अल्फाविटाको ४९ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्दैछौं- द्विराज शर्मा
अल्फाविटा नेपालको पुरानो र अग्रणी एजुकेशन कन्सल्टेन्सी हो । २७ वर्ष पुरानो यस कन्सल्टेन्सीबाट ४० देशका २५० भन्दा बढी कलेजमा हरेक वर्ष हजारौंको संख्यामा विद्यार्थीहरुले शैक्षिक परामर्श सेवा लिइरहेका छन् । अल्फाविटालाई विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श सेवा दिने कम्पनी बनाउने र त्यसलाई पब्लिक लिमिटेड कम्पनी बनाउने सोचका साथ काम अगाडि बढिरहेको बताउने अल्फाविटा ग्रुपका कार्यकारी अध्यक्ष द्विराज शर्मासँग सीमापारीको शिक्षाको महत्वको साथै अल्फाविटाको भावी योजनाबारे गरिएको विकास वहस यस पटक । कार्यकारी अध्यक्ष, अल्फाविटा ग्रुप २७ वर्षअघि अल्फाविटा एजुकेशन कन्सल्टेन्सीको स्थापनाको सोच कसरी आयो ? यस संस्थाको स्थापनाको क्रममा जोडिएको एउटा ऐतिहासिक पक्ष म जोड्न चाहान्छु । मेरो बुबा शिवप्रसाद शिवाकोटी झापा विद्रोहमा क्रियाशिल हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनाली सबै राजनीतिमा सँगै हुनुथ्यो । २०२८ सालमा उहाँलाई राजद्रोह मुद्दा लाग्यो । २०२९ सालमा उहाँ भारत निर्वासित हुनुभयो । झापामा भएको हाम्रो सबै सम्पत्ति राष्ट्रिय करण भयो । २०४६ सालको आन्दोलनपछि हामी सहपरिवार नेपाल फर्कियौं । बुबाविरुद्ध लागेको राजद्रोहको मुद्दा फिर्ता भयो । सरकारले क्षतिपूर्ति स्वारुप ५ लाख रुपैयाँ हामीलाई दियो । साथै बुबाको काकाको छोरा गंगा उप्रेति (हाल प्रज्ञा प्रतिस्ठानको उपाध्यक्ष) ले केही रकम सापटी दिनुभयो । त्यहि पैसाले दाई युवराज शर्माको अगुवाईमा एल्फाविटा शुरु गरिएको हो । त्यतिबेला कन्सल्टेन्सी थिएन । कोचिङ, ट्युसन, ट्राभल्स् एण्ड टुर गाईड, टिकेटिङ, कम्प्यूटर ट्रेनिङ हुन्थ्यो । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पनि अल्फाविटामा नै कम्प्यूटर सिक्नु भएको हो । कोचिङमा पनि साइन्सको कोचिङ बढी पढाउने उदेश्यले अल्फाविटा नाम राखिएको थियो । पुरुषोत्तम विष्टले नाम जुराउनु भएको । हामी त्यतिबेला पार्टरन थियौ । अहिले सबै पार्टनरहरुले छोड्नु भयो र म एक्लै छु । तपाई यस कन्सल्टेन्सीको व्यवसायमा केन्द्रीत हुनुको कारण ? म सन् १९९६ मा भारतबाट नेपाल आएको थिएँ । ६ महिना दाईले शुरु गरेको व्यवसायमा सहयोग गरे । त्यसपछि पढ्न सिंगापुर गएँ । मार्केटिङ, पब्लिक सिलेशनमा पोष्ट ग्राजुएट गरेँ । मलाई सिंगापुर लैजान अञ्जना दिदी (सरदचन्द्र शाहको श्रीमती) ले सहयोग गर्नु भएको थियो । सिंगापुरमा मेरो एक जना साथी फुतुफुतु नेपाल आउने र सिंगापुर जाने गरेको देखेँ । मलाई एक पटक घर (नेपाल) आउन पनि धेरै गाह्रो हुने । पछि मैले थाहा पाएँ उनी नेपाली विद्यार्थीलाई सिंगापुरमा भिसा मिलाउने काम गर्दा रहेछन्, त्यसैबाट राम्रो पैसा आम्दानी हुँदो रहेछ । मैले सोचेँ –म त झन् सिंगापुरमा नै बसेर पढेको । मेरो चिनजानको नेटवर्क झ्न ठूलो छ । अर्काको देशमा पीआर, सिटिजनसिपको लागि संघर्ष गर्नुभन्दा नेपालमा नै फर्कन्छु भनेर सोचे । मैले मेरो परिवार पनि मिस गरिरहेको थिए । दाजुभाई पनि सँगै बस्न नपाउने । मेरी श्रीमती, त्यतिवेलाकी गर्लफ्रेड पनि काठमाडौंमा नै बस्ने । सन् २००१ मा मैले काठमाडौं फर्कन निर्णय गरेँ । काठमाडौं फर्कदा मसँग ५०० डलर थियो । त्यतिबेला दाई युवराजले डनबस्को कलेजलाई बढी समय दिनुभएको थियो । अल्फाविटा बेच्यो भने पाँच लाखमा पनि नबिक्ने अवस्थामा थियो । मैले शुरुमा सिंगापुर विद्यार्थी पठाउन थाले । पछि चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया हुँदै अहिले करिव १५ देशका २५० वटा यूनिभर्सिटीमा विद्यार्थी पठाउँछौं । उनीहरुले हामीलाई विश्वास गरेका छन्, उनीहरुको एजेन्टको रुपमा हामीले काम गरिरहेका छौं । सिंगापुर पढ्दा काठमाडौंमा गल्फ्रेड कसरी बनाउनु भयो ? मञ्जु ओली (हाल शर्मा)लाई मैले डनबस्कोमा भेटेको । उनीकी बहिनी त्यहाँ पढ्थिन, बहिनीसँगै आउँदा उनलाई चिनेको । पछि हाम्रो सम्बन्ध राम्रो भयो । पछि उनले डनबस्कोमा पढाइन पनि । विवाह भएपछि हामी काम पनि सँगै गर्न थाल्यौ । आँट थियो भएङ्कर । दुबै जना मिलेर काम गर्न थालेपछि संस्था पनि बलियो भयो । उनी हाल अल्फाविटामा प्रबन्ध निर्देशकको भूमिकामा छिन् । तपाईहरु दुई जनाको प्रेम र व्यापार सँगै मौलाएछ, होइन ? हो । हामी सँगै अगाडि बढेका छौं । हाम्रो ग्रोथ अर्गानिक छ । हामी अहिले पनि विगतको समिक्षा गर्छौ । मञ्जुले ममा अलि परिवर्तन आएको बताउँछिन् । म एरोगेन्ट भए रे, अरुलाई नटेर्ने, अलि अप्ठ्यारो, अलि बढी रिसाउन थालेको छु रे म । रिसाउने घरमा कि अफिसमा ? यस्तो भयो, जिम्मेवारी बढ्यो । प्रेसर हुन्छ । कम्पनीको ग्रोथसँगै हाम्रो सोच पनि परिवर्तन हुनुपर्यो । १५ वर्षअघिको सोचले त अफिस चल्दैन । संस्थागत किसिमले जानुपर्यो । हामी भन्दा धनीका छोराछोरी हाम्रो अफिसमा आएर काम गरेका हुन्छन् । उनीहरुको सोच अनुसार हामी परिवर्तन हुनुपर्यो । ५०० सय डलर (२५÷३० हजार रुपैयाँ) बाट शुरु भएको यो व्यवसाय अव त धेरै अगाडि बढिसक्यो । अल्फाविटाको अहिलेको भ्यालु कति हो ? त्यो हिसाव नै गर्नुपर्छ । अल्फाविटाको ब्राण्ड भ्यालु पनि करोडौंको हुन्छ । जग्गा, भवन लगायत सम्पत्तिको मूल्य पनि धेरै हुन्छ । करिव १० अंकमा होला । त्यसमा बैंकको ऋण पनि हुन्छ । वार्षिक व्यापार कति हुन्छ ? अल्फाविटा कन्सल्टेन्सी मात्र होइन, बैंङकेट छ, यससँग सम्बन्धित अरु विजनेश पनि छन् । राम्रो छ, ग्रोथ छ । पहिला हामी पाँच दाजुभाईको सँगै लगानी थियो । ठूलोदाई भीष्मले म्यानपावर कम्पनी चलाउनुहुन्छ । माइलोदाई र यूवराज दाईले ह्वाइटहाउस कलेज, स्कूल चलाउनु हुन्छ । कान्छो भाईले अष्ट्रेलियमा कलेज चलाउँछ । अहिले अल्फाविटा मैले मात्र हेर्छु । कामको प्रेसर मलाई बढी छ । ४ अंकको व्यापारलाई १० अंकमा पुर्याईसक्नु भयो । अब किन प्रेसर लिने ? धनी भएपछि, ठूलो व्यवसाय गरेपछि आनन्द हुनुपर्ने होइन र ? बजारमा प्रतिस्पर्धा छ । निश्चित टार्गेट लिएर काम गर्नुपर्छ । टार्गेट पूरा गर्ने प्रेसर हुन्छ । प्रविधिमा ठूलो परिवर्तन आएको छ । अष्ट्रेलियाको कलेजले काठमाडौंबाट अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई सोझै तान्न सक्छ । एकसे एक स्र्माट केटाहरु बजारमा आएका छन् । सिगापुरबाट म नेपाल फर्कदा विदेशबाट नेपाल फर्कने म मात्र हुँ कि जस्तो लाग्थो । अहिले धेरै नेपाली विदेशमा टन्नै पैसा कमाएर नेपाल आएका छन्, उनीहरुले लगानी गरिरहेका छन् । धेरै पैसा कमाउनेहरु आक्रामक रुपमा लगानी गर्छन् । पैसा धेरै कमाएपछि हौसिएर लगानी गर्न आउनेहरु अन्तिममा डुब्ने नै हुन् । तर उनीहरुले बजार विगार्छन् । त्यसको नकारात्मक असर हामीले पनि बेहोर्नुपर्छ । यी चुनौतिहरु मैले देखेको छु । साथै मैले अरु धेरै काम गर्नुछ । तपाईको कर्पोरेट ड्रिम के हो ? अल्फाविटालाई यस क्षेत्रको अग्रणी र नमूना संस्था बनाउन चाहान्छु । यो कम्पनीमा शुरुमा बुबाको लगानी रह्यो । दाईले काम शुरु गर्नुभयो । अहिले मैले यो कम्पनी समालेको छु र कम्पनी राम्रो भईरहेको छ । यो कम्पनी अझै बलियो र राम्रो होस् भन्ने सोचसहित यस कम्पनीलाई पब्लिक कम्पनी बनाउने योजना बनाएको छु । वार्षिक ५० करोडभन्दा बढीको कारोबार हुन थालेपछि ५१ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सोच छ । ४/५ वर्षभित्र तपाई पनि यो कम्पनीको सेयरधनी बन्न सक्नुहुन्छ । पब्लिक कम्पनी बनाउने उदेश्यले यस कम्पनीको संस्थागत विकास गर्न, कम्पनीलाई पारदर्शि र विश्वसनिय बनाउन गर्नुपर्ने कामहरु थालिसकेको छु । करमा क्लियर हुने, डकुमन्टेहरु सहि तरिकाले बनाउने, राख्ने काम थालिसकेको छु । त्यसबाट आएको पैसाले होटल वा सिमेन्ट उद्योगमा लगानी गर्ने सोच बनाईरहेको छु । तपाई शिक्षा क्षेत्रमा भिजेको मान्छे, देश विदेशको शिक्षा बुझेको मान्छे । तर अल्फाविटाको सेयर बेचेपछि त्यो पैसा किन होटलमा वा सिमेन्टमा लगानी गर्ने ? किन नेपालमा अन्तराष्ट्रिय स्तरको स्कूल वा कलेज खोल्न लगानी नगर्ने ? किन विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउने वातावरण नबनाउने ? त्यो पनि गर्ने मेरो मन छ । तर मलाई के पनि लाग्छ भने शिक्षामा भन्दा होटलमा वा उत्पादन मुलक क्षेत्रमा लगानी गर्यो भने त्यसमा बढी राम्रो गर्न सक्छु । फेरि मलाई के थाहा छ भने शिक्षा क्षेत्रमा पैसा कमाउन सकिदैन । नयाँ नयाँ लगानी गर्दै जानुपर्छ । उद्योगबाट पैसा कमाइन्छ । बरु उद्योगबाट राम्रो पैसा कमाईयो भने त्यसपछि शिक्षा क्षेत्रमा लगानीगर्दा राम्रो हुन्छ । त्यसले इज्जत पनि दिन्छ । हो, शिक्षा क्षेत्रमा गरिएको लगानीलाई इज्जतसँग जोडेर हेरिन्छ । तर नेपालका एजुकेशन कन्सल्टेन्सीहरुले धनीका छोराछोरी र अलि बढी क्षमता भएका युवालाई एजुकेशन भिषाको नाममा विकशित देश पठाउने तर वास्तविक अर्थमा म्यानपावरको भूमिका खेल्छन् भन्ने आरोप पनि लागेको छ नि ? नबुझेका मान्छेहरु त्यस्तो भन्छन् । बरु समस्या कहाँ छ भने ९० प्रतिशत एजुकेशन कन्सल्टेन्सीहरु विद्यार्थीको करिअर काउन्सिलिङ गर्दैनन्, कलेज काउन्सिलिङ गर्छन् । अधिकांश एजुकेशन कन्सल्टेन्सी सञ्चालकको छ भने उनीहरु विदेशमा पढ्न जान प्रयास गरे, तर भिषा पाएनन् । अलिअलि मेसो बुझे, अनि आफै एजुकेशन कन्सल्टेन्सी खोले । त्यहाँभित्र समस्या छ । तर मलाई कसैले तपाईले भनेजस्तो आरोप लगाउँछ भने म उसलाई मुखभरी जवाफ दिन्छु । अल्फाविटाको कुरा गर्नुहुन्छ भने यहाँ काम गर्ने अधिकांश कर्मचारी अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत देशमा पढेर नेपाल फर्केकाहरु छन् । म आफै विदेशमा पढेर आएको हुँ । हामीले विदेश पठाएका विद्यार्थीहरुको करिअर विग्रेको हामीले देखेका छैनौ । त्यही भएर हामीकोमा विद्यार्थीहरुको भीड लाग्छ । पढ्नका लागि विदेश नै किन जानु पर्ने ? विदेशका विश्वविद्यालयहरुको क्रेडिविलिटी बढी हुन्छ । विदेशमा पढ्दा धेरै देशको साथीहरु हुन्छन् । त्यो नेपालको क्लासमा पाइदैन । म पनि सिंगापुरमा बसेर नपढेको भए लाटो नै हुन्थे होला । त्यहाँ मैले धेरै देशका साथीहरुसँग संगत गरे । उनीहरुबाट मैले धेरै कुरा सिकेँ । नेपालीहरु विदेशमा पढ्न जानुलाई ब्रेन ड्रेन भनेर आलोचना गरिन्छ । त्यो मूर्खहरुले गर्ने आलोचना हो । विदेश जानु भनेको ब्रेन गेइन गर्नु हो, ब्रोन ड्रेन होइन । नेपाललाई माया गर्नको लागि नेपाल नै बस्नुपर्छ भन्ने छैन । अमेरिका वा युरोप जहाँ बसेर पनि नेपालको हितमा काम गर्न सकिन्छ । नेपालमा बसेर अमेरिकाको कम्पनीको काम गर्न सकिन्छ । आफ्नो छोराछोरीको भविष्यबारे के सोच्नु भएको छ ? दुई छोरी र एक छोरा छन् । उनीहरु नेपालमा नै पढिरहेका छन् । तर उनीहरुलाई मैले विदेश देखाएको छु, घुमाएको छु । उनीहरुले विदेशको सुखदुःख सबै देखेका छन् । उनीहरु पढ्न विदेश गए पनि काम नेपालमा नै गर्छन । मैले छोराछोरीलाई भनेको छु कि देशलाई आवश्यक पर्यो भने एक जना राजनीतिमा पनि जानुपर्छ । विदेश बसेर अंग्रेजीमा नेताहरुलाई गाली गर्नु हुँदैन ।
१० वर्षपछि विदेशबाट विद्यार्थी नेपाल पढ्न आउने सम्भावना छ-विष्णु पोखरेल
बोस्टन एजुकेशनल सर्भिस प्रा.लिका प्रबन्ध निर्देशक विष्णु पोखरेल विगत १३ वर्षदेखि शैक्षिक परामर्श सेवामा सक्रिय छन् । लामो शसस्त्र द्वन्द्व, राजनीतिक संक्रमण, अस्थायीत्वले भविष्यप्रति निरास भनेर नेपाली युवा विदेशीने दिन विस्तार परिवर्तन हुने उनको विश्लेषण छ । विगतमा विदेशमा अध्ययन गर्ने जाने विद्यार्थी मध्ये फाट्टफुट्ट मात्र नेपाल फर्कने गरेकोमा अब विदेशमा शिक्षा लिएपछि नेपाल फर्कने क्रम बढ्ने र अागामी १० वर्षपछि शैक्षिक परामर्शदाताहरु विदेशी विद्यार्थी नेपाल ल्याउने दिशामा जान सक्ने उनको विश्लेषण छ । प्रस्तुत छ विष्णु पोखरेलसँगको कुराकानी । विष्णु पोखरेल, प्रबन्ध निर्देशक-बोस्टन एजुकेशनल सर्भिस प्रा.लि. शैक्षिक परामर्श सेवा सञ्चालन गर्नुभएको कति भयो ? अफिसियली २००६ बाट शुरु गरेको हो । त्योभन्दा अघि डेनमार्कको एउटा कलेजसँग एशोसिएट थिएँ । एकजना डेनिस केयर नेपालको प्रतिनिधि हुनुहुन्थ्यो । उनी आफ्नो देशको एक स्कूलमा एशोसियट रहेछन् । उनले डेनिस ल्याङ्ग्वेज पढ्न नेपालदेखि विद्यार्थी जान चाहन्छ भने मेरो कलेज छ भनेर मलाई भने । त्यसपछि मैले २/४ जना विद्यार्थीहरु पठाए । ४ देखि ६ महिनाको ल्याङ्ग्वेज कोर्ष गरेर उनीहरु त्यहाँको युनिभर्सीटीमा अध्ययन गर्न सक्ने स्थिति हुन्थ्यो । डेनिस ल्याङ्ग्वेज फाउन्डेसनको रुपमा पढ्ने हो । त्यसपछि युनिभर्सीटी, कलेज पढे विद्यार्थीहरुलाई जागिर खान धेरै सजिलो हुन्थ्यो । स्थानीयहरुसँग भिज्नका लागि पनि धेरै सहज हुन्थ्यो । पछिल्लो समयमा त्यसरी ल्याङ्ग्वेजको लागि गएपछि युनिभर्सीटीहरुले १ वर्षको शुल्क शुरुमै लिने चलन आयो । रकम पनि उच्च भएकोले विद्यार्थीहरुलाई जानको लागि हामीले नै डिस्करेज गरेका छौं । डेनमार्कमा १/२ वटा कलेजले मात्रै सिधै विद्यार्थी लिन्छन् । उक्त देश विद्यार्थीको लागि सुरक्षित छ । डेनिसहरु धेरै फ्रेण्डली हुन्छन् । अपराध भन्ने हुँदैन । भष्टाचार जिरो, देश राम्रो छ । डेनमार्कमा कति छन् नेपालीहरु ? पहिले करिब ३/४ हजार भएकोमा अहिले विद्यार्थीहरु गएर त्यहीँ सेटल भएका छन् । सन् २००७ देखि सेटल भएर पीआर लिएर बसेकाहरु गरी करिब १० हजार पुग्लान् । शुरुका दिनहरुमा त्यहाँ नेपालीहरुले धेरै संघर्ष गर्नु परेको थियो । अहिले उच्च ओहोदा बैंक, आईटी लगायतको छुट्टाछुट्टै कम्पनीमा नेपालीहरु कार्यरत छन् । त्यतिमात्रै होइन राजनीतिमा पनि नेपालीहरु स्थापित भएका छन् । त्यहाँको स्थानीय राजनीतिमा नेपालीहरु सहभागी भएको अवस्था छ । पढ्न जाने मध्ये कति नेपाल फर्कन्छन् ? मैले २००५ मा पठाएको विद्यार्थीहरुमध्ये मलाई थाहा भएसम्म २/४ जना मात्रै फर्केका छन् । किनभने कोही त्यहाँबाट पढ्न नसक्ने विद्यार्थीहरु पोर्चुगल स्पेनतिर गएका देखिन्छन् । कति फ्रान्सतिर गएर त्यहाँका आर्मी भएको देखिन्छ । पढ्ने विद्यार्थीहरु राम्रो अध्ययन गरेर ग्रीनकार्ड लिएर डेनमार्कमै बसेका छन् । जो पढ्न नसक्ने विद्यार्थीहरु अन्य देशतिर डाइभर्ट भएको अवस्था हो । पढन् विदेश जाने नेपालीहरु पछि नेपाल नफर्कनुको कारण राजनैतिक अवस्था पनि हो । विगतमा १० वर्ष सशस्त्र द्वन्द्वमा देश रोमलियो । सो समय नेपालमा शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टी नभएको कारणले गएको नेपालीहरु फर्कन चाहेनन्, त्यतै बसे । पछिल्लो समय राजनीतिक अवस्था सुध्रिदै गएको छ , शान्ति छाएको छ, अध्यारोदेखि उज्यालोतिर देश अघि बढेको छ । विगतमा भविश्य नदेखेर विदेश गएकाहरु अब नेपाल फर्कने कुरा गर्दैनन् ? म बीच–बीचमा विदेशमा यात्रा गरिरहन्छु । दुई महिनाअघि मात्रै यूएसबाट आएको हुँ । यूरोप गइरहन्छु । विदेशमा बस्ने नेपालीहरु वामगठवन्दनदेखि आशावादी छन् । नेपालमा केही राम्रो भयो भने कति आउलान् । सबै होइन, ५/१० प्रतिशत नेपाली फर्कन राजी छन् । त्यहाँ स्थापित भइसकेकाहरु कि एनआरएनएको रुपमा व्यापार गर्न आउन तत्पर छन् अथवा राजनैतिक पहुँच देखाउन आउन तत्पर छन् । सर्वसाधारण जो स्थापित नभएका आउछन् । सबै फर्कदैनन् । नेपालीहरु धेरै जसो विदेशमा आफ्नै विजनेश गरेर स्टाब्लिस्ट भएका छन् । २०४६ पछि नेपालबाट सर्वसाधारणहरु विदेश जान थालेका हुन् । विगतमा राणाहरु जान्थे । सर्वसाधारणहरु पछि मात्र जान थालेका हुन् । सर्वसाधारणहरु गएका देशमा शुरुमा उनीहरुको अवस्था दयनिय थियो । अहिले आएर नेपालीहरु उच्च पहुँचमा पुगेका छन् । अाफूले काम गर्ने, सिक्ने अनि विजनेश स्टाब्लिस्ट गर्ने गरेका छन् । त्यहाँ विजनेशको सिस्टम छ । उनीहरु एउटा सिस्टममा बसिसकेकोले नेपाल आएपछि घुलमिल हुन समय लाग्छ । हाम्रोमा सिस्टमको विकास हुनु पर्यो । अहिले काठमाडौं उपत्यकामा धुलोले हिड्न नसक्ने अवस्था छ । धुलाम्य हुन्छ । नेपालमा सिस्टम बसेको छैन । सिस्टममा देश आयो, वातावरण राम्रो भयो भने उनीहरु फर्कन चाहन्छन् । विकसित देशको जस्तो सुविधा नेपालमा पनि हुनुपर्यो ताकि नेपालीहरु विदेश नजाउन् । डेनमार्कमा सहजै सिस्टमको माध्यमले ट्याक्स उठ्छ । नेपालमा त्यस्तो छैन । यहाँ विभिन्न ढनाढ्य, विजनेशम्यानहरुले कर छलेको कुरा बाहिर आएको छ । पटक पटक करफछ्र्याैट आयोग बन्छ । मलाई लाग्छ, दुनियाँमा कँही पनि यस्तो आयोग हुँदैन । सरकारले यी सबै पाटोहरु सुधार गरेर विदेशमा बसेका नेपालीहरुलाई लगानी गर्न आग्रह गर्दै, सुरक्षाको पनि ग्यारेन्टी दियो भने आउन सक्छन् । सबैले पहिले आफुलाई हेर्ने हो, अनि परिवार । त्यसपछि देशलाई । देशले त्यो वातावरण तयार गरिदिनु पर्छ । आफूले विदेशमा पठाएको विद्यार्थीको प्रगतिबाट लोभिएर तपाईलाई पनि विदेश जान मन लाग्दैन ? त्यस्तो सोच नआउने होइन तथापी विभिन्न जिम्मेवारी छन् । मैले देशमा बस्नु पर्छ । जानेको कुरा बताउनुपर्छ भनेर म यही बसेको हुँ । म राजनैतिक पार्टीसँग पनि जोडिएको छु । मेरो पनि बाध्यताहरु छन् । त्यसको सट्टा विदेशमा देखेको, सुनेको कुरा ल्याएर नेपालमै सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । शुरुका दिनहरुमा म कन्सल्टेन्सी व्यवसाय गर्छु भनेर सोचेको थिइन । मैले विदेश जानकै लागि गरे । मेन्टालिटी त्यतै गएकोले सिकेँ । त्यसै सन्दर्भमा २००६ मा म यूरोप घुमे । यूरोप घुम्ने मौका पाएँ । त्यहाँ मैले विभिन्न अध्ययन गरे । समग्र अध्ययन गर्दा म मेरै देशमा बसेर केही गर्छु भनेर नेपालमा बस्ने निर्णय गरेको हुँ । मलाई घुम्न जान मन लाग्छ । तर उही नै बस्नुपर्छ भन्ने सोच अहिलेसम्म पलाएको छैन । अहिले ४० वर्षको भए । अब यो उमेरमा त्यहाँ विदेश गएर सेटल हुन्छु जस्तो पनि लाग्दैन । म समृद्धिमा जोडिन चाहे । व्यवसाय छ । वेस्टेन एजुकेशन सर्भिसेस चलाउछु । राजनीतिलाई सेवाको रुपमा हेरेको छु । मलाई पद लोलुप्ता छैन । विगतको स्थानीय निकायमा म मेरो स्थानीय ठाँउमा अहिले नेतृत्वमा पुगकाे दलको पक्षबाट मेयरमा पनि मोरङको रतुवामाई नगरपालिकामा सिफारिस आएको हो । तर मैले लिदिन भने । जहाँ आफू बसिन्छ त्यहाँ राम्रो गरौं । बसिदैन राम्रो नराम्रो नगरौं भन्ने मेरो सोच हो । राजनैतिक कार्यकताहरु आर्थिक समृद्धिमा जोडिनुपर्छ, पार्टीले त्यहि नीति लिएको छ । मन्त्रालय फाइल बोकेर कुद्नुभन्दा, कुनै ठाँउ चन्दा उठाएर समय वर्वाद गर्नुभन्दा केही न केही व्यवसाय गरेर रहेको समय राजनीतिमा लगाउनु पर्छ भन्ने मेरो सोच हो । त्यसबाट सेवा मिल्छ । सरकारले नेपालमै रोजगार दिन्छु, विदेश गएकालाई फर्काउछु भन्छ । विदेशमा पढ्न गएका नेपालीहरु अब नेपाल फर्कन्छन् होला ? अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीले जुन रुपमा आफूलाई अगाडी बढाइरहेका छन् । निश्चित रुपमा मुलुकमै राम्रो भयो भने कोही पनि विदेश जादैनन् । अबको १० वर्षमा यो इण्डस्ट्रिज अहिलेको जस्तो हुदैन । विगत १० वर्षमा भएको द्वन्द्वको कारणले अहिले यस्तो भएको हो । धरैले विदेशको बाटो रोजे । २०४६ सालपछि बहुदल आयो । देश गिरिजाप्रसाद कोइरालाको हातमा पुग्यो । त्यसपछि सशस्त्र द्वन्द्व शुरु भयो । कोइरालाले जुन ट्रयाकमा देशलाई अगाडी बढाउन पथ्र्यो त्यसो गर्न सकेनन् पछि प्रचण्डको उदय भएपछि पनि देश ट्रयाकमा आएन, उनले पनि ल्याउन सकेनन् । अहिले केपी ओली र प्रचण्डले नै महशुस गरेर वामगठवन्दनको सरकार बनाएका छन् । अहिले उनीहरुले भने जसरी नै देश अघि बढ्ने हो भने अबको १० वर्षसम्म कन्सल्टेन्सी त रहला तर अहिले जस्तो काम नगर्ला । त्यसको ठिक उल्टो नेपालबाट विदेश जानेभन्दा पनि विदेशबाट नेपाल आउनेहरुकोे लागि कन्सल्टेन्सीको जिम्मेवार समाल्लान् । हाम्रो देश सुन्दर छ । यहाँ शिक्षाको हब बनाउन सक्छौं । त्यसरी अघि बढाए भारतको बिहार, युपी, दिल्ली बंलादेशको ढाका मात्रै नभएर यूरोपीयन मुलुकहरुबाट पनि नेपालमा विद्यार्थीहरु पढ्न आउन सक्छन् । विदेश जाने संख्या घट्ला आउने बढ्न सक्छ । हाम्रो देशमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्कुल, कलेज युनिभर्सीटीको विकास गर्ने हो भने विश्वका विद्यार्थीहरुलाई आकर्षण गर्न सकिन्छ । तर अहिलेकै करिकुलम, इन्फास्ट्रक्चरले हामी केही गर्न सक्दैनौं ।
गुराँस लाईफ इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढेको छ- नारायणकुमार भट्टराई
गुराँस लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आएको १० वर्ष पुरा भएको छ । २०६४ चैत १८ गते बीमा समितिबाट सञ्चालन अनुमति पाएको यस कम्पनीले २०६५ जेठ १७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । नयाँ जीवन बीमा कम्पनी बजारमा स्थापित हुने सजिलो छैन । सो चुनौती यस कम्पनीले पनि भोग्यो । पछिल्यो समय पनि यस कम्पनीको ग्रोथ राम्रो देखिएको छ । प्रस्तुत छ कम्पनीले दिँदै आएको सेवा, भावी योजना, पुँजी वृद्धि योजना, लगानीकर्तालाई दिने सम्भावित लाभांशका विषयमा केन्द्रित भई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईसँग गरिएको विकास वहस यस अंकमा । नारायणकुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वर्तमान अवस्था कस्तो छ ? एउटा कम्पनीलाई हेर्ने भनेको वित्तीय विवरण नै हो । पहिलो नम्बरमा बिजनेश हो, यस वर्ष हामीले ३० प्रतिशत बिजनेश बढाईरहेका छौं । गत वर्षको कुल बजार २१ प्रतिशतले बढेको थियो, हामीले ३५ प्रतिशत बढाएका थियौं । चैत मसान्तमा हामीले ४० प्रतिशत नाफा बढाएका छौं । जुन तेश्रो नम्बरको वृद्धि हो बीमा बजारमा । जीवन बीमा भनेको आजको भोली नै ठूलो प्रगति हुने क्षेत्र होइन । यसमा धेरै पक्षले काम गर्छन् । नयाँ कम्पनी आएका छन् । कम्पनी नयाँ भए पनि काम चाँही पुरानै हो । नयाँ कम्पनीलाई कति गाह्रो हुन्छ भन्ने कुरा मैले दुई वटा कम्पनीमा काम गरेर भोगिसकेको छु । नयाँ भनेर बजारमा आएपछि नयाँ केहि दिनैपर्छ । लोगो मात्रै नयाँ भएर हुन्न । सीईओ पुरानै, कर्मचारी पुरानै, पोलिसी पुरानै हुन्छन् अनि बजार पनि पुरानै हो । सफ्टवेयर पनि पुरानै हुन्छ । अहिले बीमा कम्पनीहरुमा प्रयोग भईरहेको सफ्टवेयर ५० प्रतिशत भन्दा बढि नम्बर ल्याउनै नसक्ने खालको पुरानो छ । गुराँसमा तपाई प्रमुख कार्यकारी अधिकृत भएपछि के के काम भए ? म जीवन बीमा कम्पनीहरुतर्फ योङ सीईओमा पर्छु । तर जीवन बीमातर्फ मात्रै काम गरेर लामो समय सीईओ भएको म नै हुँ । म विगत १५ वर्षदेखि लाइफ इन्स्योरेन्स कम्पनीमै छु । गत मंसिरमा मैले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा सीईओको जिम्मेवारी पाएँ । त्यसयता कम्पनीमा धेरै परिवर्तन गरिसकेको छु । हार्डवेयर, नेटवर्क, सेक्युरीटी सिस्टम नयाँ ल्याइसकेको छु । साउनदेखि सफ्टवेयर पनि नयाँ राख्ने तयारी भैसकेको छ । चलाउन सहज र काम गर्न सहज हुने सफ्टवेयर हामी उपयोग गर्दैछौं । तपाईँले ल्याउने नयाँ सफ्टवेयर अरु कम्पनीले पनि उपयोग गर्छन् कि गर्दैनन् ? त्यो सफ्टवेयर अरु कम्पनीले प्रयोग गर्न पाउँछन् कि पाउँदैनन् ? नयाँ केही कम्पनीले त्यो सफ्टवेयर प्रयोग शुरु गरिसकेका छन् । हामीले पुरानो तथ्यांकलाई समेत अद्यावधिक गर्नुपर्ने भएकाले अलि समय लाग्छ । लाइफ इन्स्योरेन्स भन्ने बित्तिकै बीमितलाई आकर्षित गर्न कस्तो पोलिसी ल्यायो भन्ने प्रश्न आउँछ । गुराँसले के त्यस्तो पोलिसी ल्याएको छ, जसले बजारलाई प्रभावित पारिरहेको छ ? हामीसँग एक्सक्लुसिभ प्रडक्टहरु छन् जुन बजारमा पनि साह्रै राम्रोसँग रुचाईएको छ । बीमा गर्यो भने जीवनभरमा आफैंले पैसा पाइन्छ र मरियो भने परिवारले पैसा पाउँछ भन्ने सोँच छ । लाइफ इन्स्योरेन्स भनेको आज विज्ञापन गरेर भोलि बेचिने प्रडक्ट होइन । आवश्यकता, म्याच हुने प्रडक्ट र पैसा भएपछि मात्रै बीमा गराउँछन् । यो सिलसिलालाई छाडेर हामीले नयाँ योजना ल्याएका छौं । जसको नाम सुरक्षित भविष्य जीवन बीमा योजना भनेका छौं । यहि आर्थिक वर्षमा ल्याएका हौं । एकजनाले बीमा गराउँदा तीन पुस्तासम्मलाई लाभ हुन्छ । जीवनभर बीमितले पाउँछ, समय सकियो भने राम्रो रिटर्न आउँछ । अवधि सकिएपछि जीवनभर पेन्सन पनि पाउँछ । उसको मृत्युपछि परिवारले जति रकमको बीमा गरेको हो, त्यो बराबर परिवारले पैसा पाउँछन् । बाजेबजैले बीमा गर्दा त्यसको लाभ नातिनातिनासम्मले पाउँछन् । एउटै योजनामा सावधिक, पेन्सन प्लान र आजीवन रिटर्न हुन्छ । बीमा गरेपछि १५ बर्ष पर्खिनुपर्छ, मेरो पैसा थुप्रियो भन्ने कुरा पनि आउँछ । त्यसका लागि हामीले बार्षिक नगद फिर्ता जीवन बीमा योजना ल्याएका छौं । यो योजना विगत २ वर्षदेखि कार्यान्वयनमा छ र यस्तो बीमा योजना हामीसँग मात्रै छ । जसले एक वर्षपछिदेखि नै लाभ दिन थाल्छ । एक करोडको बीमा गरियो भने वर्षको चार लाख रुपैंयाँ फिर्र्ता हुन्छ र एक करोडको जोखिम वहन गरिरहन्छ । यस पोलिसीले गत वर्ष मात्रै ३८ प्रतिशत हिस्सा ओगटेको छ । हामीसँग १२ वटा बीमा पोलिसी छन् । अब तीन पुस्तालाई हुने योजनाले यसको भन्दा राम्रो बजार लिने आशा छ । नयाँ तीन वटा प्रडक्ट ल्याउने तयारी भैरहेको छ । भविष्यका योजना के के छन् ? ठूलो व्यापार बढाउने र एक नम्बर हुने योजना छैन । मेरो पहिलो प्राथमिकता भनेको दीर्घकालसम्म कम्पनीलाई अघि बढाउने भन्ने हो । बिजनेश बढाउने, अण्डरराइटिङ, राम्रो सेवा, सुरक्षित लगानी र दीर्घकालिन प्रतिफलका लागि मेरो ध्यान छ । हामी जसको पनि बीमा गराउने, जेको पनि बीमा गराउने काम गर्दैनौ । बीमा गराएपछि राम्रो सेवा दिनुपर्छ भन्ने मान्यतामा विश्वास राख्छु । राम्रो सर्भिस र इन्नोभेटिभ प्रडक्ट तयार पारियो भने राम्रो हुन्छ भन्ने मान्यता हो । अहिले सबैले कम्पनीको प्रगति हेर्दा बिजनेश हेर्छन् । आगामी वर्षदेखि हाम्रो बिजनेश पनि राम्रोसँग ग्रोथ हुन्छ । हामीले गर्ने काम भनेको बिजनेश मात्रै पनि होइन, यो देश निर्माणसँग पनि जोडिएको छ । जनताको पसिनाबाट आर्जन गरिएको पैसाबाट उपयुक्त लाभ दिने पनि हाम्रो कर्तव्य हो । कम्पनीको पुँजी वृद्धि योजना के छ ? दुई बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गत साधारणसभाबाट भईसकेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी करिब १०० करोड हुन्छ । त्यसपछि एक बराबर एक अनुपातमा फेरि हकप्रद सेयर जारी गरेर २०० करोड भन्दा बढी पुँजी बनाउने योजना छ । लगानीकर्ताले यस कम्पनीबाट कति प्रतिफल पाउने छन् ? कम्पनीको बिजनेश ग्रोथ राम्रो छ । जीवन बीमा कम्पनीमा लगानी गर्नु भनेको राम्रो छ । हामीले लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांश दिने लक्ष्य राखेका छौं । कम्पनीले बीमितलाई दिने बोनस दर कति छ र बोनस दर बढाउनेतर्फ कम्पनीले कति ध्यान दिएको छ ? यसमा एउटा मात्रै पक्षले भूमिका खेल्दैन । यसमा न्यूनतम र अधिकतमलाई मिलाउनु पर्छ । बोनसलाई मात्रै हेरिनु पनि हुन्न । बैंकमा पैसा राखेपछि ब्याज आँउछ । बीमामा पैसा राख्दा पहिलो कुरा सुरक्षा, निक्षेप र रिटर्न आउँछ । तर त्यो राखेको पैसाको आउने होइन । त्यो त हामीले हस्तान्तरण गरेको जोखिमको रिटर्न हो । हामीले प्रति हजारमा यति रुपैयाँ भनेर बोनस दिन्छौं । बैंकले एक बर्षमा पाउने ब्याज यति हो भनेर दिन्छ तर बीमामा पहिले नै कसैले पनि यति दिन्छौं भन्न सक्दैनन् । बीमा कम्पनीले कमाईको ९० प्रतिशत ग्राहकलाई बाढ्ने हो र १० प्रतिशत लगानीकर्तालाई दिने हो । कति बोनस दिने भन्ने कुरा अघिल्लो वर्षको यसपाली मात्रै हुन्छ । एक्चुरी गराउनुपर्छ र नेपालमा त्यस्तो एक्चुरी गराउने मान्छे नै छैनन् । हामीले ४१ रुपैंयाँ देखि ७६ रुपैंयाँसम्म बोनस दिने गरेका छौं । बोनस दर भनेको अर्थतन्त्रमा पनि निर्भर गर्छ । बैंकहरुले दिने ब्याजदरमा पनि भर पर्छ । हामीले जुन प्रिमियम लिएका छौं, त्यसका हिसाबले हामी राम्रो रिटर्न दिन्छौं । चुनौती के के छन् कम्पनीका ? प्राविधिक पाटोमा ठूलो चुनौती थियो, साउन १ गतेदेखि यो सकिँदैछ । दोश्रो चुनौती भनेको दक्ष जनशक्तिको अभाव हो । हामीले नयाँ जनशक्ति उत्पादन गरिरहेका हुन्छौं, तर जोगाएर राख्न मुस्किल छ । अर्काे चुनौती भनेको ९ वटाबाट १८ वटा कम्पनी पुगेका छन् । उही कर्मचारी, उही अभिकर्ता छन् तर कम्पनीको संख्या दोब्बर भएको छ । बीमा सम्बन्धी खासै जनचेतना बढेको छैन । आज १० प्रतिशत नेपालीको बीमा भएको छ तर यो न्युन उपलब्धि हो । बुझ्ने मान्छे कम छन्, बुझेकाहरुले पनि बीमा गराउँदैनन् । बीमा बुझाउने र आवश्यकता महशुस गराउने काम गर्नुपर्नेछ हामीले । अझै ठूलो चुनौती भनेको ठूलो व्यवसाय रहेको तराई क्षेत्रमा बीमा बजार बढाउन सकिएको छैन । त्यहाँ पारिपट्टीका कम्पनीहरुले खुल्लम खुल्ला लुटिरहेका छन् । हामीले विभिन्न ठाउँमा अभिकर्ता मार्फत जनजागरण ल्याउने प्रयास गरिरहेका छौं । विदेशी कम्पनीमा बीमा गराउँदा देशलाई पनि घाटा छ र तपाईले पनि लाभ नपाउने सम्भावना हुन्छ है भनिरहेका छौं । नयाँ कम्पनीले कति कर्मचारी खोसे ? नयाँ कम्पनीले २० जना कर्मचारी खोसेका छन् । यो भनेको थोरै हो, एउटा कम्पनीबाट १२० जना खोसिएका रहेछन् । बीमा क्षेत्र नागरिकको प्राथमिकता सूचिमा किन पछाडि पर्यो ? आम्दानीको न्यून सीमा भएर । पैसा हुनेले पनि बीमा प्रति शंका गरिरह्यो रिटर्न आउँछ भन्नेमा । हामीले जसरी बजारीकरण गरिरहेका छौं, त्यो शैली पनि राम्रो भएन । हामीले बीमा गराउनैपर्छ भनिरहेका छौं, त्यो भन्दा बुझाउन तिर लाग्नु चाँही ठिक हुने थियो । कम्पनी ११ औं वर्षमा प्रवेश गर्दैछ, के छन् योजना ? हामी सामाजिक काममै केन्द्रित भएका छौं । जेठको १७ गते मात्रै होइन, त्यसपछिका दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने योजना बनाएका छौं । बीमा कम्पनी भनेको जनताकै कम्पनी हो । कम्पनीलाई अघि बढाउन के के गर्नुपर्छ ती सबै काम गर्छाै । ७० वटा शाखा छन् । तीमध्ये अधिकांश शाखामा केहि न केहि काम गर्छाै । १७ गते धेरै शाखाबाट रक्तदान कार्यक्रम गर्नेछौं ।