नेपाल रिको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४३७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
सफलताको उपमा उपासना : बीमा क्षेत्रमा नयाँ रेकर्ड
काठमाडौं । अहिले सर्वोत्र क्रिकेटको क्रेज छ । क्रिकेट खेलिरहेका नेपाली खेलाडीहरुले पनि एकपछि अर्को नयाँ किर्तिमानी बनाइरहेका छन् । चीनमा जारी टी–२० आई अन्तर्गत गत साता मंगोलियाविरुद्द खेलेको नेपालले करिब एक दर्जन नयाँ रेकर्ड बनायो । नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले ९ बलमा अर्धशतक बनाउँदै विश्व किर्तिमानी बनाए भने युवा ब्याट्सम्यान कुशल मल्लले पनि ३४ बलमा शतक प्रहार गर्दै नयाँ रेकर्ड कायम गरे । खेलकुदमा यस्ता रेकर्डहरु एकले कायम गर्दै अर्कोले भंग गर्ने शिलसिला चलिरहन्छ । खेलकुद जस्तै किर्तिमानीको शिलसिला नेपाली बीमा क्षेत्रमा पनि बनेको छ । नेपाली बीमा कम्पनीकी पहिलो महिला सीईओ बनेर रेकर्ड बनाएकी उपासना पौडेलले पुनः पुनर्बीमा कम्पनीकी पहिलो महिला सीईओ बनेर थप एउटा नयाँ रेकर्ड बनाएकी छन् । उनको रेकर्ड त्यतिमै रोकिँदैन, उनी पहिलो महिला तथा कान्छो सीईओ पनि बनेकी छन् । उनले बीमा क्षेत्रमा एकपछि अर्को रेकर्ड कायम गरिरहेकी छन् । बीमा प्राधिकरणले स्वीकृति दिएसँगै पौडेल हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेकी हुन् । नवनियुक्त सीईओ पौडेलले पनि आफु एक कार्यकालको लागि हिमालयन रिको सीईओ पदमा नियुक्त भएको जानकारी दिइन् । उनी २०७९ मंसिरमा हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गर्दा धेरैलाई आश्चर्य नलागेको होइन । यूनाइटेड इन्स्योरेन्सको सीईओ भएर काम गरिरहेकी उनी एक्कासी हिमालयन रिमा डीसीईओ बनेर गएपछि धेरैले उनको आलोचना पनि गरे । यूनाइटेडमा राम्रो पफर्मेन्स गरिरहेको बेला हिमालयन रिमा जाने निर्णय राम्रो नभएको बुुझाइ धेरैको थियो । तर, हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेको १० महिनामै उनले सीईओ बनेर देखाइन् । यसअघि हिमालयन रिको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । सीईओ पदबाट राजीनामा दिएका उनलाई कम्पनीले सल्लाकारको रुपमा नियुक्त गर्दै पौडेललाई सीईओ बनाएको हो । त्यो उनको क्षमता, दख्खलता र सफलता हो । ३६ वर्षको उमेरमा पुनर्बीमा कम्पनीको सीईओ भएर उनले महिलाहरुमध्येमा मात्रै होइन पुरुषहरुमध्ये पनि कान्छो सीईओ बनेर थप नयाँ रेकर्ड स्थापित गरेकी हुन् । उनले तत्कालीन यूनाईटेड इन्स्योरेन्समा तीन वर्ष काम गरिन् । ठूलो समस्यामा परेको सो इन्स्यारेन्सलाई माथि उकास्न उनै उपासनाले ठूलो भुमिका खेलिन् । उनकै नेतृत्वमा यूनाइटेड इन्स्योरेन्स निर्जीवन बीमा क्षेत्रमा एउटा महत्वपूर्ण कम्पनीका रुपमा प्रतिस्पर्धा गर्न सफल बन्यो । यूनाइटेडको सीईओको रुपमा काम गर्दा उनले विकासन्युजसँग भनेकी थिइन्, ‘हामीले बन्न चाहेको ‘नम्बर वान’ कम्पनी हो । तर, तत्कालै असम्भव नै छ, जसको लागि हाम्रो प्रयास जारी छ, यात्रा लामो छ, हामीले अब एक वर्षभित्रै ‘टप फाइभ’ मा आउने हो, सकिँदैन भनेर मेहेनत गर्न छोड्ने होइन, असम्भव भन्ने केही छैन ।’ सीईओ पौडेलमा आत्मविश्वास छ । केही पृथक काम गर्न सक्ने क्षमता र हुटहुटी उनमा छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । सुरुमा युनाइटेडको सीईओ बन्दा नै उनको क्षमतामाथि प्रश्न नगर्नेहरुको कमि थिएन । तर, उनले कम्पनीलाई एउटा ‘हाइट’ मा पुर्याएपछि उनी प्रशंसाकी पात्र बन्न थालेकी हुन् । को हुन् उपासना ? उपासनाको जन्म काठमाडौंको कुलेश्वरमा भएको हो । शिक्षित परिवारमा जन्मिएकी उनको हजुुर बुवा स्कूलका प्राध्यानाध्यापक । बुबा व्यवसायी र आमा बैंकर्स हुन् । एमबीएपछि उनलाई बैंकमा काम गर्न मन थियो । नसोचेको क्षेत्र जनरल इन्स्योरेन्समा उनी डुबिन् । उनले स्कूल शिक्षा डिएबीबाट लिइन् । प्लसटु डनबास्कोबाट पुरा गरिन् । बिजनेश इन्फर्मेशसन सिस्टम विषयमा ब्याचलर काठमाडौं कलेज अफ म्यानेजमेन्टमा गरिन् । र, एमबीए दिल्ली यूनिभर्सिटीबाट गरिन् । पहिलो काम भारतको पुनेस्थिति कमेन्स इन्डिया नामक कम्पनीमा गरिन् । गाडीको इन्जिन लगायत मेरिनरी सामान उत्पादन गर्ने त्यो कम्पनीमा उनले ९ महिना काम गरिन् । उनले बिवाह लगत्तै भारतको बम्बईमा आईसीआईसीआई जनरल इन्स्योरेन्स कम्पनीमा प्रडक्ट मेनेजर भएर काम गरिन् । ‘तीन वर्षमा बढुवा हुने कम्पनीको नियम भए पनि मैले एक÷दुई वर्षको बीचमा प्रमोशन पाएँ, म सिनियर प्रडक्ट म्यानेजर भएँ, नेतृत्व विकास गर्ने कम्पनीको योजनाभित्र मैले ग्रुप लिडर हुने मौका पाएँ, बीमा भित्र फाइनान्स बाहेक सबै जिम्मेवारी हेर्ने मौका पाएँ, प्रडक्ट डेभलपमेन्ट, रिइन्स्योरेन्स, आईटी म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गरेँ’ उनले यसअघि विकासन्युजसँग भनेकी थिइन् । उनले भारतमै भोडाफोनमा समेत काम गरेको अनुभव छ । भोडाफोनमा साढे दुई वर्ष काम गरेपछि उनले बीमा कम्पनी भारतीय एक्जामा काम सुरु गरिन् । सो कम्पनीपछि उनी नेपाल फर्किइन् । नेपालमा सानिमा जनरल इन्स्योरेन्समा नायव महाप्रबन्धकका रुपमा काम गरिन् । सो कम्पनीमा डेढ वर्ष काम गरेपछि उनी यूनाईटेडमा डेपुटी सीईओ हुँदै सीईओ बनेकी थिइन् । अहिले उनी हिमालयन रिकी सीईओ बनेकी छन् । पुर्नर्बीमा कम्पनीमा अब उपासनाको अग्नी परीक्षा सुरु हुँदैछ । सम्बन्धित सामग्री : म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’
हिमालयन रिको सीईओ बनिन् पौडेल, प्राधिकरणले दियो स्वीकृति
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा पौडेल नियुक्त भएकी हुन् । प्राधिकरणले कम्पनीबाट पत्र पाएको दुई दिन अर्थात सोमबार (असोज १५ गते) नै पौडेललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएको उच्च स्रोतले बताएको छ । नवनियुक्त सीईओ पौडेलले पनि आफू एक कार्यकालको लागि हिमालयन रिको सीईओ पदमा नियुक्त भएको बताएकी छिन् । नवनियुक्त सीईओ पौडेल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत थिइन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन् । त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओसँगै कान्छो सीईओ पनि हुन् । ३६ वर्षको उमेरमै कम्पनीको सीईओ बनेकी पौडेलले १० अर्ब रुपैयाँ बराबरको कम्पनी धान्दै छिन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । यसअघि कम्पनीको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । सीईओ पदबाट राजिनामा दिएका उनलाई भने एक वर्षसम्मको लागि कम्पनीको सल्लाकारको रुपमा नियुक्त गरिएको प्राधिकरणले जानकारी गराएको छ ।