जनता बैंकको शाखा सिराहाको लहानमा, मंगलबार हेटौडामा शाखा खोल्यो
काठमाडौं, ५ पुस । जनता बैंकले सिराहाको लहानमा ३९ औ शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकको लहान शाखाको बैंकका सञ्चालकद्वय भीमानन्द ढुङ्गाना र ई.रामचन्द्र शाहले संयुक्त रूपमा गरे । गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख खुद मुनाफा आर्जन गरेको थियो । बैंकले ३० वटा ए.टि.एम, १५ वटा शाखा रहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकले यस आर्थिक वर्षभित्र महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा लगायत उपयुक्त स्थानहरुमा शाखाहरु थप गर्ने, थप ए.टि.एम. राखी नेटवर्क विस्तार गर्ने, देशको ग्रामिण क्षेत्रमा शाखारहित बैंकिङ इकाइहरु स्थापना गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ । त्यस्तै बैंकले मंगलबार हेटौडामा पनि अर्को शाखा खोलेको छ ।
अध्यक्षको प्रतिस्पर्धाबाट फत्तबहादुर केसी बाहिरिए, पुनः नियुक्ती नहुने भएपछि कर्मचारीसँग लिए बिदा
काठमाडौं, ४ पुस । बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई प्रधानमन्त्री प्रचन्डका प्रशासकीय सचिव नारायण दाहालले समेत भेट गर्न नदिएपछि उनी निरास हुँदै दाैढबाट बाहिरीएका हुन् । आफू पुनः नियुक्ति नहुने पक्का भएपछि अध्यक्ष केसीले आईतबार सबै बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई समितिमा बोलाएर आफ्नो कार्यकालमा गरेका राम्रो कामको चर्चा गरेका थिए । त्यस्तै कर्मचारीहरुसँग पनि आफू बीमा समितिबाट विदा लिन लागेको जानकारी गराएका छन् । ८ वर्षसम्म समितिमा अध्यक्ष भएका केसी पुस ७ गतेबाट विदा हुँदैछन् । समितिको अध्यक्ष बन्ने लविङका लागि करिव डेढ दर्जन व्यक्ति अर्थमन्त्रालय पुगेका छन् । समितिको अध्यक्ष बन्न रविन्द्र घिमिरे, केवी बस्नेत, रणबहादुर श्रेष्ठ, केशव भट्टराई, ऋषिराम गौतम, चिरञ्जीवि चापागार्इ, विजयबहादुर शाह, जनार्दन आचार्य, कृष्णप्रसाद आचार्य, श्रीमान् कार्की, रमेशकुमार भट्टराई, अश्विनीकुमार ठाकुर, केशव दुवाडी, चिरायु भण्डारी, नरेन्द्र सिंह लगायत शक्ति केन्द्रमा लविङ गर्दै गरिरहेका छन् ।
नेपालमा रहेको भारु नसाटिने निश्चित, पटकपटकको आग्रहलाई भारतद्धारा वेवास्ता
काठमाडौं ४, पुस । नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने देखिएको हो । भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले बेवास्ता गरेका कारण नेपालबाट भारतीय पक्षसँगको कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ कुरेर बसिरहेको वताए । यसअघि ठूला दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति बनाएर भारत जाने डेपुटी गभर्नरले वताएका थिए । कालो धनका रुपमा ठूलो रकम रहेको आशंका गर्दै भारतले गत कात्तिक २४ मा यी नोटहरुमा प्रतिबन्ध लगाएपछि नेपाल पनि प्रतिबन्ध लागेको छ । कारोबार दैनिकबाट ।