नेपाल लाइफ एक्लैको १० अर्ब बीमा शुल्क संकलन, एलआईसी र हिमालयनबीच दोस्रो बन्न प्रतिस्पर्धा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ४१ अर्ब रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ, नेशनल लाईफले ४ अर्ब १९ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क छ । यस्तै, असोजसम्म सुर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, सानीमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै, तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका हुन् । सबैभन्दा धेरै नेपाल लाइफले १ अर्ब ५९ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफलाई नेशनल लाइफले टक्कर दिँदै ९० करोड ७२ लाख रुपैयाँको प्रथम बीमा शुल्क संकलन गरेको हो । यस्तै, हिमालयन लाइफले ५२ करोड ८७ लाख रुपैयाँ, सुर्यज्योति लाइफले ५१ करोड ९३ लाख रुपैयाँ, एलआइसी नेपालले ५० करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले ४१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले ३३ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, रिलायबल नेपाल लाइफले ३२ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड २२ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड १ लाख रुपैयाँ, सन नेपालले ३० करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २१ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १२ करोड ५४ लाख प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरेका हुन् । अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरूले गर्ने व्यवसायबाट बीमा सम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेण्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिन संचालित जीवन बीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थीहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए । अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत उपस्थिती थियो । जीवन बीमा अभिकर्ताका लागि हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ । परीक्षा संचालन भएको मितिले ७ दिनभित्र जीवन बीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिनेछ । जीवन बीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ । इन्स्याेरेन्स रेगुलेटरि मेनेजमेन्ट इन्मरमेसन सिस्टम (आइआरएमआइएस) मार्फत् बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट एक्जाम सिस्टमबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजतपत्र शुल्क बुझाउने र (आइआरएमआइएस) बाटनै बीमा अभिकर्ताको इजाजतपत्र अनलाइन मार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
मेटलाइफले ल्यायो माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान
काठमाडौं । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै, मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना ‘माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान’ प्रचलनमा ल्याएको छ । यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु हो । यो बीमा योजना एक बृहत समाधान हो जसले बालबालिकाहरुलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्दछ । अभिभावक (बीमालेख मालिक)को दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमांक रकमको १०० प्रतिशत बराबर एकमुष्ठ भुक्तानी प्रदान गर्दछ साथै यसको अतिरिक्त, भविष्यमा गर्नु पर्ने बीमा शुल्कको छूट तथा बीमा योजनाको बीमांक रकमको २ प्रतिशत बराबरको मासिक आय लाभ समेत प्रदान गर्दछ । यो बीमालाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिका प्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । अभिमावक (बीमालेख मालिक) लाई हुन सक्ने सम्भावित दुर्घटना र घातक रोगहरू बिरुद्ध रक्षावरणका लाागि विभिन्न पूरक करारहरु मध्येबाट छनौट गर्ने विकल्प पनि छ । न्यूनतम बीमांक रकम २५०,००० र अधिकतम ५,०००,००० रूपैयाँ भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरु मध्ये छनौट गर्न सकिन्छ । यस्तो बहुमुखी योजनाले आमाबाबुलाई आफ्नो बालबालिकाको शैक्षिक र भविष्यका आवश्यकताहरू अनुरूप सबै भन्दा उपयुतm बीमालाभहरु छनौट गरी रक्षावरण प्राप्त गर्न मद्दत गर्दछ । यसले परिवारहरूका लागि उनीहरूका बालबालिकाहरुलाई उनीहरूले पाउने अवसर र पाउनु पर्ने आवश्यक मद्दतको सुनिश्चित गर्दै, जीवनमा जस्तोसुकै आईपर्ने चुनौतीहरूविरुद्ध सुरक्षा समाधान प्रदान गर्दछ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘माई चाईल्ड एडुकेशन प्रोटेकशन प्लान“ ले नेपालको युवाहरूको भविष्यका लागि हाम्रो आश्वासनलाई प्रतिनिधित्व गर्दछ । हामी बुझ्दछौं कि शिक्षा उज्ज्वल भविष्यको लागि चाबी/कुञ्जी हो, र यो योजना आमाबाबु वा अभिभावकहरूप्रति हाम्रो प्रतिबद्धता हो कि हामी वहा“हरूका बालबालिकाहरूको सपनाहरू सुरक्षित गर्न यहाँ छौं । यो सफलताको लागि र प्रत्येक बालबालिकाको यात्राको लागि सुरक्षित मार्ग प्रशस्त गर्ने वाचा हो ।’