शिवम् सिमेन्ट्सले अागामी तीन वर्षमा क्रमशः १०, १५ र २० प्रतिशत लाभांश दिन्छ-शतिस कुमार मोर
नेपाली अर्थतन्त्रमा तुलनात्मक रुपमा बढी लाभ दिने उद्योगमा सिमेन्ट उद्योग पर्छ भनेर धेरैले स्वीकार गरेका छन् । र, सिमेन्ट उद्योगमा व्यवसायिक घरानाहरुको लगानी निकै बढेको छ । विकासको यस क्रममा शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । सिमेन्ट उद्योगलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन हुन लागेको यो पहिलो पटक हो । यस कम्पनीको साधारण सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताका चासोका प्रश्नहरु हामीले शिवम सिमेन्ट कम्पनीका प्रवद्र्धक लक्की ग्रुप नेपालका अध्यक्ष तथा उद्यमी शतिस कुमार मोरसँग राखेका छौं । शतिस कुमार मोरअध्यक्ष–लक्की ग्रुप नेपाल तथा प्रवद्र्धक–शिवम् सिमेन्ट्स लिमिटेड शिवम् सिमेन्ट्सको उत्पादन र बजार कस्तो छ ? शिवम् सिमेन्टले हाल ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । दैनिक३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुँदैछ । क्लिङकर १९०० टन उत्पादन गर्दै आएका छौं । बजारमा शिवम् सिमेन्ट्सको माग धेरै छ । हामीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनौं । शिवम् सिमेन्ट्सको समेत लगानी रहेको होङसी शिवम सिमेन्ट प्रा. लि.को व्यवसायिक उत्पादन समेत शुरु भएको छ । यस कम्पनीको उत्पादन क्षमता सिमेन्ट र क्लिड.कर प्रतिदिन ६ हजार टन हुनेछ । कम्पनीको प्रवद्र्धकहरु को को छन् ? शिवम् सिमेन्ट्समा शुरुमा चार ग्रुपले लगानी गरेका थिए । पछि दुई ग्रुप थपिएको छ । अहिले लक्की ग्रुप, एचआर गोयल ग्रुप, शारदा ग्रुप, देवेनरा ग्रुप, भिमसरिया ग्रुप र जेबी मारु ग्रुप अन्तरगत व्यक्तिगत शेयरधनिहरुको लगानी रहेको छ । शिवम् सिमेन्ट्सले होङसी शिवम सिमेन्टमा कुन मोडलमा लगानी गरेको हो ? शिवम सिमेन्ट्स लिमिटेड अन्तरगत शिवम् होल्डिङ कम्पनी प्रा.लि. छ । त्यसमा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी छ । बाँकी १२ प्रति व्यक्तिगत लगानीकर्ता हरु चुनढुँगा खानीसँग सम्बन्धित विज्ञ व्यक्ति समेत हुनुहुन्छ । शिवम् होल्डिङ कम्पनीले होङसी शिवम सिमेन्टमा ३० प्रतिशत लगानी गरेको छ । त्यसमा शिवम् सिमेन्ट्सको मात्र २६.४० प्रतिशत लगानी हुन्छ । चैत मसान्तसम्ममा होङसी शिवम सिमेन्टमा होल्डिङ कम्पनी मार्फत ३ अर्ब ३६ करोड रुपैयाँ लगानी भईसकेको छ । भविष्यमा यो लगानी विस्तार पनि हुनसक्ने सम्भावना छ । कम्पनीको व्यवस्थापकीय संरचना कस्तो छ ? शिवम सिमेन्टस् लिमिटेडमा हाल ५ जनाको सञ्चालक समिति छ । सुरेन्द्र कुमार गोयल कार्यकारी अध्यक्ष हुनुहुन्छ । रघुनन्धन मारु, अमित मोर, रोहित गुम्ता र शन्दिप कुमार शारदासञ्चालक हुनुहुन्छ । उहाँ पाँचै जना संचालकहरु विभिन्न उद्योग व्यवसाय क्षेत्रमा सक्रिय रहि लामो अनुभव हासिल गरेका व्यवसायीक व्यक्तिहरु संचालक समितिका हुनुहुन्छ । व्यवस्थापन समितिमा सम्बन्धित क्षेत्रको लामो अनुभव भएका र योग्य प्रोफेशनल व्यक्तिहरु हुनुहुन्छ । नवलकिशोर चौधरीले उत्पादनतर्फको नेतृत्व गर्नु भएको छ । त्यस्तै, फाइनान्स, सेल्स एण्ड मार्केटिङ, एचआर, टेक्निकल डिमार्पटमेन्ट, लिगलडिपार्टमेन्ट गरेर विभिन्न डिपार्टमेन्टहरु प्रोफेशनल व्यक्तिहरुले यो कम्पनीको व्यवस्थापन गरेका छन् । कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कम्पनीले २०६७/६८ मा व्यवसायिक उत्पादन थालेको हो । त्यतिबेला कम्पनी प्रालिमा थियो । २०७२ सालमा आएपछि यो कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा परिवर्तन भएको हो । यस कम्पनीले २०७१/७२ मा ३८७ करोडको सिमेन्टबिक्री गरेको थियो । २०७२/७३मा ५७६ करोडको बिक्री भयो । २०७३/७४ मा ७३६ करोडको बिक्री भयो । २०७४/७५ को चैत मसान्तसम्ममा ७१० करोडको बिक्री भएकोछ । २०७५ असार मसान्तसम्ममा १००० करोड रुपैयाँ भन्दा बढीको शिवम व्राण्डको सिमेन्ट सेल्स गर्ने योजना अनुसार कार्य गरिरहेकाछौं । हामीले २०७१/७२ मा ४१ करोड खुद नाफा गरेका थियौं । २०७२/७३मा ७७ करोड नाफा भयो । २०७३/७४ मा ८१ करोड नाफा गर्यौं । २०७४/७५ को चैत मसान्तसम्ममा ९३ करोड खुद नाफा भएको छ । यो नाफा हेटौडामा रहेको शिवम सिमेन्टको उद्योगको प्रतिफल मात्र हो । हामीले ३३६ करोड होङ्सी शिवम सिमेन्ट नवलपरासी रहेको संयुक्त लगानीको उद्योगमा लगानी गरेका छौं । उक्त उद्योगबाट प्राप्त हुने नाफा पछि लाभाँसको रुपमा शिवम् सिमेन्ट्समा नै आउने हो । तसर्थ सबै वित्तिय पक्षको अध्ययन गर्दा कम्पनीको समग्र आर्थिक स्थिती निकै मजवुद रहेको छ । शिवम् सिमेन्टको चुक्ता पुँजी कति छ ? हाल कम्पनीको ३ अर्ब ८७ करोड २० लाख चुक्ता पुँजी छ । आईपीओ निष्काशन पछि ५२ करोड ८० लाख पुँजी थपिन्छ । पब्लिकको पैसा आईसकेपछि चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ हुन्छ । संचित कोषमा कति रकम छ ? २०७४ चैत मसान्तसम्ममा २१६ करोड रिर्जभ छ । आईपिओको प्रिमियमबाट १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ प्रिमियम कोषमा थप जम्मा हुन्छ । आगामी वर्षमा कम्पनीको आम्दानी कस्तो होला ? चालु आर्थिक वर्षमा १००८ करोड, २०७५/७६ मा ११०० करोड र २०७६/७७ मा १२६० करोड रुपैयाँ बराबरको सिमेन्ट उत्पादन र विक्री गर्ने योजनाबनाएका छौं ।त्यस्तै, चालु आर्थिक वर्षमा ११४ करोड, २०७५/७६ मा १४३ करोड र २०७६/७७मा १८५ करोडको खुद नाफा हुने अनुमान छ । जुन होङसी शिवम सिमेन्टमा लगानी गरिएको रकमबाट प्राप्त हुने आम्दानी बाहेकको रकम हो । होङ्सी शिवम सिमेन्टमा गरिएको ३३६ करोडको प्रतिफल उत्पादनमुलक उद्योग भएकोले करिव ३ वर्षपछि मात्र मुनाफा आउँछ भन्ने अनुमानका आधारमा हामीले हेटौडा स्थित शिवम सिमेन्ट लि. को उद्योग तर्फको आम्दानी र नाफालाई मात्र प्रक्षेपण गरेका हौं । आगामी वर्ष सेल्स वृद्धि भन्दा नाफा वृद्धि दर उच्च हुने अनुमान गर्नुभयो, कसरी ? उत्पादनमुलक उद्योगमा स्थिर पूँजी तर्फको लगानी कूल लगानीको ठूलो हिस्सा रहने हुंदा आयकर ऐन बमोजिम ह्रासकट्टीको आधारले शुरुका वर्षहरुमा खुद नाफामा असर गर्दछ । यो उद्योगले उत्पादन थालेको ८ वर्ष भयो । यसअवधिमा धेरै ह्रासकट्टी भईसकेको छ । साथै उत्पादन र विक्रीको बृद्धिदर संगै प्रति वोरा उत्पादन लागत खर्च पनि कम पर्ने हुंदा र हरेक वर्ष बैंक कर्जाको रिपेमेण्ट गरिरहेका कारण कर्जाको व्याजभार समेत कम हुन आउने हुंदा हामीले प्रक्षेपण विश्लेषण गरेर नै गरेका छौ । सेयर पुँजी वृद्धि कसरी हुन्छ ? आ. व. २०७१/७२ मा रु. १२५ करोडको शेयर पूंजी बाट बृद्धि गरी हाल यस कम्पनीमा शेयर पूँजीरु. ३८७ करोड छ । यो सर्व साधारणलाई प्रिमियम मूल्यमा शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु. ४४० करोड हुनेछ । हामीले संस्थापकहरुले थप लगानी गरेको शेयर रकम र संचित मुनाफा मध्येबाट सहायक कम्पनी शिवम होल्डिँग प्रा. लि. मार्फत होङ्सी शिवम सिमेन्ट प्रा. लि. को उद्योगमा रु. ३३६ करोड लगानी गरिसकेका छौं । विगतमा कम्पनीले प्रवद्र्धकलाई लाभांश कति दिएको छ ? विगत तीन वर्षमा हरेक आ. व. मा १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेका थियौं । कम्पनीमा लगानी विस्तार हुँदै गएकोले कम लाभांश वितरण गरेका हौं । शुरुमा प्रतिदिन ७०० टन उत्पादन क्षमताको उद्योग लगाएका थियौं । पछि त्यसलाई विस्तार गरेर २३०० टन र हाल प्रतिदिन ३००० टन उत्पादन क्षमता बढाएका छौं । होङसी शिवम सिमेन्टमा भएको लगानी सहितको हिसाव गर्दा यस कम्पनीले चार पटक लगानी विस्तार वृद्धि गरिसकेको छ । एकातिर कम्पनीका प्रवद्र्धकले थप लगानी पनि गरेको देखियो अर्कोतिर नगद लाभांश पनि लिएको देखियो । नगदको सट्टा बोनस सेयरबाट पुँजी वृद्धि किन नगरेको ? लगानीकर्ताले प्रतिफल खोज्नु स्वभाविक कुरा हुन जाने हुंदा हामीले लाभाँस वितरण गर्ने साधारण सभाको निर्णय अनुसार वितरण गरेका थियौं । प्रतिफल प्राप्त हुने कम्पनीमा थप लगानी गर्न उत्साहित हुने र सो वर्षहरुमा कम्पनीले क्षमता बृद्धि गरी थप परियोजनाका लागि आवश्यक रकम माग हुंदा प्रर्वदकहरुले सकारात्मक रुपमा लिई थप शेयर रकम लगानी गर्नु भएको हो । साथै नेपाल धितोपत्र बोर्ड ऐन तथा कम्पनी ऐन २०६३ को प्रावधान बमोजिम प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लगातार तीन आर्थिक वर्षसम्म कम्पनी मुनाफामा संचालन भई लाभांश वितरण गरेको, कम्पनीको सम्पूर्ण दायित्व भन्दा खुद सम्पत्ति बढि रहेको सो लगायतका सबै प्रावधान रहेछ । हामीले आफ्नो उद्येश्य अनुसारका काम कारोवार गर्दा गराँउदा सबै व्यवस्था पुरा भएको अवस्थामा आई पुगेका रहेछौं । कम्पनीले कति ऋण लिएको छ ? त्यसको वार्षिक व्याज खर्च कति छ ? करिव ४ अर्ब रुपैयाँ बैंकबाट ऋण लिएका छौं र त्यसको वार्षिक व्याज खर्च करिव ३० करोड रुपैयाँ छ । कम्पनीले किन साधारण सेयर निष्काशन गर्न लागेको हो ? हामीले पहिलेदेखि नै स्थानीयबासीको लागि सेयर निष्काशन गर्ने सोच बनाएका थियौं । पछि सरकारले पनि पब्लिक कम्पनीलाई करमा केही छुट दिने व्यवस्था गर्यो । त्यो स्वागतयोग्य कदम थियो । अहिले सरकारले १ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनीले सेयर निष्काशन गर्नै पर्ने नीति बजेटमा ल्याएको छ । हामी उद्यमी व्यवसायीहरुले नेपाल सरकारका नीतिलाई सहयोग पुग्ने गरी कार्य गर्नु पर्दछ भन्ने कर्तव्य पनि ठान्दछौं । यस कम्पनीलाइृ प्रर्वदकको मात्रै होइन सबैको आफ्नै कम्पनी हो भन्ने अनुभति दिलाउने उद्येश्यले पनि स्थानीयलाई २ प्रतिशत र सर्बसाधारणको लागि १० प्रतिशत सेयर निष्काशन गर्ने निर्णय गरेका छौं ।स्टक मार्केटमा गएपछि इक्वीटी व्याकअप स्ट्रोङ हुन्छ भन्ने मान्यतामा छौं । पब्लिक कम्पनी बनाउनु रहर हो कि वाध्यता ? वाध्यता थिएन । हामी बजारमा फरक ढंगले अगाडि बढ्न चाहेका छौं । पुँजी बजारमा पहिलो पटक सिमेन्ट उद्योगले सेयर निष्काशन गर्दैछौं । यसले बजारमा नयाँ स्वाद पनि दिन्छ ।साथै, उद्योग प्रभावित क्षेत्र लगायतका सबै सर्व साधारण लगानीकर्ताहरुले पनि उद्योगबाट लाभ लिन सकून भन्ने हाम्रो चाहाना हो । प्रिमियम मूल्य किन ? १०० रुपैयाँको सेयर १०० मा नै किन निष्काशन भएन ? यो कम्पनी २०६० सालमा स्थापना भएको हो । उद्योगले उत्पादन थालेको पनि ८ वर्ष भएको छ । साथै होङसी ग्रुपमा साझेदारी अगाडि बढाएका छौं । कम्पनीराम्रो नाफामा छ । संचित कोषमा नै २१६ करोड रुपैयाँ छ । तीन महिनाको नाफा अझ यसमा हेरेको छैनौं । आज शिवम सिमेन्ट्स नेपालको नम्बर वान ब्राण्ड बनेको छ। कम्पनीको समग्र अवस्थाको अध्ययन निरीक्षण र आर्थिक विश्लेषण गरी इक्रा नेपाल लिमिटेड जस्तो अन्तराष्टिय संस्थाले ग्रेडिँग गरी ३ प्लस ग्रेडको रेटिङ दिएको छ, जुन कम्पनीको आर्थिक लगायतका सबै अवस्था सवल छन भन्ने संकेत पनि हो ।अन्तराष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी धितोपत्र निष्कासन तथा वाँडफाँड निर्देशिका बमोजिम प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो ३ बर्षको पूंजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र अन्तराष्ट्रिय प्रचलनको विधि समेतलाई अवलम्वन गरी प्रिमियम मूल्य निर्धारण भएको हो । १०० को सेयरमा ४०० रुपैयाँ लगानी गरेको लगानीकर्तालाई कम्पनीले कस्तो प्रतिफल दिन्छ ? आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत, २०७५/७६ को नाफाबाट १५ प्रतिशत र २०७६/७७ को नाफाबाट २० प्रतिशत नगद लाभांश दिने योजना बनाएका छौं । कम्पनीको वित्तिय विवरण अनुसार प्रस्ताव गरे भन्दा बढि दरमा मुनाफा वितरण सकिने भएता पनि कम्पनीले अन्य महत्वकाक्षी परियोजनामा लगानी गर्ने दीर्घकालिन सोच रहेकोछ । आ. व. २०७४/७५ भित्र शेयरमा सर्वसाधारणले लगानी नगरेकै अवस्थामा पनि १० प्रतिशत मुनाफा पाउने प्रस्ताव गरेका छौं । आ. व. २०७५/७६ मा १५ प्रतिशत मुनाफा वितरण गर्ने योजनालाई लगानी पश्चातको पहिलो वर्षमा नै २५ प्रतिशत प्रतिफल हुन आउने कुरा विर्सन हुदैन । कम्पनीको संचित कोष र परियोजनाहरु निक्कै नै उपुयक्त रहेकाले अपेक्षाकृत नाफा भविष्यमा प्राप्त हुने कुरामा लगानीकर्ता विश्वस्त हुनेछन भन्ने विश्वास गरेका छौं । प्रिमियमबाट उठेको पैसा के गर्नुहुन्छ ? प्रिमियमबाट उठेको रकम हामीलेहाल कर्जा चुक्त प्रयोग गरी व्याज खर्च घटाउने र निकट भविष्यमा नयाँ प्रोजेक्टमा लगानी गर्ने दीर्घ कालिन योजना र सोच बनाएका छौं । त्यसमा हाम्रो थप प्रोजेक्ट उत्पादन क्षमतामा बृद्धि र उत्पादन विविधकरण गर्ने हो । हामीले लगानी कर्ताको हितलाई ध्यनजर गरेर नै कार्य गर्ने गर्दछौं । उत्पादन मुलक क्षेत्रको नियामक निकाय छैन । यस्तो कम्पनीको सुशासन र पारदर्शिता राम्रो हुँदैन भन्ने धारणा सर्वसाधारणमा छन् । यस कम्पनीको सुशासन र पारदर्शिता कसरी कायम हुन्छ ? विगतआठ वर्षदेखि यो उद्योग चलाएका छौं । यो कम्पनी योग्य, अनुभवि एवं दक्ष प्रोफेशनलहरुले चलाएका छन् । कम्पनीमा पावर डिसेन्ट्रलाईजेशन भएको छ । आयव्यय सबै पारदर्शी छ । ठूला कम्पनीहरुलाई आन्तरिक राजस्व कार्यालयबाट हरेक आर्थिक वर्षको आर्थिक गतिविधिलाई कर परीक्षण गरी फूल अडिट गरेका हुन्छन् । हाम्रो जस्ता उद्योग क्षेत्रको निगमन र अनुगमन गर्ने थुप्रै निकायहरुले प्रभावकारी रुपमा अनुगमन र निगमन गर्ने गरेका हुन्छन जस्तै उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, वन तथा वातावरण विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, उपभोक्ता हित तथा संरक्षण विभाग लगायतका निकायहरुको नियमित अनुगमन र निरीक्षणका कारण कम्पनीले सबै ऐन, नियम अनुसार मात्र कार्य गर्ने हुंदा नियामक निकाय छैनन् भन्ने होइन । दोस्रो हामी पव्लिक लिमिटेड कम्पनी भएकाले सबै काम कुराहरु आर्थिक अनुशासनमा रहि पारदर्शी तरिकाले गर्ने गरेका छौं । कम्पनीलेआफ्नो वेवसाइटमा जम्मा तीन पेजको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । यति ठूलो कम्पनीले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अपनाएको देखिदैन, किन ? धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएपछि वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छौं । शेयर निष्कासनसम्बन्धि विवरण पत्र सहितका विस्तृत विवरणहरु हामी छिट्टै सार्वजनिक गर्दैछौं । कम्पनीले यस वर्ष देखि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) पद्दति अनुसार वित्तिय विवरण तर्जुमागर्ने योजना गरेका छौं ।
सीभन्दा कम ग्रेड ल्याउने विद्यार्थीले विज्ञानबाहेक सबै विषय पढ्न पाउछँन्- खवराज बराल
खवराज बराल, सचिव–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एसईईपछि विद्यार्थीहरु के पढ्ने भनेर सोचिरहेको छन्, उनीहरुलाई तपाई के सुझाव दिन चाहानुहुन्छ ? विद्यार्थीले आफ्नो क्षमता बुझ्नु पर्छ । पढ्ने विद्यार्थीले हो । अभिभावकले पढ्ने होइन । आफूलाई रुची छ कि छैन ध्यान दिनु पर्छ । जस्तो गणित, विज्ञान लगायतको विषय आफूलाई कतिको सजिलो लाग्छ । त्यो हिसाबमा विद्यार्थीले आफैले आफैलाई चिन्नु पर्छ । आफूलाई सजिलो नलाग्ने विषय विद्यार्थीले छानेर अघि बढ्नु सही हुन्न । सजिलो रुचिकर बिषय छनौट गर्नु राम्रो हो । विद्यार्थीहरुले शैक्षिक संस्था कसरी छान्ने ? मुलुकभर विभिन्न किसिमका विद्यालय र कलेज छन् । विदेशी विश्वविद्यालयाबाट सम्बोधन प्राप्त विद्यालयहरु पनि छन् । उनीहरुसँग स्वदेशी, विदेशी दुवै कोर्ष हुन्छ । विद्यालय छान्ने सन्दर्भमा खर्चको कुरा पनि छ । निजी कलेजहरु केही महँगो छन् । उनीहरुले दिने सुविधाहरुमा केही फरकपन छ । अहिलेको विद्यार्थीको क्षमतामा पनि भर पर्छ । कतिपय कलेजहरुमा छात्रवृद्धिको सुविधा हुन्छ । त्यसबेला विद्यार्थीहरुले छात्रावृद्धिको लागि प्रतिस्पर्धा गर्न सक्ने छन् भने त्यस्ता कलेज विद्यार्थीको लागि अवसरको रुपमा रहन्छ । अहिलेकालाई कलेज भने पनि वास्तवमा सबै विद्यालय नै हुन् । अहिले पढाउने १२ कक्षासम्म हो । मेरो बिचारमा विद्यार्थीहरुले प्रचार, प्रशार तथा विज्ञापनको पछि लाग्नु हुदैन । उनीहरुको प्रचार सामाग्रीका आधारमा यो राम्रो विद्यालय अर्को नराम्रो भनेर छुट्याउन सकिन्दैन । तपाईले अघि भन्नुभयो कि सरकारी र निजी क्षेत्रको उच्च विद्यालयमा शिक्षामा केही फरक छ । फरक कति हुन्छ र कुन बढी राम्रो हो ? ११ र १२ को पाठ्यक्रम एउटै हो । पाठ्यपुस्तक उस्तै हो । पढाउने मोडालिटी, मेथोलोजी लगायतमा फरक होला । तर कन्टेन्ट त एउटै हो । परीक्षा राष्ट्र परीक्षा बोर्डले नै दिएको हो । कस्तो स्कूलहरुमा स्कलरशीप पाइन्छ ? स्कलरसिप पाउनको लागि के कस्तो विधि प्रक्रिया पुरा गर्नुपर्छ ? स्कलरशीप विद्यार्थीहरुले नै खोज्नुपर्छ । विगतमा सरकारले १० प्रतिशत स्कलरशीप राखेको थियो । त्यसको लागि उच्च माध्यमिक शिक्षा परिषद, शिक्षा विभागले परिक्षा सञ्चानल गर्थ्यो । त्यो अनुुसार अगाडी बढ्थ्यो । अहिले चाहीँ स्कलरशीप स्थानीय तहबाट गर्ने अथवा पुरानो पद्दतिले गर्ने निर्णय हुन बाँकी छ । हामी छिट्टै निर्णय गर्दैछौं । उक्त स्कलरशीप भनेको सामूदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै हो । संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भने त्यस खालको सुविधा छैन । कतिपय ११/१२ पढाउने संस्थाहरुले उनीहरु आफैले स्कलरशीपको व्यवस्था गर्छन् । उनीहरुले थोरैदेखि बढी अंक आएकालाई विभिन्न खालको स्कलरशीप खुलाउने गर्छन् । दुर्गम ठाँउबाट आएका लगायतको लागि समेत छुट्टै स्कलरशीप दिने प्रचलन छ । त्यस्तो कुरा बुझेर स्कलरशीप खोज्नु पर्छ । अहिले कक्षा ११ र १२ पढाउने सकारी विद्यालयहरु कति छन् ? हाल ३ हजारभन्दा बढी विद्यालयहरुलाई ११/१२ कक्षा पढाउनलाई अनुमति दिएका छौं । त्यसमा संस्थागत तथा सामूदायिक दुवै किसिमका विद्यालयहरु छन् । प्लस टुबाट शुरु गरेर व्याजलर, मास्टर लेबलमा बढाउने कलेजहरु पनि ५०/६० वटा कलेज पनि छन् । तपाई विद्यार्थीहरुलाई सरकारी विद्यालयलमा पढ्न सुझाव दिनुहुन्छ कि निजी विद्यालयमा ? तपाईको यो प्रश्न नै गलत भयो । यस्तो विषयमा हामीले बोल्न मिल्दैन । एसईई पढिसकेपछि कलेज पढ्ने कि स्कुल पढ्न जाने भन्ने दुविधा देखिन्छ । पत्रपत्रिकामा विज्ञापन हेर्ने हो भने ११ को भर्नाको लागि स्कूलहरुले पनि विज्ञापन गरेका छन्, कलेजहरुले पनि विज्ञापन गरेको छ । पत्रपत्रिका हेर्दा ११ कक्षाको पढाई स्कूलमा हुने हो कि कलेजमा हुने हो भन्ने दुविधा देखियो नि, किन यस्तो भयो ? केही कलेजहरुले कक्षा ११/१२ मात्र चलाउन अनुमति पाएका छन् । उनीहरुलाई कि कक्षा १ देखि नै पढाउन थाल्नुहोस्, कि स्कूल तहको कक्षा बन्द गर्नुहोस भनेर सरकारले भनेको छ । तर त्यो टुंगीएको छैन । अझै बाँकी नै छ । कक्षा ११/१२ शिक्षा भनेको स्कूलतहको शिक्षा नै हो, कलेज तहको शिक्षा होइन । तर कलेजहरुले ११ कक्षामा भर्ना खुला भयो भनेर राष्ट्रिय स्तरको पत्रपत्रिकाको सूचनाहरु प्रकाशित गरिरहेका छन् । ती शैक्षिक संस्थामा पढ्ने विद्यार्थीले कलेज पढेको अनुभूति गर्ने कि स्कूल पढेको अनुभूति गर्ने ? सञ्चार माध्यमले सत्य तथ्य कुरा बाहिर ल्याइदिनु पर्यो । त्यो ११/१२ कक्षा पढाईलाई प्लस टु एजुकेशन पनि भनिदैन । कलेज पनि होइन । त्यो उच्च माध्यमिक विद्यालय हो । कक्षा ११ र १२ पढ्नको लागि राजधानी बाहिर शैक्षिक संस्थाको उपलब्धता कति छ ? कति विद्यार्थी स्कूल तहको पढाईका लागि पनि राजधानी नै आउनु पर्ने वाध्यता छ ? के ११/१२ पढ्न काठमाडौं नै आउनु पर्छ भन्ने छ र ? अघि नै पनि भनिसके देशभर सो तह पढाउने विद्यालयहरु पर्याप्त छन् । काठमाडौं खासै आउदैनन् । अहिले करिब ११ कक्षामा पढ्ने विद्यार्थी काठमाडौंमा ३ लाख ५० हजार जना छन् । त्यस्तै १२ पढ्ने विद्यार्थीहरु पनि साढे २/३ लाखकै हाराहारीमा छन् । स्वभाविक रुपमै काठमाडौंमा ११/१२ कक्षा पढाउने विद्यालयहरु बढी छन् । जनसंख्या ५० लाख रहेकोले पनि त्यतिका संख्यामा विद्यार्थी हुनु स्वभाविकै हो । बाहिर विज्ञान पढाउने विद्यालयहरु धेरै नभएको भएर पनि काठमाडौंमा पढ्न आएका हुन् । दुर्गम ठाँउमा विज्ञान पढाउने शिक्षकको अभावको कारण विज्ञान पढ्ने चाहनाको कारणले काठमाडौं अथवा पोखरा जस्ता सहरहरुमा गएको देखिन्छन् । त्योसँगै विराटनगर, वुटवल, चितवन लगायतमा पनि विद्यार्थीको चाप त्यतिकै बढी छ । सीभन्दा तलको ग्रेड पाएका विद्यार्थीहरु अब कसरी अघि बढ्ने ? तिनीहरुको लागि ग्रेडबृद्धि परिक्षाको लागि योजना छ । उहाँहरुले ग्रेडबृद्धिको परिक्षा दिनुपर्छ । सी प्लस गणित र विज्ञानमा ल्याउनुभयो भने विज्ञान पढ्न पाउनुहुन्छ । अरु केही रोकावट छैन । सी ग्रेडभन्दा कम भएका विद्यार्थी ११ कक्षामा भर्ना नै हुन नपाएको गुनासो पनि नि ? भर्ना नलिने भन्ने होइन । मापदण्डभन्दा कम छ भने चाहीँ नलिन सक्छ । अर्को प्रवेश परिक्षा लिने हुदा सो परिक्षा उत्तिर्ण नगर्दा विद्यार्थीको छनौट प्रक्रियाको आधारमा नलिने हो । ग्रेट सीभन्दा तलकाले अघि बढ्न नपाउने भन्ने होइन विज्ञान मात्र पढ्न नपाउने हो । पढ्ने अरु धेरै विषय छन् । विज्ञान तथा गणितमा साइन्स पढ्न चाहनेले सी प्लस ल्याउनुपर्छ । त्यसको लागि अघिनै पनि भने पूरक ग्रेडवृद्धि परिक्षाको व्यवस्था गरिएको छ । त्यहाँ उहाँहरुले भाग लिइ आवश्यक स्कोर लिएर अघि बढ्न सक्नुहुन्छ ।
शिक्षामा दोष छैन, व्यवसायिक वातावरण ठिक हुनुपर्यो- दीपिका थापा
करिव २० वर्षअघि भक्तपुरको गट्ठाघरमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्दाको समयबाट आजको दिनसम्म अनेकौं आरोह अवरोह पार गर्दै अघि बढेकी जुझारु महिला दीपिका थापासँग स्कूल सञ्चालनको सुरुवाती समयमा उनले भोगेका तितामिठा अनुभवका साथै नेपालको स्कूल तहमा आवश्यकिय शिक्षा र विद्यार्थीलाई प्रविधिमैत्री बनाउन उनको स्कूलले गरिरहेको क्रियाकलाप लगायतका विषयमा देशविकासका राजाराम न्यौपानेले गरेको कुराकानी । दीपिका थापा, प्रिन्सिपल, सिद्धार्थ विद्यापिठ सेकेण्डरी बोर्डिङ्ग स्कूल कस्तो परिवेशमा तपाईले सिद्धार्थ विद्यापिठ स्कूल स्थापना गर्नु भएको हो ? मैले १५ वर्षको उमेरदेखि नै शिक्षण पेसा शुरु गरेकी हुँ । साना नानीहरुलाई पढाउँदै जाँदा समयक्रम सँगै मैले आफ्नै स्कूल खोल्ने सोच बनाउन थालेको थिएँ । ५ अलग अलग विद्यालयबाट शिक्षिकाको रुपमा प्रशस्त अनुभव बटुलेपछि २०५६ सालमा यस स्कूलको स्थापना गरेकी हुँ । स्कूल सञ्चालन गर्ने योजना सुनाउँदा साथीभाइ, आफन्त लगायतले महिलाले धेरै ठूलो सोच बनाउँदा असफल भइन्छ भनिरहन्थे । तर म पहिलेदेखिनै अलि जिद्धि स्वभावको भएकोले होला सहि काम गर्नमा महिला अथवा पुरुष भन्ने कुराले केहि फरक पार्दैन भन्ने धारणा बनाएँ अनि आफ्नो सपनालाई मलजल गर्दै गएँ । फलस्वरुप २०५६ सालमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्न सफल भएँ । सिद्धार्थ विद्यापिठ अन्य स्कूलहरुभन्दा के कारणले फरक भएको छ ? हरेक विद्यालयले पढाइलाई नै फोकस गर्ने गर्दछन् र हामीले पनि त्यही नै गरेका छौँ । त्यसैगरी विद्यार्थीहरुलाई पढाइका साथसाथै नृत्य, गायन, वादन लगायतको ज्ञान दिनु त सामान्य नै भइसक्यो । तर आज यस मानेमा हामी अन्य स्कूलहरु भन्दा फरक भएका छौं कि हामी आउँदो युग टेक्नोलोजीको युग हुनेछ भन्ने कुरालाई विशेष ध्यान राख्दै हाम्रा विद्यार्थीहरुलाई टेक्नोलोजीको पनि आवश्यकय ज्ञान दिने गर्दछौं । यस अन्तर्गत भिब्ग्योर नेक्स्ट जेन प्रोग्राम्स्का ६ अलग अलग विषयहरुको ज्ञान हाम्रा विद्यार्थीहरुले स्कूल लेभलमै हासिल गरिरहेका छन् । ती ६ विषयहरुमा लाइफ स्किल्स क्लासेज, आर्ट एण्ड डिजाइन क्लासेज, फोटोग्राफी एण्ड सिनेमेटोग्राफी, रोबोटिक्स एण्ड टेक्नोलोजी क्लासेज, इमर्सिभ मिडिया क्लासेज र एनिमेसन एण्ड भिजुअल इफेक्ट्स क्लासेज रहेका छन् । यस्तो फरक किसिमको कक्षा सञ्चालनले तपाईंका विद्यार्थीहरुमा कस्तो किसिमको परिवर्तन ल्याएको छ ? हाम्रो विद्यालयमा दिइने फरक तथा जीवनोपयोगी शिक्षाको एकदम राम्रो प्रभाव विद्यार्थीहरुमा परेको हामीले पाएका छौं । उनीहरुमा सकारात्मक सोच राख्ने र सिर्जनात्मक हुने कला विकास हुँदै गइरहेको छ । पहिलेका विद्यार्थीहरुले पनि कार्टुन हेर्ने गर्थे र अहिलेकाहरुले पनि हेरिरहेका छन् । तर पहिलेका विद्यार्थीहरुले मनोरञ्जनका लागि मात्र हेर्थे भने अहिले हाम्रा विद्यार्थीहरुले कार्टुन हेर्ने मात्र नभई बनाउन पनि सिकिरहेका छन् । त्यसैगरी उनीहरुले कम्प्यूटरमा गेम खेल्ने मात्रै नभई गेम कसरी बनाएको छ भनेर पनि ज्ञान हासिल गरिरहेका छन् । स्कूल नजाने भन्दै बहाना बनाउने बच्चाहरु पनि खुशी हुँदै स्कूल जान हतारिन्छन् भन्ने कुरा अभिभावकहरुको भनाई छ । यसका साथै बोल्ने किताबका माध्यमबाट पनि पढाइने हुँदा विद्यार्थीहरु उत्सुकताका साथ कक्षामा सहभागि हुने गर्दछन् । वेलावेलामा हामीले सिकाएका विषयहरुको बारेमा विद्यार्थीका अभिभावकलाई पनि जानकारी दिने गरेका छाैँ। जसका कारण अभिभावकहरु पनि आफ्नो बच्चाको भविष्यको कुरालाई लिएर धेरै नै ढुक्क हुनुभएको हामीले पाएका छौं । बोल्ने किताब भनेको के हो ? बोल्ने किताब पनि अन्य किताबजस्तै हुन्छ । हाम्रो आँखाले त्यसलाई छुट्याउन सक्दैन । त्यो किताव नदेखिने चिप्सको सहायताले बोल्ने गर्दछ । यसका लागि विशेष प्रकारको कलमले त्यो किताबमा छुनुपर्ने हुन्छ । किताबमा भएको अक्षरमा कलमले छुँदा त्यहाँ लेखिएको कुरा शब्दमा उच्चारण हुन्छ । त्यतिमात्र नभई त्यहाँ दिइएका जनावरहरुको चित्रमा छुने हो भने त सो जनावर कराएको आवाज पनि आउने गर्दछ । बोल्ने किताबबाट पढ्दा विद्यार्थीहरुलाई के फाइदा भएको छ ? हामीले विदेशबाट यस्ता किताब ल्याएर विद्यार्थीहरुलाई सिकाइरहेका छौँ । किन्न सक्ने क्षमता भएका विद्यार्थीहरुले बोल्ने किताव वास्तविक मूल्यमै किनेर लगेका छन् । तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई भने हामीले सो किताब थोरै मुल्यमै उपलब्ध गराएका छौं । बोल्ने किताबबाट पढ्नाले गर्दा विद्यार्थीहरुले विभिन्न शब्दहरुलाई सहि उच्चारण गर्न सिकेका छन्, अनेकौं जनावरहरुको आवाज प्रत्यक्ष सुन्न पाएका छन् । यसका साथै किताब कसरी बोल्न सक्छ भनेर हामीले विस्तारमा बताइदिने भएकोले गर्दा उनीहरुलाई टेक्नोलोजीबाट असीमित कुराहरु निर्माण गर्न सकिने रहेछ भन्ने पनि ज्ञान प्राप्त भएको छ । अंग्रेजी, नेपाली लगायत अन्य विभिन्न भाषाहरुमा समेत सो किताब बोल्ने भएकाले विद्यार्थीहरुलाई अन्य भाषाहरुको सामान्य ज्ञान हासिल गर्न पनि सजिलो भएको छ । यस्तो विधिबाट हुने पढाईको लागि विद्यार्थी शुल्क निकै महँगो छ कि ? होइन, त्यस्तो विल्कुल छैन । हाम्रो पढाउने तरिकाको तुलनामा मासिक शुल्क निकै नै सस्तो छ । यहाँ एक पटक भर्ना भएको विद्यार्थीले अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन । त्यसैगरी विद्यार्थी भर्ना गर्ने बेलामानै हामीले टेस्ट लिएर विद्यार्थीको लेबल छुट्याउने गर्दछौं । ए ग्रेड ल्याउने विद्यार्थीलाई निशुल्क भर्ना, बी ग्रेड ल्याउनेलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट र त्यसैगरी सी ग्रेड ल्याउनेलाई मात्र पुरै भर्ना शुल्क लाग्ने गर्दछ । सी ग्रेड ल्याएका विद्यार्थीहरुलाई हामीले धेरै मेहनत गर्नुपर्ने भएकोले पनि यस्तो भएको हो । झट्ट हेर्दा केहि मंहगो देखिए पनि प्रविधिको प्रयोग गरेको हिसावमा यो धेरै नै सस्तो हो । नेपाली विद्यार्थीहरु राम्रो शिक्षा प्राप्त गर्नका लागि विदेश जान हतारिएका देखिन्छन् । के नेपालमा शिक्षा वास्तवमै कमजोर हो ? मलाई लाग्छ, हाम्रो देशमा शिक्षाको स्तर नराम्रो भएर विद्यार्थीहरु विदेश गएका होइनन् । बरु यहाँ शिक्षा अनुकुल रोजगारी नभएकोले, लागानीमैत्री वातावरण बन्न नसक्नाले, रोजगारमूलक पाठ्यक्रमको अभाव भएकोले र त्यसैगरी विद्यालय तथा घरपरिवारबाट पनि राष्ट्रप्रेमको पाठ नपढाइएकोले गर्दा पनि उनीहरुले विदेश तिरै गएर थप शिक्षा आर्जन गर्न खोजेका हुन् । शिक्षा क्षेत्रमा तपाईंको सफलताको अनुभव कसरी बाँड्न चाहनुहुन्छ ? म सफल हुनुमा मेरो जिद्धिपना नै प्रमुख कुरा हो । मलाई लाग्छ कोहि मान्छे सफल हुनका लागि उसले आफ्नो कामलाई निरन्तरता दिनु पर्छ । हाम्रो समाजले अहिले पनि धेरथोर मात्रामा छोरा र छोरीमा भेदभाव गरिरहेकै छ । मैले स्कूल स्थापना गर्दाको समयमा त झन् छोराले धेरै पढ्ने र ठूलो काम गर्नुपर्छ तर छोरीले भने घरपरिवार राम्रोसँग चलाउन जान्नुपर्छ भन्ने चलन व्यापक थियो । त्यस्तो परिस्थतिलाई चिर्दै मैले यो स्कूल स्थापना गर्न सकें । आजका महिलाहरु पनि पढाइमा अव्वल बन्दै गएको र हरेक क्षेत्रमा आत्मविश्वासका साथ अघि बढेको देख्दा साहै्र खुशी लाग्छ । हाम्रो देशमा एकदम धेरै सम्भावनाहरु छन् । त्यसैले आफूलाई मनपर्ने क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गर्दै अनि अध्ययनलाई पनि सँगसँगै अघि बढाउँदै जाने हो भने एकदिन अवश्य पनि सफल भइन्छ र देशको नाम उँचो बनाउन सकिन्छ भनी म सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु र त्यसैगरी अभिभावकहरुलाई पनि म के भन्न चाहन्छु भने आफ्ना घरमा बच्चाहरुलाई हप्काएर, डर देखाएर पढ्नमा मात्र दवाव दिइरहनु हुँदैन । यसले उसमा भएको सिर्जनात्मक क्षमतामा ठूलो ह्रास ल्याउन सक्छ ।