सलिकोले मधेश प्रदेशका कर्मचारीहरुलाई दियो प्रशिक्षण कार्यक्रम

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रम दिएको छ । कम्पनीले कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जहाँ सहभागिहरुलाई सलिकोका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए । मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

आधा दर्जन सीईओको जागिर गयो, ६ जनाको घट्यो पद

काठमाडौं । गत बैशाख २७ गते आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरे । मर्जरपश्चात् कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पायो । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल बने भने सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भए । साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बने । तर, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएको एक महिना नबित्दै रावल कम्पनीबाट बाहिरिए । कम्पनीको वरिष्ठ डीसीईओबाट राजीनामा दिएर हाल उनी युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नियुक्त भएर काम गरिरहेका छन् । गत फागुन २९ गते सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को नामबाट एकीकृत कारोबार गरे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सगरमाथा इन्स्योरेन्स कम्पनीबाट सीईओ चंकी क्षेत्री नियुक्त भए । तर, मर्जरपछि साविक लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ रहेका नूर प्रकाश प्रधान भने बाहिरिए । यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स पनि गत फागुन १७ गते एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भयाे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सिद्धार्थ इन्स्योरेन्सबाट बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भए । दुई कम्पनीको मर्जर प्रक्रिया चलिरहँदा नै साविक प्रिमियर इन्स्योरेन्सका सीईओ विश्वराम तिमिलाले राजीनामा दिएर बाहिरिएका थिए । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गत बैशाख २६ गते मर्ज भए । जीवन बीमा क्षेत्रकै बिग मर्जरका रुपमा लिइएको तीन कम्पनीको मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स बन्यो । नयाँ कम्पनीको रुपमा जन्मिएको हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए मनोज कुमार लाल कर्ण । उनी साविक यूनियन लाइफ इन्स्योरेन्सको सीईओ थिए । तर, मर्जरपश्चात् भने साविक गुराँस लाइफका सीईओ विपिन कुमार लाल कर्ण र प्राइम लाइफका सीईओ निर्मल कुमार दाहालले राजीनामा दिएर बाहिरिए । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई गत चैत ९ गते सानिमा रिलायन्स लाइफको नामबाट एकीकृत कारोबार सुरुवात भयाे । मर्जरपश्चात् कम्पनीको सीईओ बाहिरिबाट ल्याइयो । मर्जरपछि कम्पनीको सीईओमा शिवनाथ पाण्डे नियुक्त भए भने साविक रिलायन्सका सीईओ राकेश पोखरेल डीसीईओ बने । तर, साविक सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले भने काम छाड्ने निर्णय गरेका छन् । स्रोतका अनुसार मुखियाले दिएको राजीनामा स्वीकृत हुन बाँकी रहेको र हाल वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । सीईओ भइसकेकाे व्यक्ति डीसीईओमा घटुवा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्ज भई हिमालयन एभरेष्ट इन्स्योरेन्स बन्यो । मर्जरपश्चात् साविक हिमालयन इन्स्योरेन्सबाट विजय बहादुर शाह सीईओ र साविक एभरेष्ट इन्स्योरेन्सका कमल गौतम वरिष्ठ डीसीईओ बने । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई सानिमा जिआईसी इन्स्योरेन्स बन्यो । मर्जर पश्चात कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय नियुक्त भए भने साविक जनरल इन्स्योरेन्स कम्पनीको सीईओ रामचन्द्र श्रेष्ठ वरिष्ठ डीसीईओ बने । यस्तै, युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्स मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिरहेका छन् । मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा श्रवण रावल बने । तर, साविक अजोड इन्स्योरेन्सको सीईओ रहेका कुमार बहादुर खत्री सिनियर डीसीईओ भएर काम गरिरहेका छन् । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बन्यो । साविक ज्योति लाइफ इन्स्योरेन्सबाट प्रकाश बिक्रम खत्री मर्जरपछि कम्पनीको सीईओ नियुक्त भए । तर, साविक सूर्या लाइफको नेतृत्व हाँकिरहेका सीईओ पवन कुमार खड्का मर्जरपछि वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भई प्रभु महालक्ष्मी लाइफको नामबाट गत असार २९ गतेदेखि एकीकृत कारोबार गरे । मर्जपछि कम्पनीको सीईओमा साविक महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई नियुक्त भए भने वरिष्ठ डीसीईओमा सन्तोष प्रसाईं नियुक्त भए । वरिष्ठ डीसीईओ प्रसाईं साविक प्रभु लाइफको सीईओ भएर काम गर्दै आएका थिए । यस्तै, साविक रिलायन्स लाइफका सीईओ राकेश पोखरेल मर्जरपछि सानिमा रिलायन्स लाइफमा वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन्। नेपाल बीमा प्राधिकरणको पूँजी वृद्धिको निर्देशनपश्चात् २१ वटा बीमा कम्पनी मर्जरमा सामेल भए । जसमध्ये ९ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनी थिए । मर्जरमा सामेलपछि १० वटा कम्पनीमा सीमित बने । तर, मर्जरमा सामेल भएका यी कम्पनीको नेतृत्व सम्हालिरहेका आधा दर्जन सीईओ राजीनामा दिएर बाहिरिए भने आधा दर्जन सीईओ पद घटुवामै चित्त बुझाएर काम गरिरहेका छन् । मर्जरले भविश्यमा कम्पनीको समग्र बिजनेसमा टेवा पुगे पनि यो इन्डष्ट्रीबाट केही अनुभव, सीप र ज्ञान भएका व्यक्तिहरु पलायन भएका छन् ।

सलिकोले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई दियो ५ लाख रुपैयाँ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखराद्वारा सञ्चालित उक्त चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि सो रकम बराबरको सहयोग गरेको हो । सलिकोले सामाजिक कार्यको लागि गरेको यो सहयोगबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुग्ने कम्पनीको विश्वास छ । व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको कम्पनीले जानकारी गराएको छ ।