सीटीईभीटीलाई प्राविधिक शिक्षाको छुट्टै निकाय बनाउने योजना विफल

काठमाडौं । प्राविधिक शिक्षाका लागि छुट्टै निकाय बनाउने सरकारको योजना विफल भएको छ । संघीयतासंगै विद्यालय शिक्षाका अधिकार स्थानीय तहमा भएकोले केन्द्रमा थप निकाय राख्नुको औचित्य नहुने सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको अडानका कारण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको योजना असफल भएको हो । सीटीईभीटीका कार्य प्रभावकारी नभएको मन्त्रीको निष्कर्ष थियो । सोहीअनुसार मन्त्री पोखरेलले प्राविधिक शिक्षाका लागि छुट्टै निकाय वा मन्त्रालयमा छुट्टै महाशाखाको लविङ् गरेका थिए ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मार्फत् नै प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन हुने भएको छ । सीईटीभीटीका सुचना अधिकारी मनोज शर्माले शिक्षाका साविकका शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र मिलाएर शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्र मात्रै गरी केन्द्रमा २ वटा मात्रै निकाय राख्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो । उक्त निर्णय पछि प्राविधिक शिक्षाका लागि साविककै सिटिईभिटी मार्फत् कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको शर्माले बताए । उक्त अवस्थापछि मन्त्री पोखरेलको अध्यक्षतामा बसेको सीईटीभीटीको बैठकले सात वटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । संघीयता अनुरुपको संरचनामा संस्थालाई सातै प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो । यसका लागि उक्त बैठकले प्रदेश कार्यालय स्थापनाको निम्ती सम्भाव्यता अध्ययन, नीतिगत र कानुनी व्यवस्था बारे छलफल शुरु गर्न निर्देशन दिएको छ । संघियता अनुरुप अन्य निकायको ढाँचा तयार भए पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिईभिटीको संघीय स्वरुप तयार भएको थिएन । अहिले सिटिईभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहको छ भने चितवनको भरतपुर, ईटहरी र कोहलपुरमा क्षेत्रीय कार्यालय छन् । सिटिईभिटी अन्तर्गत राष्ट्रिय सिप परिक्षण समिति, परीक्षा नियन्त्रण कार्यालय र प्राविधिक प्रशिक्षण प्रतिष्ठान छन् ।  

राजधानीमा यस्तो विद्यालय, जहाँ विद्यार्थीलाई ध्यान र योगासहितको त्रिभुजीय शिक्षा दिइन्छ

काठमाडौं । तपाईले आफ्नो छोराछोरीलाई अलि फरक खालको शिक्षा दिने विद्यालय खोजिरहनु भएको छ ? सरकारले निर्धारण गरेको पाठ्यक्रम सँगसँगै योग र ध्यान गराउने शिक्षा दिन चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईको सोच अनुसारको शिक्षा पथिक ज्ञान निकेतन विद्यालयले दिइरहेको छ । पथिक ज्ञान निकेतनले योगासहित त्रिुभुजीय शिक्षा दिइरहेको छ । यो विद्यालयमा प्ले ग्रुपदेखि नै औपचारिक शिक्षाका साथै योगा र ध्यानसँग अध्ययन गराइन्छ । त्रिभुजीय शिक्षा प्रदान गर्ने यस विद्यालयमा विद्यार्थीको अन्य स्कुलको जस्तो पहिलो, दोस्रो र तेस्रो भनेर श्रेणी छुट्टाइदैन । यसले विद्यार्थीलाई प्रतिशोधको भावना भन्दा सहयोगको भावना विकास भैरहेको छ । पथिकले नेपालमा नै नमुना तरिकाले शिक्षा दिएको छ । पथिक पाउन्डेसनबाट संचालित स्कुलका प्रिन्सिपल विवेक सी एसले भनिन् नेपालमा अलिकति फरक खालको शिक्षा दिन फरक ढंगबाट माध्यामिक शिक्षा दिने स्कुल स्थापना गरेको बताइन् । विकास न्यूजसंग कुरा गर्दै उनले भनिन् “ध्यान गुरु आचार्यश्री पथिकले लेख्नु भएको पुस्तकमा त्रिभुजीय शिक्षाको प्रतिपादन भएको थियो । त्यही सिद्धान्तका आधारमा स्कुल संचालन भैरहेको छ ।” विद्यालयले १ हजार ७०० देखी २ हजार २०० सम्म मासिक शुल्क तोकेको छ । भर्ना शुल्क ४ हजार ५०० देखी ५ हजार ५०० रुपैयाँ सयसम्म तोकेको छ । हाल पथिकमा २०० विद्यार्थी अध्ययनरत छन् । विभिन्न देशबाट गोल्ड मेडालिष्टहरुले विद्यार्थीलाई पथिकमा पढाइरहेका छन् । हाल कक्षा ८ सम्म पढाइ भैरहेको छ । स्कुलमा विद्यार्थीलाई बेन्च नराखी भुइमै राखेर अध्ययन गराइरहेको उनले बताइन् । “विद्यार्थीलाई बेन्चमा राख्दा उनीहरु पूर्णरुपमा स्वतन्त्र हुदैनन् । त्यसैले विद्यार्थीलाई स्वतन्त्र रुपमा सिकाउँदा राम्र्रो र छिटो सिक्ने गरेका छन् ।” विद्यालयले विद्यार्थीलाई परीक्षाको तालीका पनि तोक्ने गरेको छैन । विद्यार्थीले प्राप्त गरेको अंकलाई रिपोर्ट कार्डमा मात्रै प्रस्तुत हुने गरेको छ । अरु विद्यार्थीहरुमा जस्तो पहिलो, दोस्रो भनेर छुट्टाइदैन । विद्यार्थीको रिपोर्ट कार्डमा स्वास्थ्य, सामान्य एकेडेमी र बानी उल्लेख गरिएको हुन्छ । एउटा परीक्षा हलमा २ जना शिक्षक विद्यार्थीहरुको आचरण कस्तो छ भनेर अध्ययन गर्ने गरेका छन् । “हामीले सरकारले नै निमार्ण गरेको पाठ्यक्रमको अध्ययन गराउने गरेका छौँ । हामो अध्ययन गराउने पद्धती फरक हो” उनले भनिन् । विद्यार्थीले विद्यालयमा पैसा बोक्न पाउदैनन् । स्कुलमा जङ्क फुड निषेध गरिएको छ । आफैले उत्पादन गरेको गाईको दुध विद्यार्थीलाई खुवाउने गरेको विद्यालयले जानकारी दिएको छ । स्कुलमा कार्यरत शिक्षक मास्र्टस र डाक्टर गरेका मात्रै छन् । विद्यार्थीलाई योगा र ध्यान गर्ने हलको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई पढाइसँगसँगै योगा र ध्यान पनि गराइने विद्यालयले बताएको छ । के हो त्रिभुजीय शिक्षा ? मनुष्यको तीन अलग क्षमता र विशेषता बोकेका तीन मस्तिष्कबाट सुसज्जित हुन्छन् । तीमध्ये बायाँपट्टिको मस्तिष्कको बढिमा १५ प्रतिशतसम्म क्षमताको मात्र उपयोग हुन सकेको छ । अर्काे दायाँपट्टिको मस्तिष्क, जो सृजनात्मकता र दक्षताको उद्गम स्थल हो । त्यो ज्यादै न्यून मात्र विकास र उपयोग हुन सकेको छ । तेस्रो, पछाडि पट्टिको मस्तिष्क जसले मानवतामा अलौकिक दिव्यताको प्रस्फुटन गराउन सक्छ । त्यो त पूर्णत सुषप्त अवस्थामै छ । प्रचलित शिक्षा व्यवस्थाले बायाँपट्टिको मस्तिष्कको मात्र त्यो पनि न्यूनतम मात्रामा उपयोग गर्न सकेको छ । त्रिभुजीय शिक्षा यस्तोे शिक्षा नीति हो, जसले मानवका यी तीनवटै मस्तिष्कलाई जाग्रत र सक्रिय तुल्याएर दक्षता, सृजनात्मकता, मानवीयता र वैज्ञानिक दृष्टिले सम्पन्न मानिसको विकास गर्नेछ, जो चेतनाको अति उच्च स्तरमा हुने छ । यसले समग्र मानव सभ्यतालाई नै विलक्षण उचाइ दिनेछ ।  

आईएमईको व्यवसायिक यात्रा पुस्तक र भिडियो एकै साथ सार्वजनिक

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच अनावरण गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त पुस्तक÷भिडियो संयुक्त रुपमा अनावरण गरेका हुन् । पुस्तक/भिडियो अनावरण कार्यक्रममा नेपाल राष्ट्र बैंक, युएनसीडीएफ, संचारकर्मीहरु, सरोकारवाला र आइएमई ग्रुपका बरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो । सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा १८ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो । कुल ४८ पृष्ठ मोटो पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको १६ वर्षसम्मको व्यवसायिक यात्रा समावेश गरिएको छ । अनावरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जीवी नेपालले आइएमईले तय गरेको सफल व्यावसायिक यात्राको उच्च प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गरे । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले कृषि बीमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बीमा सेवा प्रदान गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको जानकारी दिए । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना–प्रविधि र टेलिकमको तिब्रत्तर परिवर्तन भइरहेकाले डिजिटल वित्तीय सेवालाई पनि त्यसरी नै विकास गर्न सम्भव भएको बताए । यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंहले यूएनसीडीएफ विगत तीन दशकदेखि नेपालमा वित्तीय सेवा उपलब्ध गराउन क्रियाशील रहेको जानकारी दिँदै आइएमई डिजिटल वित्तीय सेवाका लागि राजमार्ग भएको बताए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको केन्द्रीय बैंकले आजभन्दा झण्डै दुई दशक अघि नेपालको नीजि क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने सहासिक निर्णय गरेकाले नै आज मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक संजालबाट ल्याउन सम्भव भएको बताए । डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्न पनि नियमन निकायले त्यस्तै सहासिक निर्णय गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले राष्ट्र«, व्यवसायिक संस्था र उपभोक्ता सबैलाई हित गर्ने व्यवसाय मात्र दिगो हुने बताए । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले १८ वर्ष लामो आइएमईको व्यवसायिक यात्रा बर्णन गर्दै आइएमई पे मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्न आइएमई ग्रुप प्रतिवद्ध रहेको जानकारी दिए । आइएमईको व्यवसायिक यात्रा समावेश गरिएको उक्त पुस्तक विभिन्न सरोकारवाला र नियमन निकायमा निशुल्क वितरण गरिनेछ भने भिडियो युएनसीडीएफ र आइएमईका आधिकारिक युट्युब च्यानल सामाजिक संजाल पेजमार्फत सार्वजनिक गरिएको छ ।