काठमाडौँ उपत्यकामा गण्डकी विकास बैंकले एकै दिन खोल्यो तीन वटा शाखा
काठमाडौँ । गण्डकी विकास बैंकले ललितपुरको इमाडोलमा, काठमाण्डौको कलंकीमा र भक्तपुरको शुकुलढोकामा गरी तीन वटा शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाहरुको प्रमुख अतिथिहरु क्रमशः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष रामप्रसाद प्रजापतीेले उद्घाटन गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नु गरे । उक्त कार्यक्रमहरुमा स्थानीय वडाध्यक्ष, पत्रकार, समाजसेवी, सुभेच्छुक, शुभचिन्तक सर्वसाधारण र अन्य प्रतिष्ठित व्यक्ति ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कालीमाटीमा देवः विकास बैंकको नयाँ शाखा, विद्यासुन्दरले गरे उद्घाटन
काठमाडौँ । देवः विकास बैंक लि.ले काठमाडौं महानगरपालिका, वडा नं १३ स्थित कालीमाटीमा नयाँ शाखा सञ्चालन गरेको छ । शुक्रबार एक समारोह बीच शाखा कार्यालयको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । बैंक संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा मन्तव्य दिंदै काठमाडौंं महानगरपालिकाका प्रमुख शाक्यले मेरो काठमाडौं मैले बनाउँछु भन्ने भावना सहित आर्थिक समृद्ध काठमाडौं निर्माणमा महानगरवासीसँग सहकार्य गर्ने र महानगरको आर्थिक एवम् सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । कामर्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा काठमाडौं महानगरपालिका, वडा नं १३ का वडा अध्यक्ष ध्रुव नारायण मानन्धर लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विप्रेषण आप्रवाह २८ % ले बढ्यो, नेपाली युवाले ७ महिनामा पठाए ५ खर्ब
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली युवाले चालू आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १५ अर्ब ५५ करोड विप्रेषण नेपाल पठाएका छन् । विप्रेषण आप्रवाहमा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भई पाँच खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९ दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार दशमलव नौ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा चार दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक दशमलव छ प्रतिशतले घटेको थियो ।