लाइफ इन्स्योरेन्सको सीईओमा लक्ष्मीप्रसाद दास, बीमा क्षेत्रमा २६ वर्षको अनुभव
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) (एलआईसी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले माघ १५ गतेदेखि लागू हुने गरी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ दासले जीवन बीमामा २६ वर्षको अनुभव संगाली सकेका छन् । उनी यसअघि एलआईसी अफ इन्डियामा सिनियर डिभिजनल म्यानेजरको रुपमा कार्यरत थिए । साथै, उक्त बैठकले इन्स्योरेन्सको संचालक समितिकाे अध्यक्षको रुपमा हेमन्त भार्गवलाई नियुक्त गरेको छ । जीवन बीमामा ३७ वर्षको अनुभव संगालेका नवनियुक्त अध्यक्ष भार्गव एलआईसी अफ इन्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् । त्यस्तै, समितिले प्रमोटर सेयरधनी एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने बीमकको संचालक समितिका अध्यक्ष भि.के. शर्माले दिएका राजीनामालाई स्वीकृत गरेको छ । उक्त रिक्त स्थान तथा बाँकी कार्यकालसम्मको अवधिका लागि भार्गवलाई संचालक तथा अध्यक्षको रुपमा नियुक्त गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले गर्यो अपाङ्ग बालबालिकालाई सहयोग
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट र धादिङ जिल्लाका दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग उपलब्ध गराएको छ । मैत्री समाज नेपालले नुवाकोटको तुप्चेमा आयोजना गरेको कार्यक्रममा विशेष किसिमको खेल शो–डाउन टेबल टेनिस ट्रेनिङ्ग क्याम्पमा स्वयमसेवक परिचालन, आवाश तथा यातायात सहयोग, पुरस्कार र विभिन्न तालिम सामाग्रीको लागि आवश्यक सहयोग गरेको हो । आँखामा ब्लाइन्ड फोल्ड नामक पट्टि लगाई विशेष किसिमले डिजाइन गरि तयार गरिएको टेबल टेनिस बोर्डमा हातमा ग्लोब्स लगाएर विशेष खालको आवाज आउने साउण्ड बललाई पेडलले हिर्काएर बोर्डमा गुडाई दुई व्यक्ति बीच शुरुमा सबै सहभागीहरुलाई प्रशिक्षक प्रकाश खड्का र उनको सहयोगी प्रतीक ढकालद्घारा तालिम अभ्यास गराईएको थियो । उक्त अवधिभरको अन्तिम २ दिन श्री चण्डेश्वरी मा.वि, तुप्चे, नुवाकोट र जनजाग्रिति मा.वि, महादेववेशी, धादिङ्गका सहभागी विद्यार्थीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराई एक जना छात्र, एक जना छात्रालाई नगद उपहार र सबै सहभागिहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।
कोहलपुरमा आशा लघुवित्तले गर्यो अर्धवार्षिक गोष्ठी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी कोहलपुरमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गरेका हुन् । वित्तीय संस्थाले प्रदेश ५, ६ र ७ मा सञ्चालित १८ वटा शाखा कार्यालय शाखा प्रबन्धकको सक्रिय सहभागितामा दुईदिने गोष्ठी आयोजना गरेको हो । गोष्ठीको उद्देश्यबारे प्रमुख कार्यकारी अधिकृतले संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणत्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकाले यसतर्फ ध्यान पुर्याउन शाखा प्रवन्धकले निर्देशन दिएका थिए । सो कार्यक्रममा शाखा प्रबन्धकहरुले आ—आफ्नो शाखाबाट चालु आर्थिक वर्षको ६ महिनामा भएका उपलब्धीहरुको समीक्षा गरेका थिए । हालसम्म उक्त वित्तिय संस्थाको २८ वटा जिल्लाहरुका कार्यालयका ४५ शाखा कार्यालय स्थापन करीब ३९ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको । संस्थाको हाल नाफा करीब रु १ अर्ब ५० करोड लगानीमा रहेको साथै ३४ करोड भन्दाबढी निक्षेप रकम संकलन गरिएको छ ।