दुई कम्पनीले एक अर्ब ४ करोडको आईपीओ जारी गर्दै, कसले कहिलेदेखि भर्न पाउने ?
काठमाडौं । बजारमा दुई कम्पनीले एक अर्ब ४ करोड ७४ लाख ४१ हजार २०० रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । ग्रीन लाइफ हाइड्रोपावरले १८ करोड र यूनिभर्सल पावर कम्पनीले ८६ करोड ७४ लाख गरी सो मात्राको सेयर बिक्री गर्न लागेका हुन् । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण सेयर बिक्री गर्नेछ । दोलखाका स्थानीयबासीले उक्त आईपीओमा न्यूनतम २० कित्ता र अधिकतम ९०० कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता सेयर गौरीशंकर गाउँपालिका वडानम्बर ७ का बासिन्दाका लागि, गौरीशंकर गाउँपालिका वडानम्बर ५, ६, ८ र ९ का बासिन्दाका लागि ४० प्रतिशतले हुन आउने ७ लाख २० हजार कित्ता र बाँकी रहेको ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता गौरीशंकर १, २ र ४ का बासिन्दा तथा बिगु गाउँपालिकाको वडा नम्बर ४ का बासिन्दाका लागि सुरक्षित गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई १८ करोड र सर्वसाधारण तथा कर्मचारीहरुलाई १८ करोड रुपैयाँ बराबरको सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ नाघ्ने छ । हाल कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुने कम्पनीले जनाएको छ । त्यसैगरी, यूनिभर्सल पावरले माघ २५ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरले ८६ लाख ७४ हजार कित्ता सेयरकाे बिक्री खुला गर्न लागेकाे छ । उक्त सेयरमा इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ लाख ३५० कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । हाल कम्पनीको सेयर बिक्री प्रवन्धकको काम नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कुल ९० करोडको सेयर बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।
५ अर्ब १६ करोडको ट्रेजरी बिल बिक्री हुँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ । यस्तै एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यस्तै बैंकले सोमबार मात्रै पाँच अर्ब बराबरको रिपो बिक्रीका लागि बोलकबोल गरेको छ । पछिल्ला दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई रिपो र ट्रेजरीजस्ता वित्तीय उपकरणमार्फत तरलता उपलब्ध गराउँदै आएको छ । रासस
सबै बैंक र बीमा कम्पनीले सूचना अधिकारी राख्नै पर्ने
काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा सूचना प्रवाहको व्यवस्था गर्न भनेको हो । यसँगै वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि सूचना अधिकारी राख्नै पर्नेछ । हाल २३७ वटा बैंक तथा वित्तिय संस्था सञ्चालनमा रहेका छन् । त्यस्तै ४० वटा बीमा कम्पनी सञ्चालनमा छन् । सूचना आयोगले १८० वटा राजनीतिक दल, ६२ वटा सार्वजनिक संस्थान र २५७ वटा आईएनजिओले समेत सूचना अधिकारी मार्फत सूचना प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।