नेपालमा पहिलो पटक इन्टरेनट मार्फत फन्ड ट्रान्सफर, एनआईसी एसियाको अन्तर बैंक फण्ड ट्रान्सफर सञ्चालनमा

काठमाडौं, २२ मंसिर । एनआइसी एसियाले अन्तर बैंंक फन्ड ट्रान्सफर गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल क्लियरीङ हाउससँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवामार्फत सो सुविधा सञ्चालनमा ल्याएको हो । बैंकले इन्टरनेटमार्फत सोझै फण्ड ट्रान्सफर गर्न मिल्ने सेवा ल्याउने नेपालकै पहिलो बैंक भएको दावी गरेको छ । सो सेवा सञ्चालनमा आएपछि बैंकका ग्राहकहरुले सजिलैसँग ६० भन्दा बढी बैंक तथा बित्तीय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम सेवा एबम् सुविधा उपलब्ध गराउने उदेश्यका साथ सो सेवा सञ्चालनमा ल्याइएको बैंकले दावी गरेको छ ।

सरकारी जमानीमा साना उद्योगलाई कर्जा, वातावरण भए लगानी गर्न बैंकर्स तयार

काठमाडौं २२, मंसिर ।  बेरोजगारी अन्त्यका लागि सरकारले साना तथा मझौला उद्योगलाई सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउन नीतिगत व्यवस्था गर्ने भएको छ । वाणिज्य बैंक तथा विकास बैंकलाई साना तथा मझौला उद्योगमा अनिवार्य लगानीको न्यूनतम सीमा तीन प्रतिशत तोक्ने र यसको ग्यारेन्टी आफैं लिने सरकारको तयारी छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीका अनुसार सरकारले यस्तो क्षेत्रमा प्रवाह भइरहेको कर्जा असुल नभएमा निश्चित प्रतिशतसम्म आफैं बेहोर्ने गरी नीतिगत व्यवस्था गर्ने तयारी गरिरहेको छ । “अन्य क्षेत्रको तुलनामा साना तथा मझौला खालका उद्योगमा प्रवाह गरिएको कर्जा दुरुपयोगको जोखिम निकै कम हुन्छ,” मन्त्री जोशी भन्छन्, “त्यसैले सम्भावित ‘डिफल्ट’लाई निश्चित प्रतिशतसम्म सरकारले नै ग्यारेन्टी गर्ने गरी बैंकहरूलाई साना तथा मझौला उद्योगमा लगानी गराउने तयारी भएको छ ।” बैंकहरूको लगानीका लागि साना तथा मझौला उद्योग आफैंमा ठूलो र दीर्घकालीन क्षेत्र भएको उनको भनाइ छ । मन्त्री जोशीका अनुसार साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकहरूलाई न्यूनतम लगानीको सीमा तोक्ने तयारी भइरहेको छ । गाउँ–गाउँमा उद्यमशीलता विकास गरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने लक्ष्यका साथ वाणिज्य तथा विकास बैंकहरूलाई लगानीको सीमा तोक्न लागिएको हो । उद्योग मन्त्रालयले उद्यमशीलता तालिम दिने र सोही क्षेत्रमा बैंकहरूले आफ्ना लगानी विस्तार गरी देशमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । उद्योग मन्त्रालयले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि बैंकहरूले कुल लगानीको ३ प्रतिशत अनिवार्य छुट्याउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकमा पठाएको छ । मंगलबार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा अधिकांश वाणिज्य तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले सरकारले लगानीको वातावरण बनाए आफूहरू लगानी गर्न तयार रहेको बताएका छन् । कारोबार दैनिकबाट ।

एनएलजी इन्स्योरेन्स कम्पनीले २६ प्रतिशत लाभांश दिने, पूँजी ५० करोड रुपैयाँ नाघ्ने

काठमाडौं, २१ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २६ दशमलब ३१५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ३१५ प्रतिशत नगद लाभांश गरी सो मात्रामा लाभांश दिने निणर्य गरेको छ । उक्त निणर्य मंगलबार बिहान बसेको कम्पनीको १९४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिको बैठकले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ५० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको प्रतिकित्ता सेयर करिब १६८७ रुपैयाँमा कारोबार भइरहेको छ ।