सिटिजन लाइफका सञ्चालक कार्कीले दिए राजीनामा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका सञ्चालक श्रीमान कार्कीले राजीनामा दिएका छन् । सञ्चालक कार्कीले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । कार्कीले फागुन १३ गते सञ्चालकबाट राजीनमा दिएका हुन् । उनको राजीनामा फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
पुनर्बीमा कम्पनीमा छिर्यो लक्ष्मी सनराइज बैंक, किन्यो सवा ५६ करोडको सेयर
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीकाे सेयर लक्ष्मी सनराइज बैंकले खरिद गरेकाे छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बिक्रीमा राखेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लक्ष्मी सनराइज बैंकले खरिद गरेकाे हाे । नेप्सेका अनुसार बिहीबार कम्पनीको २० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त सेयर प्रतिकित्ता २८१ सय रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर ब्रोकर नम्बर १६ (प्राइमो सेक्युरिटीज)बाट बिक्री भई ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरीटीज)बाट खरिद भएको देखिन्छ । स्रोतका अनुसार पुनर्बीमा कम्पनीको उक्त सेयर खरिद गर्न लक्ष्मी सनराइज बैंकले २८१ रुपैयाँमा आवेदन दिएको थियो । पछिल्लो समय धमाधम संस्थापक सेयरधनीहरू पुनर्बीमा कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेका छन् । तर, लक्ष्मी सनराइज बैंक उक्त कम्पनीको सेयर खरिद गरेर संस्थापक सेयरधनी बनेकाे हाे । ‘बीमा कम्पनीहरू पुँजी पुर्याउन मर्ज भएका छन्, मर्ज भएका सबै कम्पनीसँग पुनर्बीमा कम्पनीको सेयर दोब्बर भयो, लिलामीमा राखेको सेयर कि पुँजी नपुगेका कम्पनी कि दोब्बर सेयर भएका कम्पनीको हो,’ बैंक स्रोतले भन्यो, ‘बैंक सर्टटर्म ट्रेडर होइन । आज सेयर खरिद गरेर भोलि बिक्री गर्दैन । अर्काे पुनर्बीमा कम्पनी आउने छाँटकाट छैन । त्यसैले पुनर्बीमाको व्यवसाय बढ्दै जान्छ ।’ दोस्रो बजारमा सर्वसाधारणको सेयर कारोबार साढे ७/८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । जस अधारमा कम्पनीको संस्थापक सेयरको मूल्य ४ सय रुपैयाँ हुनु पर्ने बैंक स्रोतको दाबी छ । तर, एकैपटक धेरै कम्पनीले संस्थापक सेयर बिक्रीमा राख्दा मूल्य घट्न पुगेको हो । ‘एकैपटक धेरै कम्पनीले सेयर बिक्री गर्दा सस्तो भएको हो । एउटा कम्पनीले मात्रै बिक्री गरेको भए ४ सय रुपैयाँभन्दा कम मूल्यमा बिक्री नहुनु पर्ने हो,’ स्रोतको भनाइ छ । कम्पनीले दीर्घकालमा राम्रो पफर्मेन्स गर्ने बैंकको दाबी छ । पुनर्बीमा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्याे भने १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने स्राेतकाे भनाइ छ । ‘अब कम्पनीले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरायो भने बैंकलाई फाइदा नै हुन्छ,’ स्राेतले भन्याे ।
दुई इन्स्योरेन्ससहित जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्ससहित जीवन विकास लघुवित्तको कूल ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स र जीवन विकास लघुवित्तको गरी सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत अर्थात १९ लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, यूनाइटेड अजोड इन्स्योरन्सको १०.२६१२ प्रतिशत अर्थात १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । साथै, जीवन विकास लघुवित्तको १४ प्रतिशत अर्थात १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।