सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा ६ जना चयन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा ६ जना सञ्चालक चयन भएका छन् । बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् । यस्तै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । सञ्चालकमा चयन भएकाहरू आगामी ४ वर्षसम्म सो पदमा कायम रहने छन् । साथै, कम्पनीको साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षसुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गरे कारबाही हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम गर्नुपर्ने र सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । बुधबार प्राधिकरणद्वारा वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा आयोजित अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले स्थानअनुसार बीमा सर्भेयरको सूची बनाउनुपर्ने र सर्भेका लागि सोही स्थानका सर्भेयरलाई खटाउनुपर्ने बताए । ‘बीमा सर्भेयर संघले बीमा सर्भेयरको आचारसंहिता बनाउनुपर्छ, सर्भेयरले समयमैं प्रतिवेदन बुझाउनुपर्छ, दुई तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारबाही हुन्छ,’ अध्यक्ष सिलवालले भने । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गर्न नपाउने स्पष्ट पारे । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा सर्भेयरको इजाजतपत्र नपाएकाहरूले सर्भेयरको काम गरेमा कारबाही हुने बताए । कार्यक्रममा सहभागी बीमा सर्भेयरहरूले मधेश प्रदेशमा कति सर्भेयर छन् भन्ने थाहा नभएको, इजाजतपत्र लिएको दुई वर्षसम्म पनि बीमा कम्पनीहरूले काम नदिएको, सर्भेयरको वर्गीकरणबाट पुराना सर्भेयरलाई मर्का पर्ने अवस्था रहेको, कम्पनीहरूमा सर्भेयरको सूचीकरणमा एकरूपता नभएको, कम्पनी आफैले र इजाजतपत्र नलिएकाहरूले पनि सर्भेयरको काम गर्ने गरेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो ।

नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । ‘बीमा कम्पनीहरूले प्राधिकरणबाट स्वीकृत बीमालेखमा कुनैपनि परिवर्तन नगरी हुवहु लागू गर्नुपर्छ । कम्पनीका प्रदेश तथा शाखा कार्यालयले प्रत्यायोजित अधिकार प्रयोग गर्नुपर्छ । दाबी भुक्तानीलाई सहज बनाउन सहयोग गर्नुपर्छ,’ उनले भने । अध्यक्ष सिलवालले सुशासनको बाटो नहिंड्ने, उधारो बीमा गर्ने, कर्मचारीको तालिमका लागि छुट्याइएको रकम सोही प्रयोजनमा प्रयोग नगर्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गर्ने चेतावनी दिए । कार्यक्रममा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिनुका साथै कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । सहभागीहरूले मधेश प्रदेशमा हाल ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढाउन रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने र विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश गरी छुट्टै पठनपाठनको व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए । साथै, लघुबीमा कम्पनीहरू आफ्नो क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी केन्द्रित हुने गरेको, लघुबीमकले कम दरमा बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, मधेश प्रदेशस्थित बीमा कम्पनीका शाखा कार्यालयहरूमध्ये झण्डै ६० प्रतिशत प्रमुखविहिन रहेको, पशुपन्छी मरेको अवस्थामा स्थलगत निरीक्षण नभएको भन्दै स्थानीय तहले प्रमाणित गर्न नमानेको लगायत गुनासो गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका सबै जिल्लास्थित बीमा कम्पनीका प्रदेश, शाखा र उप–शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र सरोकारवालाहरू गरी करिव दुईसय जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।