युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको । युनियनको  पहिलो साधारणसभाले सम्बन्धित निकायबाट स्वीकृति लिएर सर्वसाधारणका लागि छुट्टाइएको आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । युनियनलाई आईपीओ निष्कासनका लागि बाटो खुलाएको छ । साधारणसभाबाट स्वीकृति पाएकाले युनियनले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । गत असोजमा युनियनले जीवन बीमा कारोबार सुरु गरेको हो । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरको संस्थापक लगानी छ । साभाले शुलभ अग्रवाल, शेखर गोल्छा, संदिपकुमार अग्रवाल र जीवनकुमार अग्रवाललाई सर्वसम्मत रुपमा सञ्चालकमा निर्वाचित गरेको युनियनले जनाएको छ । सभाले अध्यक्षका लागि ६ हजार ५ सय र सञ्चालकका लागि ६ हजार रुपैयाँ बैठक भक्ता दिने प्रस्ताव पनि पारित गरेको छ ।  

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् । उक्त नियुक्ति सम्बन्धि सम्झौता पत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका हुन् । मह जोडीले प्रत्येक परिवारको लागि जीवन बीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने कम्पनीको विश्वास रहेको छ । साथै, जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्ने कम्पनीले जनाएको छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको छ । साथै, आफ्नो २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।  

एनबी इन्स्योरेन्स बन्यो आइएमई जनरल, रि-ब्राण्डिङ र आक्रामक बजार विस्तारको योजना

काठमाडौं । एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्स कम्पनी बनेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत एनबीले आइएमई जनरल इन्स्योरेन्स कम्पनीका नामबाट कारोबार आरम्भ गरिएको घोषणा गरेको हो ।   ‘आजबाट एनबी इन्स्योरेन्सले विधिवत रुपले आइमएइ जनरल इन्स्योरेन्सका नामबाट कारोबार आरम्भ गरेको छ, तीन महिनासम्म रि-ब्राण्डिङ र आक्रामक बजार विस्तार गर्नेछौं’, आइमएइ समूहका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले भने । ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले ८० प्रतिशत हकप्रद जारी गरेर चालु आर्थिक बर्षमै ९५ करोड २० लाख चुक्ता पुँजी पुर्याउने र थप ५ प्रतिशत बोनस सेयर दिने योजना बनाएको छ । कम्पनीले असोज मसान्तसम्ममा २२ करोड प्रीमियम संकलन गरेर २ करोड ५५ लाख नाफा कमाएको छ । कम्पनीको जगेडा कोषमा २२ करोड रुपैंयाँ रहेको छ । कम्पनीले १८ वटा नयाँ शाखा थप्ने योजना अघि सारेको छ । हाल कम्पनीले २५ शाखा र १० वटा सेवा काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । १६६ जना कर्मचारीको संख्यालाई पनि बढाएर २५० जना पुर्याउने योजना बनाएको छ । १ अर्ब २० करोड प्रिमियम संकलन गरेर २० करोड नाफा कमाउने योजना अनुसार कम्पनीले बजारीकरण गरिरहेको जनाएको छ ।