रिलायन्स लाईफ इन्स्योरेन्सद्धारा कारोबार शुरु, ३ वटा जीवन बीमा योजना सञ्चालनमा

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले मंसिर १ गतेदेखि औपचारिक कारोबार शुरु गरेको छ । कात्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको एक कम्पनीले “खुलेर जिऔं” भन्ने नाराका साथ नयाँबानेश्वर प्रधान कार्यालयबाट कारोबार शुरु गरेको हो । यस इन्स्योरेन्स सुरुवात देखिनै उच्च स्तरिय सेवा दिने उद्देश्यले नेपाली बीमा बजारमा उपस्थित भएको कुरा कम्पनीले जनाएको छ । अहिले नेपालीहरुको आयस्तर बढेको र नेपालको कुलग्राहस्थ उत्पादन पनि उच्च रहेकोले नयाँ बीमा कम्पनीहरुको आगमनले व्यवसाय विस्तार गर्न थप मद्दत हुने कम्पनीका अध्यक्षश्री ताराचन्द केडियाले बताएका छन् । कम्पनीले सुरुवात बाटै ३ वटा जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा थप ४ बीमा योजना सञ्चालनमा ल्याउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको सञ्चालकमा पवनकुमार अग्रवाल, भरत कुमार तोडी र सुन्दर प्रसाद कँडेल रहेका छन् । यसैगरी, कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल रहेका छन् । नायव सिईओ कँडेल यसअघि स्ट्याण्डर्ड चार्टर्डलगायतका बैङ्कमा १२ वर्षसम्म कार्यरत थिए । यस्तै, कम्पनीको महाप्रवन्धकमा यस.के.तमोट रहेका छन् । उनको बीमाक्षेत्रमा विगत ५० वर्ष देखि अनुभव रहेको र रिलायन्स लाईफ भन्दा पहिले सिद्धार्थ इन्स्योरेन्स लि.मा महाप्रबन्धकका रुपमा सफलताका साथकार्य सञ्चालनको अनुभव समेत रहेको छ । कम्पनीमा १ सय १३ जना प्रवर्धक रहेका छन् । हाल संस्थापकबाट १ अर्ब ४७ करोड रुपैयाँ चुक्तापूँजी रहेको र कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ । सर्बसाधारण शेयर जारी पछि कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले जीवन बीमाको व्यवसाय फराकिलो पार्न नेपालभर शाखा तथा उप-शाखा कार्यालयहरु विस्तारलाई प्राथमिकता दिने बताएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ५१ करोड पुग्ने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई मंसिर १ गते सम्पन्न कम्पनीको १६औ वार्षिक साधारणसभाले पारित गरेको हो । बारामा सम्पन्न उक्त सभाले कम्पनीको हालको चुक्ता पुँजीमा सो मात्राको बोनस वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ३१ लाख रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २५ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अशाेक कुमार अग्रवालले बताएका छन् । जुन रकम अघिल्लो वर्षको तुलनामा ४४.३८ प्रतिशतले बढी हो । साथै, कम्पनीले सो अवधिमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

मेगा बैंकमा खुल्यो जागिरको अवसर, प्रबन्धकसहित ११३ कर्मचारीको माग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो । बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरी १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै बैंकले २९ जना अधिकृत तहका कर्मचारी र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमश वाणिज्य बैंकमा पाँच वर्ष र तीन वर्ष काम गरेको हुनुपर्नेछ । बैंकले १६ नयाँ ठाँउका नयाँ शाखाका लागि पनि धेरै संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि २२ जना कर्मचारीको माग गरेको छ । त्यस्तै नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको पनि माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ । ईच्छुक आवेदकले मंसिर १४ गतेसम्म बैंकमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ ।