आशा लघुवित्तले सदस्यहरुलाई दियो साबुन र सर्फ बनाउने तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सदस्यहरुलाई सीपमूलक तालिम दिएको छ । आशाले आफ्ना महिला सदस्यहरुको आयस्तर वृद्धि गरी जीवनस्तर उकास्ने अभिप्रायले सदस्यहरुलाई घरेलु सीपमूलक तालिम सञ्चालन गरेको हो । संस्थाले झापाको सुरुङ्गास्थित शाखामा आवद्ध ६२ जना महिला सदस्यलाई गत बिहीबारदेखि शनिबारसमम निःशुल्क रुपमा साबुन बनाउने ३ दिने सीपमूलक तालिम दिएको हो । उक्त कार्यक्रममा महिलाहरुलाई साबुन बनाउने मात्र नभई त्यसको बजारीकरण कसरी गर्ने भन्नेबारे समेत तालिम दिइएको संस्थाले जनाएको छ । संस्थाले यसअघि, सर्लाहीको नयाँ रोडमा समेत ६० जना सदस्यहरुलाई लुगाधुने सर्फ बनाउने तालिम दिएको थियो । आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखाहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने बताए । यसबाट महिलाहरुको सीप विकास, आर्थिक उपार्जन र क्षमता अभिवृद्धिमा मद्दत पुग्ने उनको विश्वास छ । आशा नुवाकोटको ककनीमा मुख्य कार्यालय रहेको संस्था हो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त उक्त संस्थाका २८ जिल्लामा ४५ शाखाहरु छन् भने ४० हजार सदस्य यसमा आवद्ध रहेको संस्थाले जनाएको छ । संस्थाको हालसम्म करिब रु. १ अर्ब ५२ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
१ लाख ६३ हजार करदाता थपिए, करको दायरा विस्तारले सङ्ख्या बढायो
काठमाडौँ । राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयका अनुसार कूल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन् । मूल्य अभिवृद्धि कर (भ्याट)मा २० हजार ७४ नयाँ करदाता थपिएका छन् भने अन्तशुल्कतर्फ ११ हजार ६१५ करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आवको बजेटको अर्ध वार्षिक समीक्षाअनुसार स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या १९ लाख पुगेको छ । भ्याटमा दर्ता हुनेको सङ्ख्या १६ हजार ५४९ पुगेको छ भने अन्तशुल्कमा दर्ता हुनेको सङ्ख्या दुई लाख १२ हजार ९६५ पुगेको छ । करको दायरामा गरिएको विस्तारका कारण सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । यस्तै एक करोडभन्दा बढीको सवारीसाधन खरिद गर्दा खरिदकर्ताले कर चुक्ता प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । कर कानूनलाई एकीकृत गरी सरल बनाउन आन्तरिक राजश्व विभागबाट एकीकृत कर संहिताको मस्यौदा अन्तिम चरणमा रहेको समीक्षामा उल्लेख छ । करदाताको कर सहभागिता लागत र कर प्रशासनको कर सङ्कलन लागत घटाउने उद्देश्यले गत असोज १ गतेदेखि आन्तरिक राजश्व विभाग कार्यालयमा रु एक लाखसम्मको राजश्व विद्युतीय माध्यमबाट दाखिला गर्न सकिने गरी विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याइएको छ । मन्त्रालयका अनुसार चालू आवको ६ महिनामा चार खर्ब दुई अर्ब ४५ करोड ७६ लाख राजश्व सङ्कलन भएको छ । यो कूल अर्धवार्षिक लक्ष्यको ९३ दशमलव सात प्रतिशत तथा वार्षिक लक्ष्यको ४२ दशमलव ६ प्रतिशत हो । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५५ करोड ८० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । सङ्घीय सरकारको बजेटका लागि आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख तथा राजश्व बाँडफाँटमार्फत प्रदेश र स्थानीय तहलाई रु एक खर्ब १४ अर्ब २४ करोड राजश्व हस्तान्तरण गर्ने लक्ष्य छ ।
तीन कम्पनीका शेयर सूचीकृत, कुन कम्पनीको कति ?
काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको छ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता शेयर लाभांश र मेगा बैंकको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांशसमेत सूचीकृत भएको छ । स्टकका अनुसार यस साता कूल १७६ कम्पनीको शेयर कारोवार भएको छ । बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम शीर्षस्थानमा रहेको छ । टेलिकमको एक खर्ब दुई अर्ब ६० करोड बराबर रहेको छ । यस्तै, नबिल बैंक लिमिटेडको बजार पूँजीकरण ५५ अर्ब ३० करोड ५५ लाख ८५ हजार २०० रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४८ अर्ब ८० करोड ५९ लाख सात हजार ४६० बराबरको बजार पूँजीकरण रहेको छ । साताको पहिलो दिन एक हजार एक सय दशमलव ५८ विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् गत बिहीबार २७ विन्दुले बढेर एक हजार १२७.७७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.८४ विन्दुले बढेको छ ।