आधा दर्जन सीईओको जागिर गयो, ६ जनाको घट्यो पद
काठमाडौं । गत बैशाख २७ गते आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरे । मर्जरपश्चात् कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पायो । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल बने भने सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भए । साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बने । तर, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएको एक महिना नबित्दै रावल कम्पनीबाट बाहिरिए । कम्पनीको वरिष्ठ डीसीईओबाट राजीनामा दिएर हाल उनी युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नियुक्त भएर काम गरिरहेका छन् । गत फागुन २९ गते सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को नामबाट एकीकृत कारोबार गरे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सगरमाथा इन्स्योरेन्स कम्पनीबाट सीईओ चंकी क्षेत्री नियुक्त भए । तर, मर्जरपछि साविक लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ रहेका नूर प्रकाश प्रधान भने बाहिरिए । यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स पनि गत फागुन १७ गते एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भयाे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सिद्धार्थ इन्स्योरेन्सबाट बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भए । दुई कम्पनीको मर्जर प्रक्रिया चलिरहँदा नै साविक प्रिमियर इन्स्योरेन्सका सीईओ विश्वराम तिमिलाले राजीनामा दिएर बाहिरिएका थिए । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गत बैशाख २६ गते मर्ज भए । जीवन बीमा क्षेत्रकै बिग मर्जरका रुपमा लिइएको तीन कम्पनीको मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स बन्यो । नयाँ कम्पनीको रुपमा जन्मिएको हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए मनोज कुमार लाल कर्ण । उनी साविक यूनियन लाइफ इन्स्योरेन्सको सीईओ थिए । तर, मर्जरपश्चात् भने साविक गुराँस लाइफका सीईओ विपिन कुमार लाल कर्ण र प्राइम लाइफका सीईओ निर्मल कुमार दाहालले राजीनामा दिएर बाहिरिए । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई गत चैत ९ गते सानिमा रिलायन्स लाइफको नामबाट एकीकृत कारोबार सुरुवात भयाे । मर्जरपश्चात् कम्पनीको सीईओ बाहिरिबाट ल्याइयो । मर्जरपछि कम्पनीको सीईओमा शिवनाथ पाण्डे नियुक्त भए भने साविक रिलायन्सका सीईओ राकेश पोखरेल डीसीईओ बने । तर, साविक सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले भने काम छाड्ने निर्णय गरेका छन् । स्रोतका अनुसार मुखियाले दिएको राजीनामा स्वीकृत हुन बाँकी रहेको र हाल वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । सीईओ भइसकेकाे व्यक्ति डीसीईओमा घटुवा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्ज भई हिमालयन एभरेष्ट इन्स्योरेन्स बन्यो । मर्जरपश्चात् साविक हिमालयन इन्स्योरेन्सबाट विजय बहादुर शाह सीईओ र साविक एभरेष्ट इन्स्योरेन्सका कमल गौतम वरिष्ठ डीसीईओ बने । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई सानिमा जिआईसी इन्स्योरेन्स बन्यो । मर्जर पश्चात कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय नियुक्त भए भने साविक जनरल इन्स्योरेन्स कम्पनीको सीईओ रामचन्द्र श्रेष्ठ वरिष्ठ डीसीईओ बने । यस्तै, युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्स मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिरहेका छन् । मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा श्रवण रावल बने । तर, साविक अजोड इन्स्योरेन्सको सीईओ रहेका कुमार बहादुर खत्री सिनियर डीसीईओ भएर काम गरिरहेका छन् । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बन्यो । साविक ज्योति लाइफ इन्स्योरेन्सबाट प्रकाश बिक्रम खत्री मर्जरपछि कम्पनीको सीईओ नियुक्त भए । तर, साविक सूर्या लाइफको नेतृत्व हाँकिरहेका सीईओ पवन कुमार खड्का मर्जरपछि वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भई प्रभु महालक्ष्मी लाइफको नामबाट गत असार २९ गतेदेखि एकीकृत कारोबार गरे । मर्जपछि कम्पनीको सीईओमा साविक महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई नियुक्त भए भने वरिष्ठ डीसीईओमा सन्तोष प्रसाईं नियुक्त भए । वरिष्ठ डीसीईओ प्रसाईं साविक प्रभु लाइफको सीईओ भएर काम गर्दै आएका थिए । यस्तै, साविक रिलायन्स लाइफका सीईओ राकेश पोखरेल मर्जरपछि सानिमा रिलायन्स लाइफमा वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन्। नेपाल बीमा प्राधिकरणको पूँजी वृद्धिको निर्देशनपश्चात् २१ वटा बीमा कम्पनी मर्जरमा सामेल भए । जसमध्ये ९ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनी थिए । मर्जरमा सामेलपछि १० वटा कम्पनीमा सीमित बने । तर, मर्जरमा सामेल भएका यी कम्पनीको नेतृत्व सम्हालिरहेका आधा दर्जन सीईओ राजीनामा दिएर बाहिरिए भने आधा दर्जन सीईओ पद घटुवामै चित्त बुझाएर काम गरिरहेका छन् । मर्जरले भविश्यमा कम्पनीको समग्र बिजनेसमा टेवा पुगे पनि यो इन्डष्ट्रीबाट केही अनुभव, सीप र ज्ञान भएका व्यक्तिहरु पलायन भएका छन् ।
सलिकोले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई दियो ५ लाख रुपैयाँ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखराद्वारा सञ्चालित उक्त चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि सो रकम बराबरको सहयोग गरेको हो । सलिकोले सामाजिक कार्यको लागि गरेको यो सहयोगबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुग्ने कम्पनीको विश्वास छ । व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको कम्पनीले जानकारी गराएको छ ।
प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ७० रुपैयाँ पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साविक प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक गरेको छ । दुवै कम्पनी मर्ज हुनु अघि बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा साविक प्रभु र महालक्ष्मी लाइफले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । उक्त बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणले असोज २३ गते स्वीकृत गरेको हो । साविक प्रभु लाइफले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । त्यस्तै, साविक महालक्ष्मी लाइफले सो आर्थिक वर्षमा विभिन्न बीमा लेखहरुमा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर तोकेको छ । साविक प्रभु लाइफले सावधिक सम्बृद्ध बीमालेख योजनामा न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीका अनुसार ९ वर्षसम्मको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेख (अमुल्य) योजनमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । ९ वर्षसम्म अवधिको ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको ७० रुपैयाँ बोनसदर प्रदान गर्ने कम्पनीले जनाएको छ । सावधिक सम्बृद्ध (एकल भुक्तानी) योजनामा ९ वर्ष अवधिको ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनसदर तोकेको छ । अग्रिम भुक्तानी सावाधिक–वैभव योजनामा १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनस उपलब्ध गराउने भएको हो । त्यस्तै, कम्पनीले प्रत्येक वर्ष ५ प्रतिशत बीमाङ्क वृद्धि हुने सावधिक (श्रीवृद्धी) योजना र सावधिक बालबालिका (जीबनकिरण) योजनामा न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । त्यस्तै, अग्रिम भुक्तानी बालिबालिका सावधिक (जीवन उन्नती) योजना र एकल अग्रिम भुक्तानी बालबालिका सावधिक (जीवन उन्नती) योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँ बोनस दर तोकिएको छ । साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको भने महालक्ष्मी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यस्तै, कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपंयाँ बोनस दर तोकेको छ । यस्तै, कम्पनीले महालक्ष्मी बाल बचत बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनस दर तोकेको छ । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ३५ रुपैयाँ, महालक्ष्मी धनधान्य बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ३२ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, सम्पूर्ण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।