निजी विद्यालयमा डरलाग्दो सिन्डिकेट, भर्नाका नाममा मनोमानी शुल्क

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु नहुँदै देशभरका अधिकांश निजी विद्यालयले भर्नाका नाममा मनोमानी शुल्क तोक्न थालेका छन् । देशभर ६ हजार बढी निजी शैक्षिक संस्था छन्, जसमा १८ लाख बढी विद्यार्थी अध्ययनरत छन् । सरकारले निजी विद्यालयको पर्याप्त मात्रामा अनुगमन र नियमन नगर्दा ती विद्यालयले मनपरी शुल्क असुल्दै आएका हुन् । निजी विद्यालयले अभिभावकबाट विभिन्न शीर्षकमा मनपरी शुल्क असुल्ने गरेका छन् । तर, स्थानीय सरकार तैं चुप मै चुप अवस्थामा छ । केही निजी विद्यालयले परीक्षा शुल्क, मासिक शुल्क, कम्प्युटर ल्याब, ट्युसन, होस्टेल, डायरी, बेल्ट, टाई, जुत्ता, मोजालगायत शीर्षकमा शुल्क लिइरहेका छन् । यस्तै, कापीमा समेत सिन्डिकेट लगाउने गरेका छन् । उनीहरुले तोकिएको स्टेसनरीमा किताब किन्न अभिभावकलाई दबाब दिने गरेको पाइएको छ । पेन्सिल, पोसाकमा समेत केही विद्यालयले तोकिएको पसलबाट मात्र किन्न अभिभावकलाई निर्देशन दिने गरेका छन् । काठमाडौंका केही निजी विद्यालयले असमान ढंगले शुल्क लिएको पाइएको छ । फरक विद्यालयको फरक–फरक मासिक शुल्क छ । काठमाडौंको एक निजी विद्यालयले १ कक्षाको मासिक शुल्क ३ हजार लिने गरेको छ । सो विद्यालयका एक अभिभावकले भने, ‘के गर्नु बोर्डिङमा पढाउनै पर्यो , जति भन्छन्, त्यति तिर्नैप¥यो । पैसा त कति जान्छ कति !’ यस्तै, केही सरकारी विद्यालयले समेत अंगे्रजी माध्यमका नाममा विद्यार्थीसँग चर्को मात्रामा शुल्क लिइरहेका छन् । केही सरकारी विद्यालयले परीक्षा शुल्कका नाममा पैसा लिँदै आएका छन् । संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्थापित गरेको छ । माध्यमिक शिक्षा निःशुल्क गर्नुपर्ने प्रस्ताव उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा समेटिएको छ । तर, कार्यान्वयन भने हुन सकेको छैन । केही जिल्लामा क्षेत्रगत आधारमा प्याब्सन, एन प्याब्सन र स्थानीय सरकारको समन्वयमा शुल्क तोकिएको छ । मुख्यतः सहरी क्षेत्र, अर्धसहरी क्षेत्र र ग्रामीण क्षेत्रलाई आधार मानेर शुल्क निर्धारण गरिएको छ । शिक्षा नियमावली २०५९ मा रहेर निजी विद्यालयले शुल्क निर्धारण गर्ने प्रावधान छ । शिक्षा नियमावलीमा निजी विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट शुल्क प्रस्ताव पारित गराएर जिल्ला शिक्षा समन्वय समितिमा पठाउनुपर्छ । प्रस्तावित शुल्क अनुमोदन भए सो शुल्क दर लागू गराउन अभिभावकले देख्ने गरी विद्यालयको सूचना पार्टीमा टाँस्नुपर्ने नियमावलीमा प्रावधान छ । निजी विद्यालयको छाता संगठन प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयको अनुमति, स्वीकृति, कारबाही, खारेज गर्नेसम्मको अधिकार स्थानीय सरकारलाई भएको बताए । पुरीले भने, ‘लागतका आधारमा शुल्क निर्धारण हुने गर्छ, स्थानीय सरकारको अनुमति लिएर शुल्क तोकिनुपर्छ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।

एसईईः केन्द्राध्यक्षलाई मन्त्रीको हप्कीदप्की- ‘तिमीलाई हेडमास्टर कसले बनायो ?’

जनकपुरधाम । परीक्षा अनुगमनका क्रममा प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले केन्द्राध्यक्ष र शिक्षकलाई हप्कीदप्की गरेका छन् । मन्त्रीको यो कदमलाई अपमानको संज्ञा दिँदै शिक्षक आन्दोलित भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन आइतबार बिहान ९ बजे मन्त्री साह जनकपुरको सरस्वती नमुना मावि पुगेका थिए । शिक्षक शंकरकुमार दासलाई कार्डबिना देखेपछि मन्त्रीले केन्द्राध्यक्ष सत्यनारायण मण्डल बोलाएर परीक्षा हलबाट बाहिर निकाल्न निर्देशन दिए । मन्त्रीले दासलाई परिचयपत्रमा फोटो किन नटाँसेको भनी प्रश्न गरेका थिए। केन्द्राध्यक्ष मण्डलले उनी आफ्नै विद्यालयको शिक्षक रहेको जवाफ फर्काएका थिए । त्यसपछि मन्त्रीले आफूलाई गाली गरेको मण्डलले सुनाए । ‘तिमी खत्तम हेडमास्टर रहेछौं। तिमीलाई हेडमास्टर कसले बनायो ? कसले केन्द्राध्यक्ष बनायो ? ’, मन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘तिम्रो कुनै काम छैन। सस्पेन्ड गरिदिन्छु ।’ मन्त्रीले फोटोबिनाको परिचयपत्र बोकेका निरीक्षक बेचन रामलाई भेटाए । राम पनि सोही विद्यालयका शिक्षक हुन् । मन्त्रीले सोधे, ‘फोटो किन नटाँसेको ? ’ मन्त्रीले भोलिदेखि परिचयपत्रमा फोटो टाँसेर आउन निर्देशन दिए । फोटोबिनाको परिचयपत्र बोकी परीक्षामा निरीक्षक बनेका शिक्षकलाई किन यस्तो गरेको भनेर प्रश्न सोधेको मन्त्री साहले स्वीकार गरे । ‘मैले परीक्षालाई मर्यादित बनाउन र परीक्षामा कडाइ गर्न शिक्षकको परिचयपत्र खोजेको थिएँ’, उनले भने। ४ सय १० परीक्षार्थी रहेको सरस्वती मावि केन्द्रमा आइतबार ४ सय ८ जना सहभागी भए । प्रत्येक कोठामा चार जना घुम्ती र केन्द्राध्यक्ष गरी २३ जना गार्ड खटिएका थिए । शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम चार निरीक्षक परिचयपत्रमा फोटो नटाँसी परीक्षा हलमा थिए। उनीहरू ढिला गरी परीक्षा केन्द्रमा पुगेकाले फोटो टाँस्न ढिलाइ भएको केन्द्राध्यक्ष मण्डलले बताए । यता, नेपाल शिक्षक संघले मन्त्री साहको राजीनामा मागेको छ। संघले विद्यालयमै पत्रकार सम्मेलन गरी मन्त्री साहले शिक्षकको अपमान गरेको आरोप लगाएको छ । संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवले केन्द्राध्यक्ष र शिक्षकको अपमान गर्ने मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

६ कक्षादेखि विद्यार्थीलाई रोबोट बनाउन सिकाइदै, एउटा राेबाेट बनाउन ४ हजार खर्च हुने

ललितपुर । ललितपुर महानगरपालिकाले आगामीे वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर्ने भएको छ । वर्तमान समयमा प्राविधिक शिक्षालाई अघि बढाउन आवश्यक भएको महसुस गरी महानगरपालिकाले उक्त कार्यक्रम अघि बढाउन लागेको हो । महानगरपालिकाले यशोधरा बौद्ध माध्यमिक विद्यालय थैना, जलपा माध्यमिक विद्यालय धापाखेल र हिन्दू विद्यापिठ नेपाल बालकुमारीका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई वैशाखदेखि उक्त शिक्षा शुरु गर्ने स्रोत व्यक्ति सत्यनारायण महर्जनले जानकारी दिए । “नगरप्रमुखले ललितपुरमा प्राविधिक शिक्षालाई अघि बढाउने योजना अघि बढाएसँगै गत फागुनमा ‘म्यागी युनिभर्सिटी अफ जापान’ का प्रोफेसर मिजुटानीले रोबोट निर्माणबारे जानकारी दिए”, महर्जनले भने । गत फागुन २८, २९ र ३० गते योजना अघि बढाएका तीन विद्यालयका ६ शिक्षक, साझा इ पाटी नेपाल नामक संस्थाका चार व्यक्ति, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस रोबोटिक्स क्लबका दुई विद्यार्थी, यशोधराका प्रधानाध्यापकसहित ललितपुर महानगरपालिकाका स्रोत व्यक्ति गरी कूल १४ जनालाई रोबोट बनाउने बारे सिकाइएको थियो । यस्तै यही चैत १ गते यशोधरा माविका कक्षा सातमा अध्ययनरत १८ विद्यार्थीलाई उक्त तालिम प्रदान गरी रोबोट बनाउने काम सम्पन्न भइसकेको छ । जापनाले उक्त रोबोट निर्माण गर्न जापानमा नेपाली रु १७ हजार खर्च हुने अनुमान गरिएको छ । पुल्चोक इञ्जिनियरिङ्का विद्यार्थीले भने नेपालमा करीब रु तीनदेखि चार हजारमा निर्माण हुने जानकारी दिएसँगै सो योजना अघि बढाइएको छ । रोबोट निर्माण गर्न प्लाष्टिकका बल्क, त्यसलाई सञ्चालन गर्न कम्प्यूटरको सिपियू जस्तै स्टीडिनो, डिसि मोटर, रोबोट चलाएमान बनाउन सर्भोमिटर र ब्याट्रीको प्रयोग गरी ल्यापटप वा कम्प्युटरमा जडान गर्नुपर्ने हुन्छ । सो प्रविधिमा साउन्ड सेन्सर, लाईट सेन्सर र टच सेन्सरले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । महानगरपालिकालाई सो योजना अघि बढाउन आर्थिक तथा व्यावसायिक सहयोग भने सिटिनेट योकोहामा जापान र केडिडिआई जापानले गर्ने भएका छन् । यस वर्षको रोबोट बनाउने योजना र त्यसको मूल्याङ्कनलाई अध्ययन गरी २०७७ सालमा ललितपुरका प्रभात माध्यमिक विद्यालय त्यागल, हरिसिद्धि माध्यमिक विद्यालय हरिसिद्धि, बालविनोद माध्यमिक विद्यालय नटोल र श्रमिक बालविज्ञान आधारभूत विद्यालय पुल्चोकमा कार्यक्रम लागू गरिने भएको छ । रासस