समीट माइक्रोफाइनान्सले ४५% बोनस र शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं, ३० मंसिर । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंक ४५ प्रतिशत बोनस पश्चात शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

लोडसेडिङ घटाउन उर्जालाई पाँच अर्ब ३७ करोड, विद्युत् उपकरण किन्न खर्च गर्नुपर्ने

काठमाडौँ – अर्थ मन्त्रालयले विद्युतीय उपकरण खरिदका लागि ऊर्जा मन्त्रालयलाई पाँच अर्ब ३७ करोड ८० लाख रुपैयाँ खर्च गर्न सहमति दिएको छ । लोडसेडिङ न्यूनीकरणका लागि अर्थ मन्त्रालयले विशेष व्यवस्था गरेर यो रकमको सहमति जनाएको सचिव शान्तराज सुवेदीले जानकारी दिए । ‘लोडसेडिङ न्यूनीकरण गरी जनतालाई राहत हुन्छ भने काम गर्नुस् भनेर बजेटको सहमति दिइएको छ,’ उनले भने, ‘यो रकम नेपाल विद्युत् प्राधिकरणले आफूले ल्याएको कार्यक्रमअनुसार खर्च गर्नेछ ।’ सचिव सुवेदीका अनुसार प्राधिकरणले यो रकमबाट उच्च क्षमताका नयाँ ट्रान्सफर्मर खरिद गर्नेछ । यस्तो ट्रान्सफर्मरबाट प्राविधिक चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणको विश्वास छ । यो रकमबाट पोल, तार र मिटर पनि खरिद गरिनेछ । नयाँ पत्रिका दैनिकबाट ।

प्रभु क्यापिटलको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं, २७ मंसिर । प्रभु क्यापिटलको गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न भएको कम्पनीको आठौं वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको बाक्लो उपस्थिती थियो । विगत ८ वर्ष देखि संचालनमा रहेको यस कम्पनीले ग्राहकहरु समक्ष आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको छ । साधारण सभाले संचालक समितिमा भएको परिवर्तनलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ ।