नेपालको रेटिङ भएपनि अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानी गर्न बाटो पनि खुल्ने छ ।
बदलिँदो जीवनशैली र वातारण प्रदुषण बाँझोपनको मुख्य कारण हो- डा. नुतन शर्मा
डेढ १५ दशकदेखि प्रसुती तथा स्त्रीरोग बिशेषज्ञका रुपमा काम गरेकी डा. नुतन शर्मा पछिल्लो समय काठमाडौको बयोधा अस्पताल र ललितपुरको अल्का अस्पतालमा हुनुहुन्छ । डा. शर्माले हाल अल्कामा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन गरी बाँझोपन सम्बन्धी समस्या भएकालाई सेवा दिइरहनु भएको छ । पछिल्लो समयमा बाँझोपन भएकालाई टेस्टीवेवी जन्माउने प्रविधिको विकास भएको छ । नेपालमा बाँझोपनको समस्या धेरै रहेको छ । बाँझोपनको कारण र यसबाट कसरी बच्ने विषयमा केन्द्रीत रहेर डा. शर्मासंग विकास न्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी: डा. नुतन शर्मा, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ महिलाको बाँझोपन भनेको के हो ? एक दम्पत्तिले बिहेपछि एक बर्षसम्म कुनैपनि अस्थायी साधनको प्रयोग बिना यौन सम्बन्ध राख्दा पनि बच्चा नबस्ने वा सन्तान नहुने समस्यालाई बाँझोपन भनिन्छ । बाँझोपनको समस्या श्रीमान वा श्रीमती दुवैमा हुन सक्छ । धेरै हदसम्म बाँझोपन पनि निराकरण गर्न सकिने स्वास्थ्य समस्या हो । सन्तान प्राप्तिका लागि महिनावारीको चक्रलाई समेत पछ्याएर सावधानीपूर्वक प्रयास गर्दा पनि एक बर्षदिन भित्रमा गर्भ रहेन भने उपचार थाल्नुपर्ने हुन्छ । बाँझोपन प्राथमिक र माध्यमिक गरी दुई किसिमका हुन्छन । प्राथमिक बाँझोपन भन्नाले कहिले पनि बच्चा नबसेको बाँझोपन हो । माध्यमिक भनेको एक पटक बच्चा बसेर फेरी दोस्रो पटक बच्चा नबसेको बाँझोपन हो । बाँझोपन हुनुका मुख्य कारण के हुन ? ७० देखि ८० प्रतिशत बाँझोपनका कारण संक्रमण रहेको छ । महिलामा जनचेतनाको अभाव, संक्रमण भएपछि पनि उनीहरु जँचाउन स्वास्थ्य संस्थामा नजाने यसको मुख्य कारण हो । फोहर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुखेको हुँदा पनि उनीहरू चिकित्सक कहाँ जाँदैनन् र जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछि मात्रै उनीहरू चिकित्सक कहाँ जान्छन् । यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने मात्र बाँझोपनबाट बच्न सकिन्छ । पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्यूबमा संक्रमण गराउँछ । ट्यूवमा संक्रमण भएपछि ट्यूब ब्लक हुन्छ । ट्यूब ब्लक हुनेबित्तिकै बच्चा बस्दैन। बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । तलबाट पाठेघरभित्र छिरेर ट्यूबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ । यदि ट्यूब ब्लक हुन्छ भने बच्चा बस्दैन । त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो । बाँझोपनको १० देखि १५ प्रतिशत कारण जन्मजात हुन्छ । पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको फर्मेशन राम्रो नहुने जस्ता कारणले जन्मजात बाँझोपना हुने गर्दछ । अर्को कुरा धेरैलाई थाहा नहुन पनि सक्छ तर महिलाको उमेर पनि बाँझोपनको एउटा महत्वपूर्ण पाटो हो । यो कुरा पुरूषको हकमा लागू हुँदैन । महिलाको एउटा निश्चित उमेर हुन्छ । यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउण्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ। उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ । जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेश कुरा निकाल्छौ । जस्तै महीनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सूरू गर्छ । एउटा अण्डा बन्नलाई आठ दस वटा अण्डाको समूह चाहिन्छ । त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ। महिनावारी भएको १४ दिनसम्म एउटा अण्डा मात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ । एउटा अण्डा मात्रै परिपक्व हुन्छ । त्यो अण्डा कसैको १२ कसैको १३ र कसैको १४ दिनमा बन्छ । त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ । यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ । मादक पदार्थ र चुरोट खैनीको अधिक सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधीको अधिक सेवन, लामो समयसम्म गर्भ निरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोपन वा सुगर र थाइराइडको समस्याले पनि बाँझोपन हुन्छ । आमा बन्नलाई कुन उमेर सही हुन्छ ? महिलाको उमेर ४० वर्ष नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ । त्यसबाट आउने राम्रो अण्डाहरुको मात्रा पनि स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ । ३० वर्षभन्दा कम उमेरको महिला र ३५ वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने ३५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या १० गुणा बढी हुन्छ । पहिला महिलाहरू सक्रिय थिएनन् । उनीहरु घरकै काममा केन्द्रीत रहन्थे। बिहे भयो बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए । त्यसैले बाँझोपनको समस्या पनि कम थियो । आज किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरु पढाई र आफ्नो ‘करियरमा’ र व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो हुन्छ । मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दा भन्दै एउटा उमेर जान्छ । एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनुपर्छ । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । बाँझोपनको अर्को महत्वपूर्ण कारण लामो समयको ’ग्याप’ हो । सामान्यतया विहे भएपछि महिलामा ‘इन्फेक्शनको’ समस्या बढी हुने सम्भावना हुन्छ । यदि कसैको ‘इन्फेक्शनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ । हाम्रो देशमा अधिकांश दम्पत्तिलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा हुँदैन । यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन्। गर्भपतन सधै सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा त कोही कता जान्छन्, कोही लुकाएर गर्छन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो। असुरक्षित र गैरकानुनी गर्भपतनले ‘इन्फेक्शन’ गराउँछ । कहिले कहिले नराम्रो सामाग्री प्रयोग गर्दा पाठेघर नै जानसक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो। बिहे गरेपछि कपर्टी राख्छन्, कसैले तीन महिनाको सुई लिन्छन। कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कति साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ । बाँझोपनको लक्षण के हुन् ? धेरै जसोमा बाँझोपनको लक्षण नदेखिन पनि सक्छ । तर अनियमित महिनावारी हुनु वा दुखाई धेरै हुनु, यौन सम्पर्क गर्दा अति पीडा हुनु, यौन सम्पर्कका बेला पुरुषको यौनाङ्ग उत्तेजित नहुनु, यौन रुची घट्नु, आँखा धमिलो देखिनु वा कपाल बढी झर्नेहरुमा बाँझोपनको संभावना बढी हुने गर्दछ । बाँझोपन महिलाको कारणले मात्र हुन्छ र ? बाँझोपन महिलाको कारणले मात्र कहिले हुँदैन । यसमा पुरुषको पनि उतिकै भूमिका हुन्छ । यदी १०० जना मानिसमा बाँझोपनको ६० प्रतिशत कारण महिला हो भने ३५ प्रतिशत कारण पुरुष पनि हो । आजको समयमा तनाव, वातावरण प्रदुषण, काम गर्ने ठाउँमा भएको रासायनिक एक्सपोजरले स्पेर्म को मात्रा कम गर्दिन्छ । त्यसैले बाँझोपनको कारण पुरुष रहेको छ । बाँझोपनलाई लिएर मानिसहरुको धेरै किसिमको भ्रम रहेको छ । महिलाको कारणले मात्र बाँझोपन हुन्छ भन्ने भ्रम मानिसहरुमा रहेको सबैभन्दा दुखलाग्दो भ्रम रहेको छ । उहाँहरु पहिले आफ्नो श्रीमतीको पुरा जाँच गरेर मात्र आफ्नाे जाँच गर्नुहुन्छ । महिनावारी रोक्न खाईने पिल्सहरुले बाँझोपन निम्ताउँछ भन्ने एकदमै गलत बुझाई हो । महिनावारी रोक्ने औषधीले कहिले पनि बाँझोपन गराउँदैन । बाँझोपनको रोकथाम र ध्यान दिनुपर्ने कुरा के हुन् ? उपयुक्त समयमै बिहे गर्ने र सन्तान जन्माउने, असुरक्षित गर्भपतन नगराउने, लागू औषधको सेवन नगर्ने, नियमित महिनावारी नहुने, महिनावारी हुँदा धेरै रक्तश्राव हुने, तल्लो पेट धेरै दुख्ने, योनीबाट फोहर पानी बग्ने, योनी चिलाउने लगायतका समस्या भए तत्काल बिशेषज्ञ चिकित्सक परामर्श तथा उपचार गर्नुपर्छ । यस्तै थाइराइड र रगतको जाँचका साथै भिडियो एक्सरे गरी आफ्नो स्वास्थ्य अवस्थावारे नियमित जानकारी राख्नुपर्छ । महिनावारीको समयमा आफ्नो सरसफाईमा बिशेष ध्यान दिने र नियमित व्यामका साथै आफ्नो तौललाई नियन्त्रणमा राख्ने जस्ता कुरालार्इ ध्यान दिने हो भने बाँझोपनलाई ८० प्रतिशत कम गर्न सकिन्छ ।