शिखर इन्स्योरेन्सले १० प्रतिशत एफपीओ जारी गर्ने, सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने

काठमाडौं, १६ मंसिर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत र प्रवद्र्धकको सेयर हिस्सा ६० प्रतिशत बनाउने गरी नयाँ सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको सेयर पुँजी ५० करोड ९९ लाख रुपैयाँ छ । त्यसमा सर्वसाधारण समूहको सेयर ३० प्रतिशत र प्रवद्र्धकको सेयर ७० प्रतिशत रहेको छ । बीमा समितिको चाहाना, पुँजी बढाउदै कम्पनीलाई बलियो बनाउने उदेश्य र सर्वसाधारण समूहको सहभागिता बढाउने उदेश्यले सर्वसाधारण समूहको सेयर हिस्सा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष विकास राणाले विकासन्युजलाई बताए । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । नयाँ सेयर निश्काशन गर्दा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुन सक्ने उनले बताए । ‘मूल्य निर्धारण गर्दा ३/४ वटा प्राविधिक पक्ष पनि हेर्नुपर्छ, नेपाल धितोपत्र बोर्डको पनि सहमति लिनु पर्छ । हाम्रो मूल्याङकनमा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुनसक्छ’ राणाले भने । कम्पनीको १२ औ वार्षिक साधारणसभा पुस ८ गते गर्ने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । बाेनस सेयर जारी गरेपछि एफपीअाे जारी गरिने अध्यक्ष राणाले बताए ।

बाली तथा पंक्षी बीमा गर्नेको संख्या ८८ प्रतिशतले वृद्धि

काठमाडौं, १४ मंसिर । बाली तथा पंक्षी बीमा अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७१/७२ मा ३ अर्व १८ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र बाली तथा पंक्षी बीमा भएकोमा आर्थिक वर्ष २०७२/७३ मा ५ अर्व ९९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७२/७३ को बजेट मार्फत बाली तथा पक्षी बीमामा सरकारले ७५ प्रतिशत अनुदान दिने घोषणा गरी कार्यान्वयनमा ल्याएपछि बाली तथा पंक्षी बीमातर्फ कृषकहरु आकर्षित भएका हुन् । विमा समितिका उप–निर्देशक कुन्दन सापकोटाले पछिल्लो समयमा बाली तथा पंक्षी बीमा  गर्नेहरुको संख्यामा वृद्धि भएको बताए । सरकारले आर्थिक वर्ष २०७२/७३ मा मात्र बाली तथा पंक्षी बीमातर्फ २० करोड ७५ लाख ३१ हजार रुपैयाँ अनुदान दिएको छ । उनका अनुसार बाली तथा पंक्षी विमामा सरकारले अनुदान दिन थालेपछि बीमा गराउनेहरुको संख्या बढेको हो । चालु आर्थिक वर्षमा पनि बीमा  गराउनेहरु बढीरहेको बताए । आर्थिक वर्ष २०७२/७३ मा बाली बीमा  ४३ करोड ८७ लाख रुपैयाँ भएकोमा सरकारले एक करोड ६२ लाख ६५ हजार रुपैयाँ अनुदान दिएको छ । त्यस्तै माछाको बीमा  २९ करोड ५८ हजार रुपैयाँ भएको थियो त्यसमध्ये ४७ लाख ५९ हजार रुपैयाँ सरकारले अनुदान दिएको छ । त्यस्तै ४ अर्व ७० करोड बराबरको पशु बीमा भएकोमा १७ करोड ४७ लाख रुपैयाँ अनुदान दिएको छ । त्यस्तै पंक्षीतर्फ ५६ करोड ४४ लाख ९० हजार बराबरको बीमा भएकोमा एक करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको रकम सरकारले अनुदान दिएको छ ।

सगरमाथा फाइनान्सले ८० प्रतिशत हकप्रद निष्कासन गर्ने, मंसिर २४ गते बुक क्लोज

काठमाडौं, १३ मंसिर । सगरमाथा फाइनान्सले ८० प्रतिशत (१० बराबर ४ को अनुपातमा) हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हालसालै बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको गरेको हो । हाल फाइनान्सको चुक्ता पुँजी ३६ करोड ९२ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ हुनेछ । बैंकले उक्त हकप्रद निष्काशनको लागि आगामी मंसिर २४ गते बुक क्लोज गर्ने भएको छ ।