सांग्रिला बैंकका ग्राहकलाई ग्राण्डीमा विशेष छुट
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता गा्रहकहरुले बैंकको ग्राण्डी हस्पिटल प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन् । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त ग्राण्डी हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागेको बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
शेयर बिक्रीमा अग्रिम रकम नलिनूः स्टक
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दा समेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो । धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ, तर सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको छ । स्टकले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । शेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरिवेक्षण शाखाले जनाएको छ । रासस
बीमा समितिले एक्चुरीको सूची तयार पार्ने, ४५ दिन भित्र आवेदन दिन आग्रह
काठमाडौँ । बीमा समितिले बीमांकक (एक्चुरी) को सूची तयार पार्ने भएको छ । समितिले विश्वव्यापीरूपमा सूचना प्रकाशित गरी बीमांककको सूचीमा सहभागी हुन आग्रह गरेको हो । नेपालमा बीमा व्यवसाय शुरु भएको लामो इतिहास भएपनि नेपालभित्र बीमांकक नभएपछि स्वदेशमा नै दक्ष जनशक्ति उपलब्ध गराउने नभए मात्रै विदेशी कम्पनीलाई सहभागी गराउने लक्ष्यका साथ उक्त सूचना सार्वजनिक गरिएको हो । समितिले केही दिन पहिले सार्वजनिक सूचना प्रकाशित गरी ४५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । समितिले कम्पनी र नियमनकारी निकायबीच आवश्यक समन्वय, बीमा व्यवसायको विश्वसनीयताका लागि पनि उक्त प्रयास गरिएको जनाएको छ । नेपालमा जीवन बीमा र निर्जीवन बीमा गरी कूल ३९ कम्पनी कार्यरत छन् । एक बीमा कम्पनीको मूल्याङ्कनसहितको लेखापरीक्षणका लागि न्यूनतम रु चार लाख देखि चार लाख ५० हजारसम्म खर्च हुने गरेको छ । यस्तै बीमा समितिले केही समय पहिलेदेखि लागू गरेको ‘एनएफआरएस’का लागि समेत सोही परिमाणमा रकम खर्च हुने गरेको छ । समितिले बीमाकंकको उपाधि हासिल गरेकालाई सूचीमा सहभागी हुन आग्रह गरेको हो । नेपालका अधिकाशं बीमा कम्पनीको लेखापरीक्षण नेपालमा नभई छिमेकी देश भारतमा हुने गरेको छ । राष्ट्रिय पूँजी विदेश गइरहेको पाइएपछि समितिले स्वदेशमा नै काम गराउने लक्ष्यसहित सूची तयार पार्न लागेको हो । समितिले बीमाकंकको नाम, नम्बर र ठेगानासमेत सूचीमा समावेश गर्ने भएकाले बीमा कम्पनीले सहजै उनीहरूलाई सम्पर्क गर्न सक्नेछन् । जानकारहरूका अनुसार नेपालमा बीमाकंकको उपाधि हासिल गरेकाको सङ्ख्या असाध्यै न्यून छ । जसका कारण ठूलो धनराशि विदेशिइरहेको छ । बीमा समितिले बीमाकंकको सम्पूर्ण विवरणलाई अध्ययन गरेर सार्वजनिक गर्ने जनाएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बीमा कम्पनीको लेखापरीक्षण गराउन स्वदेशमा नै जनशक्ति खोजी गर्ने प्रयासलाई स्वागत गरेका छन् । समयमा नै ‘एक्चुरियल’ लेखापरीक्षण हुन नसक्दा बीमा कम्पनीले तोकेको समयमा साधारणसभा गर्नसमेत पाएका छैनन् । पछिल्लो पटक ‘एनएफआरएस’ लागू भएका कारण पनि समस्या परेको छ । समितिले भारत, बेलायत, अष्टे«लियाका पाँच कम्पनीलाई बीमाकंकको काम गर्ने गरी सूचीमा राखेको छ । नेपाल स्टक एक्सचेञ्जमा विभिन्न सात जीवन बीमा कम्पनी र १५ निर्जीवन बीमा कम्पनी सूचीकृत छन् । केही कम्पनी भने सूचीकृत भएका छैनन् । रासस